१० औं दिन खुलेको सेयर बजार घट्न थालेसँगै सर्किट ब्रेकले मात्रै बजारलाई अड्याउन सक्यो। बिहीबार कारोबार खुलेको तीन मिनेटमै पहिलो सर्किट ब्रेक लाग्यो भने त्यसपछि २० मिनेटलाई कारोबार स्थगन भयो।
त्यसपछि लगत्तै खुलेको बजारमा एक मिनेटमै फेरि अर्को सर्किट ब्रेक लाग्यो र कारोबार ४० मिनेटलाई स्थगन भयो। त्यसपछि खुलेको बजारमा तीन मिनेटसम्म कारोबार चल्यो।
बजार घट्न रोकिएन र कुल ६ प्रतिशतले बजार घट्दा तेस्रो पटक सर्किट ब्रेक लाग्यो। यससँगै दिनभरको लागि कारोबार स्थगित भयो।
सेयर बजार परिसूचक नेप्से १६० अंकले घटेर २५११.९१ विन्दुमा आएको छ। बजारमा मात्रै सात मिनेट कारोबार हुन सक्यो। यो अवधिमा ७२ करोड रूपैयाँको सेयर कारोबार भयो।
बजार उच्चले घटेपछि लगानीकर्ताको सम्पत्तिको मूल्य एकै दिन दुई खर्ब ६८ अर्बले घट्न पुग्यो। कुल बजार पुँजीकरणलाई लगानीकर्ताहरूको सम्पत्तिको मूल्य समेत भनेर बुझिन्छ।
अघिल्लो कारोबार दिनमा यस्तो पुँजीकरण ४४ खर्ब ६७ अर्ब रहेकोमा बिहीबार ४१ खर्ब ९९ अर्ब मा झरेको छ। कारोबारमा आएका सबै समूहगत परिसूचक घटेका छन्।
व्यापार मुलक समूह, लगानी समूह, होटल समूह, ‘अन्य समूह’ र जीवन बीमा समूह सबैभन्दा धेरैले घटेका छन्। यी समूह ६ देखि ७ प्रतिशतसम्म घटेका छन्।
भदौ २३ र २४ गते भएको प्रदर्शनले बजारमा प्रभाव पर्न सक्ने भन्दै लगानीकर्ता आत्तिएपछि सेयर बजार उच्चले घटेको हो। केही बीमा र बैंकहरूमा यस्तो प्रदर्शनको प्रभाव पर्न सक्ने भएपनि सबै समूहगत परिसूचक घटेका छन्।
बजारमा सूचीकृतमध्ये यी समूहको हिस्सा ७० प्रतिशत बराबर रहने भएकोले पनि यो क्षेत्रको प्रभाव समग्र बजारमा पर्ने आशंका लगानीकर्तामा रहेको हो।
निर्जीवन बीमा कम्पनीहरूले मोटर तथा सम्पत्ति बीमा गर्ने भएकोले धेरै दाबी यस्ता कम्पनीमा पर्न सक्छन्। यी कम्पनीले ३० देखि ३५ प्रतिशत जोखिम आफुले राख्ने र बाँकी पनि पुनर्बीमामा सार्ने भएकोले पुनर्बीमा कम्पनीहरूको सेयर मूल्य उच्चले घटेको छ।
अन्य समूहमा रहेका हिमालयन रि इन्सुरेन्स र नेपाल पुनर्बीमामा प्रभाव पर्न सक्ने भएपनि के कति प्रभाव पर्छ भन्ने तथ्यांक आइसकेको छैन।
होटल समूहमा सुचीकृत ह्यात होटल र चन्द्रागिरी केबलकारमा केही क्षति पुगेपनि पर्यटनमा प्रदर्शनको असर पर्न सक्ने भन्दै लगानीकर्ता आत्तिदा यो समुहका ६ वटै कम्पनीको सेयर मूल्य घटेका छन्।
त्यस्तै, उर्जा मन्त्रीको रूपमा कुलमान घिसिङ आएसँगै उनले डेडिकेटेड लाइनको बक्यौता उठाउने घोषणा गरेका छन्। यही कारण उत्पादनमुलक समूहका शिवम सिमेन्ट र घोराही सिमेन्टको समेत मूल्य उच्चले घटेको छ।