पाँच देशको टी-२० श्रृंखलामा आइतबार ओमानमा भएको आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको छ।
पहिलो ब्याटिङ गरेको हङकङले नेपाललाई १२६ रनको लक्ष्य दिएको थियो। सो लक्ष्यलाई नेपालले ६ विकेट गुमाउँदै १९ ओभरमा पूरा गर्यो।
हङकङले दिएको यो स्कोर पछ्याउन नेपाललाई सहज भने भएन। नेपालको इनिङलाई विनोद भण्डारीले जोगाए। नेपालले मात्र ३६ रन जोड्दा आफ्ना महत्वपूर्ण ४ विकेट गुमाएको थियो। यस क्रममा ओपनर पारस खड्का शून्य रनमा पेभेलियन फर्किए भने पवन शर्राफ(१०), दिपेन्द्र सिंह ऐरी(६) तथा रोहित कुमार पौडेल(५) पनि सस्तै आउट भए।
त्यसपछि पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका भण्डारीले तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका आरिफ शेखसँग ५९ रनको साझेदारी गरे र नेपाललाई जितको नजिक लगे। यस क्रममा भण्डारीले ४८ बलमा ५८ रनको योगदान दिए।
आरिफ २१ रन बनाउँदा आउट भएपछि ब्याटिङमा आएका सोमपाल कामीले १३ बलमा १३ रनको योगदान दिदैं पेभेलियन फर्किए।
त्यसपछि भण्डारीले सोहि ओभरको पाँचौ बलमा छक्का र त्यसपछि २ रन जोड्दै नेपाललाई जितसम्म पुर्याए।
विनोदले टि-२० अन्तर्राष्ट्रियमा दोश्रो अर्धशतक तथा व्यक्तिगत सर्वाधिक रन बनाउने क्रममा अविजित ५८ रन बनाए। आफ्नो इनिङमा ४८ बलको सामना गरेका भण्डारीले ४ चौका र ३ छक्का प्रहार गरे।
त्यसअघि टस जितेर पहिले बलिङ गरेको हङकङले २० ओभर खेल्दा ६ विकेटको क्षतिमा १२५ रन बनाएको थियो। नेपालका करण केसीले एकै ओभरमा तीन विकेट लिदैं हङकङलाई सुरुबाटै दबाबमा दिएका थिए ।
४१ रनमा तीन विकेट गुमाएको हङकङको यस पारीलाई किञ्चित शाह र वकास वर्कतले सम्हालेका थिए । अन्तिम ओभरमा पनि करणले एक विकेट लिए।
यसैगरी अविनाश बोहराले एक विकेट लिए भने हङकङका एक ब्याट्सम्यान रनआउट भएका थिए ।