इंग्ल्याण्डका पूर्वक्रिकेट कप्तान बब विलिसको निधन भएको छ। ७० वर्षीय विलिसको बुधबार निधन भएको हो।
विलिसको परिवारले लामो समय बिरामी भएपछि उनको निधन भएको जनाएको छ। ‘बवसँग छुट्नुपर्दा हामीलाई आघात परेको छ। उनी एक असाधरण पति, पिता, भाइ र हजुरबुव थिए,’ उनको परिवारले भनेको छ।
तीव्र गतिका बलर विलिस सन् १९८२ देखि १९८४सम्म इंग्ल्याण्ड क्रिकेटका कप्तान थिए। सन् १९७१ देखि टेस्ट क्रिकेटमा डेब्यु गरेका उनले १९८४ सम्म ९० ३२५ विकेट लिएका थिए।
सन् १९८१को एसेजमा उनले अष्ट्रेलियाविरूद्ध ४३ रन दिएर ८ विकेट लिएका थिए। यो उनको टेष्ट करियरकै सबैभन्दा उत्कृष्ट बलिङ थियो। एक दिवसीयतर्फ उनले ६४ म्याचमा ८० विकेट लिए।
सन् १९८४ मा टेस्ट क्रिकेटबाट विलिसले सन्यास लिँदा उनीभन्दा बढी विकेट लिने तीव्र गतिका बलर अष्ट्रेलियाका डेनिस लिलीमात्र थिए।
इंग्ल्याण्डको टेस्ट क्रिकेटमा अहिले पनि सबैभन्दा धेरै विकेट लिने बलरमा उनी चौथो नम्बरमा छन्।