प्रदर्शनरत फिल्म 'परान' लाई सकारात्मक 'वर्ड अफ माउथ' को साथ मिलेको छ। जसका कारण फिल्मको शो संख्यामा वृद्धि भएको छ। कार्तिक १४ गते रिलिज हुँदा ६४ शो पाएको 'परान' ले बुधबार शो संख्या झन्डै दोब्बर पुर्याएको छ। खल्ती एपमा यो समाचार तयार पार्दासम्म फिल्मले बुधबारका लागि देशभर कुल १ सय ३२ शो पाएको देखिन्छ।
सुरूआती दुई दिन उत्साहजनक व्यापार गर्न नसकेको 'परान' ले राम्रो 'वर्ड अफ माउथ' पाउँदै गएसँगै दर्शक अकुपेन्सी पनि बढाउँदै गएको छ।
दर्शक अकुपेन्सी बढ्दै गएसँगै हलहरूले शो बढाएका हुन्। मंगलबार पनि प्राप्त शोमा राम्रो अकुपेन्सीका साथ फिल्म प्रदर्शन भएको निर्माणपक्षले जनाएको छ।

टेलिसिरियल 'सक्किगो नि' मा 'काकु' नामको पात्रमार्फत चिनिएका दीपकप्रसाद आचार्यको डेब्यु निर्देशनमा 'परान' बनेको हो।
फिल्ममा नीर शाह, महेश त्रिपाठी, प्रवीण खतिवडा, अञ्जना बराइली, केकी अधिकारी, पूजा चन्द, मदनकृष्ण श्रेष्ठ, बुद्धि तामाङ, यमन श्रेष्ठ, बबिन राई लगायत कलाकारहरूको अभिनय छ।
शेखर गोल्छा र रञ्जित आचार्य फिल्मको निर्माता हुन्।