लोकप्रिय लोकरक ब्याण्ड 'नेपथ्य' ले मंगलबार साँझ चितवन नारायणगढको क्याम्पा चौरमा भव्य प्रस्तुति दिएको छ।
'हो रामा रामा' गीतबाट प्रस्तुति सुरू भएको कन्सर्टमा प्रकाश, धुवाँ र विभिन्न दृश्य प्रभावको प्रयोगले सुरूमै दर्शकलाई उत्साहित बनाएको थियो। मञ्च धुवाँमय बनेको थियो भने दर्शक घेरामा पताकाहरू फहराइरहेका थिए। रंगीबिरंगी बत्ती घुमिरहँदा दर्शकको हुटिङ र तालीले वातावरण थप रोमाञ्चक बनेको थियो।
'हो रामा रामा' पछि ब्याण्डले 'भेडाको ऊन' र करिब साढे तीन दशक पुरानो 'छेक्यो छेक्यो' प्रस्तुत गर्यो। त्यस बेलासम्म मैदानका अधिकांश खाली स्थान भरिइसकेका थिए। टिकट एक दिनअघि नै सकिएको घोषणा गरिएकाले बाहिर भने निराश भई फर्कनेहरूको लर्को देखिन्थ्यो। अनलाइन टिकटसमेत कार्यक्रम सुरू हुनुभन्दा केही घण्टाअघि नै सकिएको थियो।
रामपुर क्याम्पसबाट आर्किटेक्चर इन्जिनियरिङ उत्तीर्ण गरेका प्रज्वल अधिकारी टिकट पाइन्छ कि भन्ने आशामा अन्तिम समयसम्म कुरिरहेका थिए। अन्य कन्सर्टझैँ गेटमै टिकट पाइने विश्वासमा आएका उनी निराश बन्न पुगे।
यो त्यही क्याम्पा चौर हो, जसको छेवैमा 'नारायणी कला मन्दिर' छ। २५ वर्षपहिले त्यस सभागृहमा पाँच सय दर्शक जुटाउन पनि नेपथ्यलाई हम्मे-हम्मे परेको अनुभव ब्याब्डका गायक अमृत गुरूङसँग छ। तर यसपटक भने क्षमताभन्दा बढी दर्शक उपस्थित भएका थिए।
स्थानीय आयोजक 'नेपाल डायरीज' का बिनेश थापाले क्षमताले नधान्ने अवस्था आएपछि अनलाइन टिकट बिक्रीसमेत रोक्नुपरेको बताए। 'हेर्न आइसकेका दर्शकलाई सकेसम्म प्रबन्ध मिलाउने कोसिस गरेका थियौं। क्षमताले नै नभ्याउने भएपछि अनलाइनको टिकट पनि रोक्न बाध्य भयौं', उनले भने।
करिब आठ हजार दर्शकको उपस्थितिमा सम्पन्न कार्यक्रममा युवायुवतीको बाहुल्य देखिए पनि अन्य उमेर समूहको सहभागिता उल्लेख्य थियो। तिनैमध्ये एक थिइन् ९० वर्षीया ऋद्धिकुमारी केसी।
'अमृतले गाएका सबै गीत मलाई मन पर्छ', एकपटक काठमाडौंमा पनि नेपथ्य कन्सर्ट हेरिसकेको सुनाउँदै केसीले भनिन्, 'यहाँ पनि नेपथ्य आइपुगेको थाहा पाएपछि परिवार र आफन्तको साथसहयोगमा हेर्न आएकी हुँ।'
उता गायक अमृत घरी 'रोदीमा जस्तो नाचौं न हई' भनेर ‘लामपाते सुरती’ गाइरहेका थिए भने घरी 'मायामा जातपातको कुरा हुँदैन' भनेर तन्नेरी मनलाई उचाल्ने गरी 'चरी मर्यो' गीत सुनाइरहेका थिए।
अमृतले छेवैको नारायणीमा बगिरहेको सप्तगण्डकीको पानीका मुहान् अर्थात् गण्डक भेगका हिमालहरूको बयान गर्दै स्वदेशलाई चिन्न र बुझ्नका लागि मुलुक घुम्ने अवसर नछुटाउन आह्वान गरे अनि धौलागिरि हिमाल आसपास तयार पारिएको गीत पस्के–
'शिरफूल शिरैमा वनफूल वनैमा
हिउँको फूल धौलासिरिमा'
अमृतले परोपकार र शिक्षाको महत्त्वबारे पनि सन्देश दिए। 'दानीहरूको उदारताले धेरैले बाँच्ने मौका पाएका छन्', उनले भने, 'छरछिमेकमा शिक्षाको उज्यालो नपाएका बालबालिकालाई विद्यालयको दैलोसम्म पुर्याउनुजस्तो पुण्य काम अर्को हुँदैन।'
रामपुर कृषि क्याम्पसमा एक्वाकल्चर विषयमा एमएससी अध्ययनरत सन्देश घिमिरे बैसाखी टेकेरै कार्यक्रममा सहभागी भएका थिए। करिब २२ वर्षअघि दुर्घटनामा एउटा खुट्टा गुमाएका उनले नेपथ्यका गीतमा 'शुद्ध नेपाली आत्माको गन्ध' पाइने बताउँदै सकेसम्म कन्सर्ट नछुटाउने बताए।
कन्सर्टमा विदेशी अनुहार पनि देखिन्थे। तिनैमध्ये एक थिए नेदरल्यान्ड्सका मार्टेन। ३० वर्षअघि नेपाली युवती विष्णु खड्कासँग बिहे गरेदेखि यहाँको लोकसंस्कृतिसँग नजिकिन सुरू गरेको बताउने उनले केही महिनाअघि बेल्जियममा नेपथ्यको कन्सर्ट हुँदा पनि हेरेको अनुभव सुनाए।
'ससुराली आएको बेला यहाँ पनि नेपथ्य प्रस्तुत हुँदै छ भन्ने थाहा पाएपछि आफन्तको समूह बनाएरै उपस्थित भएका छौं', मार्टेनले भने, 'यो ब्यान्डका गीतहरूमा नेपाली पहिचान बढी छ भनेर नै सकेसम्म छुटाउन मन लाग्दैन। यो नेपालको बेस्ट ब्यान्ड हो।'
कन्सर्ट अघि बढ्दै जाँदा 'गाउँ-गाउँबाट उठ' को पालो आइपुग्यो। अमृतले दर्शकमा जागेको भावनालाई विचारले समेत जोड्ने प्रयत्न गर्दै आसन्न निर्वाचनमा डर वा प्रलोभनमा नफसी योग्य प्रतिनिधि चयन गर्न आह्वान गरे।
अन्त्यतिर सर्वकालिक चर्चित गीत 'रेशम' र 'तालको पानी' गुञ्जिए। 'रातो र चन्द्रसूर्य' बाट कन्सर्ट समापन गरिएको थियो।
मञ्चमा अमृतलाई सदाझैं ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरूङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।
यो शृङ्खलाको अन्तिम कन्सर्टका लागि नेपथ्य रमणीय पर्वतीय नगरी बन्दीपुरतर्फ प्रस्थान गरिसकेको छ। त्यहाँस्थित टुँडिखेलमा फागुन २ अर्थात् भ्यालेन्टाइन्स डे को साँझ नेपाली लोकरक गुन्जिनेछ।
दर्शक सुविधाका लागि टिकट अनलाइनमार्फत नेपथ्यको आधिकारिक वेबसाइटबाट बुकिङ गर्न सकिने व्यवस्था मिलाइएको जनाइएको छ।





