नेकपा एमाले संसदीय दलमा नेतृत्व पुस्तान्तरण होस् भनेर दल नेताको आकांक्षा राखेका सुहाङ नेम्वाङ अन्तत: एक्लै परेका छन्।
उनले संसदीय दल नेताको दाबी नछाडेर निर्वाचन प्रक्रियासम्म पुर्याएका थिए। तर पाका र प्रौढ उमेरका त परै जाओस्, आफ्नै उमेर समूहका सांसदको पनि उनले समर्थन पाएनन्। आफ्नो उम्मेदवारीमा कसैले साथ नदिएपछि उनी अन्ततः एक्लै परे।
एमाले संसदीय दलमा इलाम–२ बाट प्रत्यक्ष निर्वाचित सुहाङकै उमेर समूहका क्षितिज थेवे (३८), ऐन महर (४१), नीता घतानी (३७), रिगला यादव (४०), यशुदाकुमार बराल (३४) पनि थिए। तर उनीहरू कसैले पनि संसदीय दल नेतामा दाबी गरेनन्।
एक्लै भए पनि उभिएका सुहाङले आफ्नो उम्मेदवारी निम्ति प्रस्तावक र समर्थकसमेत नपाएपछि पार्टीको पहिलो वरीयताका उपाध्यक्ष रामबहादुर थापा 'बादल' निर्विरोध निर्वाचित भए।
२०५२ देखि २०६२ सालसम्म तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको 'जनयुद्ध' क्रममा सैन्य कमान्डरको भूमिका हुँदै नेकपा विघटनपछि एमालेमै रहेका बादलले अब एमालेको संसदीय फाँटको कमान सम्हाल्नेछन्।
उनी अहिले एमालेको कार्यवाहक अध्यक्ष पनि हुन्।
गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा एमाले तेस्रो स्थानमा खुम्चिएको थियो। नवनिर्वाचित प्रतिनिधिसभामा एमालेका २५ जना मात्र सांसद छन्। ३६ वर्षीय बालेन शाहले मुलुकको बागडोर सम्हालिरहँदा एमालेले पनि युवालाई अघि सारेर राजनीतिक वृत्तमा सन्देश दिन्छ भन्ने आम अपेक्षा थियो। त्यस्तो आस गर्नेमा एमालेकै युवा नेताहरू पनि थिए।
अनेरास्ववियुका पूर्वअध्यक्ष समिककुमार बडाल, पूर्वउपाध्यक्ष नरेश शाही, अध्यक्षका प्रत्यासी प्रकाश पौडेल लगायत युवा नेताहरूले बादललाई उम्मेदवारी फिर्ता लिन सार्वजनिक रूपमै आग्रह गरेका थिए।
नेता चयन गर्न दललाई चुनावको विधिसम्म पुर्याए पनि नेतृत्वको हस्तक्षेपका कारण मतदानसम्म भने पुग्न नसकेको सुहाङनिकट एक नेताले बताए।
बादल संसदीय दल नेता चुनिएपछि अध्यक्ष केपी शर्मा ओली पक्षमा खुसियाली छाएको छ। तर चुनावमा पार्टीले गम्भीर धक्का खाएकाले त्यो चोटबाट उठ्न खोजिरहेको पंक्ति निराश देखिएको छ। खासगरी नेतृत्व पुनर्गठनको माग गर्ने पंक्तिमा सन्नाटा छाएको देखिन्छ। उनीहरूले सामाजिक सञ्जालमै असन्तुष्टि पोखिरहेका छन्।
बादल संसदीय दल नेता चयन भएकामा रोष प्रकट गर्दै एमाले नेता वासुदेव घिमिरेले सामाजिक सञ्जालमा 'नसुध्रिने, अन्ततः बिलाउने' भन्दै लेखेका छन्।
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको अस्कल क्याम्पस कमिटीले त सडकमै विरोध जुलुस निकालेको छ।
एमाले उपमहासचिव योगेश भट्टराईले पनि दल नेता छान्न अपनाइएको शैली र तौरतरिकाले पार्टी पंक्तिलाई चिन्तित बनाएको बताएका छन्।
'निर्वाचनबाट पार्टीलाई गम्भीर धक्का लागेको, पार्टी र नेतृत्वप्रति व्यापक जनगुनासो रहेको, पार्टी अध्यक्ष स्वयं गिरफ्तारीमा पर्नुभएको छ। समग्रमा हाम्रो आन्दोलनले बहुआयामिक प्रतिकूलता सामना गरिरहेको वर्तमान अवस्थामा नेकपा एमालेको व्यापक पुनर्गठनमार्फत बलियो एकता बनाउँदै जनविश्वास जागृत गर्नुपर्ने बेला आज नेकपा एमाले संसदीय दलको नेता छान्न जुन तरिका र शैली अपनाइयो, यसबाट सिंगो पार्टी पंक्तिलाई थप चिन्तित बनाएको छ,' भट्टराईले भनेका छन्।
केही दिनको समय लिएर पार्टी नेतृत्व र सांसदहरूबीच छलफलका माध्यमबाट उच्च स्तरको समझदारीमा पुग्नुको सट्टा सांसदहरूलाई दबाबमा राखेर निर्णय गरिएको उनको भनाइ छ।
उनले सांसदहरूलाई दबाबमा राखिएको भन्नुका पछाडि अर्थ छ।
सुहाङ निकट एक नेताका अनुसार उनले केही सांसदहरूसँग अनौपचारिक कुराकानी गरेर उम्मेदवारीको तयारी गरेका थिए। प्रस्तावक र समर्थकका लागि उनले धनकुटाबाट प्रत्यक्ष निर्वाचित राजेन्द्रकुमार राई र संखुवासभामा अर्जुनकुमार कार्कीसँग सल्लाह गरेका थिए। उनीहरू राजी पनि थिए।
यसको सूचना पाएका महासचिव शंकर पोखरेलले एक–दुई दिन अघिदेखि नै तयारी थालेको सुहाङनिकट नेताको दाबी छ।
ती नेताका अनुसार बुधबार संसदीय दलको बैठक बस्नुपूर्व नै केही नेताहरूले 'सुहाङ पनि दलको नेतामा उम्मेदवारी दिने होला नि' भन्दै चासो राखेका थिए।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दल बैठकमा राष्ट्रियसभाका सांसदका अतिरिक्त पार्टीका उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ, महासचिव शंकर पोखरेल पनि थिए। महासचिव पोखरेलले सांसदहरूले संसदमा खेल्नुपर्ने भूमिकाबारे कुरा राख्दै दल नेता चयनको विषय प्रवेश गराएका थिए।
महासचिव पोखरेलले पार्टी आन्दोलन संकटपूर्ण अवस्थामा पुगेको बताउँदै दलको नेता चयन सर्वसम्मत हुनुपर्ने बताएका थिए।
'फलानो नेतालाई संसदीय दल नेता बनाउँदा पार्टी आन्दोलन बच्ने, फलानोलाई नबनाउँदा सकिने भन्ने हुँदैन। हामी जनताको बहुदलीय जनवादले अँगालेको प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने विधि, परम्परामै छौं,' महासचिव पोखरेलले भनेका थिए, 'अहिलेसम्म दल नेतामा कसैले आकांक्षा राखेको छैन। हामी विधिबाटै यसको छिनोफानो गर्छौं।'
महासचिव पोखरेलले यति भनेपछि नेम्वाङले आफ्नो दाबी पेस गरेका थिए।
'मैले उम्मेदवारी दिने सोचेको छु। यो मैले व्यक्तिगत हितका लागि भनेको छैन। अहिलेको आवश्यकता हो। चुनाव बेला हामी घरघर गएका छौं। नागरिकका चाहना र प्रतिक्रिया सुन्दा पार्टी र आन्दोलनलाई बचाएर लैजान पनि परिवर्तन आवश्यक छ,' नेम्वाङले भनेका थिए, 'अग्रज पुस्ताहरूको भावनालाई सम्मान गर्दै मेरो उम्मेदवारी रहन्छ।'
बैठकमा अरू सांसदहरूले पनि आफ्ना धारणा राखेका थिए। धारणा राख्नेहरूले दल नेताको चाहना राखेनन्। बादल र नेम्वाङले आफ्नो दाबेदारी नछाडेपछि नेताहरू चुनावमा जान राजी भए।
पार्टी निर्वाचन विभागका प्रमुख निरज आचार्यलाई ३ः३० देखि ४ः०० बजेसम्मको समयसीमा राखेर निर्वाचन कार्यतालिका निकाल्न भनियो। उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले ३ः४५ बजे उम्मेदवारी दर्ताको फारम बुझाए। उनको प्रस्तावक र समर्थक र पूर्वउपाध्यक्ष गुरू बराल र पार्टी लेखा आयोग प्रमुख पुष्प कँडेल बसेका थिए।
उम्मेदवारीको फारम बुझेका नेम्वाङले अपराह्न ४ः०० सम्म पनि दर्ता गर्न सकेनन्। कारण थियो – उनको प्रस्तावक र समर्थक बस्ने वचन दिएका सांसदद्वय राई र कार्की महासचिव पोखरेलसँगको छलफलमा थिए।
'महासचिवसँग के छलफल भयो त्यो हामी जान्दैनौं। उहाँहरूका बाध्यता पनि थिए होलान्, त्यता नजाऔं। तर उहाँहरू नजिक नै नपरेको साँचो हो,' सुहाङनिकट एक नेताले भने।
उनका अनुसार पोखरेलले दल नेता बनाउने अध्यक्ष ओलीको चाहना रहेको भन्दै निर्वाचनमा लैजान नहुने भन्दै राई र कार्कीलाई बताएका थिए।
जेनजी आन्दोलनमा हेलचेक्र्याइँ गरी ज्यान मारेको अभियोगमा पक्राउ परेका ओली अहिले त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्। संकट बेला पार्टी एकताबद्ध राख्नुपर्ने भन्दै दल नेता पनि अध्यक्षको चाहनाअनुसार नै चयन हुनुपर्ने महासचिवको जोड थियो।
महासचिवको कुरा सांसद कार्कीले काट्न सकेनन्। वचन दिएका नेता नै पछि हटेपछि नेतृत्वको दबाब अरूले थेग्न सक्छन् भन्ने विश्वास नेम्वाङलाई भएन।
यसबीच नेम्वाङलाई दाबी फिर्ता लिन लगाउन महासचिव पोखरेल आफै खटिएका थिए। प्रस्तावक नपाएको थाहा पाएपछि 'तपाईंले अग्रजलाई सम्मान गर्छु भनेको होइन, उम्मेदवारी फिर्ता लिएर मैले अग्रजलाई सम्माने गरेँ भन्नुहोस् न त' भन्दै महासचिवले नेम्वाङलाई दाबीबाट पछि हट्न सुझाव दिएका थिए।
नेम्वाङ त्यसमा सहमत देखिएनन्। थप सांसदलाई समर्थक र प्रस्तावक बन्न आग्रह नगरी उनी समय कटाउन लागे।
अपराह्न ४ बजेपछि निर्वाचन विभाग बादललाई सर्वसम्मत दल नेता चयन भएको घोषणा गर्नतिर लाग्यो।
नेतृत्व पुस्तान्तरणतिर अघि बढेका आफ्ना पाइलाले प्रस्तावक र समर्थक नै नपाएपछि नेम्वाङ निराश र हतप्रभ समेत देखिए।
'मेरो मान्यता स्पष्ट छ — अग्रजको अनुभव, आर्शीवाद र युवाको ऊर्जा नै सफलताको आधार हो। म आज पनि यसैमा दृढ छु। मलाई मेरो पार्टीको गौरवशाली मूल्य, मान्यता र परम्पराको पूर्ण बोध छ। अग्रज नेताहरूप्रति मेरो सदैव उच्च सम्मान छ। स्पष्ट पार्न चाहन्छु, मेरो उम्मेदवारी कुनै विद्रोह होइन। यो त समयको माग र आन्दोलनप्रतिको मेरो कर्तव्यबोध हो। पार्टी र आन्दोलनप्रतिको मेरो दायित्व पनि हो,' उनले बादललाई शुभकामना दिँदै भने।
गौरवमय इतिहास बोकेको पार्टीभित्र चरम निराशा, हतासा र पलायन रहेको भन्दै नेम्वाङले युवा पुस्तामा छाएको यही निराशा चिर्न र आन्दोलनलाई पुनर्जीवित गर्न आफूले उम्मेदवारीको तयारी गरेको बताएका थिए।
'यद्यपि प्राविधिक कारणले यसपटक त्यो सम्भव भएन। अग्रजहरूको योगदानको म सधैं कदर गर्छु। तर पार्टीभित्रको यो निराशा र हतासालाई अन्त्य गर्न मैले विष पिएर भए पनि यो आँट गरेको हुँ,' उनले भने।
अग्रज नेताहरूप्रतिको आफ्नो सम्मान रहेको बताउँदै आफूले पार्टीको अभ्यास, मूल्य-मान्यता बुझेको बताएका थिए।
'ती मूल्य, परम्परा र अभ्यासप्रति गहिरो सम्मान छ। तर मूल कुरा पार्टीको भविष्य हो। आन्दोलनको भविष्य पनि हो। त्यसैको निम्ति प्रयास हो। हामी आन्दोलन र पार्टीको जीवनका लागि यस प्रकारका सकरात्मक प्रयास गर्नेछौं,' उनले अन्त्यमा भनेका थिए।
***