सोमबार सेयर बजार घटेको थियो। सूचीकृतमध्ये २३७ कम्पनीको मूल्य घटेको थियो भने २६ कम्पनीको बढेको थियो।
मंगलबार बजार बढेको थियो। यस दिन १९५ कम्पनीको सेयर मूल्य बढ्यो। ६३ वटाको मूल्य घट्यो।
नेपालको सेयर बजारमा एक प्रवृत्ति देखिन्छ — बजार बढ्दा धेरैजसो स्टक एकैसाथ बढ्ने र घट्दा एकैसाथ घट्ने।
यस्तो प्रवृत्ति देखिनुको एक कारण लगानीकर्ताले कम्पनी छुट्ट्याएर नभई, समग्र बजारको घटबढबका आधारमा लगानी रणनीति बनाउनु हो।
हामीकहाँ संस्थागतभन्दा पनि व्यक्तिगत लगानी धेरै हुने भएकाले भीडको मनोविज्ञान निकै बलियो हुन्छ। बजार बढ्न थालेपछि अझै बढ्छ भन्ने अपेक्षा हुन्छ। अहिले नकिने यो वृद्धिमा पछि परिन्छ भन्ने डरले धेरैलाई सेयर किन्न प्रेरित गर्छ।
त्यस्तै बजार घट्न थालेपछि सबै घट्छ भन्ने डरले एकैसाथ बिक्री बढ्छ।
बजारमा मार्जिन ट्रेडिङ र ऋणमा आधारित लगानी धेरै हुने भएकाले पनि यस्तो प्रवृत्तिलाई थप बढावा दिइरहेको हुन्छ।
बजार बढ्दा ऋण लिएर किन्ने र घट्दा मार्जिन कलको डरले जबर्जस्ती बेच्ने प्रवृत्तिले बजारलाई एउटै सोचमा अघि बढाउँछ।
त्यसैले सेयर बजार भनेकै लगानीकर्ताहरूको मनोविज्ञान मापन गर्ने ब्यारोमिटर जस्तो हो।
उदाहरणका लागि — बालेन (बालेन्द्र) शाहको सरकार बन्ने भएसँगै बजार लगातार पाँच दिनसम्म दोहोरो अंकले बढ्यो। कारोबार २०–२२ अर्ब रूपैयाँसम्म हुन थाल्यो।
धेरैलाई बजारले नयाँ उचाइ भेट्न सक्ने अपेक्षा थियो।
तर सरकार बनेपछि बजार एकोहोरो घट्यो। दुई दिनमै ११८ अंक गुमायो र कारोबार रकम १२ अर्ब रूपैयाँमा झर्यो।
मंगलबार बजारले फर्किन सक्ने संकेत गर्यो। कारोबारमा आएकामध्ये धेरै कम्पनीको मूल्य बढ्न थाल्यो। लगानीकर्ता पनि बजार बढ्छ कि भन्ने आशमा देखिए।
मंगलबार बजारले अन्तरदिनको न्यूनबाट करिब ६२ अंकसम्म जोड्यो। कारोबार अवधिमा २७८९ विन्दुसम्म पुगेको बजार बन्द हुँदा २८५१ मा बन्द भयो।
यसले कारोबारको मध्यसमयपछि लगानीकर्ताहरूमा बजार बढ्न सक्छ कि भन्ने अपेक्षा बलियो हुँदै गएको देखाउँछ।
लगानीकर्ताहरूमा बजार बढ्ने अपेक्षा बढ्नुमा नेप्सेले मान्न थालेको मनोवैज्ञानिक तह हो। अहिलेलाई यो २८०० विन्दु हो। सामान्यतयाः सय रहेका शून्य अंकहरू मनोवैज्ञानिक तहको रूपमा मानिने गर्छ।
केही समयअघि पनि नेप्से २७९६ र २७९८ विन्दुसम्म पुगेर फर्किएको थियो। त्यसैले पनि अहिले २८०० विन्दु आसपास नेप्सेले टेवा खोजिरहेको हो।
मंगलबारको बजारले भने नेप्सेको आगामी प्रवृत्ति स्पष्ट देखाएको छैन। त्यसैले लगानीकर्ताले सुझबुझसँग लगानी रणनीति बनाउनुपर्छ।
बजार घट्दैमा सबै कम्पनीका सेयर बेचिहाल्ने र बढ्दैमा सबै कम्पनीका सेयर किनिहाल्ने रणनीतिले लाभभन्दा बढी हानि हुन सक्छ। आफूसँग भएका कम्पनीको अवस्था राम्रो छ भने बिक्री गरिहाल्न हतारिनु हुँदैन। किनभने बजार बढ्न थाल्दा धेरै बढ्न सक्ने कम्पनी पनि यिनै हुन्छन्।
मंगलबार नेप्सेमा बनेको मैनबत्ती चित्रले कुनै निश्चित प्रवृत्ति स्पष्ट दखाइरहेको छैन। त्यसैले आगामी दिनको कारोबार हेर्नु सही हुने देखिन्छ।
अहिले नेप्सेमा बनाइएको ५० दिने र २०० दिने मुभिङ एभरेजले भने बुलिस प्रवृत्ति कायमै रहेको देखाइरहेको छ। यी दुई रेखा अझै दुरी कायम गरेर समानान्तर रूपमा अगाडि बढिरहेका छन्।