खगेन्द्र सुनार यसपटक प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित एक मात्र दलित समुदायका सांसद हुन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बाँके–३ मा चुनाव लडेका थिए।
दलित समुदायमाथि हुने विभेदविरूद्ध खगेन्द्र प्रायः मुखर सुनिने गरेका छन्।
'विभेदका कारण मारिएकाहरूको पक्षमा आवाज उठाउँदा कहिलेकाहीँ चिच्याउनुपर्ने र कराउनुपर्ने हुन्छ,' खगेन्द्र भन्छन्, 'म कुनै पानी बचाउने अभियानबाट आएको भए मैले ल है, बोटवृक्ष काट्न हुँदैन भन्ने थिएँ। जनावरको अधिकारसम्बन्धी अभियानबाट आएको भए जनावर मार्न हुँदैन भन्ने थिएँ। मैले त तल पारिएका, पीडामा पारिएका मान्छेको आवाज उठाउँदै आएको हुँ। यसरी दलित र जातको कुरा उठाउँदा बजारिया भाषामा समाज भाँड्न हिँडेको भन्ने गरिन्छ।'
खगेन्द्र आफू सधैं दलित अभियानमा लागेको भए पनि प्रस्ताव पेस गरेर, चेक ल्याएर अभियान नचलाएको दाबी गर्छन्।
'मैले जातका नाममा मात्र समाज भड्काउँदै हिँडेको भए एउटा परिस्थिति हुन्थ्यो होला,' खगेन्द्रले सेतोपाटी पडकास्ट 'द न्यू गार्ड' मा भने, 'म त्यस्तो अभियन्ता हुँ, जसले एउटा ढुंगा उठाएर हानेको फोटो वा भिडिओ कतै भेटिँदैन। जबकि संस्कार, संस्कृति र रीतिरिवाज बचाउनुपर्छ भन्नेहरूले ढुंगा हानेका भिडिओ भाइरल छन्। म त आफैले हातखुट्टामा नेल लगाएर सडकमा उभिएर संघर्ष गरेको मान्छे हुँ।'
उनले अगाडि भने, 'म गलत कर्ममा लागेको भए भगवानले साथ दिने थिएनन् होला। जनताले पनि गलत कुरा देखिहाल्थे। बहिनीको बलात्कार, भाइको हत्या र आमाबाबुमाथिको बर्बर पीडा सहन नसकेर मैले हातखुट्टामा नेल लगाएको हुँ। त्यही देखेर बाँकेका जनताले मलाई साथ दिए।'
राजनीतिमा आउनुअघि खगेन्द्र पत्रकारिता गर्थे। उनले केही समय संसदीय रिपोर्टिङ पनि गरे। २०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिकाका नवराज विकसहित ६ जनाको हत्या भएको घटनापछि उनी विभेदविरूद्ध अभियानमा सक्रिय भएका थिए। त्यस क्रममा उनले जिल्ला अदालतअगाडि धर्ना समेत दिए।
कांग्रेस र एमालेले २०८१ सालमा सरकार गठन गर्दा मन्त्रिपरिषदमा एक जना पनि दलित समुदायको प्रतिनिधित्व नगराएपछि उनी माइतीघरमा प्रदर्शनमा ओर्लिएका थिए। उनले हातमा जञ्जीर लगाएर 'दलितलाई खोई' भन्दै प्रतिनिधित्वको सवाल उठाएको तस्बिर भाइरल भएको थियो।
पछिल्लो पटक सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा उनलाई मन्त्री बन्ने प्रस्ताव आएको थियो। तर विभिन्न अदालतमा मुद्दा विचाराधीन रहेको कुरा उठेपछि सरकारले उनलाई मन्त्री बनाएन।
खगेन्द्र आफू दलितको हितका लागि काम गरे पनि कहिल्यै दलितको कोटा प्रयोग नगरेको बताउँछन्।
'मैले दलितको कोटाको चिया पनि कहिल्यै खाएको छैन,' उनी भन्छन्, 'म दलित कोटाबाट सांसद भएको होइन। सबै मान्छेको बीचमा गएर मत प्राप्त गरेको हुँ। मैले जातको राजनीति गरेको छैन।'
उनी अहिलेको सरकारले विभेदमा परेकाहरूसँग माफी माग्न लागेकामा खुसी व्यक्त गर्छन्। बालेन शाह नेतृत्वको सरकारमा पहिलो पटक वादी समुदायबाट मन्त्री बनाइएकोमा पनि खुसी व्यक्त गर्छन्।
'हामीले चुनावमा जनतालाई बाँच्ने र हाँस्ने दिन आउँदै छ भनेका थियौं,' खगेन्द्रले भने, 'म त्यसै अनुसार काम सुरू गरिएकामा प्रधानमन्त्री र सभापतिज्यू (रवि लामिछाने) लाई धन्यवाद दिन्छु।'
खगेन्द्रले कतिपय सन्दर्भमा राखेका धारणालाई जातीय रूपमा उठाइएको आरोपसमेत खेप्ने गरेका छन्।
'मैले जाजरकोट भूकम्पमा दलितको घर भत्कियो भनेँ, मलाई मानिसहरूले जहाँ पनि जातको कुरा गर्ने भने,' खगेन्द्रले पडकास्टमा भने, 'मैले साधारण उदाहरण दिएँ — भूकम्पले कसको घर भत्काउँछ? जसको घर कमजोर छ, उसैको घर भत्काउँछ। यहाँ कसको घर कमजोर छ? जो गरिब छ, उसैको घर कमजोर छ। को गरिब छ? जो दलित छ, ऊ गरिब छ।'
उनले अगाडि भने, 'बजारमा भएका ढलान घर भत्किएनन्। पुराना, कमजोर घर भत्किए। भूकम्पमा सबभन्दा धेरै दलितकै ज्यान गयो। त्यसपछि अन्य जनजातिहरूको ज्यान गयो। पीडित हुनेहरू धेरै दलित नै थिए।'
पडकास्टमा खगेन्द्रले आफूले विद्यालयमा पढ्दा भोगेको विभेदबारे पनि कुराकानी गरेका छन्। साथै, आफूमाथि लागेका विभिन्न आरोपबारे जबाफ दिएका छन्।
प्रतिनिधिसभाका नवनिर्वाचित सांसद खगेन्द्र सुनारसँगको कुराकानी, हेर्नुहोस् सेतोपाटी पडकास्टमा —