अहिले नेपाल सहित पूरै विश्व कोभिड–१९ को महामारीबाट आक्रान्त छ। हाम्रो देशमा पनि संक्रमितहरुको संख्या दिनहुँजसो बढ्दो छ। शिक्षा, स्वास्थ्य, यातायात र सेवा अन्तर्गतका सबै क्षेत्रहरू नराम्ररी प्रभावित भएका छन्।
महामारीका कारण लामो समयदेखि क्यान्सर, मुटुरोग, मिर्गौला रोग लगायतका दीर्घरोगका उपचार गराइरहेका बिरामीहरु थप मारमा परेका छन्।
क्यान्सर रोग उपचारको लागि देशकै नाम कहलिएको भक्तपुर क्यान्सर अस्पतालमा दैनिकजसो सयौँ बिरामीको चाप रहने गर्दछ। जसअन्तर्गत नियमितरुपमा किमोथेरापी, रेडियसनथेरापी गराइरहेका र तत्काल शल्यक्रिया गरिनुपर्ने तथा शल्यक्रिया पश्चात फलोअप गराइरहेका बिरामीहरु पर्दछन।
उक्त प्रकृतिका बिरामीहरुलाई समयमै अस्पताल पुगी नियमित उपचार गराउनु अत्यन्त जरुरी हुन्छ। तर हाल सार्वजनिक यातायातको सम्पूर्ण सवारी साधन ठप्प रहेको अवस्थामा बिरामीहरुलाई कसरी अस्पतालसम्म पुग्ने भन्ने ठुलो समस्या छ। अझ, यस अस्पतालमा उपचार गराउने प्रायः बिरामीहरु देशका विभिन्न भू–भागबाट आउने गर्दछन्।
निजी सवारीसाधन भएका बिरामीहरुलाई आफ्नो समस्या सुरक्षाकर्मी समक्ष दर्शाउदै जसोतसो अस्पतालसम्म पुग्न सक्ने वातावरण भएता पनि आफ्नो सवारीसाधन नभएका बिरामीहरुका लागि भने आन्योलको स्थिति छ। अस्पतालको एम्बुलेन्सले सबैलाई सेवा दिन सक्ने अवस्था पनि छैन।
अतः बिरामीहरु लामो दुरी पैदल हिडेर अस्पताल आउन बाध्य छन्। पैदल हिड्न सम्भव नभएका कतिपय बिरामीहरु त घरमै रोगको भयावह स्थिति लिएर बसिरहेका होलान्।
यता अस्पतालमा, बिरामीहरुको चाप सामान्य अवस्थाभन्दा कमै भएपनि भीडभाड नै देखिन्छ। अस्पतालको फार्मेसी, शल्यक्रिया कक्षको कुरुवा स्थल, काउन्टर, प्रयोगशाला, क्यान्टिनजस्ता स्थानहरुमा मानिसहरुको चाप बढी छ। बिरामी कुरुवा भई गत ६ महिनादेखि अस्पताल धाइरहँदा सधैजसो भरिभराउ रहने वार्ड र शैयाहरू, लकडाउन पछिको दोस्रो सातातिर भने खुकुलो देखिएका थिए।
कोरोना भाइरसको जोखिम बढेको भन्दै त्यसबेला वार्डहरुमा एक पछि अर्को शैया खाली रहने गरी बिरामीलाई राखिएको थियो। हाल आएर उक्त व्यवस्था पनि हटाइएछ। जसले गर्दा अहिले धेरैजसो वार्डहरुमा मानिसहरु बढी देखिन्छन्। क्यान्सर रोग आफैँमा घातक रोग हो।
त्यसैले यो बुझेका बिरामीहरु जोखिम नै मोलेर भएपनि अस्पतालमा उपचार गर्न आउन थालेपछि भीड बढेको हुन सक्छ। अस्पताल परिसरै भरी कोरोना भाइरसबाट बच्न र बचाउनको लागि संदेश टाँसिएको छ। बढी भीड हुन सक्ने ठाउँहरूमा लाइन बस्दा सामाजिक दुरी कायम होस् भनेर निश्चित दुरीमा वर्गाकार र गोलाकार घेराहरु बनाइएको छ।
तथापी, अस्पताल आउने अधिकांश सेवाग्राहीहरु भने यसबारे बेखबर जस्ता देखिन्छन्। उनीहरु यत्रतत्र भीड गरिरहेका भेटिन्छन्। सेवाग्राहिहरुमै जोखिमबारे चेतनाको कमी र अस्पतालले नै भीडभाडमा कडाई नगर्दा यसो भएको हो कि भन्ने अक्कल काट्न सकिन्छ। यो अवस्थामा अस्पतालमा उपचाररत क्यान्सर रोगीहरुमा झन् बढी जोखिम थपिएको छ।
किमोथेरापी, रेडियशनथेरापी लगायत क्यान्सरको उपचार गराइरहेका बिरामीहरुको प्रतिरक्षा प्रणाली सामान्य मानिसको भन्दा धेरै कम रहने गर्दछ। त्यसैले उक्त क्यान्सर रोगीहरूमा कोभिड–१९ संक्रमणको खतरा उच्च हुन्छ।
कोरोना भाइरस संक्रमणको खतरा अस्पतालका कर्मचारी, डाक्टर र नर्समा पनि उत्तिकै छ। 'विशेष किसिमको रोगको उपचार गराउनुपर्ने भएकाले सेवा दिईनै रहेका छौँ यद्दपि, संक्रमणबाट बच्नको लागि कुनै पनि किसिमको सुरक्षाका साधनहरु सरकारबाट हामीले पाएका छैनौ,' एक किमोथेरापी बिषेशज्ञ डाक्टरले बताए।
केही भएपनि खतराबाट बच्न कतिपय डाक्टर, नर्सहरुले शल्यक्रिया कक्ष र आइसियुमा प्रयोग गरिने गाउन लगाइराखेका देख्न सकिन्छ। आफूलाई जोखिममा राखेर सेवा दिइरहेका स्वास्थ्यकर्मी नै संक्रमणको मारमा परे त्यसबाट झन् विकराल स्थिति उत्पन्न हुने डर छ।
अस्पतालको क्यान्टिनमा पनि अवस्था उस्तै छ। लकडाउनको प्रभावसँगै बिरामी र बिरामी कुरुवाहरुका लागि घरबाट खानेकुरा ल्याउन सक्ने वातावरण छैन। सबैतिर बन्दाबन्दी छ। त्यसैले अस्पताल परिसरकै क्यान्टिनको अर्को विकल्प छैन।
यसरी सबैजना एउटै क्यान्टिनमा जानुपर्ने अवस्था हुँदा बिहानबेलुकाको समयमा अधिक भीड जम्मा हुन्छ। छुट्टिएर बस्ने ठाउँसम्म हुँदैन। सो समयमा १५–२० जना सानो कोठामा बसेर खानुपर्ने अवस्था छ। सामाजिक दुरीको कुरा त कता हो कता, अब खाने बेलामा मास्क प्रयोग गर्ने कुरा पनि भएन।
भाइरसको खतरा झन् खुलेआम छ। अनि क्यान्टिनमा बनाइएका खाना कति सुरक्षित छन् भन्ने पनि छ। त्यही खानेकुरा बिरामीलाई खुवाउँदा बिरामी कति सुरक्षित हुने?
तीन दिनसम्म अस्पतालमा बस्दा, बिहानबेलुका विपन्न वर्गका बिरामीहरुलाई लक्षित गरेर एक संस्थाले अस्पताल परिसरमै ल्याएर निशुल्क खान खुवाउने गरेको पनि देखियो। जुन काम अत्यन्तै सराहानीय छ। तर खानेकुरा वितरणको क्रममा मान्छेहरु अव्यवस्थित रुपमै लाइनमा बसेको पाईयो।
सामाजिक दुरीको पालना यहाँ पनि देखिएन र संस्थाका प्रतिनिधिहरु पनि खानेकुरा वितरण गर्ने काममा मात्रै तल्लिन देखिए, अव्यवस्थित लाइन तिर उनीहरु कसैको ध्यान गएन। यहाँ पनि चुक भयो।
एक संस्थाद्वारा निशुल्क बाँडिएको खानाको लागि मानिसहरुको अव्यवस्थित लाइन?
यी सबै घटनाहरुको इतिवृत्तान्त एक किसिमको दीर्घरोगको उपचार गराउने एउटा अस्पतालको मात्रै हो। मुटुरोग, दम, मिर्गौला रोग, अल्जाइमर, क्यान्सर लगायत तत्काल उपचार तथा नियमित फलोअप अत्यावश्यक भएका दीर्घरोगीहरु हाल यहि डरलाग्दो अवस्थाबाट गुज्रिरहेका छन्।
नेपालका दर्जनौ अस्पतालहरुमा पक्कै पनि अहिले उस्तै अवस्था छ। संक्रमितको उपचार नै गराउनु पर्ने थलो यसरी जोखिम युक्त रहनुले के इंगित गर्छ? सोचनीय छ।
(बन्दाबन्दी पछि म दुई पटक तीन-तीन दिन दिदीको क्यान्सर उपचारको लागि भक्तपूर क्यान्सर अस्पताल बस्दा, त्यहाँको अवस्था अध्ययन गरी यो लेख तयार पारेको हुँ।)