अस्ति सामाजिक सञ्जालमा एक रोचक बहस चलिरहेको देखेँ, जहाँ अभिभावक र मनोविज्ञबीच छलफल हुँदै थियो।
अभिभावकहरूको गुनासो थियो, 'हाम्रा केटाकेटीहरू विद्यालयमा डराउँछन्, शिक्षकहरूसँग खुलेर कुरा गर्न सक्दैनन्,' भने मनोविज्ञले यो समस्यालाई सकारात्मक ढंगले समाधान गर्न सुझाव दिइरहेकी थिइन्।
कमेन्ट सेक्सनमा पनि मिश्रित प्रतिक्रिया देखिए—कसैले बालबालिका जिद्दी र अनुशासनहीन भएको गुनासो गरेका थिए, त कसैले उनीहरूलाई सही तरिकाले हुर्काउन नसकेको कुरा उठाएका थिए। यी बहसहरूले मलाई केहीबेर सोचमा डुबायो। अनुशासन भनेको के हो, र यसको सही अर्थ के हो? के यो डर र दबाब हो, कि सही मार्गदर्शन र जीवनको मूल्य सिकाउने माध्यम? अनुशासनको आजको आवश्यकता के हो? के हामीले यसलाई सही ढंगले बुझेका छौं?
आजको समयमा अनुशासनलाई कसरी परिभाषित र व्यवहारमा उतारिन्छ भन्ने कुरा अत्यन्त महत्त्वपूर्ण छ।
बालबालिकालाई अनुशासन सिकाउनुको अर्थ उनीहरूलाई डर या दबाबमा राख्नु कदापि होइन। यसको उद्देश्य भनेको उनीहरूलाई सही र गलतबीचको भिन्नता बुझाउनु र सिकाउनु हो, जसले उनीहरूको निर्णय क्षमता र व्यक्तित्व विकासमा योगदान दिन्छ। तर, प्रश्न उठ्छ— के हामी, अभिभावक र शिक्षकहरू, यस कार्यका लागि पर्याप्त सचेत र सक्षम छौं? के हाम्रो व्यवहार बालबालिकाले अनुशरण गर्न सक्ने खालको छ? के उनीहरूले हामीले देखाएको बाटो पछ्याउँछन्? यस्ता विषयमा निरन्तर बहस र छलफल भइरहेका छन्।
अनुशासनको परिभाषा हरेक व्यक्तिले आफ्नो अनुभव र दृष्टिकोण अनुसार फरक तरिकाले गरेका छन्। महात्मा गान्धीले अनुशासनलाई 'आत्म-नियन्त्रणको उच्चतम स्वरूप' भनेका छन्, जबकि अमेरिकन लेखक जिम रोहनका अनुसार, 'अनुशासनले हरेक व्यक्तिलाई व्यवस्थित जीवनतर्फ निर्देशित गर्छ।' कोही यसलाई 'सही समयमा सही निर्णय गर्ने सीप तथा क्षमता' मान्छन् भने, कतिपयले 'आफूभन्दा ठूला व्यक्तिहरूको मार्गदर्शनलाई स्वीकार गर्ने क्षमता तथा बानीका रूपमा परिभाषित गर्छन्।
यी भिन्न दृष्टिकोणहरूले अनुशासनको विविधता, गहिराइ र यसको व्यापकतालाई उजागर गर्छन्। प्राचीनकालदेखि नै अनुशासनलाई समाज र संस्कृतिले समय, परिस्थिति, र आवश्यकताअनुसार फरक ढंगले परिभाषित र प्रयोग गर्दै आएको छ। यसले केवल व्यक्तिगत जीवनको मात्र होइन, सम्पूर्ण मानव सभ्यताको व्यवस्थापन र उन्नतिको आधारशिला निर्माण गरेको छ।
केही व्यक्तिहरू भन्छन् कि अनुशासनले स्वतन्त्रतालाई कब्जा गर्छ, जसले व्यक्तिको स्वतन्त्रता र सिर्जनात्मकता सीमित गर्न सक्छ। अर्कोतर्फ, केहीका अनुसार स्वतन्त्रता भनेको 'जे मन लाग्यो त्यही गर्ने' अधिकार होइन; यो जिम्मेवारी र विवेकको साथ लिने क्षमता हो। यस अर्थमा, अनुशासनले स्वतन्त्रतालाई एक संरचना र मार्गदर्शन दिन्छ, जसले हामीलाई सही दिशा र आत्म-नियन्त्रण सिकाउँछ। यद्यपि, अनुशासनको अभावले अराजकता र असमझदारी ल्याउन सक्छ, र यही कारणले गर्दा 'अनुशासनको पालनाले समाजमा शान्ति र व्यवस्थापन कायम राख्न मद्दत पुर्याउँछ' भन्ने विचार पनि महत्वपूर्ण छ। त्यसैले, अनुशासन र स्वतन्त्रताको बीचको सन्तुलनका बारेमा सोच्नु आवश्यक छ, ताकि दुवैको सही उपयोग गर्न सकियोस्।
शैक्षिक संस्थाहरूमा अनुशासनलाई अत्यधिक महत्त्व दिइन्छ र यसलाई 'शिक्षा र बौद्धिक विकासको आधारशिला' को रूपमा मानिन्छ। अनुशासनले विद्यार्थीलाई आफ्नो लक्ष्यमा केन्द्रित रहन र जिम्मेवार बन्न मद्दत पुर्याउँछ। यसले उनीहरूको व्यक्तिगत र शैक्षिक विकासलाई सुदृढ बनाउँछ र दिगो सफलता प्राप्त गर्नका लागि मार्गदर्शन गर्दछ।
यही कारणले शैक्षिक संस्थाहरूले अनुशासनलाई कडाइका साथ लागू गर्छन्, ताकि विद्यार्थीहरूलाई प्रभावकारी अध्ययन गर्ने वातावरण प्राप्त होस् र उनीहरूको क्षमता, प्रतिभा, सिर्जनशीलता तथा अन्य विविध पक्षहरूको उच्चतम विकास होस्।
समग्रमा, शैक्षिक संस्थाहरूमा अनुशासनलाई विभिन्न तरिकामा बुझिन्छ र लागू गरिन्छ। केही विद्यालयहरूले यसलाई 'व्यक्तिगत प्रतिबद्धता र उत्तरदायित्वको मापदण्ड' को रूपमा प्रस्तुत गर्छन्, भने अन्यहरूले यसलाई 'सामाजिक र सांस्कृतिक परिपक्वता' को परिणामका रूपमा व्याख्या गर्छन्।
अनुशासनको परिभाषा र महत्व विभिन्न दृष्टिकोण र विचारधारामा आधारित हुन सक्छ, तर अनुशासन भनेको केवल नियम र आदेशको पालन गर्नु मात्र होइन, यसले जीवनलाई एक निश्चित मार्गमा अघि बढाउन र जिम्मेवार नागरिक बन्नका लागि आवश्यक सहयोग पुर्याउँछ। तथापि, आजका शैक्षिक संस्थाहरूलाई अनुशासनको उचित पालनामा चुनौतीहरूको सामना गर्नुपरेको देखिन्छ, र यसलाई व्यवस्थापन गर्ने तरिकामा पनि फरक-फरक दृष्टिकोणहरू छन्।
केही समयअघि, शैक्षिक संस्थासँग सम्बन्धित केही व्यक्तिहरूसँगको अनौपचारिक छलफलमा एउटा विचार उठेको थियो। केही व्यक्तिहरूको तर्क थियो, 'अहिलेका केटाकेटीलाई के थाहा, हामीले भोगेका संघर्ष र कठिनाइहरूको बारेमा।' केही व्यक्तिहरूले भन्न थाले, 'विद्यालयले अनुशासनको नाममा विद्यार्थीलाई अत्यधिक दबाब र कष्ट दिइरहेको छ,' र कपाल काटेर आउनुपर्ने वा विद्यालयले तय गरेको पोशाक लगाउनुपर्ने जस्ता नियमहरूको उदाहरण दिएका थिए। त्यस छलफलमा दुईवटा भिन्न दृष्टिकोणहरू देखा परे।
एउटा समूहको भनाइ थियो, 'विद्यार्थीहरूले विद्यालयका नियम र अनुशासनको पालना गर्नुपर्छ। उनीहरूले पोशाक सही तरिकाले लगाउन, कपाल काट्न र समयमै विद्यालयमा आउनुपर्छ, जसले उनीहरूको जिम्मेवार र व्यवस्थित बन्ने प्रक्रियालाई मद्दत पुर्याउँछ।'
यस समूहको विचारमा, यी नियमहरूले विद्यार्थीलाई अनुशासन र आस्थामा दृढ बनाउँछ।
अर्कोतर्फ, अर्को समूहले भन्यो, 'अनुशासनको नाममा विद्यार्थीलाई अत्यधिक दबाब र नियन्त्रण दिनु भनेको उनीहरूको मानसिकता र स्वतन्त्रता सीमित गर्नु हो। कपाल काट्नु र एक निश्चित पोशाक लगाउनु मात्रै अनुशासनको मापदण्ड होइन।'
यस समूहका अनुसार, विद्यार्थीलाई स्वतन्त्र सोच र व्यक्तिगत अभिव्यक्तिको अवसर दिनु पनि महत्त्वपूर्ण छ।
तर्क र वितर्कहरूको आफ्नो स्थानमा सही वा गलत हुनु सक्छन्, तर यसले हामीलाई एक महत्त्वपूर्ण प्रश्न सोध्न प्रेरित गर्छ—'विद्यालयमा पोशाकको के सम्बन्ध छ?' यस प्रश्नको उत्तर दिनुअघि, हामीले बुझ्न आवश्यक छ कि विद्यालय र शैक्षिक संस्थाहरू केवल साधारण संस्था मात्र होइनन्; यिनीहरू बालबालिकाको मार्गदर्शन र चरित्र निर्माणमा जिम्मेवार निकाय हुन्। शैक्षिक संस्थामा विद्यार्थीहरूलाई मर्यादा, जिम्मेवारी र कर्तव्यका मूल्यहरू सिकाउनु महत्त्वपूर्ण छ, जसले उनीहरूको भविष्य निर्माणमा मद्दत पुर्याउँछ। विद्यालयमा लागू गरिएका केही नियमहरूको उद्देश्य विद्यार्थीलाई समयको महत्व र जीवनका विभिन्न पक्षहरूमा जिम्मेवारीसँग अघि बढ्न सिकाउनु हो। कपाल काट्नु र विद्यालयले निर्धारण गरेको पोशाक लगाउनु भनेको केबल बाह्य रूपको कुरा मात्र होइन। यसले विद्यार्थीलाई एकता र एकरूपता मात्र सिकाउँदैन, यो उनीहरूको अनुशासन, आत्मसम्मान र परिपक्वतालाई पनि सुदृढ बनाउँछ। जब विद्यार्थीहरूले यी नियमहरूको पालना गर्छन्, उनीहरूले सिक्छन्, 'म सधैं जस्तो चाहन्छु, त्यस्तो गर्न सक्दिनँ; मसँग जिम्मेवारी र कर्तव्य छन्।'
आजकलको डिजिटल युगमा, जहाँ सामाजिक सञ्जाल र प्रविधिको पहुँच अत्यधिक छ, पोडकास्ट, टिकटक, र अन्य अनलाइन प्लेटफर्महरूमा कतिपय व्यक्तिहरू आफ्ना व्यक्तिगत अनुभव र विचारहरू सेयर गर्छन्। आफ्ना स्कुल तथा कलेज पढ्दाका अनुभवहरू तथा भोगाइहरू सार्वजनिक गरिरहेका हुन्छन्। कतिपयका अनुभव कडा र दु:खलाग्दा हुन्छन्, तर यसले समग्र शैक्षिक संस्थाहरूलाई दोषी ठहराउनु कति सान्दर्भिक देखिँदैन। यद्यपि, यस्तो आलोचना र विचारविमर्शले शैक्षिक संस्थाहरूलाई सुधार गर्न र सचेत हुनका लागि मद्दत पुर्याउँछ र अन्य व्यक्तिहरूलाई सिक्न र सुधार गर्ने अवसर पनि प्रदान गर्छ। तर, यसमा हामीले नैतिकता र जिम्मेवारीको कुरा पनि सधैं ध्यानमा राख्न आवश्यक छ।
आजकालको समयमा, अनुशासन कायम राख्नु केही हदसम्म कठिन बन्दै गएको देखिन्छ। विद्यार्थी र शिक्षकको बीचमा मर्यादा र आदर्शहरूको पालन गर्नु दिनप्रतिदिन चुनौतीपूर्ण भइरहेको छ। केही समयअघि, एक जना बहिनीले आफ्नो कक्षामा भएको एउटा घटनालाई निकै रोचक र रमाइलो तरिकाले प्रस्तुत गरिन्।
उनले भनिन्, 'हाम्रो कक्षामा त हाम्रो साथीले गुरूबालाई 'तँ' भनेर कुरा गर्यो, र गुरूबा निरीह हुनुभयो, केही गर्न सक्नुभएन।' यो कुरा सामान्य जस्तो लाग्न सक्छ, तर यसले गहिरो समस्याको संकेत गर्दछ। यस घटनाले केवल शिक्षक र विद्यार्थीको सम्बन्धलाई मात्र असर पुर्याउँदैन, यसले हाम्रो समाजको मर्यादा र संस्कृतिमा पनि गम्भीर असर पार्दछ। हामी अहिलेको पुस्तालाई के सिकाइरहेका छौं? के हामी उनीहरूलाई सम्मान र मर्यादाको महत्व बुझाइरहेका छौं, वा उनीहरूलाई अपशब्द र अमर्यादित व्यवहारको बाटो देखाइरहेका छौं? यो घटना एउटा व्यक्तिगत मुद्दा मात्र होइन, यो हाम्रो समाजको गहिरो समस्या हो।
शिक्षा र आचरणका यी आधारहरूले भविष्यमा हाम्रो समाजको स्वभाव र संस्कृति निर्माण गर्नेछन्। त्यसैले, जब विद्यार्थीले शिक्षकसँग अमर्यादित ढंगले व्यवहार गर्छ, त्यो केवल एक घटना मात्र होइन, यसले हामीलाई हाम्रो नैतिकता र मूल्यमान्यताबारे पुनः विचार गर्नको लागि मजबुत बनाउँछ।
यसरी, यस घटनाले हामीलाई गम्भीर ढंगले सोच्न बाध्य पार्छ कि हामी शिक्षामा कस्तो वातावरण सिर्जना गर्दैछौं। के हामी विद्यार्थीलाई केवल पाठ्यपुस्तकका कुरा मात्र सिकाउँदै छौं, वा उनीहरूको नैतिक र सामाजिक जिम्मेवारीहरूको बारेमा पनि सचेत गराइरहेका छौं? विद्यालयको उद्देश्य केवल ज्ञान प्रदान गर्नु मात्र होइन, त्यहाँ सिकाइने संस्कार र आचरणले नै विद्यार्थीलाई जिम्मेवार र परिपक्व नागरिक बन्नमा मद्दत पुर्याउँछ। तर यो केवल विद्यालयको मात्र जिम्मेवारी होइन, घरको पनि ठूलो भूमिका छ।
विद्यार्थीहरूको व्यक्तित्व र आचरणको आधार उनीहरूले घरमा पाएका शिक्षा र वातावरणबाट पनि निर्माण हुन्छ। यदि घरमा परिवारका सदस्यहरूले सहकार्य, सम्मान र जिम्मेवारीका मूल्यहरू सिकाउँछन् भने, विद्यालयमा सिकाइने संस्कार र आचरणसँग मिलेर ती मूल्यहरू विद्यार्थीको जीवनमा गहिरो प्रभाव पार्न सक्छ। यसैले, यो केवल शिक्षक र विद्यार्थीबीचको समस्या होइन, यो हाम्रो समाजको संस्कार र भविष्यको सवाल हो। विद्यालय र घर मिलेर काम गर्दा मात्र हामीले अहिलेका केटाकेटीहरूलाई जिम्मेवार र मर्यादित बनाउन सकिन्छ।
मेरो एक जना साथीले शिक्षण पेसामा केही समय बिताएर त्यसलाई छोड्ने निर्णय गरिन्।
मैले उनलाई सोधें, 'किन तिमी यो पेसा छोड्दै छौ?'
उनको जबाफ थियो, 'अहिलेका केटाकेटीलाई सम्हाल्नै गाह्रो छ।' यो जबाफ सुनेर मलाई थाहा भयो कि यो समस्या केवल व्यक्तिगत रोजाइको कुरा होइन, हाम्रो सामाजिक र शैक्षिक प्रणालीसँग जोडिएको एक गम्भीर समस्या हो। कतिपय व्यक्तिहरूले भन्न पनि सक्छन् कि 'नभाको रिस पनि उठ्छ,' र यसले देखाउँछ कि समस्या केवल व्यक्तिमा होइन, यो हाम्रो समाजको मूल संरचनामा रहेको छ। हामीले समाजको परिपाटी र आचरणलाई सही दिशा दिनुपर्नेछ।
केही व्यक्तिहरूले हाम्रो शैक्षिक प्रणाली र शिक्षण पद्धतिको आलोचना गर्दै आएका छन्। कतिपयले भनेका छन् कि पहिलेको प्रणाली राम्रो थियो, अहिले भने त्यस्तो छैन। अरूले भनेका छन् कि अहिलेको प्रणाली राम्रो छ र पहिला ठीक थिएन। तर हाम्रो पूर्वीय दर्शन अनुसार, हामीले गुरूकूल शिक्षा प्रणालीमा फर्केर हेर्दा त्यहाँ गुरू र शिष्यबीच सुमधुर सम्बन्ध थियो। गुरूहरूले आफ्नो शिष्यलाई थर्काएर वा कुटेर शिक्षा दिइरहेको पाइँदैनथ्यो। शिष्यहरूले पनि गुरूहरूलाई सम्मानका साथ हेरेका थिए। यस कारण गुरू र शिष्य बीचको सम्बन्धले ज्ञानको आदानप्रदानमा ठूलो भूमिका खेल्थ्यो। तर, समयसँगै विज्ञान र प्रविधिको विकासले शिक्षण प्रणालीमा केही परिवर्तन ल्याएको छ। खासगरी, कुटपिट र थर्काउने कुरा गलत मानिएको छ, र त्यो सुधार्नुपर्ने छ। अहिले पनि परिवर्तनको क्रममा केही कुरा नमिलेको जस्तो देखिन्छ। सबै कुरा पहिले राम्रो थियो भन्ने पनि हुँदैन, र अहिले पनि सबै कुरा राम्रो छैन। त्यसैले मैले भन्न चाहेको कुरा यो हो कि हामीले पुराना राम्रा विचारलाई आत्मसाथ गर्दै, अहिलेका राम्रा विचारलाई पनि अपनाएर, परिस्थितिअनुसार शिक्षा र अनुशासन सिकाउनुपर्छ। यसका लागि उचित परिमार्जन र सुधार गर्न विशेष ध्यान दिनुपर्छ, र सम्बन्धित निकायहरूले यस विषयमा गृहकार्य गर्न अत्यन्त आवश्यक छ।
प्रगतिशीलताको कुरा गर्दा धेरैजसो स्थानमा हामीले शिक्षा र समाजका बारेमा नयाँ सोचको कुरा गर्छौं। जहाँ विद्यार्थीहरूले शिक्षकलाई अत्यधिक सुन्नु आवश्यक छैन भन्ने धारणा पाइन्छ, तर प्रगतिशीलता भनेको सोचमा सुधार ल्याउनु हो। व्यवहारमा प्रगतिशीलता भनेको कुनै पनि पुराना धारणाहरूलाई सुधार्दै, नयाँ दृष्टिकोणको साथ अघि बढ्नु हो। यसको अर्थ भनेको कुनै पनि कुरा जस्तै मन लाग्यो त्यस्तो गर्नु होइन, बरू सकारात्मक परिवर्तन गर्दै जानु हो। प्रगतिशीलता भनेको सबै राम्रा कुराहरूलाई अझ राम्रो बनाउँदै, नराम्रा कुराहरूलाई परिवर्तन गर्दै जानु हो।
विद्यालयमा एउटा बालकले यदि शिक्षकप्रति सम्मानको भावना राख्दैन भने, उसले राम्रो ज्ञान प्राप्त गर्न सक्दैन। गुरू र शिष्यको बीचमा सुमधुर सम्बन्ध हुनु अति आवश्यक छ। गुरूले शिष्यलाई बुझ्नुपर्छ भने, शिष्यले पनि गुरूलाई बुझ्नुपर्छ। यस प्रक्रियाको सुरूआत घरपरिवारबाट हुन्छ। एउटा भनाइ छ कुनै पनि देशको विकास नहुन दिनुछ भने त्यस देशको शिक्षा ध्वस्त पारिदिए हुन्छ।
अतः शिक्षण संस्थामा मर्यादित र संरचित वातावरण आवश्यक छ।
अनुशासन केवल नियम र कानूनी सीमाहरूमा बाँधेर राख्नु मात्र होइन। अनुशासन भनेको हरेक व्यक्तिको जीवनको अपरिहार्य तत्व हो। यो भनेको समयको कदर गर्नु, सही समयमा सही काम गर्नु, र आफ्नो जिम्मेवारीको पालन गर्नु हो। अनुशासित हुनु भनेको आफूलाई माया गर्ने र आत्मसंयम राख्ने कुरा हो।अनुशासन भनेको केवल चुपचाप बस्नु मात्र होइन, बरू आफूलाई लागेको कुरा उठाउन सक्नु हो। गलतलाई सही भन्नु भनेको अनुशासनको विपरीत हो। अनुशासन केवल शिक्षण संस्थासम्म सीमित छैन। सार्वजनिक स्थानमा, सवारी साधनमा चढ्दा, बाटो काट्दा हामीले अनुशासनको पालना गर्नुपर्छ। हरेक ठाउँमा अनुशासन आवश्यक छ। अनुशासन भनेको शान्त र चुपचाप बस्नु मात्र होइन, बरू प्रत्येक क्रियामा आत्म-संयम, जिम्मेवारी र समयको कदर गर्नु हो।यसका लागि सबै सरोकारवाला निकाय र सरकारका उच्च ओहोदामा बसेकाले यसलाई बुझेर सुधारका लागि कदम चाल्नु जरूरी छ।