हुन त मंसिर हामी सबैका लागि खास नै हुन्छ। तर यो मंसिरले मेरो जीवनमा नयाँ नयाँ मोड लिएर आएको छ।
२०५४ मंसिर १९ ले मेरो जीवन धार नै बदलिदियो। भिमानको सुन्दर धरामा निर्बन्ध, निर्धक्क र निसङ्कोच फुल्ने कोइराला फूल ढुङ्गेलको आँगनमा अचानक मुस्कुराउन थाली।
फेरि २०७८ मंसिर २३, मेरा लागि अर्को उपहार लिएर आयो।
सेतोपाटीमा 'डिग्रीवाली गृहिणी' प्रकाशित भयो। एउटा लेखले जीवनको दशा र दिशा नै फेरिदियो।
उत्प्रेरणा, उत्साह र ऊर्जाको बाढी यसरी आयो म निरन्तर लेख्न थालेँ। सेतोपाटीको सेतो भित्ताले मलाई साहित्यको सुन्दर संसारतिर धकेलिरह्यो। यसै सन्दर्भमा २०८१ को मंसिर पनि मेरा लागि विशेष उपहार लिएर आयो।
दायित्व वाङ्मय प्रतिष्ठानको स्रष्टा सम्मान कार्यक्रममा जाने तारतम्य मिल्दैछ। सम्मानित हुने अग्रज स्रष्टाहरू अति नै आदरणीय हुनुहुन्छ। जनकपुरबाट पितातुल्य गुरू डाक्टर राजेन्द्र विमल, प्रा. डा. गोविन्दराज भट्टराई, प्रा डा अभि सुवेदी तथा मुकुन्दशरण उपाध्याय हुनुहुन्छ। सो कार्यक्रमा जाने योजना मंसिर १ गते अघि नै बनिसकेको थियो। शनिबार मंसिर १ गतेको दिन घर छोडेर नगइदिए हुन्थ्यो भन्ने प्रेमिल आँखाहरू शुक्रबारदेखि नै चनाखा भएका छन्।
जाने दिन घरको काम छिमल्न बिहान चारै बजे उठेकी छु। बिहानैदेखि भान्साको व्यवस्थापन गरेर राखिदिँदा पनि हतास छन् मेरा प्रियजनहरू। प्रेमिल अनुहारहरू मतिर फर्किएर भन्छन् , 'मामु नभएपछि जे जे भए पनि शून्य हुन्छ घर।'
छोरीहरूको बोलीमा लोली मिलाउँदै सुभाष सर पनि नजिकै आएर भन्नुहुन्छ, 'नगए हुँदैन? जानै पर्ने ... ? बल्ल बल्ल त शनिबार आउँछ। बरू दिउँसोको खाजा मै बनाउँला तर तिमी नगए हुन्न ... ? शनिबार तिमी नहुँदा घर शून्य हुन्छ।'
मलाई उकुसमुकुस हुन्छ।
नखाऊँ भने दिनभरिको शिकार खाऊँ भने कान्छा बाको अनुहार भएको छ आजको जवाइ। जाने र नजानेबीचको वार्ता नटुङ्गिँदै, ससुराबा छेउमा आएर भन्नुहुन्छ, 'साँच्चै तिमी नहुँदा च्याउँच्याउँ हुन्छ। दिउँसो हामी के खानु? चाँडै आऊ है।'
मन फुरूङ्ग पर्छ 'आहा! मलाई कति धैरै चाहन्छ मेरो परिवार।' फेरि झलक्क सम्झिन्छु फ्रान्ज काफ्काको ग्रोगर साम्सालाई अनि ढुक्क हुन्छु 'ए संसार है भाइ, संसार है' भन्दै प्रज्ञाप्रतिष्ठान जाने मेलो गर्छु।
अनिता पन्थी बहिनीको फोन आउँछ, 'दिदी हाम्रो भेट हुने ठाउँ फेरियो नि! हामी ठिक १:१५ मा बल्खुमा भेट्नु पर्छ है।'
अनिता बहिनीलाई हुन्छ भनेर फोन राखेँ।
तर मनले भन्छ, 'आ ! एउटै गाडीले पुग्छेस् प्रज्ञाप्रतिष्ठान किन जानु त्यत्रो बाटो'। मनको कुरा अनितालाई भन्छु तर उनी पनि सँगै जाने मन गर्छिन्। दिदीको मनलाई बहिनीको मन दुखाउन मन लागेन। सीता पेट्रोलपम्ममा भेट हुने योजना बन्यो। गोविन्द सर र अन्जना मेडमसँगै हामी जाने सल्लाह भएको थियो। तर पछि योजना बदलिएछ। हामी लक्ष्मण गाम्नागे सरको गाडीमा जाने भएछौँ।
निर्धारित समयमा बल्खु पुगेँ। अनिता बहिनी पनि केहीबेरमा आइन्। हामी बल्खुको पेट्रोलपम्ममा उभिएका छौँ। मैले अनितालाई हाँसेर भनेँ, 'हेर न आज म अघिनै पुगिसक्थेँ कमलादी। दुई दुई वटा गाडी फेरेर, यसरी पेट्रोलपम्पमा उभिन किन आएकी हुँली। घरी सीता पेट्रोलपम्प घरी बल्खुको पेट्रोलपम्प। अति प्रज्ज्वलनशील पदार्थसँग हाम्रो केही सरोकार पो छ कि नानी? मलाई त यस्तो लाग्दैछ म त साँच्चै चालिस रुपैयाँ तिरेर गाम्नागे सरको गाडी नै चढ्न पो आएँ कि जस्तो भयो त!'
मेरो कुरा सुनेर अनिता बहिनी मरीमरी हाँस्न थालिन्। त्यत्तिनै खेर गाम्नागे सरको गाडी सादृश्य भयो। अगाडि गोविन्द सर सदावहार मुस्कान सहित उपस्थित हुनुहुन्छ। हाम्रो अगाडि गाडी टक्क रोकियो। अभिवादनको मीठो मुद्रा लिएर हामी हाँस्दै गाडीभित्र उक्लियौँ।
मंसिरको जाडो आरम्भ हुँदैछ। भेलाको कुर्तामाथि कालो स्वीटर पनि लगाएकी छु। अञ्जना म्यामले पनि लगाउनु भएको छ स्वीटर। केहीबेर मौसमको कुरा भयो। पठन लेखनको कुरा भयो। लक्ष्मण सरले भन्नुभयो, 'दुवै अनितालाई हिजो सम्झिएका थियौँ।'
हामी दुइटै चनाखो भएर सुन्यौँ 'किन सम्झिनु भएछ त हामीलाई' भनेर। हाम्रो पठन, लेखन र समीक्षाका बारेमा रहेछ। एउटा हिन्दी किताब असाध्यै राम्रोसँग नेपालीमा अनुवाद भएको रहेछ अनि त्यो पुस्तक हामीले पढ्न पाउने अवसर जुरेको कुरा गर्नुभयो। हामी दंग पर्यौं।
अचानक गाडीमा सिस्नोपानीको हाँसो फैलियो। जब अनिताले सुनाई, 'दिदी त चालिस रुपैयाँ तिरेर गाम्नागे सरको गाडी मात्र चढ्न पो आएको जस्तो भयो रे।' नभन भन्दै थिएँ भनी त हालिन् मैले भनेको कुरा गाम्नागे सरलाई।
हाँसोको मीठो वातावरणमा प्रज्ञा प्रतिष्ठान पुग्नै लाग्दा गोविन्द सरले भन्नुभयो, 'बीस रुपैयाँ तिरेर गएको भए। यस्तो माहोल हुन्थ्यो? चालिस रुपैयाँ तिरेर गाम्नागेको गाडी चढ्दा फाइदै भयो त!' फेरि हामी एकफेर हाँस्यौँ। मनमनै सोचेँ- हो त नि यो संस्मरण त लेख्नै पर्छ। भरे घर गएर पक्कै लेख्नेछु।
अब हामी लेखनाथ हलमा पुगिसकेका छौँ। हलमा अतिथिहरू आउने क्रम जारी छ।
म देख्दैछु मेरा परम आदरणीय गुरू डाक्टर राजेन्द्र विमल सरलाई। साथमा छन् मेरा बालसखा दुर्गा घिमिरे। चिरपरिचित साहित्यकारहरूसँग नजिक हुने अवसर प्राप्त भएको छ। आजकै दिन रेनुका सोलु दिदीको पुस्तक तुइन जिन्दगीको दोस्रो संस्करणको परिचर्चा कार्यक्रम छ पारिजात हलमा।
हामी मुख देखाएर आउने हिसाबले उक्लिन्छौँ पारिजात हलतिर। दिदीलाई बधाई तथा शुभकामना दिँदै हामी पुनः लेखनाथ हलमा झर्छौं। ठ्याक्कै अगाडि हुनुहुन्छ बिन्दु मेडम र अञ्जना मेडम। मञ्चासीन हुनुहुन्छ सम्मानित स्रष्टाहरू। पुरस्कार स्थापना गर्ने संस्थापकज्यूहरू तथा संस्थापकज्यूहरूका प्रतिनिधिज्यूहरू। प्रमुख अतिथि हुनुहुन्छ मन्त्रिपरिषदका पूर्वअध्यक्ष तथा पूर्वप्रधान्यायाधीश सम्माननीय खिलराज रेग्मीज्यू। यसै समारोहमा विभिन्न विधाका पाँच पुस्तकहरू पनि लोकार्पण हुँदैछन्।
कार्यक्रम सञ्चालकज्यूले बडो मीठो तरिकाले कार्यक्रम आरम्भ गर्नुभएको छ। स्वागत मन्तव्य उस्तै दमदार छ। तुलसी भट्टराईले संस्थापकहरूको परिचय अक्षर चित्रबाट दिँदै हुनुहुन्छ। सिन्धुलीका शङ्कर कोइरालाको साहित्यिक योगदान सुनेर यो कोइराला चेलीलाई आत्मीयता अनुभव भयो। हृदय गद्गद् भएको छ।
शङ्कर कोइराला आख्यान पुरस्कार डाक्टर राजेन्द्र विमललाई रु २५००० नगद र सम्मानपत्र सहित प्रदान गरिएको छ। कुमार- सरस्वती पुरस्कार प्रा. डा. अभि सुवेदीलाई रू २५००० नगद सहित सम्मानपत्र प्रदान गरिएको छ। चूडामणि व्याकरण- कोश पुरस्कार प्रा. डा. मुकुन्दशरण उपाध्यायलाई रू ५२००० नगद सहित सम्मानपत्र प्रदान गरिएको छ। रामप्रसाद पन्त वाङ्मय पुरस्कार प्रा. डा. गोविन्दराज भट्टराईलाई रू ५५००० नगद सहित सम्मानपत्र प्रदान गर्दा वरिपरि सबैको मुहारमा प्रसन्नताको उज्यालो छरिएको देख्दैछु।
लामो समयदेखि साहित्य साधना गर्ने साधकहरूप्रतिको न्याय साँच्चै स्तुत्य लाग्यो। सबै जनाले निकै छोटो र मीठो मन्तव्य दिनुभयो। डा. राजेन्द्र विमलको मन्तव्य निकै मार्मिक र संवेदनशील लाग्यो। कायर्क्रम समापनपछि फोटो सेसन चल्दै गर्दा हामी दिदी बहिनी रेनुका सोलुको कार्यक्रममा गएर ज्ञानु पाण्डे म्यामलाई पनि सुन्न भ्यायौँ। रेखा ज्ञवाली म्याम र सरसँग पनि त्यहीँ भेट भयो। साथै रञ्जु दाहाल र लक्ष्मी मुडबरीसँग पनि साक्षात्कार हुँदा आनन्दको अनुभव भयो।
हामी पुनः लेखनाथ हलको अगाडिको खुला ठाउँमा जम्मा भएका छौँ। बागमतीको प्याकेट फुड छ। धमाधम सबै जना खाजा खान थालेको देख्दा हाम्रो पेटले पनि भोकको आलाप गाउन थाल्यो। आज विमोचित किताबहरू पनि निःशुल्क बाँडिएको छ। शङ्कर कोइरालाले अधुरै लेखेर छोडेको पुस्तक उहाँका छोराले पूरा गरेको प्रसङ्ग सुन्दा सो पुस्तक पढ्ने रहर कोइराला पुत्रीको मनमा पनि आयो तर पुस्तक सकिसकेको देखेर निरास भएँ। धन्न साथी दुर्गाले दुई वटा लिएका रहेछन्। अनि मलाई एउटा दिए डाँकु घिन्ताङ्सिङ कस्तो रोचक संजोग पिताले लेखेको अपुरो पुस्तक पुत्रले पूरा गरेर लोकार्पण गर्नु कति हर्ष र गौरवको पल। माथिबाट पक्कै हेर्दै थिए होलान् साहित्यकार शङ्कर कोइराला आफ्ना पुत्र अनिललाई।
अब हामी तल ओर्लिएका छौँ। बाटैमा भेटिनुभयो डा. राजेन्द्र विमल सर। सरले मलाई मेरी छोरी भन्दै काँधमा हात राख्दा सबै जनाले मलाई नै हेरेको आभास भयो। शायद थाहा छैन राजेन्द्र विमल सर र मेरो सम्बन्ध पिता र पुत्रीको समान छ। २०५२-५३ प्रमिणता प्रमाणपत्र तह बीपी कोइराला क्याम्पस जनकपुरमा सरसँग पढ्ने सुअवसर पाएकी थिएँ। हाम्रो साथ साहित्यको मात्र होइन। पारिवारिक सम्बन्ध छ वर्षौंदेखि। सरको मुखबाट मप्रति स्नेह, प्रेम वर्षिरहेको छ। नजिकै सुन्दै हुनुहुन्छ व्याकरणविद् चूडामणि गौतम सर। बडो गहिरो आँखाले मलाई नियाल्दै हुनुहुन्छ। ठूला ठूला आँखामा ज्ञानको अपार समुद्र छचल्किएको देख्दैछु। सेतो पहिरनमा शिरभरि हिमाल लिएर मुस्कुराउँदै भन्नुहुन्छ, 'तिमीलाई म एउटा उपहार दिन्छु बृहत्तर शब्दकोश।
चूडामणिसरको कुरा सुनेर दङ्ग पर्दै भनेँ, 'अहो! सर कहिले जुर्छ त्यो शुभदिन।'
सरले पनि तुरून्तै भन्नुभयो- आज जाने भए पनि जाऔँ। डिल्लीबजार त हो मेरो घर।'
मैले अनिता बहिनीलाई खोजेँ। एक्लै जाने त कुरै थिएन। तर अनिता ओझेल परेकीले साथी दुर्गा घिमिरेलाई पुलुक्क हेरेँ। उसले जाने निर्णयमा पाइताला चाले , 'जौँ जौँ जाने भए भोलि भनेको के हो के हो नजिकै रहेछ।' म पनि जाने भएँ। अनिता बहिनीलाई पनि भनेँ उनले पनि जाने मन गरिन् तर बिन्दु म्यामसँग कुनै काम विशेष अलमलमा परिन्। मैले अञ्जना म्यामसँग अनुमति मागेँ , 'म्याम चूडामणि सरले घरमा जाऔँ भन्नुभएको छ। शब्दकोश उपहार दिन्छु भन्दै हुनुहुन्छ। साथी पनि मसँगै जान्छन् के गर्यौं म्याम?' म्यामले भन्नुभयो, ' जानू अनिता जानू। यो त ठूलो अवसर हो। सरको हातबाट शब्दकोश उपहार पाउनु कति राम्रो कुरा छ।' म्यामको मुखबाट यति सुनेपछि मलाई एक किसिमको ढुक्क भयो। किनकि गोविन्दसर र अञ्जना म्यामसँगै हामी आएका थियौँ। उहाँहरू हाम्रो अभिभावक हुनुहुन्छ। आउँदा त्यसरी आएका हामी जानकारी नगराइ लुइत्त हिँड्न पनि मेरो नैतिकताले दिएन।
बाटोमा बडो रोमान्टिक पाराले चूडामणि सर बोल्दै हुनुहुन्छ। मलाई त्यति मन त पर्दैन त्यस्तो किसिमको रोमान्टिक छेडछाड। सर भन्दै हुनुहुन्छ दुर्गासँग, 'हरेक लोग्ने मान्छेले आफ्नी श्रीमती नराम्री होस् भन्छ थाहा छ किन? हामीतिर सर हेर्दै बोल्नुभएको छ। मैले सरको कुरा नसुनेको स्वाङ गरेँ। सरले हातमा बागमतीको खाजाको प्याकेट र केही थान किताब बोक्नु भएको छ। मेरो स्वभाव अनुसार सरसँग त्यो भारी मागेर बोक्न खोजेँ। सर भन्नुहुन्छ- किन लिएकी मेरो हातको सामान?' म भन्छु- मेरी हजुरआमाले सिकाएको संस्कार हो। हजुर मेरो आदरणीय र सम्माननीय व्यक्ति हुनुहुन्छ। अनि हजुरलाई माया र सम्मान गरेर मैले भारी बोकेकी नि।'
सर पुनः रसिक मूडमा बोल्नुहुन्छ, 'एक दिन माया गरेर पुग्छ र!' मलाई शङ्का लाग्छ सरप्रति। तर अन्तस्करणले भन्छ सरको बानी जिस्किने किसिमको रहेछ। उमेरले ८२ वर्षमा हिँडिरहनु भएका सरप्रति शङ्का गर्नु पनि पापै लाग्ला ठानेँ। दुर्गालाई पुलुक्क हेर्छु। हामी साथी भन्दा पनि दाजु बहिनी जसरी नै सँगै हुर्किएका सहपाठी हौँ। एउटै गाउँका। रोमान्टिक कुरा कतै थिएन अतीतमा पनि अहिले हुने त झन् कुरै भएन। तर सर बेलाबेला हामीलाई पनि जिस्क्याउनुहुन्छ। म छक्क पर्छु। शिरमा हिमाल लिएर हिँडेको मान्छे पनि किन एकैछिनको लागि भए पनि मनोरञ्जनको वरिपरि नै घुम्न चाहन्छ। सस्तो र रमाइलो गफ गरेर आनन्द मान्छ। जीवनमा आखिर हामीले गर्नुपर्ने वास्तविक साधना के हो ? बारम्बार मेरो मन मलाई नै प्रश्न गर्छ।
पुनः केही नबुझे जस्तो गर्छु। केही नसुने जस्तो गर्छु। अनि खेचरी मुद्रा लगाएर हिँडेकी छु गुरू मन्त्र जप्दै।
सर बोल्दै हुनुहुन्छ 'आफ्नो श्रीमतीलाई कसैले नहेरोस्। अनि आफू चाहिँ अरूको श्रीमती हेर्न सकियोस् यही चाहन्छ मान्छे।' हामी गाडीमा छौँ। यी बेतुकका कुराकानी टुङ्गियोस् भनेर सोझै भनिदिएँ, 'सर म त पिताको स्नेहबाट बञ्चित पुत्री हुँ। पिताका उमेरका सबैमा म मेरो बुवा या गुरू बिराजमान देख्छु। दृश्य भन्दा शक्तिशाली त दृष्टिकोण हुन्छ। कस्तो दृष्टिकोण निर्माण गर्ने त्यो त हाम्रो विचार, संस्कार र साधनाले मार्गनिर्देशित गर्छ। अनि मलाई यस्तो फितलो कुरामा रस छैन सर। मलाई मन पनि पर्दैन गिजडो कुराहरू। विद्वानको सानिन्ध्यमा ज्ञानको मात्र चर्चा होस्। केही बुझ्न र सिक्न सकियोस् हाम्रा आदरणीयहरूबाट। ज्ञान गङ्गामा डुबुल्की मार्न पाइयोस् न कि छिचरो कुराकानीमा।
मैले यति भनिसकेपछि कुराकानीको सिलसिला फेरियो विनोदी वातावरण शान्त भयो। प्रशान्तको हाव सुसायो गाडीभित्रै।
अब हामी डिल्ली बजार आइपुगेका छौँ। चूडामणि सरले बाटोमा एक जना महिलासँग गफ गर्नुभयो। पछाडिबाट हेरेकी त आफ्नै माइजू पो हुनुहुँदो रहेछ। सरको घर अगाडि हामी ओर्लियौँ। ड्राइभर भाइले गाडीभित्रै पार्क गरे। हामी पनि भित्र पस्यौँ। किताबको गोदाम नै रहेछ। सर भित्र पस्नुभयो। अनि सेतो कागजमा मोडेको दुई वटा पुस्तक लिएर बाहिर आउनुभयो। हामीलाई ती अमूल्य पुस्तक उपहारस्वरूप दिनुभयो। सेतो कागजमा बेरिएको व्याकरणको पुस्तक मैले नै खोलेँ। सरको हातबाट ऐतिहासिक उपहार लिइसकेपछि फोटो त खिच्नै पर्यो।
सरलाई पुस्तकमा साइन गर्न पनि लगायौँ। बडो हर्षको पलमा उभिएका छौँ।
अन्त्यमा सरले आशीर्वादका हत्केला मेरो टाउकोमा राख्नुभयो। आँखामा गहिरो संसार देखेँ। सरका आँखाले मलाई हेरिरहे।
चूडामणि सरको मुहारमा मैले मेरो पिता रघुनाथ कोइरालाई देखेँ। सरको हातको बाटो भएर मेरो पिताले मलाई स्नेहले पूर्ण पार्दै हुनुहुन्छ। म बुवाको स्नेहले तृप्त भएँ। ती आँखाले मलाई अमीट छाप छोड्ने अनुमान गरेँ।
सरसँग बिदा मागेर हामी एकैछिन मामाघर पनि पस्यौँ। मामा घरको सत्कार चाखेर टेम्पो समात्न तल पिपल बोटमा आयौँ। आरएनएसी आएपछि म गुर्जुधाराको बसमा चढेँ। साथी आफ्नै गन्तव्यमा। घरमा आएर आजको सबै वृतान्त सुनाएँ परिवारलाई। उपहार पाएका पुस्तकहरू सोफाभरि फिँजारेर हेर्दै गर्दा मैले ढुक्कको श्वास फेरेँ- आहा! अक्षरको साधना त अमूल्य हुने रहेछ।
साहित्यको शान्त चौतारीमा म विश्वास गर्छु। साहित्यको पवित्र पवनमा म बहेली खेल्छु। साहित्यमा किमार्थ स्वार्थ नजोडियोस्। साहित्य कदापि सस्तो नबनोस्। साहित्य सदैव शालीन होस्। साहित्यिक व्यक्तित्वहरू अझ शालीन र आदरणीय हुन्। विश्वासी हुन्। साहित्य साँच्चै साधना धाम मात्र होस् न कि साजिस र षड्यन्त्र।
(लेखकका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)