दसैंमा घर जान मन त थियो तर बासँग उनले भनेकै केटालाई खसम मान्न तयार हुनुपर्ने थियो। म नितान्त एक्लो भएँ। दसैंको मुखमा भाइलाई फोन गरेँ। दसैंमा घर जाने माहोल भाइले मिलाउला भन्ने थियो। मिलाएन। ऊ पनि कठोर सुनियो।
भन्दै थियो, 'शाखा अधिकृत भएकी मान्छे, त्यो जोगीसँग जान कति मरिहत्ते हो?’
भाइसँग थप बोल्नु थप वैमनस्यता निम्तनु ठानेर फोन काटिदिएँ।
सोच्दै थिएँ, भाइलाई दसैं खर्च हालिदिन्छु तर मन निमोठियो।
मलाई भन्दा पनि लेखकलाई भाइले जोगी भनेकोमा साह्रै मन फाट्यो। जसलाई म सर्वस्व ठानेर उसैलाई खोजिरहेको थिएँ।
लेखक थिए नै त्यस्तै त म के गर्न सक्थेँ!
बुर्तिबाङको २५ दिने बसाइँमा लेखकसँग झ्याम्मिएसी मलाई उधुमै मन पर्यो र जवानी नै उनको पासमा बिसाइदिएकोमा मलाई कुनै पश्चाताप नामको रौं जत्ति पनि विस्मात भएन र आजसम्म छैन पनि। लेखक मनमौजी थिए। उनी अरूलाई कुनै 'बाल' दिँदैनथे। तर यसरी भूमिगत होलान् भन्ने मलाई लागेको थिएन।
म लोक सेवा आयोगबाट शाखा अधिकृतमा नाम निकाली तोकिएको सेवा क्षेत्र कर्णालीको कालिकोट पुगेँ। ३ महिने लामो ट्रेनिङको क्रममा सुर्खेतको वीरेन्द्रनगर बसेँ। तर यही बीचमा लेखक हराए। फेसबुकमा उनका भावुक स्ट्याटस आउन छोडे। फेसबुक र मेसेन्जरमा लेखकको आइडी भेटिएन। पुराना मेसेजहरू मेसेन्जरमा हेर्न थालेँ। मेसेन्जरमा अब लेखक फेसबुक युजर भए। साँच्चिकै लेखक हराए। मोबाइल फोनमा नम्बर डायल गर्नु ब्यर्थ हुन्थ्यो। फोन सधैं स्विच अफ थियो। मेरो जीवन तनावमा बित्न थाल्यो।
काठमाडौं फर्किएँ। घरबेटी आमोइले मलाई शाखा अधिकृतको जागिर नफापेको बताइन्। जातमा नमिल्ने भए पनि उनको 'गजडी' छोरालाई सुधार्ने सर्तमा बिहे गरिदिन तयार भएको बताइन्।
मैले कुनै प्रतिवाद गरिनँ।
कोठाको 'किरिया' बुझाएँ र हिँडिहालेँ।
मसँग ७ दिनको समय थियो। पागल लेखकको घर नै जाने निधो गरेँ। फूलपातीको अघिल्लो दिन नै गाडीमा सिट पाउन मुस्किल थियो।
लेखककी पूर्वप्रेमिका अनलाइन थिइन्। च्याटमा निकैबेर गफ्फियौं। उनले 'डिभोर्स' गरिछिन्। मैले लेखक हराएको कुरा गरेँ।
लामो गफगाफपछि लेखककी पूर्वप्रेमिकाले आफू कहिल्यै लेखकको अगाडि पर्न नसक्ने बताई। जीवनको घुम्तीहरूमा लेखकजस्तो खसम पाउनु त सौभाग्य थियो।
बैश्य युगमा पनि 'युधिष्ठिर' भेटिएका थिए तर म अमेरिका जान पाउने लोभले बहकिएँ।
विचरा ती लेखक मलाई खोज्दै मेरै बिहेको दिन मेरो घर चरिकोट आइपुगेका थिए। तिनको मनमा कति हुण्डरी चल्यो होला? अदृश्य पहिराहरू मनमनै कति बगे होलान्? उनलाई मेरो बिहेको जग्गेमा देखेसी म काठको मुडो बराबर भएँ। हाम्रा कति त अश्लिल फोटाहरू लेखकको आइफोनको फोटो ग्यालरीमा सुरक्षित थिए। लेखकले मेरो बिहे धावा बोलिदिन सक्थे। बिहे भाडी दिन सक्थे। तक्षण भाँडभैलो मचाइदिन सक्थे। तर मनभरी सामुद्रिक छालको परबाह नगरी लेखक सुटुक्क आफ्नो बाटो लागे।
म र लेखक करिब ७ वर्ष ढुकुरका भालेपोथी जसरी चुम्माचाटी गर्दै जापानको नागोया सहरमा मस्तसँग जवानी साटेका थियौं। यत्ति भनिसकेर लेखककी पूर्वप्रेमिका 'अफलाइन' भई।
खुर्कोट उत्रिएँ।
असोजको दोस्रो भए पनि बि.पी राजमार्गको अन्तर्गतको ठूलो सहर खुर्कोटमा सिमसिमे पानीले स्वागत गर्यो। यात्रुहरू हिले दसैं हुने भयो भन्दै पिरलो मान्दै गाडीबाट ओर्लिन्थे। जाडो पनि भयो। बेनामी होटलमा पसेँ। कफी पिउने मन भए पनि चिया नै अर्डर गरेँ।
गुगल म्यापमा गएर डाँडाकटेरी सर्च गरेँ। पसलकी साहुनीलाई सोधेँ 'डाँडाकटेरी जाने अटो पाइन्छ दिदी?' पाइएला तर दसैंका सवारी साधन हुन्, बैनी।
जबाफ अनिश्चित आयो। साहुनीले चिया टक्र्याइन्। मलाई शिरदेखि पाउसम्मै हेरेसी साहुनीले प्वाक्क भनिन् 'डाँडाकटेरी कसकी छोरी नानी?अलिकति मान्छे त चिन्छु नि।'
मैले लेखकको नाम बताएँ।
तर लेखक डाँडाकटेरीका होइन रहेछन्। पसलकी साहुनीले अरू थप एक जनालाई लेखकबारे सोधपुछ गरिन्। मेरो मोबाइलमा भएका लेखकका फोटाहरू देखाइन् तर अफशोच लेखकलाई चिन्दै चिनेनन्।
मलाई अनौठो लाग्यो कि लेखक बुर्तिबाङमा भेटिएका थिए, बडिगाड नदीमा हामी बिहानै पुगेर नुहाएका थियौं। लेखकको डायरीको अन्त्यमा आफ्नो नाम पछि ठेगाना लेख्या थिए, डाँडाकटेरी, सिन्धुली।
तर लेखक डाँडाकटेरीका त होइन रहेछन्।
म खङ्रङ्गै भएँ। मनमा अनेकौ तरंगहरू आए। गए। ऐतिहासिक सिन्धुलीगढी नजिकै भए पनि त्यहाँ पुग्ने जोस र जागर बाँकी थिएन।
लेखककी पूर्वप्रेमिका अनलाइनमै थिइन्। सोधीहालेँ, लेखकको 'एक्ज्याक्ट' ठेगाना तपाईंलाई थाहा होला?
लेखककी पूर्वप्रेमिकाले लेखकले लेखेको डायरीको एक पाना मलाई 'सेन्ड' गरिन्। डायरीको अन्तिम हरफमा डाँडाकटेरी होइन, सिकरकटेरी लेखिएको थियो।
तर खुर्कोटभरि सोध्दा पनि सिकरकटेरीको कुनै सानो संकेत पाइनँ।
फेरि लेखककी पूर्वप्रेमिकालाई सिकरकटेरी पुग्न नसकेको दुःखेसो पोखेँ।
ठ्याक्कै भन्न नसकेनी लेखककी पूर्वप्रेमिकाले सिकरकटेरी पुग्ने केही 'हिन्स'हरू दिइन्। दिन ढल्दै थियो तर मलाई लेखकको थाकथलो पुग्नु थियो।यहीँबाट २५ मिनेट जति लाग्छ, सिकरकटेरी।
मलाई यत्ति जबाफ दिएर ती दाइ धमाधम आफ्ना ग्राहकलाई 'आँटी' जोख्नमा व्यस्त भए। लेखककी पूर्वप्रेमिकाले बताएको लोकेसनले काम गरेको थियो। उनलाई 'थ्याङ्क यू' पठाउन पनि मोबाइलमा 'फोर जी' चलेको थिएन।
'माइते दाइ घर हिँडेका हौ? मलाई सिकरकटेरी पुग्न २५ मिनेट लाग्छ' भन्ने दाइले कसैलाई प्रश्न गरे।
माइते दाइले 'जाने हो त भनेनन् तर भने 'म नौबिसे खेत पुगेर मात्रै सिकरकटेरी उक्लन्छु।'
'उहाँ बैनीलाई पिपलबोटे बज्यैका लगिदेऊ न है।'
माइते दाइले हुन्छ भनेनन्, हुन्न पनि भनेनन् तर आँटी जोख्दै ती दाइले माइते दाइलाई पछ्याउन भने।
म माइते दाइको पछिपछि हिँडेँ।
दिनभरिको आँटीको व्यापारले माइते दाइ थाकेका थिए। कसैले फोन गऱ्यो। माइते दाइले (अ)रसिलो जबाफ दिए।
माइते दाइसँग बोलम् कि नबोलम् भैरह्यो। नबोल्दा कुराको पोयो फुक्दैनथ्यो। फोनमा समेत जर्रो बोल्नेले के सवाल जबाफ गर्लान् भन्ने लागिरह्यो।
'दाइ आँटी कस्तो फल हो?' सोध्नलाई यो भन्दा उपयुक्त प्रश्न मसँग थिएन पनि। मलाई आँटी फलबारे बुझ्नु पनि थियो। म भन्ठान्थेँ आँटी भन्नु सिताफल र सरिफा जस्तै हो। तर आँटी जोख्ने दाइले होइन कि होइन भनिरहे।
तर माइते दाइ मसँग भने नरम बोले।
'खै नानी हामीकहाँ पाइने आँटी घुर्मीदेखि दुम्जासम्म मात्र पाइन्छ भन्छन्। वर्षमा मेरो ३ महिने जीवन त यही आँटीबाटै धानिन्छ। म जान्दिनँ पनि नानी कुन सिलाफल हो? कुन सरिफा हो? कुन आँटी हो? बिरालो कालो होस् कि सेतो होस्, मुसा मारे भैतगो। तर राजमार्गमा आँटी किनेर खानेहरूले भनेको सुन्या हुँ, आँटीको स्वाद सिताफल र सरिफाभन्दा फरक छ।'
मैले लेखकको फोटो देखाएँ। केही बोलेनन्।
'घरबार गरेनन्, जोगी बने।' माइते दाइले त्यत्ति भने।
आकाश पानी पार्ने सकसमा थियो। माइते दाइले गँगटे खोलाको ढुंगामाथि बसेर सालको पातको लामो बिँडी सुर्किए। अर्को बिँडीलाई तयार बनाएर खल्तीमा घुसाए।
लेखककी आमोई रहिछिन्। अँगेनाको डिलमा थिइन्। उमेर बयोवृद्ध थियो। अनुहारका दुःखहरू सजिलै पढ्न सकिन्थ्यो। माइते दाइले लेखकको कुरा नझिक्नु भनेका थिए। बुढी आमोईलाई दसैंको माहोलमा थप मन फाटिन्छ भन्ने माइते दाइको तर्क थियो।
लेखक पुरापुर हिमाल चढ्न गएको ठोकुवा माइते दाइले गरे।
ऊ हामीजस्तो कामकाजी र परिवारबादी मान्छे होइनन्।
उनीसँग प्रचुर प्रज्ञान थियो तर स्कुलमा पढाएर आफ्नो ज्ञान बाँडेनन्। जवानीमै विदेश पुगेका थिए। जापानिज तरूनीका सेता तिघ्रासँग भुलेनन्।सिकरकटेरीमै फर्किएका थिए। उनलाई यहाँको स्थानीय राजनीतिसँग घोर 'नफ्रद' थियो। तर सबैसबै त्यागी दिए। उनको भूमिका सिकरकटेरीमा खाँचो थियो तर ऊ 'भन्ते' बनिदियो।
लेखक जत्तिकै लेखकको निवास बडो उदासलाग्दो थियो। आँगनमा लेउ र झ्याउ पलाएका थिए।
जसरी बटौलीको बसपार्कमा पहिलो पटक भेटिएका लेखक असरल्ल थिए।उनको घर त्यत्तिकै उदास र फुङ्ग थियो।
तर माइते दाइको घर गुलजार थियो।
मासुका अनेकौं परिकार पाक्दै थिए। छोयलासँग खयरको तातो रक्सी मैले इन्कार गरिनँ।
माइते दाइले लेखक फर्किनेमा ढुक्क हुनुस् भने। 'तपाईं र मेरो मायाले होइन उनकी बयोबृद्ध आमोईको मायाले ऊ पक्का सिकरकटेरी आइपुग्छ।'
यस्तै गफगाफ भयो। राति सुत्नलाई माइते दाइले लेखककै घर लागिदिए। ५० मिटरको दुरी थिएन पनि।
लेखककी आमोईले माइते दाइलाई केही भनिन्।
'बुहारी क्या!'
माइते दाइले सटिक जबाफ दिए।
खाली कफीका बट्टाहरू।
खाली भोड्काका बोतलहरू।
चुरोटका सयौं ठुटाहरू।
असरल्न किताबहरू।
अनि पेज नम्बर लेखेर नमिलाई राखिएका 'ए फोर' साइजका पान्नाहरू।
अझै ओछ्यानको हबिगत बताउन लायक छँदै थिएन।
लेखकको कमरा सबै सफा गरेँ।
५१५ एफोर पान्नाहरूको 'बोथ साइड' लेखिएका थिए। मिलाएँ। उनको आफ्नै बियोगान्त प्रेम कथा थियो। लेख्दा लेख्दै आँसु बगाएका अश्रुजल पान्नामै थिए। चुरोटको धुलो पनि भेटिन्थ्यो।
'यो प्रेम बियोगले मात्रै लेखिएको 'नोबल' हो। यदि हाम्रो प्रेम प्राप्तिमा बदलिन्थ्यो भने यो आख्यान लेखिँदैनथ्यो। धन्यवादकी ती मेरी प्रेमिकालाई।' लेखकले किताबको सृजनाको श्रेय आफ्नै पूर्वप्रेमिकालाई दिएका थिए।
सिकरकटेरी छोड्नु अगाडिका डायरी भनेर लेखिएका पान्नाहरू भेट्टाएँ।
यस पटक पोखरातिर बरालिँदै त्यसपछि हिँड्दै मुक्तिनाथ पुगम् भन्ने लागिरा'छ।
अर्को पान्नामा लेख्या थिए।
'शाखा अधिकृतमा नाम निकालेर पनि म जस्तो फकिरसँग बिहे गर्न मरिहत्ते गर्ने ती सुन्दरीसँग बिहे गर्ने/नगर्ने दोमनमा छु, शाखा अधिकृत भैसकेकी मान्छे यो वैश्य युगमा मसँग जोडिएर के प्राप्ति गर्ने होला र खै?'
पागल लेखक तिमी जोगी बन् या फकिर मेरो अधिकृतको जागिरभन्दा तिमीसँग जीवन बिताउन पाउने जिजिबिषाले म तिम्रै सिकरकटेरी आइपुग्या छु। मलाई तिमी बाहेक जीवनका सबै तथाकथित मिठासहरू पनि तिता लाग्छन्।
मैले लेखकको डायरी मुनि यत्ति लेखिदिएँ।
राँगाको मासु र खयरको रक्सी सेलायो त! माइते दाइ ठट्टा गर्दै आइपुगे।
दसैंको माहोलमा सबैले पल्टाई 'फरास' खेल्दा रहेछन्। म पनि सहभागी भएँ। ५० रुपैयाँ ठिनीले पनि मैले २५ सय हारेँ।
'भो मैया नखेल्नुस्, सिकरटेरीका बाह्र मासेहरूसँग तपाईंको भाग्य पनि हार्छ।' माइते दाइकी जहान दिलसरी भाउजूले मलाई नखेल्न सुझाइन्।
'बोर्ड हाल है एकराते हो' श्यामु दाइ यही वाक्य दोहोऱ्याई रहन्थे। सिकरकटेरीको दसैंको बसाइँ उल्लासमय तरिकाले बित्यो। माइते दाइकोमा टीका लगाएँ।
टीकाको दिन भने लेखककी आमोईले पनि टीका लगाइदिन्। जमराको सट्टा दुबो कपालमा सिउरिदिइन्। वर्षातले बि.पी. राजमार्ग अवरूद्ध भयो।दोलखा चरिकोटको बाटो हुँदै राजधानी आइपुगेँ। चरिकोट पुग्दा लेखककी पूर्वप्रेमिका स्मृतिमा घुमिरही।
सिकरकटेरीका माइते दाइ, श्यामु दाइ, दिलसरी र ढल्की भाउजूहरूलाई साथी बनाएर फर्किएँ। माइते दाइको मोबाइलमा आफ्नो नम्बर नाम नलेखी सेभ गरिदिएँ। माइते दाइले हाँस्दै भने 'लास्टको ८८ तपाईंको नम्बर, नाउँ लेखेर त फोन लगाउन जाने पो।'
सिकरटेरियन सबैले लेखक फर्किन्छन् भनेर मलाई ढुक्क पारिदिए।
'हेर नानी मस्त जवान छ्यौ। शाखा अधिकृतको जागिर र'छ। एउटा सरकारी जागिरेले परिवार बसाउनेसँग 'मुया/पिरिम' कस्नु पर्छ, जोगीलाई जीवन सुम्पिनु हुँदैन।'
लेखककी जन्म दिने आमाले कसरी आफ्नै कठोर बचनहरू व्यक्त गर्न सकिन्। म सोचमग्न भइरहेँ।
तर म लेखकबिना बाँच्नै नसक्ने किन भएँ? म आफैलाई प्रश्न तेर्स्याउँछु।