नेपाली कांग्रेसको आज बसेको पदाधिकारी बैठकमा पनि महाधिवेशन कार्यतालिकाबारे सहमति जुट्न सकेन।
महाधिवेशन कार्यतालिकामा विवाद हुँदा शुक्रबार केन्द्रीय समिति बैठक बस्दै नबसी आइतबार दिउँसो १ बजेसम्म स्थगित गरिएको थियो।
सहमतिका लागि आज कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पदाधिकारी बैठक राखेका थिए। उक्त बैठकले पनि १५ औं महाधिवेशन कार्यतालिकामा सहमति खोज्न सकेन।
बैठकमा ढिलोमा पुस १६ देखि १९ सम्म महाधिवेशन गर्नुपर्ने एउटा र वैशाख अन्तिममा महाधिवेशन गर्नुपर्ने अर्को प्रस्तावमाथि छलफल भएको नेताहरूले बताएका छन्।
महामन्त्री विश्वप्रकाश शर्माले पुस १६ देखि १९ गतेसम्म नियमित महाधिवेशन गर्न प्रस्ताव गरेका छन्।
यो प्रस्तावमा अर्का महामन्त्री गगन थापा र नेता शेखर कोइराला सकारात्मक देखिन्छन् तर सभापति शेरबहादुर देउवा पक्ष चुनावपछि वैशाख अन्तिममा महाधिवेशन गर्न उपयुक्त हुनेमा छन्। त्यसैले महाधिवेशन कार्यतालिकामा सहमति हुन सकेको छैन।
पदाधिकारी बैठकमा महामन्त्री शर्माले मध्यमार्गी प्रस्ताव पनि अघि सारेका छन्। पुस १६ देखि महाधिवेशन वा डिजिटल प्रक्रियाबाट `महासमिति सदस्य´ को निर्णय मानौँ भन्ने उनले प्रस्ताव गरेका हुन्।
`इस्युभन्दा इगो केन्द्रमा रह्यो भने, जुनसुकै राजनैतिक दल समस्यामा पर्छन्। आजको मितिमा काँग्रेसले राष्ट्रिय राजनीति र आन्तरिक जीवन दुवैमा `इगो´ मुक्त भएर आफूलाई प्रस्तुत गर्न सक्नैपर्छ। एकथरी विचार राख्नेले नेतृत्वले अर्कोथरी विचार राख्नेलाई सार्वजनिक टिप्पणी गर्दा या शुभेच्छुकहरुले सामाजिक संजालमा प्रतिक्रिया जनाउँदा आपसी सम्मानको हेक्का राखौं,´ उनको भनाइ थियो।
साथै मंसिर या वैशाख भनेर छलफलमा रहेका महाधिवेशनको दुई मिति भन्दा मध्यमार्गी समाधानको पुस १६-१९ को मितिमा सहमत बनौं भन्दै उनले प्रस्ताव राखेको एक पदाधिकारीले जानकारी दिए।
`सहमति जुट्न नसक्दा पक्ष-विपक्षमा धेरै विभाजित नबनौं, एकातर्फ केन्द्रीय समितिको बहुमत छ, अर्कातर्फ ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको बहुमत छ। दुवै बहुमतको मर्यादा राख्दै दुवै बहुमत भन्दा माथिको निकाय `महासमिति´ को राय `डिजिटल भोटिङ सिस्टम´ बाट लिउँ। महासमिति सदस्यसमक्ष दुई छनौट राखौं- पार्टीको १५ औं महाधिवेशन आम निर्वाचनअघि गरेर नयाँ नेतृत्व सहित निर्वाचनमा जान उचित कि आमनिर्वाचनपछि महाधिवेशन गर्न उपयुक्त?,´ शर्माको प्रस्ताव थियो।
डिजिटल भोटिङको माध्यमद्वारा राय या मत संकलन प्रविधिको यो जमानामा सामान्य प्रक्रिया भएको र २ दिनमा नै यो प्रक्रिया सकिने उनको भनाइ थियो।
`एउटा पुरानो दलमा यसको अभ्यासले बिशेष सन्देश पनि दिनेछ। स्वदेश र बिदेशमा छरिएर रहेका महासमिति सदस्यहरुको राय र मत संकलन गर्ने विकल्प अहिलेको समयमा अत्यन्तै लोकतान्त्रिक र अत्यन्तै महत्त्वपूर्ण हुनेछ,´ शर्माले भनेका थिए।
पदाधिकारी बैठकले आज महाधिवेशन कार्यतालिकामा सहमति जुटाउन नसकेपछि केन्द्रीय कार्यसम्पादन समिति बैठक गर्ने तयारी छ।
भोलि दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्नुअघि कार्यसम्पादन समितिमा महाधिवेशन कार्यतालिकाबारे छ्लफल हुने नेताहरूको भनाइ छ।
प्रवक्ता प्रकाशशरण महतले छलफलहरु सकारात्मक रहेकोले केन्द्रीय समिति एउटा निष्कर्षमा पुग्ने पत्रकारहरूलाई बताए। महतले पनि वैशाखमा नियमित महाधिवेशन गर्न उपयुक्त हुने धारणा राख्दै आएका छन्।
यसैबीच विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका महाधिवेशन प्रतिनिधिहरूले पनि भेला बोलाएका छन्। यसअघि आइतबार दिउँसो बोलाइएको भेला दुई दिन पर सारेर मङ्गलबारका लागि तय गरिएको छ।
१४औं महाधिवेशनमा रहेका ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये २४८८ जनाले विशेष महाधिवेशन माग गर्दै असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए। पार्टी विधानअनुसार तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने हुन्छ।
तर कांग्रेसका पदाधिकारीहरू विशेष महाधिवेशन भन्दा पनि नियमित महाधिवेशन गर्नुपर्नेमा छन्। विशेष महाधिवेशन गर्दा केन्द्रीय कार्यसमिति मात्रै परिवर्तन हुने र नियमित महाधिवेशन गरे पार्टीका सबै निकायको अधिवेशन हुनेछ।