घटना सन २००७ मार्चको हो जुन बेला म एनजिओकर्मी थिएँ। हामी मूलतः सडकमा बस्ने, काम गर्ने बालबालिकाहरूसँग काम गर्दथ्यौँ। म त्यहाँ नोकरी गर्दथेँ। हाम्रो अफिस डिल्लीबजारमा थियो, शाखाहरू नारायणगढ लगायत अन्य स्थानमा पनि थियो।
हामी अफिसमै रहेको बेला दिनको तीन बजे तिर फोन आयो कि हाम्रो नारायणगढ शाखाको इन्चार्जलाई पुलिसले लग्यो भनेर। हामीलाई अफिसको सुमो लिएर नारायणगढ जाने उर्दी आयो। हाकिम विदेशी थिए अनि हामी नवराज, म महासचिव, अध्यक्ष विजेस, हेम भएर गयौँ।
राति १० बजे पुग्यौँ। नारायणगढ पुग्नासाथ चौकी गई इन्चार्जलाई भेटियो। चौकीको प्रहरीसँग पनि कुरा भयो, भोलिपल्ट १० बजे हामीलाई बोलाए। हाम्रो इन्चार्ज र बच्चालाई पनि थुनेको रहेछ।
हामीहरूले त्यहाँ नारायणगढ सहर नजिकै अफिस खोलेर सडकमा भएका बालबालिकाहरूलाई अनौपचारिक शिक्षा, खानपान, औषधोपचार तथा परिवारलाई भेटाउने काम गर्दथ्यौँ। हामीसँग सात जनाको टिम थियो।
खासमा घटना चाहिँ हामीसँग बस्ने, खाने, पढ्ने, सुत्ने एक जना बच्चाले नजिकैको कवाडखानाबाट ट्याम्पोको टायर र अरू पार्ट्स चोरेको रहेछ र बेचेछ। कवाडखानाले उजुरी दिएपछि पुलिसले बच्चालाई पक्रेर कहाँ बस्छ भनी सोधखोज गर्दा संस्थामा भनेपछि हाम्रो अफिसमा पुगेर इन्चार्जलाई पक्रेर संस्थामा कागजपत्र सबै लिएर गएको रहेछ।
त्यो बेला देश भर्खर लोकतन्त्र आएको, नागरिकमा निकै उत्साह थियो। मानिस उन्मुक्त जस्ता भएका थिए। समय कठिन नै थियो, कसैले कसैको कुरा सुन्थेन। भोलिपल्ट खाना खाएर हामी चौकी गयौँ। त्यहाँ हामी पुग्नुअघि नै गाउँले जम्मा भइसकेका रहेछन्।
पुलिस चौकी पुग्नासाथ हामीलाई गाउँलेले घेरे र चोर पाल्ने संस्थाका नाइके भनेर तिमीहरू को-को हौँ भने। मैले महासचिव र अर्को साथी अध्यक्ष हौँ भने पनि अब तिमीहरूलाई यहाँ बाँधेर राख्ने हो भनेर दसैँ ताका पिङ हाल्ने ठुलो लठ्ठो निकाले। अनि हामीलाई सोधपुछ गरेर उनीहरूले १०० पटक उठबस गर भने। हामीले उठबस गर्यौँ। हाम्रो अध्यक्ष कडा थिए।
‘हामीले गल्ती गरेका छैनौँ, किन यस्तो गरेको? गल्ती गरेको भए मारे पनि हुन्छ, नत्र किन यस्तो गरेको?’ अध्यक्ष भन्दै थिए।
हाम्रो थुनामा रहेको बच्चा र इन्चार्जलाई त्यहाँ ल्याएर भिडले गालामा ५/६ थप्पड हाने। प्रहरीहरू चुपचाप थिए मानौँ भिडले निर्णय गर्दै थियो। त्यसपछि उनीहरूले चितवन जिल्लाभरि यो अफिस राख्न नपाइने, तत्काल बन्द गर्नु पर्ने, २४ घण्टामा अफिस हटाउने भनेपछि हामीले उनीहरूले बनाएको कागजमा सही गर्यौँ। बच्चाले चोरेको समानको क्षतिपूर्ति ५७ हजार तिर्ने भनियो। हामीलाई आफ्नो कुरा राख्न दिइएन। उनीहरूले हाम्रो गाडीको चाबी र ब्लुबुक समेत लगे।
उता काठमाडौँबाट हाकिमको फोन आइरहेको थियो। के भयो? कसो भयो भन्दै उनले सबैतिर युएनतिर, मानवअधिकारतिर पनि सम्पर्क गरे, फोन गरे, इमेल लेखे तर कोही सहयोग गर्न आएन।
रोमन इतिहासकार टिटसलिभियसको अनुसार ‘भिडको स्वभाव यस्तो हुन्छ कि जुन कि त नम्र हुन्छ या दास या आक्रामक, अहंकारी। तिनीहरू स्वतन्त्रताको मध्यम मार्ग अवलम्बन गर्न सक्दैनन्।’
हामीलाई भोलिपल्ट उनीहरूले हाम्रो गाडीको चाबी र ब्लुबुक फिर्ता गरे। त्यहाँबाट ट्रकमा सामानसहित बच्चा गाडीमा राखेर काठमाडौँ ल्यायौँ। कति जना बच्चा चमेलीदेवी स्कुलमा पढ्दथे। भिडको अन्ध निर्णय र समाजले आवेगमा आएर विवेक गुमाएपछि कसैको केही लाग्ने रहेनछ।
मेरो कसैसँग गुनासो छैन न कुनै रिस राग। त्यो एउटा घटना थियो, त्यही पनि जीवन जिउन गरेको नुनको सोझो मात्र।
एनजिओमा सडक बालबालिकाहरूसँग आफ्नो जीवनको सुवर्णकालमा कार्यरत रहँदा यस्ता घटना दर्जनौँ भोगियो, सहियो बेहोरियो यस्तै रहेछ। जीवन एक सिकाइ भोगाइ। यस कारण भिडलाई भिडको निर्णय केही समय सही भए पनि उपरान्त बेठिक हुन्छ।
हुन त भिडमा पनि सही योग्य मानिस हुन्छन् तर त्यो बेला मौन बस्छन् किनकि भिडको विपरीत गरे ज्यान पनि जान्छ। भिडलाई भगवान् मान्नुपर्छ, भिड तन्त्रमा नलागौँ, सत्यमा हिँडौँ टिकाउ हुन्छ।