कलिलो बाल मनस्थितिलाई उजागर गरी सबल पार्न र उनीहरूको भावी शैक्षिक लक्ष्यप्रति पूर्णता प्रदान गर्ने हेतुले विद्यार्थीलाई केवल पुस्तक र भवनमा मात्र सीमित नगरी स्वस्थ गुणस्तरीय सिकाइ वातावरण, वातावरणमैत्री र दिगो विकासमा आधारित विद्यालय हरित विद्यालय हो। त्यसैले शुद्ध चारित्रिक स्वरूपमा सबैलाई समेटेर प्रकृतिप्रति सजग र कृतज्ञ गराउँदै उनीहरूको समर्पण, उत्साह र गर्व सहित सिकाई कार्यलाई व्यवहारिक रूपमा अगाडि बढाउने विद्यालयलाई हरित विद्यालय भनिन्छ। यस्ता विद्यालयले विद्यार्थीमा वातावरणप्रति जिम्मेवारी र सकारात्मक सोच विकास गराउने काम गर्दछन्।
हरित वातावरणले विद्यार्थीको मानसिक शान्ति, रचनात्मकता तथा सकारात्मक सोचको विकास गराई सिकाइ वातावरणमा निकै सुधार ल्याउने देखिन्छ। त्यस्तै गरी यस्तो विद्यालय वातावरणमा धुवा/धुलो जस्ता वस्तुहरूको निकै हदसम्म न्यूनीकरण भई शिक्षण सिकाइमा ध्यान केन्द्रित हुने अवसर प्राप्त हुन्छ। यस्तो विद्यालयमा सौर्य ऊर्जा, वर्षा पानी संकलन, कम्पोस्ट बनाउने अभ्यास, कचरा व्यवस्थापन, कागजको उपयोग, पुन प्रयोग जस्ता व्यवहारगत सिकाई जोड्दै वृक्षारोपण र बगैँचा, जलवायु परिवर्तन सम्बन्धी ज्ञान, जैविक खेती वा करेसाबारी कार्यक्रम, प्लास्टिकको प्रयोग घटाउने ,फोहोर व्यवस्थापन,स्वस्थ सरसफाइ र पोषणमा ध्यान जस्ता वातावरणमैत्री अभ्यासहरू गरिन्छन्। जसले गर्दा विद्यालयमा दिगोपनाको संस्कृति विकासको पूर्ण सम्भव हुने र सिकाइमा दीर्घकालीन फाइदा पुग्ने देखिन्छ।
हरित विद्यालय विद्यार्थीको स्वास्थ्यमा मात्र होइन सिकाइमा सुधार ल्याई समाजको स्वच्छता, चेतना र भविष्यको वातावरण र पुस्तालाई सुरक्षित बनाउने दिगो शिक्षा प्रणाली हो। यो केवल हरियाली बढाउने अभियान मात्र नभई स्वच्छ, स्वस्थ र वातावरणमैत्री भविष्य निर्माण गर्ने साझा प्रयास हो। विद्यालय, अभिभावक शिक्षक तथा समुदाय सबैको सक्रिय सहभागिताबाट मात्र यसको उद्देश्य सफल बनाउन सकिन्छ।
यस्ता कार्यक्रमहरूमा अभिभावकहरूलाई पनि सहभागी गराउँदा हाम्रो विद्यालय हाम्रो वातावरण भन्ने भावनाको विकास हुन्छ। विद्यालय-घर दुवैको सहकार्य बिना विद्यार्थीमा सिकाइप्रतिको दिगो बानीको विकास हुँदैन। त्यसैले अभिभावकलाई विद्यालयले अभिमुखीकरण कार्यक्रमद्वारा यस सम्बन्धी विषयमा जानकार गराएमा सहभागिता स्वतः बढ्दछ। यसको लागि घर विद्यालय साझेदारी कार्यक्रम जस्तै- १ घर १ बिरुवा। अभिभावकहरूलाई विभिन्न कार्यक्रमहरू जस्तै: विद्यालय परिसरको सफाइ अभियान वृक्षारोपण दिवस , किचन- गार्डेन कार्यक्रम प्लास्टिक मुक्त अभियान आदिमा सरिक गराउँदा उत्साहित हुन्छन्।
विद्यालयले अभिभावकको उत्सुकता र जिज्ञासालाई अझ उत्साहित पार्न राम्रो अभ्यासलाई सम्मान दिने गर्नुपर्दछ। वृक्षारोपण, सरसफाइ, विद्यालय सहयोग आदिमा सक्रिय अभिभावकलाई प्रमाणपत्र वा सम्मानपत्र दिने साथै अभिभावक दिवस, वार्षिकोत्सव वा सभा कार्यक्रममा धन्यवाद सहित खादा, प्रशंसा पत्र प्रदान गर्नाले अभिभावकहरूको यस कार्यक्रमप्रति उत्साह बढ्छ।
हरित विद्यालयको कार्यान्वयन विद्यालयले मात्र नगरी केन्द्र, प्रदेश र स्थानीय तीनै तहका नीतिसँग मेल खाने गरी गर्नुपर्छ। जुन कार्यले कार्यक्रमलाई वैधता दिन बजेट तथा स्रोत व्यवस्थापन गर्न साथै दिगोपना प्राप्त गर्न सहयोग मिल्छ। नेपाल सरकारको विद्यालय शिक्षा नीति, विद्यालय सुरक्षा मापदण्ड, वाश (वाटर सेनिटेसन एन्ड हाइजिन) निर्देशिका हरित विद्यालय सँग सम्बन्धित छन्। त्यसै गरी वातावरण संरक्षण ऐन दिगो विकास लक्ष्य (एसडिजी) जलवायु परिवर्तन अनुकूलन सम्बन्धी थप योजनाहरू पनि छन्। विद्यालयले विद्यालय सुधार योजना (एसआइपी) गराउँदा हरित अभ्यास सम्बन्धी विषयवस्तु समावेश गर्दा कार्यक्रम दिगो हुने र भरपर्दो देखिन्छ।
यस्तै गरी स्थानीय तह सँगको समन्वयमा विद्यालयहरूले हरित विद्यालय योजना, आवश्यक सामग्री, आर्थिक सहयोग, प्राविधिक सहयोग बारे स्पष्ट उल्लेख भएको औपचारिक प्रस्तावना पेस गर्दा स्थानीय तहले प्राथमिकतामा राख्छ र स्थानीय शिक्षा शाखा वा वातावरण शाखासँग समन्वय सहकार्य गरेमा हरित कार्यक्रमलाई कार्यक्रमगत रूपमा अघि बढाउन सहज हुन्छ।
यसर्थ, आजको सानो हरित प्रयासले विद्यार्थीको भोलिको स्वस्थ र सुन्दर भविष्य निर्माण गर्ने हुनाले स्वच्छ वातावरण, सकारात्मक सोच र प्रकृतिप्रति जिम्मेवारी हुँदै सिकाइमा सकारात्मक सुधार हुने हुँदा वर्तमान शिक्षा प्रणालीमा यो विषय सन्दर्भ अति नै महत्त्वपूर्ण साबित देखिन्छ।