हामी हाम्रो काम, व्यवहार, स्वभाव, शैली, तरिकाप्रति खासै सचेत हुँदैनौ अनि कसैले टिप्पणी गरे उसैमाथि जाई लाग्छौँ। आजकल कोही कसैले कसैलाई विरोध, टिप्पणी, सुझाव, सल्लाह गर्दैनन्; सिवाय पत्रकार, पत्रकारको त कामै भयो।
म घरमा कोही साथी या हाकिमसँग कुरा गर्दै थिएँ, फोनमा छोरीले याद गरिराखेकी रहिछन् कि मैले त्यो बेला फोनमा कुरा गर्ने क्रममा ७६ पटक हस् सर भने रेँ। हुन त बेलायती कवि वर्डस्वर्थले भनेझैँ बच्चाहरू मानिसका पिता हुन् अर्थात् चाइल्ड इज फादर अफ म्यान भनेका थिए। साँच्चै हो पनि जस्तो लाग्यो छोरीको कुरा सुनेर।
हुन त बच्चाको लागि उसको बाबुआमा भगवान् हुन् नै, सबैथोक हुन् भलै उनीहरूले ट्रक साहित्य नपढेका भए पनि उनीहरूको सबथोक बाबाआमा हुन्। यस कारण लुकेर थाहा पत्तो नपाउने गरी भए पनि बच्चाले बाबाआमाको क्रियाकलाप मूल्याकंन चियोचर्चा गरेका हुन्छन् नै।
एकजना दाजुको पुस्तक विमोचनमा गएको थिएँ। उहाँले दुई छोराहरूको गुणगान मुक्तकण्ठले गर्नु हुँदै ‘पुस्तक लेख्ने प्रेरणा नै छोराहरू’ भएको बताउनुभयो। हो पनि, सन्तानलाई अभिभावकले बाटो देखाउने मात्र होइन, सन्तानले पनि अभिभावकको सुखदुखमा मलहम-पट्टी लगाउने मात्र नभई समय काल, बेला मुताबिकको सल्लाह र सुझाव दिने वातावरण आइसकेको छ जुन सही पनि हो जस्तो लाग्छ। हुन त कतिपयले केटाकेटीले भनेको त हो, तिनका कुराले पार लाग्दैन। बच्चा हुन थाहा छैन, जे पनि भन्दछन्, मान्नपर्छ भन्ने छैन भन्ने पनि यदाकदा अभिभावकको मत पाइन्छ तर अधिकांशले सुन्दछन्।
वामपन्थीहरू जी हजुरी हवस् शब्दलाई चाकडी भन्दछन् त उनीहरू पनि आफै चाकडी गर्न पछि पर्दैनन्। भन्न जति व्यवहार गर्न सजिलो छैन तर जागिरे जीवनमा जी हजुरी, एस, हवस् नभनी धरै छैन जति ए प्लस या डिस्टिङ्सन नै किन नहोस् यसो भन्दा विद्धान या मालिकलाई च्वास्स होला तर सत्य यही हो- चलेको यही छ, हुर्कनुपर्ने के हो, कसो हो, म न त विधायक, न शासन, एक भोग्ने मान्छे मात्र परेँ।
कोही सन्तानको लागि विदेशबाट फर्केको, यो गरेको, त्यो गरेको, बसाइ सरेको, घर बनाएको, यो जागिर खाएको, यो छाडेको, यो काम डिग्री लिएको, गरेको भन्दछन्। मानिसहरू सन्तान सुख नै अहम् हो पनि। यस कारण सन्तानप्रति बाबुआमा आश्रित हुनु नौलो होइन किनकि त्यागको मूल्य बुबाआमालाई मात्र थाहा हुन्छ।
आजको समयमा माउभन्दा चल्ला बाठा भन्न पाइन्न। उनीहरूले सिकाउने अवस्था पनि छ। एकजनाले भन्दै थिए- बिदेसिएका हाम्रा दाजुभाइ, दिदीबहिनीहरू सन्तानबाट अङ्ग्रेजी सिक्छन् रे, एसेन्ट राम्रो हुन्छ। बच्चाको पछि गएर बच्चाले अङ्ग्रेजीमा भुलेपछि फेरि नेपाली सिकाउन अपहत्ते कतिले भोगेको सुनाउँछन्। होला पनि, जो जान्दछ उसैबाट सिक्ने हो। मैले प्रोनाउसिएसन वर्डको राम्रोसँग उच्चारण गर्न नसक्दा काकाको छोरीले यसरी हो दाइ भनेर सिकाउँथी। सिक्न जोबाट पनि हुन्छ, झनै सन्तानबाट सिक्नु अझै राम्रो हो। सिक्न कन्जुस्याइँ नगरौँ। साथै सतर्क रहौँ, सचेत बनौँ, हामी जहाँ कहीँ जेसुकै गर्दा पनि होसियारी गरौँ, त्रुटि काम गर्नेले नै गर्छ तर त्रुटिबाट जोगिन सावधानी अपनाऊँ।