एकजना आफन्तले छँदा हुँदा-खाँदाको सह-सचिवको जागिर छाड्नुभयो। उमेरमै पेन्सनमा बसेर अन्य काम थाल्नुभयो। सुरुमा मलाई लागेको थियो किन होला यस्तो गरेको? तर खासमा जागिरमा रहिरहन भन्दा छाडेर अर्को काममा लाग्ने, पेन्सन खाने सही बिचार रहेछ। अहिले बल्ल थाहा पाएँ।
समाजमा जागिर कुर्नेहरूको लर्को लामो नै छ। जागिर खाएको बिस वर्ष पुगेकाले अन्य स्थानमा गएर जागिर गर्ने सक्ने आँट भएकाहरू पेन्सनमा बस्दा उत्तम हुने नै रहेछ। जीवन त अस्थायी छ, जागिर किन स्थायी चाहियो? यो हेर्दा सत्य जस्तो लाग्छ तर फोस्रो आदर्श हो। यो सोच युवा अवस्थामा आउँछ नै तर नियमित आय जीवनमा शान्ति मार्ग पक्कै रहेछ।
‘मेरो त ट्याङ्ग एसएमएस आयो, घण्टी बज्यो, पेन्सन राखिदिएछन् क्यारे’ भन्ने फेसबुकमा स्ट्याटस आउँछ। उमेरको बेला जोस, अहंकार, घमन्डले गर्दा यो सबै कहाँ सोचिन्छ र! हुन त सबै दार्शनिक विद्धानहरू वर्तमानमा जिऊँ भन्दछन् तर भविष्य पनि भोग्नै पर्दछ। यदि कुनै भवितव्य परेन भने सबैको भवितव्य पर्ने कुरै भएन। भविष्य सम्झेर अहिल्यै आत्तिनु मूर्खता हो। जुन आएकै छैन, अहिले त्यो सोच्नु, आत्तिनु, डराउनु लघुताभास हो।
भविष्यको चिन्ताले एन्जाइटी, विगतको गल्तीले डिप्रेसन र वर्तमानको चिन्ताले मानिसलाई टेन्सन हुन्छ। त्यसैले जुन समय तपाईंसँग अहिले छ, त्यो भरपुर उपयोग गर्नुस्। त्यही नै सफल जीवनको मन्त्र हो।
मलायामा केही वर्ष जागिर गरे करोडौँ आउँछ, पाइलट केही वर्ष जागिर गरे पेन्सन हुन्छ। आज एकजना मित्रसँग भेट भयो कि ‘आफ्नो पेन्सन आउने भएपछि छोरा-बुहारी, नाति-नातिनाको व्यवहार पनि अलग्गै इज्जतिलो हुन्छ’ भन्नुभयो। उहाँको आफ्नै पेन्सन छ केको चिन्ता उहाँलाई भन्ने गर्दछन्।
संसारमा सबै जागिरमा पेन्सन हुँदैन, केही सरकारी जागिरमा पेन्सन हुन्छ। हामी कहाँ जागिर गर्छु भन्दा सरकारी कि निजी सोध्ने गरिन्छ। निजी जागिर भन्ने कुरा पाखुरामा बल आँखामा पानी भइन्जेल हो। यस कारण जागिरदारले यो बुझ्न जरुरी छ कि यसै भएर होला सरकारले सामाजिक सुरक्षा कोषमार्फत पेन्सन योजना ल्याएको छ। देशभर लाखौँ मानिस यो योजनामा समावेश छन् रे।
धेरै बूढाबूढीले गुनासो गरेको सुन्छु- छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेढी। आफूसँग गाँठीमा धन हुँदा सबै नजिक, धन नभए सबै पराई हुँदा रहेछन्।
बुढेसकालमा हेपाइ, हन्डर, निन्दा, घृणाबाट बच्नको एक मात्र सबल उपाय आम्दानीको एक चौथाइको बचत हो। यो आंशिक समाधान हो।
हामी कलेज पढ्ने ताका एकजना अङ्ग्रेजी शिक्षक भारतीय सेनाबाट सेवा निवृत्त भएपछि पुनः शिक्षक पेसामा आउनुभएको रहेछ। सायद उहाँलाई दोहोरो पेन्सन आउँछ। यस्ता कतिपय उदाहरण पनि छन्।
जीवनमा पैसाको संग्रह गर्न पनि कला चाहिन्छ, जोकोहीले सक्दैन किनकि धन पैसाको खुट्टा लागेको हुन्छ, चञ्चल हुन्छ। ‘नो मनी फनफनी इफ मनी रनरनी’ भनिन्छ। यस कारण पैसालाई नियन्त्रणमा राख्नुपर्छ।
नेपालीहरू विदेश गए, देश छाडे सत्तोसराप गरिन्छ। तर किन छाडे, केका लागि छाडे समीक्षा गरिँदैनन्। यसको कारण पेन्सन पनि हो। जीवनको अन्तिम सास पेन म्यानेजमेन्ट पनि भनिन्छ जुन सहज मृत्यु वरण गर्न सुविधा सम्पन्न अस्पताल चाहिन्छ नै।
पेन्सनले मानिसलाई सुरक्षित आभास गराउँछ। मानिसमा सधैँ उत्तिकै जोस जाँगर कहाँ हुन्छ र? जुन बेला ऊर्जा तागत छ, त्यो बेला मानिसले निश्चय पनि भविष्यको सोच्नुपर्छ।
मानिसले निजीमा जागिर गर्छु भन्दा निधार खुम्च्याउँछन्। सायद बिहे गर्न परे केटी नदेलान् पनि। विदेश पनि होइन, यहाँ पनि निजी जागिर भर छैन न त प्राविधिक बिहे गर्न धौ-धौ हुन्छ। उता सुनको मूल्य अपार छ, बिना सुन बिहे नै हुन्न।
हामी त्यस कारण पनि उमेर मै सोच्नुपर्छ कि जागिर स्थायी होइन, क्षणिक हो। पेसा, व्यवसाय, इलम, उद्यम चाहिन्छ, तब दिगो हुन्छ। सन्तानमा हस्तान्तरण पनि हो, जागिर सार्न मिल्दैन। सानै किन नहोस्, इलम उद्यम भनेको उद्यम नै हो, इज्जत सुरक्षा दिगो हुन्छ। हुन त मानिसहरू कि सेयरमा कि बिमामा लगानी गर्दछन्।
सामान्यतया मानिसको अन्तिम अवस्थामा मानिस महँगा ठुला अस्पतालमा जान्छन्। यो मानव शरीर क्षणभङ्गुर छ, आत्मा मात्र अमर अजर छ। हामी काम, इलम, पेसा, व्यवसाय गर्दछौँ। सबैले पेन्सन पाउने जागिर गर्नुपर्छ भन्ने होइन, जुनसुकै काम गरे पनि एक चौथाइ जोगाउ उपरान्त जीवन सहज हुन्छ। खर्च कम गरौँ, सञ्चय गरौँ। जसबाट पेन्सनको विकल्प बनाउन सकियोस्।