हामी जो-कोहीले पनि वृद्धाश्रम भन्ने बित्तिकै परिवारबाट अपहेलित भएर, जीवन गुजार्ने उपाय नभएर बाध्यतावश बस्ने ठाउँ भन्ने बुझ्दछौँ। वृद्धाश्रममा हुने जो-कोही मानिस भेट्ने बित्तिकै हामी तिनका छोराछोरीलाई सम्झिएर तिनीहरू कर्तव्य च्युत भएको, आफ्नो न्यूनतम दायित्व पनि पूरा नगरेको, आफ्नै बा-आमालाई हेला गर्ने कुपात्र भनेर सराप्ने गर्दछौँ। अहिलेको परिवेशमा यो सोचाइ र भनाइ शतप्रतिशत ठिक हो।
वृद्धाश्रममा बस्नु भएका वृद्धवृद्धाहरूसँग हामीले कुराकानी गर्यौँ भने पनि उहाँहरूले सन्तानलाई गरेको दुःख र अहिले त्यही सन्तानबाट अपहेलित भएर पाएको पीडाले जो-कोहीलाई पनि भावविभोर बनाउँदछ। अहिलेको हाम्रो परिवेशको आवश्यकता वृद्धाश्रमको परिभाषा र धारणा फेर्नु पर्ने भएको छ। यस्तो सोचाइ र अवधारण सम्बन्धी सिद्धान्त र विचार दिँदैमा फेरिने पनि होइन। यो त केवल आडम्बर मात्र हुन आउँछ। तसर्थ यस्तो अवधारणा फेर्नको लागि साँच्चै नै सुविधा सम्पन्न, सबै किसिमले उपयुक्त वातावरण हुने वासस्थानको व्यवस्था हुनु पर्दछ।
यस्तो सोचाइ र अवधारणा फेर्न प्रत्यक्ष रूपमा उपयुक्त वातावरण हुनु पर्दछ। सर्वप्रथम त वृद्धाश्रमको नाम नै परिवर्तन गरेर स्वर्गको घर वा त्यस्तै सबैलाई प्रिय लाग्ने उपयुक्त नाम राख्नु पर्दछ ताकि स्वर्गमा के-के छ भनेर परिकल्पना गरिन्छ। ती सबै सुविधा त्यस आश्रममा हुने हो भने नकारात्मक धारणाको अन्त्य क्रमशः हुँदै जानेछ। स्वर्गको घरमा जानको लागि तँछाडमछाड हुने गरी सुविधा तथा मनोरञ्जनको व्यवस्था हुनु पर्दछ। यस्तो स्वर्गको घर निर्माणको लागि ठुलै योजना तथा लागत लाग्ने हुँदा यो आश्रममा बस्न चाहनेको लागि महँगो नै हुन सक्छ। तर पनि देशको जनसंख्याको एक चौथाइ जनसंख्या देश बाहिर भएको वर्तमान परिवेशमा विदेशमा कमाएको थोरै रकम मात्रले पनि आफ्नो बा-आमाको सुख सुविधा हुन जान्छ भने उनीहरू खर्च गर्न डराउँदैनन्।
नेपालमा अहिले एक दिनमा नै करिब ६ अर्बभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ। सो रकम मध्ये केही रकम उनका सन्ततिबाट बाबुआमाको नाममा खर्च हुन जान्छ। अहिलेको समयमा एकातिर विदेशमा हुने कतिपय सन्तति बा-आमाको लागि नेपाल फर्केर यहीँ बा-आमाको स्याहार गरेर बस्छु भन्न पनि नसक्ने अवस्था छ भने अर्कोतिर बा-आमा विदेश नै गएर बस्न पनि नमान्ने परिस्थिति छ। यस्तो अवस्थामा सहज जीविकोपार्जनको लागि स्वर्गको घर अन्तिम विकल्प पनि हुन सक्दछ। स्वदेशमा नै रहने छोरा, बुहारी, छोरी, ज्वाइँले पनि आआफ्नो जागिर, व्यवसाय वा कुनै न कुनै इलम गर्नु पर्ने हुन्छ। आगामी सन्ततिले अबको दिनमा बा-आमाको रेखदेख गरेर घरै बसिरहन सक्दैनन् र सबै काम धाम छोडेर घरमा नै बा-आमाको स्याहार गरेर बस भन्न पनि मिल्दैन। त्यस्तो अवस्थामा पुर्खौली सम्पत्तिको केही हिस्सा वा कमाइको केही भाग बा-आमाको लागि खर्च गर्न सक्दछन्।
निवृत्तिभरण प्राप्त गर्नेको हकमा यस्तो आश्रममा मासिक निवृत्तिभरणको ८०/९० प्रतिशत व्यवस्थापन खर्च दिँदा पनि सहज नै हुन सक्छ। अझ बसाइ व्यवस्थापनको आधारमा त्यति रकमले नपुग हुने भएमा आफ्नो जायजेथाबाट समेत रकम थप गर्ने पर्ने पनि हुन सक्छ। स्वर्गको घर भन्ने बित्तिकै सोही अनुसारको स्रोत र सुविधाको व्यवस्था हुनु पर्दछ। सुविधा सम्पन्न स्थानमा सोही अनुसारको आफ्नै उमेर मिल्ने साथीसंगीहरू बस्ने बानी भएपछि १/२ दिन परिवार तथा इष्टमित्रका गए पनि कति बेला आफ्नो पक्का घर पुगौला जस्तो हुने वातावरण बनाउनु पर्दछ।
हुन त अति सुविधा सम्पन्न निर्माण गर्ने भनिएको स्वर्गको घर काल्पनिक जस्तो पनि लाग्न सक्दछ तर अहिलेको विश्वमा कस्ता-कस्ता चमत्कार भएका छन् भने यो कल्पना मानिसले पुर्याउन नै नसक्ने खालको भने होइन। यसको लागि सर्वप्रथम त अवधारणाको विकास भएर सरकारले एउटा निर्देशिका तयार गरी निजी क्षेत्रलाई प्रोत्साहित गर्नु पर्दछ। स्वर्गको घर बनाउन राज्यले पनि जमिन नि:शुल्क उपलब्ध गराउन पर्दछ। जमिनको अलावा उक्त स्थान बनाउनको लागि विभिन्न किसिमका कर छुट र सहुलियत दिएर प्रोत्साहित गर्नु पर्दछ। जसले गर्दा देशका विभिन्न स्थानमा यस्ता स्वर्गका घरहरू निर्माण हुँदै जान्छन्।
अहिले राज्यले ७० वर्ष माथिका नागरिकलाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता देशको लागि बोझिलो बन्दै आएको परिप्रेक्ष्यमा अबका केही वर्षमा राज्यले धान्न नै नसक्ने गरी भार पर्न जाने भएकाले समेत यस्ता विभिन्न किसिमका वृद्धाश्रम वा स्वर्गको घरको निर्माण हुँदै जानु आवश्यक भइसकेको छ।
अहिले बा-आमालाई हेला गर्नेले वृद्धाश्रम लगेर छोड्छन् भन्ने छ भने सुविधा सम्पन्न स्वर्गको घर निर्माण भएपछि बा-आमालाई अति माया गर्नेले मात्र यस्तो घरमा राख्दछन् भन्ने भनाइको विकास हुनेछ। सुविधा सम्पन्न स्वर्गको घरको लागि हुनु पर्ने न्यूनतम कुराहरू के हुन सक्छन् भनी यहाँ प्रस्तुत गरिएको छ।
१. प्रशस्त जमिन हुनु पर्दछ, जग्गा जति धेरै भयो त्यति राम्रो हुन्छ। कम्तीमा सय बिघा जति जमिन भयो भने विभिन्न संरचना बनाउन पुग्दछ।
२. एउटा कम्तीमा १५ शय्याको अस्पताल र सोही अनुसारको स्वास्थ्यकर्मीको व्यवस्थाका साथै नियमित रूपमा सुगर, प्रेसर, कोल्डस्टोर, थाइराइड, मिर्गौलाको अवस्था लगायतका स्वास्थ्य जाँच सम्बन्धी व्यवस्था।
३. सुविधा सम्पन्न अस्पतालमा जानको लागि एक एम्बुलेन्सको पनि व्यवस्था।
४. स्वर्गको घरमा बस्नेहरूलाई शुद्ध दूध-घ्यु खुवाउन एक छेउमा व्यवस्थित गाई/भैँसी पालन।
५. त्यहाँ बस्नेहरूको लागि अर्गानिक र ताजा तरकारी खुवाउनको लागि कुनै एउटा छेउमा तरकारी उत्पादन गर्ने व्यवस्था।
६. सिजन अनुसारको फलफूलको बगैँचा।
७. सकभर स-सानो भए पनि पानीको खोल्सो होस् वा नभए पनि कतैबाट पानीको स्रोत जुटाएर खोल्सो बनाउने र त्यस खोल्सोलाई व्यवस्थित गरेर ट्राउट माछापालन गर्ने। माछापालन भएमा माछा खेलेको हेरेर पनि मन बहलाउन मद्दत गर्दछ भने माछा खानेहरूलाई ताजा माछा खुवाउन पनि सकिन्छ।
८. पानीको खोल्सोमा विभिन्न धार्मिक कार्यहरूका साथै पितृ कार्यहरू गर्न पनि सहज हुन्छ।
९. स्वर्गको घर बनाउने ठाउँ सकभर गर्मी र जाडो दुवै मौसमको लागि उपयुक्त हुने खालको भएमा राम्रो हुन्छ।
१०. ठाउँ प्रकृतिअनुसार विभिन्न ठाउँमा धार्मिक स्थलहरूको प्रतिमूर्ति बनाउने। जस्तै-
क) पशुपतिनाथको मन्दिर र मन्दिरमा पुरोहितको व्यवस्था।
ख) स्वर्गद्वारीको मन्दिर जहाँ अखण्ड हवन र प्रत्येक दिन भजनको व्यवस्था।
ग) मुक्तिनाथको मन्दिर र १०८ धारा
घ) लुम्बिनी
ङ) स्वयम्भू, देवघाटधाम, सुपा देउराली, काक्रे विहार, पाथीभरा मन्दिर, रसुवाको गोसाईंकुण्ड, जनकपुरको जानकी मन्दिर, पोखराको विन्दवासिनी मन्दिर, बाराको गढीमाई मन्दिर, बाजुराको बढीमालिका, पाटनको कृष्ण मन्दिर लगायत देशका विभिन्न धार्मिक स्थलहरूको प्रतिमूर्तिहरूको व्यवस्था।
च) ४ धामहरूको नामकरण र प्रतिमूर्ति
११. विभिन्न भवन र स्थानलाई जिल्लाको नामकरणबाट चिनाउने जसले गर्दा बस्ने मानिसहरूलाई अपनत्वको बोध हुन्छ।
१२. योगा धान केन्द्रको व्यवस्था। आवश्यकता अनुसार योग सिकाउने गुरुको व्यवस्था गराउनु पर्ने हुन्छ वा त्यही बस्नेहरू मध्ये जानेको पनि हुन सक्छन्।
१३. खेलकुद गर्ने स्थानको व्यवस्था। पानी परेको झरी परेको समयमा ओतमा खेल खेल्न मिल्ने व्यवस्था।
१४. बिहान बेलुका हिँड्ने व्यवस्थित बाटोको व्यवस्था।
१५. उमेर अनुसार सुविधा सम्पन्न व्यायामशालाको व्यवस्था।
१६. चाडबाड अनुसार विभिन्न धार्मिकस्थल नामकरण गरिएको ठाउँमा नुहाउनको लागि तातो चिसो पानीको व्यवस्था।
१७. चौतारा पाटी पौवाको व्यवस्था। मौसमअनुसार दिउँसो चौतारामा बसेर बाघचाल, चेस, क्यारम बोर्ड, मनोरञ्जनको लागि तास (ट्वान्टी नाइन, दहरमारा, जुटपत्ती आदि) खेल्न उपयुक्त व्यवस्था।
१८. शारीरिक अवस्थाअनुसार सहयोगीको व्यवस्था। जस्तै शारीरिक अवस्थाअनुसार १० जनाको लागि १ जना, ५ जनाको लागि १ जना तथा १ जनाको लागि १ जना नै सहयोगीको व्यवस्था।
१९. वरिपरिका स्थानहरूमा समय-समयमा घुमाउनको लागि बसको व्यवस्था।
२०. शारीरिक अवस्थाअनुसार ह्विल-चेयर लगायतका सहज हुने सामग्रीहरू।
२१. रोग-व्याधले आक्रमण नगरोस् भनेर स्वास्थ्य सुरक्षाको प्रबन्ध।
२२. विभिन्न स्थानमा सिसिटिभी क्यामेरा जडान गरिनु पर्दछ। गोपनीयता कायम हुने गरी त्यस घरको गतिविधि आफ्ना सन्ततिले देश-विदेशबाट हेर्ने व्यवस्था गर्नु पर्दछ।
२३. स्वर्गको घर हेर्न र अवलोकनको निश्चित समय र शुल्कको व्यवस्था।
स्वर्गको घरमा बन्ने विभिन्न किसिमका ब्लकहरू
१. श्रीमान्-श्रीमती मात्र बस्ने आफै पकाएर खान मिल्ने सुविधा सम्पन्न बसाइँ व्यवस्थापन अनुसारको ब्लक
२. श्रीमान् श्रीमती मात्र बस्ने तर क्यान्टिनमा खाना खानेको लागि बसाइँ व्यवस्थापन अनुसारको ब्लक
३. महिलाहरू मात्र बस्ने ब्लक
४. पुरुषहरू मात्र बस्ने ब्लक
५. आफै खाना बनाएर खाने तथा क्यान्टिनमा खाना खानेहरूको लागि सकभर छुट्टै ब्लक
६. सङ्ख्याअनुसार विभिन्न किसिमका भवन तथा ब्लकहरू
७. सुविधा सम्पन्न क्यान्टिनको व्यवस्था। जुन क्यान्टिनमा सेवाग्राहीको चाहाना अनुसारको हाइजिनिक खानपान।
(लेखक शिक्षा मन्त्रालयका पूर्व उपसचिव हुन्।)