थार्पमष्टाका अवतारसँग साक्षात्कार हुँदा
कर्णालीका पहाडमा मष्टा केवल देउता होइनन्; उनी स्मृति हुन्, संस्कार हुन् र पुस्तौँदेखिको विश्वासको निरन्तरता हुन्। मानिस जीवनको निर्णायक मोडमा जब आशा र अन्योलको दोबाटोमा उभिन्छ, त्यहीँ मष्टाको नाम स्वतः मनमा आउँछ। मेरो लागि पनि यो लेख त्यही दोबाटोमा उभिएको समयको कथा हो जहाँ आस्था र कर्मबिच गहिरो संवाद चलिरहेको थियो।
असोज ६ गते घटस्थापनाको बिहान जुम्लाको चन्दननाथ र भैरवनाथ मन्दिरमा पूजाआजासहित लिङ्गो गाड्ने परम्परा अवलोकन गरेँ। मन्दिर दर्शनपछि नवीन भाइसँग भेट भयो र त्यसपछि हाम्रो कुलदेवता बाबिरा मष्टाबारे थप बुझ्ने जिज्ञासाले दिउँसो तातोपानीस्थित बाबिरा गाउँ पुग्यौँ।
चन्दननाथ मन्दिरको पूजामा उपस्थितका कारण गाउँका जानकार ज्येष्ठ सदस्यहरूसँग कुरा हुन सकेन। त्यसपछि बाबिरा थानको दर्शन गर्न जाँदा संयोगवश थानमा बाबिराका मूल धामीले धमेलो सुरु गरेका रहेछन्। हामी त बाबिराका आँसे (नजिकका हक लाग्ने) पाली हौँ, बाबिराले हामीलाई चिन्छ कि नाइँ बिचार गर्नुपर्छ भनी वास्तविक परिचय खुलाएनौँ।
मेरो पालो आएपछि मलाई धामीले अगाडि बोलाएर भने, ‘तैँले मलाई चढाएको दाना (फूल, चामल, धजा) तेरो घरबाट ल्याएको रहिनछस्, तेरो आमाबुबाले मसँग पठाएका पनि रहेनछन्, आज अर्कै बाटोबाट मसँग आएको रहिछस्, तैँले आफ्नो वास्तविक परिचय पनि ठगिस् मसँग, म राम्रोसँग चिन्छु तँलाई।’
मैले मुस्कुराउँदै स्विकारेँ, ‘यी दाना यतै किनेर चढाएको हुँ, घरबाट हेराउन भनेर आएको हैन मौकाले नारायणसँग भेट भयो।’
उनले भने, ‘तेरो घरको ढोका पूर्वपट्टि रहेछ, घर जाने तीन वटा बाटो रहेछन्, घरको पूर्वमा पानीको नाउलो, पश्चिममा दियारका रुख, ठुलो देउताको थापना (थान) रहेछ। तँ खुसी छस्, तेरो परिवारमा पनि खुसी छ, सबैलाई पुर्याएकै छु, आज घरबाट नआएकाले तेरो घरको बारेमा हेराउँदैन, तेरो बारेमा मात्र हेराउँछु। मनमा सोचेर चामलको मुठी राख्।’ त्यहाँ मुठी राखेर हेराउने चलन रहेछ।
मैले भनेँ, ‘हेराउनु पर्ने खासै केही छैन तर पनि मौकाले भेट भएको बेला नारायणसँग दुई वटा कुरा मात्र सोध्छु।’
उनले भने, ‘तेरो दुई मात्र हैन म तीन वटा कुरा पुगाउँछु। मसँग माग्नलाई त त्यही अनुसारको कर्म पनि गर्नुपर्छ। आफूले कर्म नगरी केही हुँदैन। सबै कुरा देउताको भर पर्नुहुँदैन। देउता त भरोसा दिने हुन्।’
त्यो वाक्यले मलाई गहिरो गरी छोयो- ‘देउता भरोसा हुन्, विकल्प होइनन्।’
मैले भर्खरै लोक सेवा आयोगको शाखा अधिकृत, नायब सुब्बा (राजस्व) र सञ्चय कोषको परीक्षा दिएकाले नाम निस्किन्छ कि निस्किँदैन भनी सोध्न मन लाग्यो। मनमनै एउटामा निस्किन्छ अर्कोमा निस्किँदैन सोचेर चामलको दुई वटा मुठी राखेँ। उनले निस्किन्छ भन्ने मुठीमा हात लिए।
मैले फेरि पनि उस्तै गरी राखेँ, उनले फेरि पनि निस्किन्छ भन्ने मुठीमा हात राख्दै भने, ‘तेरो तीन वटैमा नाम आउँछ तर पहिला सोचेको कुरा यो पटक पूरा हुँदैन, बाँकी दुई वटा अवश्य हुन्छ। मैले भनेको मिलेन भने फेरि मसँग कहिल्यै नआउनू।’
त्यसपछि मैले मन पराएको केटीसँग सम्बन्ध हुन्छ कि हुँदैन मनमनै सोचेर फेरि मुठी राखेँ। उनले हुन्छ भन्नेमा हात राख्दै एक घाँट चामल, फलफूल र घाँटीमा रुद्राक्षको माला पहिराएर त्यहाँबाट बिदाइ गरे।
असोज ७ गते बिहान जुम्ला बजारस्थित थार्पमष्टा अवतार हुने व्यक्तिको घरमा गएँ। उनीसँग हेराउन आउने मानिसहरूको भिड थियो। उनको कोठामा बस्ने ठाउँ थिएन। म पनि फूल, चामल, धजा चढाएर बसेँ। मष्टाको बारेमा धेरै जानकारी लिएँ उनीबाट।
केही समयपछि मलाई पालो दिई अगाडि बोलाएर उनले भने, ‘मलाई चढाएका यी दाना तेरो घरको देख्दैन, तैँले मलाई आफै चिनेर आएको हैन रहेछस्, अरूले सिकाएर मलाई भेट्न आएको रहिछस्, तँलाई तेरो आमाबुबाले पनि पठाएको रहिनछन्।’
मैले भनेँ ‘हो, तपाईंको बारेमा मैले यही आएर थाहा पाएको हुँ, मलाई आफन्तले पठाएका हुन्, अचानक तपाईंलाई भेट्न पाएँ मेरो आस्था त छ।’
उनले त्यहाँ उपस्थित अरूसँग हेरेर मेरो बारेमा भन्दै गए, ‘आज आएका तिमीहरू सबैभन्दा पवित्र मन यसको रहेछ, यसले अरूको नराम्रो कहिल्यै सोच्दैन, अरूलाई हानी गर्दैन। यो मसँग आफ्नो स्वार्थले केही माग्न पनि आएको हैन, यसका आमाबुबा पनि दायाँबायाँ नगरी आफ्नो कर्म गर्ने सफा मनका रहेछन्। यस्ता कमै भेटिन्छन् आजभोलि।’
ती महान् आमाबुबालाई मेरो नमन छ भनी आमाबुबालाई नमस्कार गरे।
उनले मेरो अनुहारमा हेर्दै भने, ‘तँ खुसी छस्, स्वस्थ छस्, परिवारमा पनि राम्रै छ, सबैलाई केही न केही पुगाएको छु, तँलाई पनि केही कमी हुन दिएको छैन, मसँग आउनेलाई खुसी बनाएरै पठाउँछु, तँ मलाई बुझ्न आएता पनि मनमा केही भए भन्।’
उनले बिचबिचमा भन्ने गर्थे, कर्म नगरी फलको आशा राख्नु हुँदैन, मसँग माग्नलाई पनि त्यही अनुसारको कर्म गरेको हुनुपर्छ।
एकछिन मनमा सोचेँ। अरू त केही छैन, तत्काल लोक सेवा आयोगको परीक्षा दिएकाले नाम निस्किन्छ कि निस्किँदैन यही थाहा पाउन पाए हुन्थ्यो।
उनले मेरो अनुहारमा निहालेर बोले, ‘तेरो मनको कुरा थाहा पाइसकेँ, सरी बालक तेरो पहिलो इच्छाको लागि, मसँग परीक्षा दिनुभन्दा अगाडि आउनुपर्थ्यो, ढिला आइस्।’
उनले सरी भन्दा म एकछिन झसङ्ग भएँ, निराश पनि भएँ। मेरो मनोभावना बुझेर सायद मलाई सान्त्वना दिनलाई होला यो पटक हुन्छ हुँदैन केही छिन हेर्छु है त भनेर मन्त्रसहित चामल खुवाएर पछाडि बस्न लगाए।
केही मिनेटपछि फेरि अगाडि बोलाएर भने, ‘तैँले मलाई राम्रोसँग चिनेको छैनस्, बुझेको पनि छैनस्, त्यसैले मेरो अनुहारमा सिधा हेर्न सक्छस्?’
मैले भनेँ, ‘म तपाईंलाई चिन्ने र बुझ्ने कोसिस गर्दैछु, सक्छु।’
आँखा नझिम्क्याई करिब ३ मिनेट मैले उनको अनुहारमा हेरेँ, उनले मलाई हेरे, अरूले हामीलाई हेरिरहेका थिए। वातावरण एकदमै शान्त र सुनसान भयो। मैले त्यही समय केही पनि सोचिनँ, देखिनँ, केवल उनको अनुहार।
दायाँ हात उठाउँदै भनेँ, ‘तथास्तु बालक, म तँलाई निराश बनाउँदैन र नहुनु पनि।’
मैले भनेँ ‘हुन्छ, म तपाईंलाई अझै बुझ्ने प्रयास गर्छु, तपाईंप्रतिको आस्था र विश्वास सधैँ कायम राख्छु।’
अन्तिममा मनमनै बाबिरालाई सोधेजस्तै आफ्नो सम्बन्धबारे सोचेर अर्को कुरा सोध्छु है भन्दा उनले ‘तेरो दुई वटै कुराको भारी एकैपटक बोक्दैन, पहिला यो कुरा पूरा गर्छु अनि फेरि आउनू’ भने। त्यसपछि म त्यहाँबाट बिदा भएर घर फर्किएँ।
असोज २४ गते म, भाइ र मामा ३ दिनको लागि हाम्रो लेकतिर घुम्न निस्कियौँ। त्यो बेलुकी खल्लाको लेकमा बास बस्यौँ। २५ गते बिहान मैले सपना देखेँ, ‘मेरो क्लास भइरहेको थियो, केही नआएर रोइरहेको।’
दिउँसो हामी योगी नरहरिनाथले भनेअनुसार महाभारत कालमा पाण्डवहरूले पानी खाँदा मुर्छा परेको खोलाको मुहान, यक्षले युधिष्ठिरलाई प्रश्न सोधेर पाण्डवहरू जीवित भएको स्थान नारीमेलाको करिब ३ किमी माथि, कालिकोटको प्रख्यात धार्मिक तथा पर्यटकीय स्थल पुगेली माईको पाटनस्थित ‘रुप्स्यापानीको चौर’ मा पुगेर जडीबुटी कोर्दै थियौँ।
बझाङका साथी आरपी जोशीले फोन गरी शाखा अधिकृतको लिखित परीक्षामा मेरो नाम निस्केको पहिलो जानकारी गराए। ब्याट्रीको कारण फोन बन्द भयो। अपरान्ह ४ बजेको थियो, हामी फर्कियौँ। राति ९ बजेको थियो घर पुग्दा। २६ गते बिहानै काठमाडौँको यात्रा सुरु गरेँ।
आगामी चरणको तयारीका क्रममा उर्मिला ढकाल दिदी र आशिष भुर्तेल सरसँग भेट गरी केही सल्लाह, जानकारी, अनुभव लिएँ। उहाँहरूलाई धन्यवाद। उर्मिला दिदी त पटक-पटक फोन गरी हौसला दिइराख्नु हुन्थ्यो।
यहीबिचमा कर्मचारी सञ्चय कोषमा नाम निस्केर सिफारिस भइसकेको थिएँ। शाखा अधिकृतमा सिफारिस नभएकाले कोषमा नियुक्तिको लागि तयार भएकै बेला नासु (राजस्व) मा नाम निस्केर सिफारिस भएँ।
सपना पनि बिपनामा गरे/सोचेअनुसार नै देखिने रहेछन्। बुबाले ‘तारे चुक र निगालाका दुई वटा भारी बोकेर घरमा ल्याएको’ आमाले ‘मार्सी धान ओखलमा कुटेर पछिका दिनलाई भनी कोठो (निगालाबाट बनेको) मा राखेको’ सपना देख्नुभएछ। मैले ‘उकालो बाटोमा हिँड्दा हाम्रो गाउँका मण्डालीमष्टाका धामी जेठाबुवा देखेको’ सपना देखेको थिएँ, संयोग २०७७ जेठमा यिनैले हेराउँदा ४/५ वर्ष नाम निस्किने सम्भावना छैन, त्यसपछि मात्र हेर्नु भनेका थिए। आश्चर्य यो पटक प्रायः मैले देख्ने सपनामा मेरो दिदी रिता र भाइ नवराज सँगै हुन्थे।
बिचबिचमा देखिएका सपना— आमाबुवाका, मेरा आफ्नै र विगतमा मष्टाले भनेका कुरा एकअर्कासँग मिल्दै गए। ती सबैले मलाई आफ्नो कर्मप्रति दृढ रहन प्रेरित गरे।
मष्टाको आश्वासनले भाग्यको भर पर्न होइन, कर्ममा इमानदार हुन सिकायो। आस्थाले मनमा सकारात्मक ऊर्जा भरिरह्यो। जय कुल देवता श्री बाबिरामष्टा, थार्पमष्टा।
थार्पमष्टाका अवतारसँग साक्षात्कार हुँदा