मेरो प्रिय मान्छे, यो देशलाई गाली गर्दै देश छोड्नेहरूको भीडमा तिमी पनि मिसियौ म बुझ्छु। तर आज यो पत्र गुनासो होइन, बोलावट हो। किनकि नेपाल आज परिवर्तनको बीचमा उभिएको छ, र त्यो परिवर्तनलाई हेरेर होइन, छोएर बाँच्ने समय आएको छ।
हामी थाकेका छौँ, तर सकिएका छैनौँ। हामी रिसाएका छौँ, तर हार मानेका छैनौँ। गल्ली गल्लीमा अझै सपना बाँकी छन्, माटोमा अझै आशा छ, र मनभित्र अझै फर्किने बाटो बाँकी छ।
आऊ, नेपाल फर्क किनकि देश मात्र होइन, हाम्रो माया पनि अझै अपुरो छ। मेरो प्रिय मान्छे, यो पत्र होइन, यो मेरो मनको भारी बोकेर लेखिएको एउटा लामो सास हो। शब्दहरू मिलाएर लेखिएको कुनै साहित्यिक अभ्यास होइन यो, यो त तिमी नहुँदा दिनदिनै मनभित्र जम्मा हुँदै गएको पीडा, आशा र प्रतीक्षाको दस्तावेज हो।
आज म तिमीलाई केवल सम्झेर लेखिरहेको छैन, आज म तिमीलाई फर्काउन लेखिरहेको छु। आऊ, नेपाल फर्क। अब मात्र होइन अब ढिला भइसकेको छ भनेर बुझेर फर्क।
म जान्दछु, तिमीले यो देश छोड्दा कति रातहरू नसुतेर बितायौ। ‘यहीँ केही गर्न सकिएन भने बाहिर जानु नै ठीक’ भन्ने निष्कर्ष सजिलै आएको थिएन।
परिवारको दबाब, समाजको व्यंग्य, साथीहरूको पलायन, र आफ्नै सपनाको थकान यी सबैले तिमीलाई धकेलेका थिए। म तिमीलाई दोष दिन्नँ। किनकि यो देशले धेरै युवालाई निराश बनाएको छ। तर प्रिय, निराशाले देश छोड्नु बुझ्न सकिने कुरा हो; निराशालाई अन्तिम सत्य मान्नु भने खतरनाक हो। तिमी विदेश पुगेपछि सुरक्षित जीवन पायौ होला समयमा तलब, सम्मानित श्रम, निश्चित भविष्य। तर के त्यहाँ तिमीले आफूलाई भेट्टायौ? कि केवल आफूलाई व्यस्त राख्यौ? किनकि म जान्दछु, रातको कुनै घडीमा तिमीले यो माटो सम्झिन्छौ। दशैंको टीका, तिहारको झिलिमिली, असारको पानी, र आमाको अनुहार यी सम्झनाहरू कुनै डलरले किन्न सक्दैन।
प्रिय, आज नेपाल उस्तै छैन, जस्तो तिमीले छोडेर गएका बेला थियो। समस्या उस्तै छन्, हो; तर सहने संस्कार कमजोर हुँदैछ। मानिसहरू चुप लागेर बस्न थालेका छैनन्। प्रश्न उठिरहेका छन्। युवाहरू सडकमा मात्रै होइन, सोचमा पनि हिँडिरहेका छन्। नेतृत्वप्रति आँखाभरिको डर होइन, आँखाभरिको प्रश्न देखिन थालेको छ।
प्रिय, मलाई थाहा छ, तिमी भन्छौ ‘भावनाले देश चल्दैन।’ हो, भावनाले देश चल्दैन; तर देश चलाउने इमानदारी भावना बिना जन्मिँदैन। नियम किताबमा लेखिएका हुन्छन्, तर नियम पालना गर्ने संस्कार मनमा जन्मिन्छ। त्यो संस्कार यही माटोमा उम्रिन्छ।
हाम्रो प्रेम पनि त यही माटोमा जन्मिएको थियो। हामीले देखेका सपना कुनै लक्जरी क्याफेमा बनेका थिएनन्। ती सपना धुलो लागेको सडकमा, सस्तो चियाको गिलाससँगै, र भविष्यप्रतिको डरलाई हाँसोले ढाक्दै बनेका थिए। आज हामी टाढा छौँ, तर हाम्रो माया मरेको छैन। माया त तब मर्छ, जब हामी एउटै दिशामा हिँड्न छोड्छौँ। तिमी विदेशबाट मलाई भन्छौ ‘तिमी देशमै बसेर के पायौ?’ म कहिलेकाहीँ मौन हुन्छु। किनकि सबै उत्तर शब्दमा हुँदैनन्। मैले यहाँ आराम पाएको छैन, तर अर्थ पाएको छु। मैले यहाँ सुविधा पाएको छैन, तर उद्देश्य पाएको छु र, उद्देश्य बिना सुविधा केवल सजिलो कैद हो।
नेपाल फर्किनु भनेको सबै कुरा छोड्नु होइन। नेपाल फर्किनु भनेको आफ्नो सीप, अनुभव र चेतना यहीँ लगानी गर्नु हो। तिमीले बाहिर सिकेको अनुशासन, समयको मूल्य, र श्रमको सम्मान यी सबै यहाँ चाहिएको छ। हामीलाई विदेशी पैसा होइन, विदेशी संस्कार चाहिएको छ र त्यो संस्कार तिमी जस्ता मानिसहरूले मात्रै ल्याउन सक्छन्।
प्रिय, यो देश कमजोर छ भन्ने कथा धेरै सुनियो। तर देश कमजोर हुँदैन, देशलाई कमजोर बनाइन्छ जब उसका सक्षम सन्तानहरू टाढैबाट माया गर्छन्। म तिमीलाई दोष दिन्नँ, तर आग्रह गर्छु मायालाई उपस्थितिमा बदल। टाढाबाट देशप्रेम गर्नु सजिलो छ, यहीँ बसेर देश बनाउनु कठिन छ। तर प्रेम सधैं कठिन बाटोमै परिक्षित हुन्छ।
हाम्रो माया पनि परीक्षामा छ। सजिलो भए त हामी टाढै बसेर पनि खुसी हुन्थ्यौँ। तर हामी खुसी छैनौँ, हैन र? किनकि हाम्रो सम्बन्ध केवल दुई व्यक्तिको कथा होइन; यो समय, समाज र देशसँग जोडिएको कथा हो। यदि हामी देशसँगै संघर्ष गर्न सक्दैनौँ भने, हाम्रो प्रेमले पनि गहिरो अर्थ पाउँदैन।
प्रिय, फर्किएर तिमीले क्रान्ति गर्नुपर्छ भन्ने छैन। फर्किएर तिमीले इमानदार भएर बाँच्नुपर्छ। घुस नदिने साहस, गलत देख्दा चुप नलाग्ने हिम्मत, र सही कामलाई समर्थन गर्ने अडान यति नै काफी छ। इतिहास सधैं ठूलो नारा बोल्नेले होइन, सानो इमानदारी बोक्नेले बदल्छ।
आज म तिमीलाई सपना देखाएर होइन, जिम्मेवारी सम्झाएर बोलाइरहेको छु। यो देश पूर्ण छैन, तर यो हाम्रो हो। यसले हामीलाई धेरै दिएको छ भाषा, पहिचान, र एकअर्कालाई चिन्ने आँखा। अब केही फर्काउने पालो हाम्रो हो।
आऊ, नेपाल फर्क। बालेन प्रधानमन्त्री बन्लान् या नबन्लान् त्यो समयले देखाउनेछ। तर हामी जिम्मेवार नागरिक बन्यौँ भने, कुनै पनि प्रधानमन्त्री असफल हुन सक्दैन। देश बन्दै छ, प्रिय तर त्यो देश तिमी बिना अपुरो छ।
अन्त्यमा, यो पत्र प्रेमको आग्रह हो, देशको आह्वान हो, र समयको चेतावनी हो।
आऊ, हामी भाग्ने होइन, बस्ने निर्णय गरौँ। हार्ने होइन, थामिने निर्णय गरौँ। आऊ, नेपाल फर्क। आऊ, आफू फर्क। आऊ, हाम्रो माया र यो देश दुवैलाई अझ बलियो बनाऔँ। तिम्रो, नेपालमै बसेर पनि नहार्ने, र तिमी फर्कने विश्वास कहिल्यै नछोड्ने एक मान्छे आऊ, नेपाल फर्क। ्यो
देश स्वर्ग होइन, तर यो हाम्रो कर्मभूमि हो। यहाँ गल्ती छन्, तर सम्भावना पनि छन्। यहाँ पीडा छ, तर प्रयोजन पनि छ। यदि हामी नै फर्किएनौँ भने, भोलि परिवर्तन कसले बोक्छ? इतिहासले भाग्नेहरू होइन, थामिनेहरू सम्झन्छ। आऊ, देशसँगै उभिऔँ हात काँप्दै भए पनि। किनकि जब मान्छे फर्कन्छ, देश बन्छ; जब देश बन्छ, माया बलियो हुन्छ। अब निर्णय गर सजिलो जीवन कि अर्थपूर्ण जीवन। म त यहीँ छु, देशसँगै, तिमी फर्कने विश्वास बोकेर।