दोलखा त्रिभुवन उच्च मावि मेलुङकाे एसएलसी ब्याच २०६३। हामी छुट्टिरएको १९ वर्ष भएछ। सबै आ-आफ्नो पेसा व्यवसायमा सधैँ व्यस्त,
कस्तो बेमतलबी जस्तो चाहेर होस वा नचाहेर। कतिपय रहर, बाध्यता, परिस्थितिले धेरै टाढा हुनुहुन्छ। त्यो अलग बात हो तर नजिकै भएकाहरू पनि सबै आ-आफ्नै दुनियाँमा हराइरहे जस्तो।
हामीले बिस्तारै हाम्रो ब्याच २०६३ सोसियल मिडियामा मेसेन्जर ग्रुप बनायौँ र सकेसम्म जोड्ने प्रयास गर्यौँ। धेरै अनुहारहरू त याद नै थिएन, एउटै ब्याच भए पनि ।
मेसेन्जर ग्रुपमा जोडिएको निकै समय भइसकेको थियो। छ्यास्स साथीहरूले २०६३ एसएलसी ब्याचको पिकनिक कार्यक्रम गरौँ भनेर प्रस्ताव राख्नु भयो। हामीले मेसेन्जर ग्रुपमा नै छलफल र तयारी गर्यौँ। सुरुवातमा सम्भव नहोला जस्तो भए पनि अन्ततः हामीले सम्भव बनायौँ र हामी भेटियौँ।
पिकनिक सभ्य-भव्य सोचेभन्दा धेरै रमाइलो भयो। यो हाम्रो पहिलो भेट थियो। त्यो पिकनिक र हाम्रो ब्याचमेट भेटघाटले धेरै ब्याचहरूलाई प्रभाव पारेछ। हामीले पहिलो पटक ब्याचमेट भेटघाट र पिकनिक कार्यक्रम गरेपछि हाम्रा दादादिदी र अंकल-आन्टीहरूको ब्याचमेट पनि भेटिएको देख्यौँ।
साँच्चै हाम्रो भेटघाटले सकारात्मक सन्देश दिएछ। हामी असाध्यै खुसी भयौँ। त्यसपछि हामी ब्याचमेट त भेट्यौँ, अब ब्याचमेटसँगै हाम्रा गुरुहरूसँग पनि भेट्न पर्छ भनेर छलफल सुरु भयो। हामीलाई अध्यापन गराउने गुरुहरू कति रिटायर्ड हुनु भयो, कतिपय अझै अध्यापन गराइरहनु भएको छ, कतिपय गुरुहरू नेपाल बाहिर आफ्ना परिवारसँग हुनुहुन्छ।
सकेसम्म हाम्रो सम्पर्कमा भएसम्म अन्यत्र सरुवा बढुवा भएर जानु भएका हाम्रा गुरुहरू कोही कसैलाई पनि छुटाउन हुन्न, सम्पर्कमा ल्याएर गुरु सम्मान कार्यक्रम र भेटघाट गर्ने अठोट भयो। हामी साथीहरू बिच व्यवस्थापन टिम बनाएर काम बाँडफाँड भयो। साथीहरूको अथक प्रयासमा सबै गुरुहरूसँग सम्पर्क भयो। हामीले हाम्रो कार्यक्रम बारे गुरुहरूलाई बताएपछि गुरुहरूले पनि स्वीकार गर्नुभयो र कार्यक्रममा पाल्नु भयो। गुरुहरू पनि असाध्यै खुसी हुनुभयो। हामी ब्याच २०६३ले गरेको यो एउटा फरक कार्यक्रम थियो र सम्भवतः यति धेरै साथीहरू अनि गुरुहरू भेट भएको र गुरुहरूलाई यतिका वर्षपछि ( झन्डै १८ वर्ष) सम्झिएर सम्मान गरेको पहिलो कार्यक्रम थियो।
हामीले कार्यक्रममा उपस्थित ब्याचमेट साथी र गुरुहरू सबैको लागि अध्ययन गर्दा र अध्यापन गराउँदादेखि हालसम्मको कुनै एक विशेष पल बारे सम्झने सेगमेन्ट राखेका थियौँ। यो सेगेमेन्टमा भने रमाइलो पल, विशेष पल थियो। केही साथीहरू सानै हुनुहुँदो रहेछ र गुरुहरूले गाली गरेको क्षण, हँसाएको क्षण, अनेक किस्साहरू सुनाउनु भयो र अन्तमा रामबहादुर गुरुले बताउनु भयो।
'भाइ-बहिनीहरूले कुनै एक विशेष क्षण स्मरणको किस्सा सुनाउनु भन्नु भयो। साँच्चै भन्नु पर्दा मेरो जीवनको सबैभन्दा विशेष क्षण आजको दिन हो। भाइ-बहिनीहरूले एउटा यस्तो भेटघाट अनि गुरु सम्मान कार्यक्रम गर्नु भयो, यो नै मेरो जीवनको विशेष क्षण हो,' उहाँले भन्नु भयो।
सिलौटा कटेज अनामनगरको हलमा गटगटाहट ताली बज्यो। कार्यक्रम निकै सभ्यभव्य भयो र हामी छुटियौँ। यो पिकनिक पछिको विशेष कार्यक्रम थियो।
सधैँ हामी एकअर्कासँग भेट गरौँ भन्दा व्यस्त छौँ, फुर्सद छैन, समय छैन भन्ने गर्थ्यौँ। जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै मन भए भेट्न सकिने रहेछ। समय छैन, फुर्सद छैन भन्ने त बहाना मात्र रहेछ। हामी जति सम्पर्कमा थियौँ, स्वदेशमा हुनेहरू त उपस्थित भयौँ, केही बाहेक धेरै साथीहरू देश बाहिर हुनु भएकोले उहाँहरू उपस्थित हुन सक्नुभएन। उहाँहरूको भौतिक उपस्थिति नभएता पनि नैतिक समर्थन सद्भाव थियो।
भेटिने र छुटिने क्रम निरन्तर रहेछ। हामीले गरेका दुई वटा कार्यक्रममा सबै आउन सक्नु भएन। पहिलो कार्यक्रममा उपस्थित साथीहरू दोस्रो कार्यक्रममा स्वदेश छाडेर परदेश लागिसक्नु भएको थियो।
भेटौँला भन्दाभन्दै समय झन्-झन् कठिन बन्दो रहेछ। त्यसैले साथीहरू भेट गर्न चाहिँ छाड्न नहुने रहेछ। उही जोस उही उत्साहको साथ फेरि दोस्रो पटक पिकनिक गर्ने योजना बन्यो। १९ वर्षको अन्तरालमा जम्मा तीन पटक भेट भयो। पहिलो पटक १७ वर्षपछि भेट भयो। त्यसपछि भने निरन्तर तेस्रो वर्ष भयो। हाम्रो भेटघाट वर्षमा एक चोटि चाहिँ भएको छ। पहिले हामीहरूलाई साथी-साथी बिच कुरा गर्दा जति असहज महसुस हुन्थ्यो, अहिले एक परिवार जस्तो भएका छौँ। साँच्चै भन्नु पर्दा हामी ०६३ ब्याच एक परिवार भएका छौँ। केही अप्ठ्यारो पर्दा हामी एकैपटक जुट्छौँ र हामी मध्य कसैलाई दुख परेको खण्डमा सहयोग गर्न पनि उत्तिकै तत्परता देखाउँछौँ र गरेका पनि छौँ।
अझ रोचक त कति साथीहरूले सानै उमेर कक्षा ८ मा पढ्दा नै विवाह गर्नु भएको रहेछ। यसपालि अर्थात् यो तेस्रो भेटमा अझ खुलेर कुरा भयो। सँगैका साथी सम्धी-सम्धी भएछन्। एउटा साथीको छोराले अर्को साथीको छोरी बिहे गरेको रहेछ। एउटा साथीले जिस्काएर भन्दै थियो- सम्धीलाई दर्शन गरिस् त!
खुब रमाइलो भलाकुसारी भयो, रमाइलो किस्सा सुनियो। सबेरै चिसो बिहानीमा भेटेका हामी गोकर्नेश्वर पिकनिक स्पटमा साँझसम्म सँगै रमाइलो गर्यौँ, गफियौँ र फेरि भेट्ने बाचाको साथ छुटियौँ। थाहा छैन, हामीमध्य अर्को वर्ष को थपिन्छ र को छुट्छ भन्न सकिन्न। गएको पिकनिकमा असाध्यै हँसाउने रमाइलो गर्ने साथी यो वर्ष उपस्थित हुन सकेन, विदेश गयो।
देश बाहिर हुँदा उही सञ्जालमा नियाल्ने हो तर भेटे जस्तो रमाइलो कहाँ हुन्छ र! साथी, त्यसैले मिल्छ र यतैकतै हुनुहुन्छ भने चाहिँ यस्तो अवसर गुमाउनु हुन्न है। समय छैन, भ्याउँदिनँ नभन्नु। भेट्न मन भए समय छैन भन्ने सिर्फ बहाना हो। समय छैन भन्दै आफैँले आफैँलाई ढाँटेको भए निरन्तर तेस्रो वर्ष यो भेट हुने थिएन साथी!