मसँग गर्वले देखाउन सकिने कुनै ठुलो उपलब्धि छैन। न त पदकहरू छन्, न त ‘सफलता’ भनेर सजिलै नाम दिन मिल्ने कुनै पद। तर मसँग जीवन छ— थाकेको, अलमलिएको तर इमानदार जीवन। बाल्यकालमा भविष्य खुला आकाश जस्तै लाग्थ्यो। जता मन लाग्यो उतै उड्न सकिन्छ भन्ने विश्वास थियो।
रोल्पाको त्यो गाउँ, ढुङ्गाको पुरानो घर, बिहान–साँझ घरधन्दा र स्कुलसम्मको डेढ/दुई घण्टाको पैदल यात्रा— जीवन कठिन थियो तर आशाविहीन थिएन। त्यति बेला सपना साना थिए तर चम्किला थिए। समयसँगै सपना ठुला भए तर म सानो हुँदै गएँ।
प्लस–टु पढ्न दाङ झर्दा पहिलो पटक गाउँभन्दा बाहिरको संसार देखेँ। हो, त्योभन्दा अगाडि पनि गाउँ छोडेको थिएँ तर उद्देश्य फरक थियो। प्लस–टु सकिएपछि मनमा ठुलो अन्यौलता आयो—अब के गर्ने?
त्यो बेला विदेशी जाने ब्याचलर नपढ्ने मनस्थितिमा थिएँ। गाउँका दुई साथी र म विदेश जाने सोचमा काठमाडौँ पुग्यौँ। पासपोर्ट बनायौँ, म्यानपावर कम्पनीका ढोका ढकढकायौँ। त्यहाँ मागभन्दा धेरै आवेदक थिए। इन्टरभ्युका दिन बिहान ९ बजे लाइन लाग्दा दिउँसो ३–४ बजेतिर मात्रै पालो आउँथ्यो। रिजल्ट आयो। म एक्लै छनोट भएँ— कतारको एउटा कम्पनीका लागि। साथीहरूको नाम आएन। सायद त्यही एक्लोपनले हो, मलाई त्यो कम्पनीमा जान मन लागेन।
साथीहरू अर्को देश, अर्को कम्पनी खोज्ने कुरा गर्न थाले। तर मेरो मन अचानक फेरियो— ‘अब विदेश होइन, अझै पढ्छु।’
म दाङ फर्किएँ। साथीहरू विदेश उडे। मैले ब्याचलर पढ्न सुरु गरेँ। त्यही बिचमा रेडियोमा काम गर्ने मौका आयो। कमाइ थिएन तर आवाज थियो। समाज देख्ने, मानिस बुझ्ने एउटा अर्को पाठशाला जस्तै थियो रेडियो। त्यसपछि कामको खोजीमा भारत पनि पुगेँ। त्यहाँ श्रमको मूल्य, असुरक्षा र पराइपन कस्तो हुन्छ भन्ने अनुभव गरेँ। तर त्यो बाटो पनि स्थायी बनेन।
पढाइ चलिरह्यो। साथीहरू विदेशबाट फर्किए, फेरि अर्को देश उडे। उनीहरू भन्थे— ‘पढ्नुपर्छ यार, तिमी राम्रो गर्छौ।’ मलाई कहिल्यै लागेन कि पढाइ गलत निर्णय हो।
चार वर्ष त हो, सोच्थेँ— ‘यो सकिएपछि त म बैंकर हुन्छु।’ पढाइ सकियो। रिजल्ट आउन केही समय लाग्यो। अन्ततः ब्याचलर पास गरेको कागज हातमा आयो।
काम खोज्न थालेँ। कतै अनुभव खोजियो, कतै पहुँच।
काम कतै टुंगो लागेन। त्यसपछि अर्को सपना पलायो— लोक सेवा। ‘अब सरकारी जागिर खान्छु।’ त्यही सोचले काठमाडौँ छिरेँ। तीन महिना जति लोक सेवा पढेँ। तर काठमाडौँ महँगो थियो। दाङमा महिनाको ५ हजारले गुजारा हुन्थ्यो, काठमाडौँमा १० हजार अनिवार्य खर्च लाग्थ्यो। त्यसैले फेरि निर्णय फेरियो। म दाङ फर्किएँ।
फेरि डिग्री पढ्न थालेँ। बिहान ५ बजेदेखि १० बजेसम्म कक्षा, बाँकी समय लोक सेवाका किताबहरू पल्टाउँथेँ।
पारिवारिक अवस्था कमजोर थियो। आमाबाबुले आफ्नै दुःख च्यापेर मेरो भविष्य बोके। डिग्री जोइन गरेपछि सोच बदलिन थाल्यो— ‘अब पढाइको खर्च आफैँले धान्नुपर्छ।’
काम खोजेँ। तर पढाइसँग मिल्ने, चाहनासँग मेल खाने काम भेटिएन। त्यही असफलताले मलाई फेरि परदेशतिर धकेल्यो। नेपालमै केही गर्ने सपना थियो।
लोक सेवा आयोगको तयारी पनि गर्दै थिएँ। त्यो सपना मेरो मात्र थिएन— बा-आमाको पनि थियो— ‘छोरोले यही देशमा केही गरोस्।’ जापान जाने कागज प्रक्रिया चल्दै थियो। सिओईको पर्खाइमा थिएँ। त्यही बेला नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट जागिरको अफर आयो। सल्यानको सदरमुकाम खलङ्गा पुगेँ, काम सुरु गर्ने उद्देश्यले। लाग्यो— सायद यही सही बाटो हो।
तर जीवनले फेरि प्रश्न तेर्स्यायो। ठिक त्यही बेला जापानको सिओई आयो। दुई वटा बाटो थिए— एउटा देशमै संघर्ष, अर्को परदेशको अनिश्चित यात्रा।
मैले बैंक छोडेँ। मैले देश छोड्ने निर्णय गरेँ।
आज जापानमा छु। तर मन अझै नेपालमै अड्किएको छ। डिग्री अधुरो छोडेको पीडा छ। लोक सेवा छुटेको पछुतो छ। म परदेशमा श्रमिक जीवन बाँचिरहेको छु।
बा–आमाको दुःख गाउँमा आज पनि उस्तै छ। परिस्थिति बद्लिएको छैन— केवल पात्रहरू फेरिएका छन्। युवावस्थामा मनभित्र आँधी थियो। केही गर्ने, केही बन्ने चाहना। तर म धेरै पटक चुपचाप सम्झौता गर्दै हिँडेँ। ‘अहिले होइन, पछि’ भन्दै सपनाहरू पन्छाएँ। त्यो ‘पछि’ कहिल्यै आएन।
आज उमेरसँगै इच्छाहरू पनि थाकेका छन्। जोखिम लिन डर लाग्छ। सपना देख्दा व्यवहारले रोक्छ। तर यो आत्मकथा केवल हारको कथा होइन। यो स्वीकारोक्तिको कथा हो। म सबै हुन सकिनँ। सबै पाउन सकिनँ। तर मैले आफ्ना सीमाहरू चिनेँ।
आफूलाई बुझ्ने प्रयास गरेँ र जे जति बाँचेँ— इमानदारीसाथ बाँचेँ। यदि मेरा सपना उमेरसँगै मौन बने पनि, मेरो अनुभव, मेरो संघर्ष र मेरो कथा यी शब्दहरूमा बाँचिरहुन्। सायद यही नै मेरो सबैभन्दा ठुलो उपलब्धि हो।