अहिले नेपाल विषम राजनीतिक परिवेशका बाबजुद समय अगावै संघीय निर्वाचनमा होमिएको छ। यो लेख तयार पार्दासम्म प्रतिनिधि सभा सदस्यको निर्वाचन २०८२ आउन २२ दिन बाँकी छ। पुरै देश मात्र नभएर विदेशमा समेत जुन-जुन देशमा नेपाली नागरिक बसोबास गर्छन् ती देशहरूमा पनि निर्वाचन राम्रैसँग तातिएको अनुमान हामी सामाजिक सञ्जालहरूमा आउने सामग्रीहरूबाट सहजै लगाउन सक्छौँ।
पछिल्लो समय राजनीतिमा मात्र नभएर सार्वजनिक सवालका बहसमा जबरजस्त रूपमा एउटा धारणा सुनिन थालिएको छ कि अब ‘नयाँ आएपछि सबै ठिक हुन्छ, जुनसुकै सुधारका लागि पनि पुराना हट्नुपर्छ वा भनौँ पुरानाहरू हटेपछि सबै समस्या समाधान भएर जान्छन्।’ मानौँ कि नयाँहरूसँग जादुको छडी छ जुन देखाएपछि सबै ठिक हुन्छ। यो सुन्दा अथवा रिलहरूमा हेर्दा जति सजिलो देखिन्छ, लाग्छ व्यवहारमा त्यत्तिकै गाह्रो छ। इतिहास र वर्तमान दुवैले देखाएको यथार्थ के हो भने समस्या दलको उमेरमा होइन, व्यक्तिको क्षमता वा दृष्टिमा हो।
नयाँ राजनीतिक दलका उम्मेदवार हुँदैमा सबै जान्ने र सक्षम हुन्छन् भन्ने कुराको भाष्य जसरी निर्माण भइरहेको छ नि यसले दीर्घकालीन रूपमा कस्तो असर देखाउँछ भन्ने अनुमान अहिले नै लाग्न थालिसकेको छ। राजनीतिक क्षमता कुनै दलको झन्डा बोक्दैमा प्राप्त हुने गुण होइन। राजनीतिक क्षमता ज्ञान‚ अनुभव‚ नैतिकता‚ निर्णय क्षमता र जनताप्रतिको प्रतिबद्धताबाट निर्माण हुन्छ जुन कुरा नयाँ दलका सँग मात्र हुन्छ भन्ने हुँदैन।
अनि आज देखिएको र स्विकार्नै पर्ने अर्को यथार्थ के हो भने अहिले पनि नयाँ राजनीतिक दलबाट उम्मेदवार भएर हाम्रो घरदैलोमा आएका व्यक्तिहरूको राजनीतिक यात्रा पनि कुनै न कुनै पुरानो दलबाट सुरु भएको देखिन्छ। त्यसैले दल परिवर्तन गर्दैमा स्वतः ज्ञान, क्षमता‚ सोच र संस्कारमा परिवर्तन हुँदैन। दल परिवर्तन गर्दैमा व्यक्ति स्वतः सक्षम हुन्छ भन्ने निष्कर्ष निकाल्नु सतही मूल्याङ्कन हो।
पछिल्लो समय पुराना राजनीतिक दलप्रति आम नागरिक रुष्ट छन्। चुनाव नजिकिँदै जाँदा यो असन्तुष्टि अझ बढी प्रकट हुँदै गइरहेको देखिन्छ। यो भावना आउनुको कारण पनि छन्। सबैभन्दा पहिलो कारण त अपेक्षा र उपलब्धिका बिचमा मेल नखानु हो। दशकौँदेखि नेतृत्व गरिरहेका राजनीतिक दलका नेतृत्वले जनताको अपेक्षा अनुसारको काम गर्न नसक्नु, जनताका सामु देखाएका समृद्धि, सुशासन र समान विकासका सपनाहरू पूर्ण रूपमा व्यवहारमा देखाउन नसक्दा जनताको विश्वास क्रमशः कम हुँदै गयो।
बेरोजगारी, महँगी, भ्रष्टाचार, सेवा प्रवाहको कमजोरी र राजनीतिक अस्थिरताले यो अवस्था देखिँदै गएको हो। त्यस्तै अर्को कारण हो दलभित्र आन्तरिक लोकतन्त्र कमजोर हुनु, आलोचनालाई स्वीकार गर्न नसक्नु पनि हो, जसले पुराना दलप्रतिको असन्तोष बढाएको छ। हाम्रो जस्तै इतिहास, स्रोत र चुनौतीहरू भएका देशहरू विकासका हिसाबकाले धेरै नै अगाडि बढिसकेको देख्दा पनि असन्तोष बढ्दै गइरहेको छ।
हाम्रो देश विकासमा अन्य देशको तुलनामा पछाडि पर्नुको मुख्य कारण स्रोतको अभाव मात्र होइन, स्रोतको सही व्यवस्थापन नहुनु हो। राजनीतिक अस्थिरता, दीर्घकालीन योजना अभाव, व्यक्तिगत स्वार्थ केन्द्रित राजनीति विकासका प्रमुख अवरोध बनेका छन्।
तर यसो भन्दैमा सबै दोष पुराना राजनीतिक दलमाथि मात्र लगाउनु पनि पूर्ण सत्य भने हुन सक्दैन। हामी सबै आफ्नो जिम्मेवारीभन्दा पनि अधिकारमा मात्र जोड दिने प्रवृत्तिका भयौँ कि, अब स्वयं माथि पनि प्रश्न गर्ने बेला भएको छ। हामी विभिन्न क्षेत्रमा जब दक्ष नागरिक बन्छौँ तब हामीभित्र पनि सेवा भावभन्दा पनि सुविधामुखी बन्ने लोभ पैदा हुनुका कारण पनि देश अपेक्षित रूपमा विकास नहुनुको थोरै जिम्मेवारी हाम्रो पनि हुन जान्छ।
अहिलेको समय भावनामा बहकिने समय नभएर वास्तविकता बुझ्न प्रयास गर्नुपर्ने समय हो। वास्तविकता के हो भने क्षमता उमेरले होइन, सोच, इमानदारी, सिक्ने चाहना र काम गर्ने शैलीले मापन हुन्छ। नयाँ दलका सबै सक्षम हुन्छन् भ्रम जत्तिकै, पुराना दलका सबै असक्षम हुन्छन् भन्ने धारणा पनि खतरनाक छ। यस्तो सोचले समाजमा अनावश्यक द्वन्द्व सिर्जना गर्छ र समाजलाई दुई ध्रुवमा बाँड्छ।
चुनाव नजिकिएसँगै सबै क्षेत्रमा एउटा साझा बहसको विषय बनेको छ– उम्मेदवारलाई दलको आधारमा मतदान गर्ने कि उनीहरूको कार्यशैली, क्षमता, चरित्र र पहुँचका आधारमा मतदान गर्ने? यो प्रश्न केबल चुनावी रणनीतिसँग होइन, हाम्रो क्षेत्रको भविष्य सँग जोडिएको प्रश्न हो।
दल राजनीति सञ्चालनको एउटा माध्यम हो तर प्रतिनिधित्व गर्ने पात्र स्वयम व्यक्ति हुन्छ। जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने, जनताका समस्या सँग जानकार रहने, समाधानका लागि पहल गर्ने र जवाफदेही हुने व्यक्ति नै निर्वाचित प्रतिनिधि हो। यसअघि कुनै पदमा हुँदा के कस्तो कार्यशैली देखाए भन्ने कुराले पनि उनको कार्यक्षमता र जनप्रतिनिधि बन्न लायक व्यक्ति हो कि होइन भन्ने निर्धारण गर्दछ। त्यसैले दलको नामले होइन, व्यक्तिको व्यवहारले जनजीवनमा प्रभाव पार्दछ। दल नेताको पहिचान हुन सक्छ तर हाम्रो भविष्य उम्मेदवारको निर्णय र कामसँग जोडिएको हुन्छ।
लोकतन्त्रमा मतदाता सबैभन्दा ठुलो निर्णायक शक्ति हो। दलको नाम हेरेर होइन, उम्मेदवारको दृष्टिकोण हेरेर निर्णय लिनु नै चेतनशील नागरिकको परिचय हो। नयाँ भन्ने बित्तिकै अरू कुरा सुन्न नचाहनु, अरू देख्नै नचाहनु भन्दा पनि नयाँ सोच, स्पष्ट योजना र इमानदार नेतृत्व खोज्नु आजको आवश्यकता हो। समाजलाई अगाडि बढाउने शक्ति नयाँ दलमा मात्र होइन, नयाँ दृष्टिमा हुन्छ।