नोटः यहाँ घटनामा उल्लिखित सबै नामहरू परिवर्तित हुन्।
घटना १
१६ वर्षकी सपनाको परिवार आर्थिक रूपमा राम्रो थियो। आमाबुबाको सम्बन्ध विच्छेद भएपछि आमा विदेशमा थिइन्, बुबा व्यापारमा व्यस्त थिए।
पढाइका लागि उनी पोखरामा एक्लै थिइन्। त्यहीँ उनको भेट २१ वर्षीय राहुलसँग भयो।
प्रेममा परेपछि राहुलले 'फिफ्टी शेड्स अफ ग्रे' फिल्मबाट प्रभावित भएर एउटा कागजमा सर्तहरू लेखाए— चाहेको बेला यौन सम्बन्ध, अरूसँग नबोल्ने, राहुलको इच्छा अनुसार व्यवहार गर्ने, नियम तोडे ५०,००० रूपैयाँ जरिवाना आदि।
पछि त्यही करार देखाउँदै राहुलले निरन्तर यौन शोषण गरे। १८ वर्षमै सपनाको पाठेघरमा समस्या आयो। सार्वजनिक स्थानमा कुटपिट पनि हुन्थ्यो।
तर सपनालाई लाग्थ्यो, यो प्रेमकै कारण हो। मुद्दा जान सपना तयार हुँदा पनि परिवारले 'इज्जत जान्छ' भनेर चुप लाग्न लगायो र उनलाई विदेश लग्यो।
घटना २
२५ वर्षकी राधा र सरोजबीच प्रेम सम्बन्ध थियो। सम्बन्ध बिग्रिएपछि राधाले अरूसँग विवाह गर्ने निर्णय गरिन्।
यो थाहा पाएपछि सरोजले घरअगाडि होहल्ला गरेनन्, तर सामाजिक सञ्जालमा पुराना तस्बिरहरू राखेर राधाको विवाह गर्न लागेका व्यक्तिलाई सबै कुरा सुनाए। विवाह रोकियो।
सरोजविरूद्ध विद्युतीय अपराधमा मुद्दा चलाइयो।
घटना ३
सीमाको प्रेम सुरू भएपछि उनले सबै साथीहरूसँग कुरा गर्न बन्द गरिन्, किनकि प्रेमीलाई मन पर्दैन। उनको सामाजिक सञ्जाल प्रेमीले नै चलाउँछन्।
फोनमा कल रेकर्डिङ एप राखिएको छ। भेट हुँदा कुराकानी सुन्छन्। अफिसको कामले बाहिर जाँदा रिसाउँछन्, ब्लक गर्छन् र चरित्रमाथि प्रश्न उठाउँछन्।
***
यी घटनाहरू विगत केही वर्षमा मैले अधिवक्ताका रूपमा कानुनी परामर्श दिँदा भेटेका प्रतिनिधि कथाहरू हुन्। प्रेमको नाममा लुकेका विषाक्तता र हिंसाका यी कथाहरू उदाहरण मात्र हुन्।
कल्पना गर्नुहोस् त, एउटी युवती, जसको जीवन प्रेमका सपनाले भरिएको थियो। उनी आफ्नो पार्टनरसँग हरेक पल खुसी बाँड्न चाहन्थिन्। तर त्यही प्रेम हिंसा, नियन्त्रण, अपमानजनक शब्दहरू र कहिलेकाहीँ शारीरिक पीडामा परिणत हुँदा कस्तो हुन्छ?
अनि समाजले उनलाई चुपचाप लाग भन्न्छ, किनकि 'प्रेममा यस्तो त चल्छ नै!'
तर के यो साँच्चै सही हो त?
होइन, यो सबै विषाक्त सम्बन्ध हो।
विषाक्त सम्बन्ध भनेको के हो?
विषाक्त सम्बन्ध त्यस्तो बन्धन हो, जसमा प्रेमको नाममा डर, नियन्त्रण र हिंसा हुन्छ। जहाँ डरलाई प्रेम, अपमानलाई माया र नियन्त्रणलाई समर्पण ठानिन्छ।
विषाक्त सम्बन्धले व्यक्तिलाई मानसिक रूपमा विचलित बनाउँछ, आत्मविश्वास कमजोर पार्छ। अझ विषाक्ततालाई प्रेरित गर्ने सामाजिक धारणाहरू झन् खतरनाक छन्।
तथ्यले के भन्छ?
विश्वभर अन्तरंग साथीबाट हुने हिंसाका घटनाहरू क्रमिक रूपमा बढ्दै छन्।
नेपालमा अन्तरंग साथीबाट हुने हिंसा (इन्टिमेट पार्टनर भायोलेन्स- आइपिभी) महामारीजस्तै फैलिएको छ।
'नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्भे (एनडिएचएस) २०२२' अनुसार १५–४९ वर्षका महिलामध्ये जीवनकालमा २७.२ प्रतिशतले कुनै न कुनै रूपमा अन्तरंग साथीबाट हिंसा भोगेका छन्। यसमा शारीरिक हिंसा २३ प्रतिशत, भावनात्मक हिंसा १३ प्रतिशत र यौन हिंसा ७ प्रतिशत समावेश छन्।
मोन्ना कुरभिनेन लगायतले सन् २०२५ मा गरेको अध्ययनमा सहभागी ५,१७८ महिलामध्ये ३१.४ प्रतिशतले जीवनमा कुनै न कुनै रूपमा आइपिभी अनुभव गरेको बताएका छन्, जसमा नियन्त्रात्मक व्यवहार (२९.४ प्रतिशत) सबैभन्दा बढी छ।
उक्त अध्ययनले यस्तो हिंसा भोगेका महिलामा चिन्ता, डिप्रेसन र आत्महत्याको विचार बढी आउने देखाएको छ।
तर दुःखद के छ भने, यस्तो हिंसा भोगेकामध्ये ७२ प्रतिशतले कुनै सहयोग खोजेका छैनन्। सहयोग खोजेकामध्ये पनि ९२.२ प्रतिशतले अनौपचारिक स्रोतबाट मात्र सहयोग लिएका छन्।
प्रेमको नाममा हुने उत्पीडनको सामान्यीकरण
प्रेमको नाममा उत्पीडन तथा हिंसालाई सामान्य ठान्नु नै विषाक्त सम्बन्धको जड हो। नेपालमा स्टकिङ (पछ्याउने), बारम्बार फोन गरेर तर्साउने वा अस्वीकार गर्दा पनि दबाब दिने व्यवहारलाई 'सच्चा प्रेम' भनेर चित्रण गरिन्छ।
विभिन्न चलचित्रले यस्ता व्यवहारलाई अझ प्रोत्साहन गरेका छन्। चलचित्र र सामाजिक सञ्जालले हिंस्रक 'अल्फा म्यान' को अवधारणालाई 'ग्लोरिफाई' गर्दा युवा पुस्तामा हिंसात्मक व्यवहारलाई प्रेम ठान्ने प्रवृत्ति बढेको छ। निरन्तर गरिएको स्टकिङलाई प्रेम र हिंसालाई हिरोपन देखाउँदा युवा पुस्ताको प्रेमबारे बुझाइ विषाक्त बन्दै गएको छ।
तर हामीले बुझ्नुपर्ने कुरा स्पष्ट छ — यस्तो व्यवहार प्रेम होइन, अपराध हो। यसले महिलाको स्वतन्त्रता र सुरक्षा खोस्छ र उनीहरूलाई जोखिममा पार्छ।
'नाइँ' भन्ने शब्दलाई सम्मान नगर्नु प्रेम हुन सक्छ त?
नेपालमा यस्ता घटनाका थुप्रै हृदयविदारक उदाहरण छन्। प्रेम प्रस्ताव स्वीकार नगरेको नाउँमा गरिएको एसिड आक्रमणदेखि प्रेमको बहानामा गरिएको यौन शोषणसम्म— यी सबैलाई प्रेमको रूपमा स्वीकार गर्दा महिलाहरू कहिल्यै सुरक्षित हुन सक्दैनन्। घरेलु हिंसामा सहनुपर्छ भन्ने मान्यताले बढ्दो हत्या घटनाले पनि यही सत्य देखाउँछ।
मूल कारण: पितृसत्ता
यो प्रवृत्ति पितृसत्तात्मक सोचसँग गहिरो रूपमा जोडिएको छ, जहाँ पुरूषको नियन्त्रणलाई स्वाभाविक र महिलाको सहनशीलतालाई गुण ठानिन्छ। आर्थिक निर्भरता, सामाजिक दबाब र पारिवारिक 'इज्जत' का कारण धेरै महिलाहरू मौन बस्न बाध्य छन्।
तर यस्तो मौनताले हिंसाको चक्रलाई झन् बलियो बनाउँछ।
अन्तरंग साथीबाट हुने हिंसाले व्यक्तिगत मात्र होइन, सामाजिक असर पनि पार्छ। अध्ययनहरूले देखाएका छन् कि यस्ता हिंसाले डिप्रेसन, चिन्ता र आत्महत्याको जोखिम बढाउँछ। त्यसैले यसलाई निजी मामिलाका रूपमा मात्र हेर्नु गम्भीर भूल हुनेछ।
आज भ्यालेन्टाइन्स डे — यो प्रेमको उत्सव मात्र होइन, प्रेमको अर्थ पुनःपरिभाषित गर्ने अवसर पनि हो।
प्रेम भनेको सम्मान, सहमति र समानता हो— डर, नियन्त्रण र पीडा होइन।
यदि प्रेम सम्बन्धमा हिंसा भइरहेको छ भने सहनु होइन, नेपाल प्रहरी, राष्ट्रिय महिला आयोग वा नागरिक समाजका संस्थाबाट सहयोग लिनु आवश्यक छ। यो कुरा युवा पुस्तालाई सिकाउनु झन् जरूरी छ।
समाजले अब स्पष्ट रूपमा भन्नुपर्छ— प्रेमको नाममा हुने हिंसा स्वीकार्य छैन। सच्चा प्रेमले बाँध्दैन, स्वतन्त्र बनाउँछ। यही बुझाइबाट मात्र सुरक्षित र सम्मानजनक सम्बन्धहरूको निर्माण सम्भव छ।
प्रणय दिवसको शुभकामना।