२०८० साल माघ १० गतेको बिहान मलाई ब्युँझाउन सूर्य भैरहवामा उदायो। दुई दिनमा २०० किलोमिटर साइकल चलाउन पाइने भइयो नयाँ ठाउँमा भन्ने कुराले म उत्साहित थिएँ।
केही दिनअघि साइकल सिटी भैरहवाले माघ १० र ११ गते दुई दिन बुद्ध ज्ञान साइकल यात्राको लागि सहभागी हुन आह्वान गरेको थाहा पाएर मलाई पनि सो यात्रामा भाग लिन इच्छा जाग्यो र आफ्नो नाम दर्ता गराएँ।
साइकलबाट संसारकै प्रसिद्ध पर्यटकीय स्थल गौतम बुद्धको जन्मभूमि लुम्बिनी तथा सेरोफेरो मेरो लागि त्यसै पनि आकर्षणकै क्षेत्रमा पर्छ। कारण म परेँ जन्मैले बौद्धमार्गी। नेपालका नेवारहरूमा शाक्य, बज्राचार्य लगायत केही अरू थर हुनेहरू अधिकांशत बौद्धमार्गी हुन्छन्। त्यसमाथि बौद्ध सम्प्रदायको त गुरुज्यु नै मानिन्छु म।
बौद्धमार्गीको लागि लुम्बिनी अनि मुस्लिमको लागि मक्का, मदिना उस्तै-उस्तै। त्यसैले संसारभरिका बौद्धमार्गीको लागि जीवनमा एक पटक पुग्ने लालसाको ठाउँ हुनाले ओइरिन्छन् यहाँ। राम्रै सम्झन्छु- बच्चा बेलामा मेरो व्रतबन्ध (नेवारीमा बरे-छुइउ) ७ दिनसम्म भिक्षु पोसाक लगाएर भिक्षा लिन आफन्तकहाँ गएको।
भैरहवासम्म जान हवाईजहाजमा उडेँ साइकलसहित। भन्नु होला– साइकलयात्री त साइकलमै गएको भए हुने नि भैरहवा पनि। साइकलयात्रीले संसार नै घुमेका छन् साइकलमा भने भैरहवासम्म जानु त झ्यास्सै हुनु पर्ने। त्यसो गर्न नसक्ने त केही थिएन तर त्यसका लागि अतिरिक्त दिन छुट्ट्याउन समय थिएन। त्यसैले हवाईजहाजमा जाने निर्णय गरेको थिएँ भने हवाईजहाजमा चढ्नु अघि राम्रैसँग प्याक गरेको थिएँ ताकि कतै नकोरियोस् भनेर। साइकलमा लामो यात्रा गर्ने र सौखिनले चढ्ने साइकल महँगै हुन्छ, सामान्यभन्दा अलि बढी नै।
भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेको भए पनि हामीलाई भैरहवामा आतिथ्य गर्ने पुरानै टर्मिनल थियो, नयाँ त सञ्चालनमा आएकै थिएन। विमानस्थलको नयाँ टर्मिनलले जिस्क्याए झैँ लाग्यो, 'बेला नहुँदै र गलत जहाज चढेर आउनेलाई म किन ढिम्किन दिन्छु त!'
देशकाल परिस्थितिअनुसार चल्यो भने जीवनमा सुख हुन्छ भन्ने सत्य जति उमेर पाक्दै जाँदो छ, उति म पनि बुझ्दै जाँदो छु। नयाँ भौतिक पूर्वाधार, चिल्लो बाटोमा देख्दैमा, भेट्दैमा रमाउन छाडेको छु म अचेल। खाल्डाखुल्डी बाटो, पुरानो झुपडी, सानो चिया पसल, होम-स्टेमा रमाउने बानी बसालिसकेँ मैले- जुन यत्रतत्र पाइन्छ नेपालमा। सहजै पाउने कुरामा रमाए पो जीवनमा रमाइरहन पाइन्छ, दुर्लभ कुरामा रमायो भने त रमाइलो, खुसी पनि दुर्लभ हुन्छ।
भैरहवा विमानस्थलबाट साइकल र म एउटा भ्यानको मोल ५०० रुपैयाँ तिरेर आयोजकले तोकेको होटलमा पुगेँ। दुई सिंगल बेड भएको कोठा थियो मलाई दिएको। एक बेडमा म, अर्को साइकले आइपुगेका रहेछन्। बेलुकाको दालभात पनि त्यहीँ व्यवस्था गरेका रहेछन्। होटेल साहु निकै प्रसन्न थिए साइकले पर्यटक पाहुना पाएर। साइकलेहरू घुमन्ते हुने हुँदा धेरै मानिससम्म होटलको सुनाम पुर्याउलान् भनेर होला। कोरोनाले थिल्थिलिएको व्यवसाय अब अलि तङ्ग्रेला कि भन्ने सङ्केत मानेका थिए सायद यसलाई। बुद्धज्ञान साइकल यात्रामार्फत पर्यटन प्रवर्धन हुने आशा गरेको बुझियो। पहाड घर बागलुङ रहेछ उनको। व्यापार व्यवसाय गर्न तराई झरेका रहेछन्। बौद्ध पर्यटन बढे लुम्बिनी क्षेत्र नै, त्यसमा पनि भैरहवा सबभन्दा बढी फाइदामा रहने नगर हो।
कोठामा पुगेपछि श्रीमतीलाई कल गरियो– ‘सकुशल पुगेँ।’ आफूलाई पनि घर खबर गर्न मन लाग्नु त छँदैछ, त्योभन्दा बढी 'पुगेपछि कसरी पुगेँ नभनी बस्नु, आफूलाई कस्तो चिन्ता भइरहन्छ' भन्ने रुन्चे पनि, रिसपूर्ण पनि गुनासो सुन्न पर्ला भन्ने पनि लाग्छ र सतर्क पार्छ।
अपेक्षित भनिएको रुम पार्टनर त आउँदै आएन। एक्लै भएँ कोठामा। ओछ्यानमा पल्टेर कोठाको छतमा आँखा अड्याइरहँदा सम्झेँ पुरानो कुरा- म पहिलो पटक भैरहवा आएको थिएँ २०३९ तिर, मोटरसाइकलको लाइसेन्स बनाउन। दाइ हुनुहुन्थ्यो खानेपानी संस्थान, भैरहवाका वरिष्ठ लेखापाल; त्यसैले दाइको पद र सम्पर्क सूत्रले काम बनाउन सजिलो होला भनेर आएको। काठमाडौँका ठिटाहरू उपत्यका बाहिर लाइसेन्स लिन जाने चलन थियो त्यतिबेला किनभने अलि सजिलो थियो जिल्लामा। लिखित मात्र हुन्थ्यो– ट्रायल परीक्षा याने कि व्यावहारिक परीक्षा दिनु पर्दैनथ्यो। भने जस्तै गरी सजिलै पाइयो लाइसेन्स। अहिले जस्तो घुस खुवाउन पर्दैनथ्यो।
भोलिपल्ट बिहान ५ बजे नै उठेँ। तयार भएर देवकोटा चोकमा भेला हुन गएँ। थाहा भयो कि २६ जिल्लाका २५० जना जति सहभागी रहेछन्। त्यसमध्ये लुधियाना, भारतका ६ जना र चीनबाट एकजना समेत रहेछन्- नेपाली साथीसँग आएको जस्तो लाग्यो। ठुलै हल्लाखल्ला थियो। आयोजकले चिया र बिस्कुट राखेका रहेछन्, भिडमा खाना बाँडिएको भएपछि अलि चर्को आवाज निस्कने नै भयो।
माघ महिना भएकोले हुस्सु बाक्लै थियो- हिउँदमा तराईको मौसमको विशेषता। आयोजकहरू माइकबाट अनेक खाले सूचना प्रवाह गर्दै थिए। विभिन्न प्रायोजकहरूको नाम पनि लिए, उद्योग वाणिज्य संघ आदि इत्यादि। ६:१५ मा र्याली सुरु भएको घोषणा भयो। सबै गुटुटुटु गर्दै देवकोटाको सालिकलाई दायाँ पारेर दक्षिण सुनौलीतिरको बाटो हुँदै अगाडि बढे। आफू पनि भिडसँगै लागियो। कोभन्दा को कम भन्दै प्याडल चलाएको चलायै गरे सबै साइकलेहरूले। झन्डै २८ किलोमिटर चलाएपछि रामग्राम स्तूप पुगियो।
रामग्राम स्तूप बुद्धको मौलिक अस्तु धातुबाट बनेको एउटै मात्र स्तूपमा पर्दछ भन्ने गुगलबाट थाहा पाएँ। त्यसकारण पनि यसको ऐतिहासिक महत्त्व रहेछ। मलाई यो जानकारी थिएन, पढेको भए पनि बिर्सिसकेको रहेछु। यहाँ धरानको विजय श्रेष्ठ र सुभाष गुभाजु भेट भयो। विजय भाइ साह्रै सहयोगी र सक्रिय व्यक्ति। केही वर्षअघि मलाई उनले धरानमा साइकल चलाउने सबै चाँजोपाँजो मिलाइदिएका थिए।
बिहानको खाजा यहीँ खाने व्यवस्था गरेका रहेछन्। रामग्राम छोडेर परासी बजार हुँदै अगाडि बढियो। देवदह पुगेको जानकारी पाइयो। देवदह मायादेवीको माइती अथवा सिद्धार्थ बुद्धको मामाघर– निकै महत्त्वको ऐतिहासिक थलो। स-साना टिनले छाएको दुई वटा टहराहरूमा ढुङ्गाका अस्पष्ट मूर्तिहरू राखिएका रहेछन्।
रामग्रामबाट अगाडि बढेपछि जङ्गलको बाटो आउँछ। स-साना बस्ती हुँदै अगाडि बढिरहेका थियौँ। मेरा लागि यो भेग पुरै नयाँ, पहिलो पटक आएको। यी स्थानहरू रुपन्देही जिल्लामा पर्दोरहेछ। भैरहवा, बुटवल बाहेक अरू कुनै ठाउँ म नगएको रहेछु यो जिल्लाको। अब फेरि आउनु पर्दा बाटो पटक्कै सम्झिन्न कि झैँ लाग्यो। तिनाउ नदी आयो। बुटवल नेरको तिनाउ नदी भने तरेको हुँ नेपालगन्ज जाँदा। अहिले तर्दै तिनाउ बुटवलभन्दा दक्षिणतर्फ। सम्झनाको लागि विजय र सुभाषसँग फोटो खिचियो यहाँ।
७६ किलोमिटर साइकल चलाएपछि शुद्धोधन पार्क भन्ने ठाउँ आइपुगेको जानकारी पाइयो। स्थानीय भेषभूषामा सजिएका अति नै सुन्दर स्थानीय थारु महिला पुरुषले फूलको गुच्छा लिएर निकै राम्रो स्वागत गरे र्यालीमा सहभागी साइकलेहरूलाई। स्थानीय नाच पनि अवलोकन गरियो। यो नाचगान अविस्मरणीय रह्यो। आखिर यसरी कुनाकन्दरामा आउनुको एउटा उद्देश्य त यही मौलिक संस्कृतिकै अवलोकनको लागि त हो नि! यसले नेपालमा रहेको विविधता देख्न, अनुभूति गर्न पाइन्छ। यहाँ विविधताको सांस्कृतिक आयामको अनुभूति गर्न पाइएको छ। यो पार्कमा मन्दिर पनि छ। त्यसैगरी यहाँ ढुङ्गाका स-साना हात्ती पनि २०/२२ वटा रहेछन्। दिउँसोको खानाको व्यवस्था यहीँ गरिएको रहेछ।
केही अगाडि बढेपछि गढवा ताल पुगियो। यो मानवनिर्मित ताल हो ५० बिघा क्षेत्रफलमा फैलिएको। यहाँ ५० प्रकारका पन्छीहरू पाइने रहेछ। छोटो अवलोकनपछि यहाँबाट अघि लागियो।
जम्माजम्मी ११५ किलोमिटर गुडेपछि जगदीशपुर ताल पुगियो। गुगलका अनुसार यो तालमा बाणगङ्गा नदीको पानी ल्याइन्छ। झन्डै ६० प्रजातिका चराहरू भएकाले यो ताल चरा अवलोकनका लागि प्रख्यात मानिन्छ। मगर र थारु समुदायको बाहुल्य रहेछ यो ठाउँमा। होमस्टेको सुविधा भएकाले टाढा-टाढाबाट ताल र चरा अवलोकन तथा स्थानीय समुदायहरूको आतिथ्य अनुभव गर्न आउने ठाउँ रहेछ। सायद यही आतिथ्यको संस्कार भएकोले र्यालीका सहभागीहरूलाई यहाँ बास बस्ने व्यवस्था गरेका होलान्।
आजको हाम्रो बसाइ यही नजिकैको कनकमुनि स्कुलमा हुने व्यवस्था गरिएको थियो। विजयको साथी सशस्त्र प्रहरी भएकोले हामीलाई यहाँको सशस्त्र प्रहरी गणका गणपतिको पाहुना हुने सौभाग्य मिल्यो। खान र बस्न सुविधा भयो। अन्यथा कनकमुनि स्कुलको एक कक्षा कोठामा लस्करै सुत्न पर्थ्यो होला। यस्तो समूहमा यात्रा गर्दा धेरै सहभागी हुने भएकाले खान, बस्न तथा शौचालयमा बढी सङ्ख्या हुनाले समस्या हुन्छ प्राय:। अर्को संयोग नै भनौँ, कपिलवस्तुको जेलका सशस्त्र प्रहरीका अफिसर पनि हाम्रो टोलीमा रहेका एक जना साथीको चिनाजानका हुनाले त्यहाँ पनि खान बोलाए। जेलमा पाहुना भएर सम्मानका साथ केही घण्टा बिताएको अनुभव स्मरणीय घटना रह्यो यो यात्राको। जेलमा खाना खाइयो, कैदी भएर होइन सम्मानित पाहुना भएर।
गणपतिको पाहुना कोठामा डबल बेडमा न्यानो सिरक ओढेर मस्तसँग रातभरि सुतियो– ट्वाइलेट सफा र कोठैसँग जोडिएको अर्थात् 'एट्याच बाथरुम' भएको।
यति भेट्नु कुनै खास सुविधाको कुरा त के मान्नु र! साइकल यात्रा गर्दा यो विलासिताभित्रै पर्छ- त्यसकारण यहाँ मैले सम्झँदा खुब हर्षित मानेको छु। साइकल यात्रामा वन जङ्गल र पिछडिएको ठाउँतिर जाँदा यस्तो कहाँ पाउनु!
बिहान तरोताजा भएर उठियो सबेरै। गणपति साब सँगैको कोठामा व्यायाम गर्दै रहेछन्। ब्रेकफास्टको व्यवस्था उनले नै गरे। गोलो घरमा तातो पुरी र तरकारी अनि उसिनेको अण्डा थियो। ब्यारेकको किचनका स्टाफहरूले सर्भ गरेका- बडो सम्मानपूर्वक! धन्यवाद गणपति साहेब तपाईंको आतिथ्यका लागि। यस्तो सुविधा पैसाले किन्न पाइन्न, साइकल यात्रामा।
बिहान ७ बजेतिर दोस्रो दिनको यात्रा सुरु भयो। पहिलो गन्तव्य त्यही नजिकै रहेको राष्ट्रिय मूर्तिकला सङ्ग्रहालय थियो। यो स्थान कपिलवस्तुको सगरहवामा पर्छ। यही स्थानमा विदुडाभ राजाले ५० हजार स्थानीय शाक्य कहलिएका मानिसहरूको हत्या गरेर आफ्नो राज्य स्थापना गरेका रहेछन्। अहिले यहाँ बुद्धको जीवनीसँग सम्बन्धित विभिन्न आकृतिका प्रस्तर मूर्तिहरू बनाएर राखिएका रहेछन् खुला चौरमा।
त्यहाँबाट तिलौराकोट आइपुग्यौँ जहाँ राजा शुद्धोदनको दरबार छ। त्यतिबेला बनाइएको भनिएको दरबार परिसरलाई झन्डै ४ फिट चौडाइका इँटाका गारोले संरक्षण गरी राखेका रहेछन्। दरबार परिसरका विभिन्न भवनहरू झल्काउने गरी नक्सांकन गरी सम्बन्धित ठाउँमा सूचना पाटीहरू ठड्याइएका थिए। साइकल टोलीलाई तिलौराकोटका मेयरले स्वागत गरेका थिए सहभागीहरूलाई खादा लगाइदिएर। यो यात्राले यी पर्यटकीय स्थलहरूको प्रचार प्रसार भई पर्यटन प्रवर्धन हुने विश्वास व्यक्त गर्दै सहभागीहरूलाई धन्यवाद दिए।
त्यसपछि गोटिहवा गयौँ जहाँ ककुच्छन्द बुद्धको जन्म भएको भनेर त्यहाँका गाइड भाइले जानकारी दिए। सम्राट अशोकले यो स्थानमा पनि अशोकस्तम्भ राखेकोबाट यस स्थानको ऐतिहासिक महत्त्व भएको प्रमाणित गरिराखेको थियो। उनको भनाइबाट थाहा भो कि जम्मा २८ बुद्धको अवतार जन्म भइसकेको छ रे। लुम्बिनीमा जन्मेका बुद्ध सिद्धार्थ हुन् रे।
गोटिहवाबाट कुदान आइयो। कुदानमा बुद्धले बुद्धत्व प्राप्त गरेपछि पहिलोपटक आफ्नो पिता शुद्धोधनलाई भेटेको ठाउँको रूपमा प्रसिद्ध रहेछ। त्यसैगरी यही ठाउँमा बुद्धको छोरो राहुल भिक्षु भएको ठाउँ रहेछ। कुदानबाट अन्तिम गन्तव्यको रूपमा तौलिहवा पुग्नु पर्ने रहेछ।
लुम्बिनीमा मायादेवी मन्दिर तथा अन्य विभिन्न देशका मौलिक गुम्बाहरू यहीँ छन्। यहाँ पनि यो साइकल टोलीलाई टीका तथा खादाले स्वागत गरे। लुम्बिनी परिसरभित्र मायादेवीको मन्दिर दर्शन गर्न गइयो। त्यहाँ पुगेर एकछिन ध्यान गरियो। फोटो खिचियो अनि खानाको व्यवस्था पनि यहीँ गरिएको रहेछ। दुई वर्षअघि मात्र आएको ठाउँ भएकोले ‘ओहो’ जस्तो चाहिँ भएन। विदितै छ कि यहाँ भारत तथा अन्य देशका पर्यटकहरू निकै आउँछन्। लुम्बिनी विकास कोषको कार्यालय यही परिसरमा छ। साथै बौद्ध विश्वविद्यालय पनि यहीँ छ। हालको उपकुलपति मेरै चिनजानका हुन्, दाइ भन्ने गर्छु।
आजभन्दा ३० वर्षअघि काठमाडौँका नेवार साथीहरू यहाँ जग्गा किन्न आएको मलाई थाहा छ, पर्यटनको सम्भावना देखेर। भैरहवा पनि अन्तर्राष्ट्रिय विमानस्थल हुने भो भनेर निकै मानिसहरूले लगानी गरेर होटेल बनाए। तर विमानस्थल सञ्चालनमा नआएपछि तिनको साथै पर्यटनले खुबै गर्ने भो भनेकाहरूको आशामा चिसो पानी खन्याइए जस्तो भएको रहेछ। त्यसैगरी भारतबाट गाडी/बस रिजर्भ गरेर आउने अधिकांश पर्यटक पनि बिहानै आउने दिनभरि घुम्ने अनि बेलुका उतै फर्कने गरी आउँदा होटल व्यवसायीका लागि 'हात्ती आयो आयो, फुस्सा' भएझैँ भयो भन्ने रहेछन्।
एकजनाले भने- ‘भागबन्डा गर्दा मन्त्रालय भारतलाई शौचालय नेपाललाई परे जस्तै भो।’
यो दोस्रो दिनको यात्रा झन्डै ८५-९० किलोमिटरको थियो। पहिलो दिनको ११५ किलोमिटरको साइकल यात्राको थकाइ त थियो नै, आज फेरि थपिने भो थकाइ। तौलिहवाबाट अब भैरहवा पुग्नु थियो, साइकल यात्रा टुङ्गिएर त्यहाँ समापन कार्यक्रम हुने वाला थियो। पदक प्राप्त गर्नको लागि पनि त जानै पर्यो। भैरहवा पुगेपछि युद्धमा विजयपछि हतियार बिसाएको सिपाही जस्तो साइकल होटेलमा थन्क्याएँ। नुहाएर होटेलबाट समापन स्थलमा पदक थाप्न पुगेँ।
ड्यासमा विभिन्न व्यक्तिहरू थिए, विश्व साइकलमा घुमेका पुष्कर शाहसहित। भाषण गर्ने मानिसहरूको लर्कोमा उनी पनि थिए। उनले छोटो भाषण दिए तर धेरै सान्दर्भिक थियो। एउटा वाक्य म सम्झन्छु, ‘बुद्ध हिँडेका पाइलाहरूमा हामीले साइकलको डोब हाल्न सफल भयौँ।’ समापनको अन्त्यमा डिनर खाएर चाँडै नै होटेलतिर लागियो।
बिहानै भैरहवाको पवन मिष्ठान भण्डारमा ब्रेकफास्ट नखाई भैरहवाको यात्रा अपुरो हुन्छ जस्तो लाग्छ मलाई। त्यस्तो लाग्ने भएपछि पुरी, तरकारी तथा जिलेबी खाइयो त्यहाँको र यात्राको बिट मारियो। त्यहाँको पुरीको स्वाद अन्यत्रभन्दा फरक चाहिँ हो नै।
फर्केर विचार गर्दा यात्रा अत्यन्त सफल भएको हो नि! एक्लै गएको थिएँ भैरहवामा दुई जना माया गर्ने भाइहरू फेला परे। उनीहरूले गर्दा बाटोमा साथ त पाइयो नै साथै जगदीशपुर-सगरहवाको बसाइ अत्यन्तै यादगार र आनन्ददायी भयो। जीवनमा आइपर्ने दु:ख वा सुखको क्षण एक्लै बिताउन कत्ति रमाइलो हुन्न, मनपर्ने र माया गर्नेको साथ पाउँदा सुख बढ्ने र दु:ख घट्छ भनेको सुनेको हो, अनुभूति पनि गरियो यसपटक।
-1771153588.jpg)
-1771153588.jpg)
-1771153586.jpg)
-1771153585.jpg)
-1771153583.jpg)
-1771153582.jpg)
-1771153582.jpg)
-1771153582.jpg)