आफ्नो एघार वर्षको उमेरमा व्रतबन्ध गर्नुभएका हाम्रा पिताजी त्यसै दिनदेखि नै हरेक दिन बिहान उठेर नित्यकर्म गर्दै आउँदा ८९ वर्षको उमेरसम्म आइपुग्दा पनि उहाँले नित्यकर्महरू गर्न छुटाउनुभएन। धर्मकर्ममा अडिग र कट्टर मानिनुहुने पिताजी गाउँमा पण्डित र ज्योतिषीको रूपमा पनि चिनिनुहुन्थ्यो। तर उहाँले हामी चार छोराहरूमध्ये दाइको १६ वर्षको उमेरमा व्रतबन्ध गरिदिनुभएको थियो भने मेरो २३ वर्षको उमेरमा व्रतबन्ध भएको थियो। पूर्व युवराज दीपेन्द्र शाहको व्रतबन्ध तत्कालीन नारायणहिटी राजदरबारभित्र भइरहेकै दिन मेरो व्रतबन्ध भने भक्तपुरको आशापुरी मन्दिरमा भएको थियो। गाउँमै रहेका अन्य दुई भाइको पनि ढिलै उमेरमा व्रतबन्ध भएको थियो।
पिताजी र आमाको देहान्तका संयोगका कुरा
कलेजोको क्यान्सरका कारण २०६२ सालको फागुन अन्त्यतिर निधन हुनुभएका हाम्री आमाको उमेर ६५ वर्षको थियो। चौध सन्तान जन्माइसक्नु भएकी आमाका कथा-व्यथाका बारेको एक संस्मरण लेख यसअघि नै प्रकाशन भइसकेको छ। आमाको निधन भएको चौधौँ दिनमा उहाँको आमा अर्थात् हाम्रो मावली हजुरआमाको निधन भएको थियो। आफ्नी साहिँली छोरीको निधन भएको खबर मावली हजुरआमालाई त्यसको केही दिनमै सुनाइएको थियो। गत २०८२ पुस १६ गते पिताजीको निधन भएको थियो, त्यसको ठिक तेह्र दिनअघि उहाँका ९९ वर्षीय जेठा मामाको दाङको देउखुरीमा निधन भएको थियो। यसरी आमा र हजुरआमाको निधनको समय दूरी चौध दिन र पिताजी र बुढोमावली बाजेको निधनको समय दूरी तेह्र दिन रहन गयो। यी दुई घटनालाई संयोगको रूपमा लिइएको छ।
यसरी राखेँ बाउ-बाजेको नाम
उहिले हामी सानो छँदादेखि नै हरेक वर्ष दसैँको टीका लगाइदिने क्रममा हजुरबा-हजुरआमा र माता-पिताले आशीर्वाद दिँदै भन्नुहुन्थ्यो- ‘बाउबाजेको नाम राख्नु’ वा ‘बाउबाजेको नाक राख्नु’ वा ‘बाउबाजेको इज्जत राख्नु।’ विडम्बनाको कुरा यो छ कि ‘बज्यै-आमाको नाम राख्नु’ भनिँदैनथ्यो। यसरी दिइने आशीर्वाद बमोजिम बाउ-बाजेको नाम कतिले धेरै राख्लान्, कतिले केही मात्रामा राख्लान्। पितापुर्खाको नाम वा इज्जत राख्नु कुनै पनि मानवको कर्तव्य हुन आउँछ। म कक्षा एकमा भर्ना हुँदा विद्यालयको नाम ‘श्री संस्कृत माध्यमिक विद्यालय’ थियो। लेटर प्याड तथा रबर स्ट्याम्पमा विद्यालयको नामको मुनि सानो अक्षरमा ‘प्यू. खुंग्री, धारापानी’ भनेर उल्लेख थियो। २०३२ सालसम्म हाम्रो गाउँ प्युठानमा पर्दथ्यो भने तत्पश्चात् रोल्पामा गाभियो। सो विद्यालयलाई माध्यमिक विद्यालय भनिए पनि सात कक्षासम्म मात्र कक्षा चल्दथ्यो हाम्रो पालासम्म।
कुनै बखत माध्यमिक विद्यालयको रूप थियो होला सायद। त्यस विद्यालयमा पिताजीले मलाई भर्ना गरिदिँदा रजिस्टरमा आफ्नो नाम पनि लेखाइदिनुभएको थियो नै होला। आफैँले थाहा नपाई मैले पिताजीको नाम राखेको त्यो नै पहिलो थियो। एक कक्षामा भर्ना हुँदाका बखत मैले चार ठाउँमा तुना बाँध्ने दौरा लगाएको याद छ। दौरालाई हाम्रो भेगतिर भोटी भन्छौँ। संस्कृत माध्यमिक विद्यालय पछि त्रिपुरेश्वरी निम्न माध्यमिक विद्यालयमा नामकरण भयो। सात कक्षासम्म गाउँकै विद्यालयमा पढिसकेर प्युठानको भिंग्रीस्थित श्री अमर माध्यमिक विद्यालयमा आठ कक्षामा भर्ना हुँदा त्यहाँ पनि आफ्नो साथसाथै पिताजीको नाम पनि राखियो। एसएलसी परीक्षा उत्तीर्ण भइसकेपछि स्थानान्तरण प्रमाणपत्रमा पिताजीको नाम उल्लेख नहुने कुरै थिएन। नागरिकता लिँदा त्यति बेलाको जिल्ला पञ्चायत कार्यालय रोल्पाले म र पिताजीको अभिलेख गरेर नागरिकता दिलायो।
नमुना मच्छिन्द्र क्याम्पसमा आइकममा भर्ना हुँदा त्यहाँ पनि आफ्नो साथै पिताजीको नाम नराखी सुखै थिएन। यता वीरगन्ज चिनी कारखाना लिमिटेडमा जागिरका लागि गरेको विज्ञापनअनुसार फाराम भर्दा त्यहाँ पिताजीको मात्र होइन हजुरबाको समेत नाम राखियो। शंकरदेव क्याम्पसमा बिकममा भर्ना हुँदा पनि त्यहाँ मेरो साथै पिताजी र हजुरबाको नाम पनि राखियो। कालान्तरमा जागिरका लागि भरिने लोक सेवा तथा संस्थानहरूका फारामहरूमा पनि बाउबाजेको नाम राख्दै गएँ। २०५६ सालमा लोकसेवा आयोगको परीक्षा उत्तीर्ण भएपछि आयोगको केन्द्रीय कार्यालयको सूचना पाटीमा मेरो तीन पुस्ते नाम नै उल्लेख भएको थियो।
क्याम्पसले दिने प्रमाणपत्रहरूमा बाजेको नभए पनि पिताजीको नाम अवश्य उल्लेख थियो। निजामती जागिर सुरु गरेपछि निजामती किताबखानामा बुझाइने सिटरोलमा पनि बाउबाजेको नाम राखियो, त्यस्तै कर्मचारी सञ्चयकोषको परिचयपत्रमा पनि तीन पुस्ते विवरण भरियो, त्यसै गरी नागरिक लगानी कोषको परिचयपत्रमा पनि बाउबाजेको नाम उल्लेख भयो। निजामती अस्पतालको परिचयपत्रमा पिताजीको नाम उल्लेख नहुने त कुरै भएन। यसरी मैले बखत बखतमा आफ्नो बाउबाजेको नाम राख्दै गएँ। आमाको भने कताकतै मात्र र बज्यैको नाम एक दुई ठाउँमा उल्लेख भयो होला।
यसरी मैले बाउबाजेको धेरै ठाउँमा र आमा-बज्यैको कम ठाउँमा नाम राखेँ। यस्तै मिडियाहरूबाट प्रकाशित मेरा आफ्ना आत्मवृत्तान्तहरूमा बाजेको पनि बाजेदेखि यताका कुरा समेत उल्लेख गरेकै छु। जसमा बाउ-बाजे, काका, फुपू, दाजुभाइको समेत नाम राखेको छु। साहित्यिक पत्रिकाहरू क्रमशः नेपाल सरोकार, शिवपुरी सन्देश, संसाक लगायतमा प्रकाशित मेरा जीवनीहरूमा बाउ-आमाको नाम उल्लेख नहुने कुरै भएन। त्यसै गरी हास्यव्यङ्ग्य अनलाइन पत्रिका फित्कौलीमा समेत मेरो जीवनी प्रकाशित छ, जसमा पिताजी र आमाको नाम उल्लेख छ।
२०७९ असार २३ गतेदेखि निजामती सेवाबाट अवकाश लिएपछि साहित्य-लेखनमा ज्यादै सक्रियता अपनाउँदै जाँदा तीन वर्षभित्रै मैले सम्मान र पुरस्कारहरू पाएपछि त्यसको श्रेय पितापुर्खालाई नै जान्छ भन्ने लाग्यो। किनभने म उहाँहरूको सन्तति हुन पाएँ। उहाँहरू नभएको भए मैले बाउबाजेको मात्र होइन हाम्रो खलककै, टोलकै, गाउँकै, जिल्लाकै, भेगकै, साबिक राप्ती अञ्चलकै नाम राख्ने थिएन। गाउँको मात्र होइन, जिल्लाको मात्र होइन, राप्ती भेगका तमाम सम्पदाहरूका बारेमा मेरा धेरै नै लेखहरू प्रकाशन भइसकेका छन्। मैले पाएका उपाधि, उपनाम अनि संज्ञा पनि आधा दर्जनको हाराहारीमा छन्।
धर्मकर्ममा कट्टर पिताजी भन्नुहुन्थ्यो- ‘तँलाई छुट छ!’
हाम्रा पिताजी आफू कट्टर ब्राह्मण पण्डित भए पनि आफ्ना अरू छोराहरू अर्थात् मेरा दाजुभाइहरूको तुलनामा मलाई विशेष छुट दिनुहुन्थ्यो। समय र परिस्थितिलाई राम्ररी बुझ्ने विवेक उहाँमा रहेछ भन्ने कुरा मैले जानकारी पाएँ। २०७७ सालमा म रोल्पाको सदरमुकाम लिबाङमा एक कार्यालयको प्रमुख हुँदा रोल्पाकै सिर्पमा रहनुभएका हाम्रा माइला मामाको निधनको सातौँ दिनमा म पिताजीका साथमा त्यहाँ गएको थिएँ। त्यहाँ पुगेपछि खाना खाने समयमा अरू सबै ब्राह्मणहरूले सेतो धोती फेरेर भान्सा पस्दथे र भोजन गर्दथे। म चाहिँ अनौपचारिक पोसाकमा चकटीमा बस्थेँ, सबैको ध्यान मतिर हुन्थ्यो। एक दिन बिहानको खाना खाइरहेको समयमा एकजना भाइले प्वाक्क बोलिहाले- ‘खाना खाने बेलामा खोइ धोती फेरेको?’
पहिलेदेखि नै ज्यादा कट्टरवादको विरोधमा रहँदै आएको मलाई उनको प्रश्नले केही पनि फरक परेन। बरु मुस्कुराउँदै उनको प्रश्नतिर ध्यान दिइनँ। पिताजीले भने तत्कालै जवाफ दिनुभयो- ‘उसलाई छुट छ, कर्मचारीलाई कहिले कता जानुपर्छ, कहिले के गर्नुपर्छ, कता के-के खानु पिउनुपर्छ, साध्य हुँदैन!’
यो सुनेपछि मलाई लाग्यो- अवस्था हेरेर पिताजीमा उदारवादी सोच पनि रहेछ। त्यसअघि पनि मलाई पिताजीले यस्तै यस्तै अवस्थामा ‘तँलाई छुट छ’ भन्दै आउनुभएको थियो। पहिले मलाई पिताजीमा त्यस किसिमको सोच होला जस्तो लागेको थिएन। उहाँको त्यो कुराले मेरो स्वतन्त्रतालाई समर्थन गरेको महसुस गरेँ।
सेतो लुगा लगाउन दबाब
गत पुस १७ गतेदेखि हामी कोराभित्र रहेको अवस्थामा कोरा बाहिरबाट काकाले ‘वर्ष दिनसम्म सेतो लुगा लगाउनुपर्छ’ भन्नुभयो। काकाहरूका छोराहरूले पनि त्यसै नै भन्दै हामी चार दाजुभाइलाई सम्झाउँदै थिए। अरू दाजुभाइले समर्थन गरे पनि म भने आफ्ना बाध्यताका कारण समर्थन जनाइनँ। मैले भने ‘म साहित्यिक, सामाजिक, सांस्कृतिक कार्यक्रमहरूमा सरिक भइरहनुपर्ने र देश विदेश जानुपर्ने हुँदा मलाई सेतो लुगा लगाउन अनुकूल छैन, म लगाउँदिनँ। दिवंगत पिताजीप्रतिको श्रद्धा भन्ने कुरा भित्री मनदेखि हुने हो, बाहिरी रूपमा अरूलाई देखाएर मात्र केही हुँदैन। जीवित रहँदा नै अभिभावकप्रति मान-सम्मान-आदर अनि सेवा गर्ने हो। बितेर गएपछि समाजलाई देखाइने पक्ष मात्र हो सेतो लुगा!’
२०६२ सालमा आमाको देहान्तपछि भने मैले सेतो लुगा एक वर्षसम्म लगाएको थिएँ। दैनिक नुहाइधुवाइ र सात्त्विक भोजन अनि चोखो भएर वर्ष दिन बिताएको पत्तो भएन। आफू कार्यरत कार्यालयमा दिउँसोको खाजाका लागि अरू क्यान्टिन जाने गर्थे भने मैले सानो खाले इलेक्ट्रिक किट्लीमा पानी उमालेर गिलासमै सातु घोलेर खाजाको रूपमा खान्थेँ। बर्खीको अवधिमा संयम र धैर्य हुनुपर्ने र आक्रोश उत्पन्न नहुने महसुस गरेको थिएँ।
काजक्रिया अवधि छोट्टाउने प्रयास
कुनै बखत तेह्र दिनको काजक्रियालाई सात दिनमा वा पाँच दिनमा कायम गर्नुपर्छ भन्ने बहस नचलेको होइन। परापूर्व कालदेखि चल्दै आएको परम्परालाई परिवर्तन गर्न त्यति सजिलो काम भने होइन। परिवर्तनकारी नेता, बुद्धिजीवी, समाजसेवीहरूको सोचले मात्र समाजमा परिवर्तन आउँदैन। विवाद उत्पन्न हुने खालका यस्ता कुराहरूले समाजमा सकारात्मकभन्दा पनि नकारात्मक परिणाम पैदा हुने हुँदा यस्ता विषयले निचोड लिन कठिन हुन्छ।
समाजले शास्त्रहरूलाई आधार मान्दै आएको हुन्छ। कुनै समुदायका र कुनै भेगमा मान्छेहरूले घरका कोही बितेमा नुनको सट्टा बेसार बार्ने गरेको पनि पाइन्छ। आआफ्नै परम्परा र रीति अनुसार नै सामाजिक काम हुने हुँदा यसलाई परिवर्तन गर्न नहुने मान्यता रहँदै आएको छ। मुलुकमा सुधार हुनुपर्ने अन्य तमाम कुराहरू छन्। प्राथमिकताका आधारमा सुधारका कामहरू गर्दै जानु नै श्रेयस्कर ठानिन्छ।