लिबाङ बजारको यो साँघुरो सडक। व्यस्त बजार। चाडबाड र मेला महोत्सवको बेला त यहाँ मान्छेहरूको ओइरो लागेको हुन्छ। अन्य समयमा पनि मान्छेको चहलपहल बाक्लो मात्रामा हुने गर्दछ।
साँझ र बिहान सडक केही खाली हुन्छ। यही खाली सडकमा हरेक दिन ठेलामा ओहोरदोहोर गर्ने एक जना देखिन्छन्। बिहानपख उनको ठेलामा भजन गुञ्जिरहेको हुन्छ।
भजनको तालमा उनको बिहानको सुरूआत टुँडिखेलबाट हुन्छ। पँधेरी खोला, भित्री बजार, पिपल चौतारा, सात्ताले हुँदै सुर्खेती डाँडा क्याम्पस रोडसम्म।
ताजा तरकारी र फलफूलले ठेला भरिएको हुन्छ। ओठमा मुस्कान छर्दै व्यस्त बजारका व्यस्त मान्छेहरूलाई हरेक दिन सेवा गर्न पुग्छन्। दायाँ हात र दायाँ खुट्टा लाग्दैनन् उनका। तर उनको संघर्षले उनीसँग सबैथोक छ जस्तो लाग्छ।
उनलाई हेर्दा चोट छैन जस्तो लाग्छ।
केही पनि खोट छैन जस्तो लाग्छ।।
हरेक दिन एकनाशको देख्दा।
सधैं अनुहार उज्यारो भेट्दा।।
भक्तराम रिजाल। यो नाम लिबाङ बजारसँग परिचित छ। र भक्तराम लिबाङ बजारसँग। उनको नाम नसुन्ने बजारमा कम छन् होला अनि नदेख्ने पनि।
एउटा खुट्टा र एउटा हातले ठेलालाई घसार्दै–घसार्दै वारिपारि गरिरहेका हुन्छन्। उनको नाम थाहा नभएकालाई ठेलावाला अंकल, दाइ भनेपछि साहेद कोही अपरिचित छैनन्। लिबाङको बजारमा।
घर-घरमा चोक-चोकमा मान्छेहरू ठेलाको प्रतीक्षामा बसेका हुन्छन्। भक्तरामले भाग्यलाई कहिले दोष दिँदैनन्।
उनी भन्छन्- आफूले जुन जीवन बिताइरहेको छु। त्यो मेरो कर्मले हो। कर्म गरेर कर्ममा विश्वास राख्ने मान्छे हुन्।
११ सालका थिए। चिउरी खान चिउरी रूख चढेको बेला हाँगा भाँचियो। हाँगासँग उनका एक हात र एक खुट्टा पनि भाँचियो। हाँगा जस्तै नजोडिने गरेर।
२०५० सालतिर उनको यो घटना भयो।
रोल्पामा उपचार गर्नका लागि अस्पताल बनेका थिएनन्। अनि दाङतिर पनि। बाहिर भए पनि त्यो बेलाको आर्थिक अवस्थाले उपचार गर्न नसकेको रिजाल सुनाउँछन्।
लेखान्तमा लेखिएको चिज नमेटिने रहेछ।
जे भोगिन्छ त्यो नदेखिने रहेछ।।
जन्मेपछि कर्म गर्नैपर्छ यहाँ।
एकदिन धर्ती छोड्नै पर्छ यहाँ।।
घमण्ड कसैमा नराख्नु कसैले।
बाँच्दा मात्र हो तेरोमेरो भन्ने सबैले।।
मानवता भएर मानवता देखाउनु।
सेवामा सधैं मन लगाउनु।।
भक्तरामका बुढापाका–स्कुले विद्यार्थी साथी छन्। कहिले भक्तरामले उनीहरूलाई सेवा गर्दछन्। त कहिले उनीहरूलाई भक्तरामलाई। कहिलेकसो उकालो र ओरालो बाटोमा ठेला ढकेल्न कहिले बाटो हिँड्ने यात्रीले आफै आएर सघाउँछन् त कहिले विद्यार्थीहरू सघाउँछन्।
भक्तरामले आफूले सघाए बापत पैसा पनि दिँदा रहेछन् विद्यार्थीहरूलाई। उनीहरू हौसिएर जाँदा रहेछन्। अनि कोही बुढापाकालाई अवस्था हेरेर तरकारी फलफूल फ्रीमा पनि दिँदा रहेछन्।
उनको दैनिकीको सुरूआत ठेलाबाट हुने गर्दछ। जीवनयापन पनि यही ठेलाबाट भएको छ।
‘पहिले ठेला चलाउँदा बिरामी हुन्थे, अहिले नचलाउँदा बिरामी पर्छु,’ उनी भन्छन्।
ठेला भक्तरामका लागि जीवन जिउने थला जस्तै हो। जो बिना अपुरो मान्छन्। अधुरो ठान्छन्। उनको एक मात्र जीवन छैन। जीवन संगिनी र छोराछोरीको जीवन पनि उनी आफैले धानेका छन्।
छोरी र छोरा उच्च शिक्षाका लागि जिल्ला बाहिर छन्। आफ्ना लागि ठूला सपना नदेखेका भक्तराम छोराछोरीको उज्वल भविष्यको लागि अँध्यारो, गर्मी, जाडो, घाम, पानी, धुलो आफैले खेप्दै ठेलालाई सारथीको रूपमा यात्रा गरिरहेका छन्।
उमेरले ४६ वर्ष भए। २० वर्ष भएछ ठेलामा तरकारी र फलफूल बेच्दै हिँडेको पनि। आफ्नो कर्मबाट सन्तोष छन्। घर र छोराछोरीको खर्च कटाएर हरेक दिन ५ सय रुपैयाँ बचत हुने गरेको उनी बताउँछन्।
बचतले छोराछोरीको सपना पूरा गर्ने उनको इच्छा छ। उनका छोराछोरीले बुवा अब हामी गर्छौं। तपाईं आराम गर्नु भने पनि उनको मन मान्दैन । पढ्दा आफ्ना छोराछोरीलाई केहीको अभाव नहोस् भनेर चलिरहन्छन्, बढिरहन्छन् निरन्तर।
प्रत्येक दिनको ठेला ठेलाइले उनका हात पनि ठेला जस्तै बनेको छ। ठेलालाई भक्तराम चलाउँछन्। भक्तरामलाई ठेलाले चलाएको छ। दुवैको कथा उस्तै छ। ठेला बिना भक्तराम अपुरो र भक्तराम ठेला बिना। भक्तरामलाई गाँस, बास, कपास ठेलाले दिएको छ। फेरि ठेला भक्तरामबिना शून्य हुन्छ।
एकअर्का बिना न त ठेला चल्छ न त भक्तरामको जीवन। एकलाई अर्काेसँग दुखेसो छैन। घृणा छैन। माया भक्तरामको एकतर्फी औधि छ। नहोस् पनि कसरी २० वर्ष जो त्यही ठेलाले उनलाई चलाएको छ। घर होस् वा पर होस्। ठेलाबाट कमाएको पैसाले जीवन रंगीन बनेको छ।
एउटा चिजसँग प्रेम बसेपछि।
छोड्न मन लाग्दैन प्रेम बसेपछि।।
हरेकको नशा लाग्छ भन्थे।
खै ठेला नभए के पो गर्थें।।
जीवन धानेको छ ठेलाले।
मलाई माथि तानेको छ ठेलाले।।
सास रहुन्जेल एकअर्काको साथी।
हामी दुई बीच कोही छैन माथि।।
जीवन संघर्ष हो। संघर्ष नै जीवन। यो संसारमा हामी कर्म गर्न आएका हौं। जुन कर्म गछौं। त्यहि कर्मले फल दिने गर्दछ। कर्मको भागेदार बन्नैपर्छ। तर हरेक कर्मको सजाय घाट मात्र हुँदैन। पाठ र आँट पनि दिने गर्छ। भक्तरामबाट हरेक मान्छेले यो बुझ्न आवश्यक छ। कर्म गर निरन्तर। सहन सिक्छौं। बहन सिक्छौं। रहन सिक्छौं।
यो सृष्टिले अनेकन परीक्षा लिन्छ। हरेकको जीवनमा फरक–फरक। यही हो कतिलाई लडाइँ दिन्छ अनि लड्न सिकाउँछ। जित लडेर उठ्नेको हुने हो। लडिरनेका लागि होइन। लडिरहने वा लडेर उठ्ने? व्यक्तिमा भर पर्ने कुरा हो।