हिजो म कक्षाभित्र छिर्दै गर्दा अचम्मको अनुभूति भयो। वर्षौं पहिलेको याद फेरि मनमा ताजा भयो। विद्यार्थीहरूसँग हरेकको आँखामा आँखा जुधाएर हेरेँ, भावभङ्गी बुझ्ने प्रयास गरेँ। कोही अचम्मित थिए—यो किन आयो! धेरै खुसी देखिन्थे, किनकि सधैँजसो विषय शिक्षक, विषय र लेखाइ-पढाइभन्दा फरक हुने भयो।
विद्यार्थीसँग आँखाको भलाकुसारीमा मैले उनीहरूलाई बस भन्न बिर्सेछु। झल्याँस भएपछि 'प्लिज सिट डाउन' भनेँ।
विद्यार्थीमा चरम चिन्ता चाहिँ आउँदै गरेको परीक्षाको थियो।
केही विद्यार्थी म कक्षामा प्रवेश गर्नुपूर्वको कार्य पूरा गर्न लागिहाले।
मैले यसो नजर घुमाएँ अनि सोधें, 'के म तपाईंको दुई मिनेट समय लिन सक्छु?'
लेख्नमा मस्त केही विद्यार्थीले सायद सुन्दा पनि सुनेनन्, तर प्रायः र केही अत्यधिक खुसी विद्यार्थीले चाहिँ अलि लामै समय लिन अनुरोध गरे, किनकि अब हुने विषयको पढाइमा उनीहरूलाई त्यति चासो थिएन।
मैले सबै जनालाई मेरो कुरा ध्यान दिएर सुन्न अनुरोध गरें, तर केही विद्यार्थीले लेख्दै गरेको वाक्य पूरा नगरी छोडेनन्। ध्यान एकत्रित गरेपछि मैले म अकस्मात कक्षामा आउनुको उद्देश्य स्पष्ट पारेँ। केहीबेरको छलफलपछि सबै विद्यार्थीको अनुहार हेरेर धन्यवाद दिएँ अनि निस्किएँ।
निस्कँदै गर्दा सायद सबै विद्यार्थी खुसी देखिन्थे। किन? के–के कुरा भए, तर विद्यार्थी खुसी भए। जब कक्षामा म थिएँ, शिक्षक साथीहरूले भनेको जस्तो व्यवहार अलि देखिएन। सायद मलाई विद्यार्थीले राम्रो व्यवहार पो गरे कि? वा दिक्कलाग्दो विषय र ज्ञान लिनु नपरेकोमा पो हो कि?
म कक्षामा हुँदा न कक्षाकार्यको चिन्ता थियो, न पाठ्यक्रम सक्ने, न त कुनै गृहकार्य। विद्यार्थीसँग सोधेको थिएँ, 'विद्यालयमा सबैभन्दा मन पर्ने क्रियाकलाप के हो?'
कसैको पनि उत्तर शिक्षण-सिकाइ क्रियाकलापभित्रका कुराहरू थिएनन्। प्रायः अतिरिक्त क्रियाकलापमा केन्द्रित उत्तरहरू थिए, जस्तै: बास्केटबल खेल्ने, फुटबल, ब्याडमिन्टन खेल्ने, रोबोटिक्सको काम गर्ने, गितार बजाउने, टेबल टेनिस खेल्ने, एडुप्ले खेल्ने आदि। तर विडम्बना, यो सबै हप्तामा एक दिन र एक घण्टी मात्रै गर्न सम्भव थियो। यसो सोचें, कम्तीमा दिनमा एकपटक यो काम गर्ने मौका पाए सायद सबै कुरामा मन लाग्थ्यो कि! जे मन पर्छ त्यो चाहिँ कम गर्न पाउने, र जे मन पर्दैन त्यो चाहिँ गरेको गर्यै गर्नुपर्ने… सायद विद्यार्थीको मनमा यही खेल्दो हो।
कक्षा बाहिरको अवलोकनमा पनि विद्यार्थी कक्षाभित्र जानुभन्दा बाहिर निस्कन उत्साहित देखिन्छन्। अझ खेल्ने समयमा त उनीहरूको अघिल्लो कक्षादेखि नै छटपटी र तयारी देखिन्छ। झट्ट हेर्दा यी कक्षाहरू विद्यार्थीलाई नियन्त्रणमा राख्न बनाएजस्तै लाग्ने। विद्यार्थीलाई कक्षामा बस्न किन मन नै छैन होला?
मसँग त उत्तरहरू छन्, तर तपाईं पाठकका उत्तरहरू पनि मलाई जान्ने इच्छा प्रस्तुत गरेको छु, र कुनै माध्यमबाट छलफल पनि गरौँला। तर मेरो चिन्ता यही प्रणाली यही अवस्थामा विद्यार्थीको सिकाइ, उनीहरूको इच्छा र भविष्यको तयारीमा कस्तो अवस्था आउला भन्ने हो।
म कक्षा बाहिर यसरी हेरिरहेको छु। अब कक्षाभित्र हुँदा शिक्षकको चिन्ता अझै दर्दनाक होला, र थियो पनि। मैले शिक्षक साथीहरूलाई सोधेँ, 'कक्षाभित्र पस्दाको एउटा चिन्ता के हुन्छ?' धेरै साथीहरूले जबाफ दिनुभयो, 'आज मेरो कुरा विद्यार्थीले ध्यान देलान कि नाई'! मेहनत गरेर सिकाएको कुरा विद्यार्थीको मस्तिष्कसम्म पुगेर व्यवहारमा ल्याउलान कि नाइँ?
अहो, सुन्दै अचम्मको चिन्ता… वा कति सामान्य कुरा?! मलाई चाहिँ यो विषय सबैभन्दा संवेदनशील र महत्वपूर्ण लागेको छ। शिक्षकको व्यापक मानसिक र भौतिक तयारीका बाबजुद पनि कक्षामा पस्नुअघिको चिन्ता, र विद्यार्थीले जान्नैपर्ने बाध्यताका अगाडि सिकाइप्रतिको वितृष्णा।
अब यो हरेक कक्षामा हुने शिक्षकको चिन्ता र विद्यार्थीको सिकाइबीचको तादात्म्य कसरी मिलाउने होला? मैले एम.फिल अध्ययन गर्दै गर्दा मेरा एकजना गुरूले भन्नुभएको थियो—'हरेक कुरा किन्न पाइन्छ, तर तपाईंको मस्तिष्कको अवस्था किनेर पाइँदैन।'
अब शिक्षकको मानसिक स्वास्थ्य कस्तो हुने होला? विद्यार्थीले सिक्न पाउने अधिकार कहाँ पुग्ला? विद्यार्थीको अर्को चिन्ता; सिक्ने कि खेल्ने? एउटा उखान छ नि, 'धेरै भए चिनी पनि तितो लाग्छ।' सायद कक्षा शिक्षण त्यस्तै पो भयो कि? सिकाइलाई कक्षा बाहिर ल्याउन मिल्दैन र? म कक्षा बाहिर हुँदा देख्ने भनेको, विद्यार्थीले सिकेन, असफल भयो, भनेजस्तो नतिजा आएन, शिक्षकले पढाएनन्। अभिभावकले देख्ने पनि यी र यस्तै कुरा मात्रै हुन्। तर हेर्नुस् त, यथार्थमा कुरा अर्कै छन्।
यो सबै प्रश्नको अगाडि 'किन?' थपौँ। अनि अभिभावकले पनि यी प्रश्नको उत्तर खोजी गरौँ, शिक्षकले पनि, अनि विद्यार्थीलाई पनि खोज्ने अवसर दिऔँ।