नेपालको सन्दर्भमा सडक सञ्जाल विकासको मेरूदण्ड हो। तर पछिल्लो समय तथ्यांकहरूले यसलाई त्रासदीको पर्यायका रूपमा उभ्याएका छन्।
सुरक्षित गन्तव्यमा पुर्याउने माध्यम हुनुपर्ने हाम्रा सडकहरू पछिल्लो समय असुरक्षा र जोखिमको चक्रब्यूह बन्दै गएका छन्, जुन राष्ट्रकै लागि गम्भीर चुनौती बनेको छ।
दैनिक औसत ८ जना नेपालीले सडकमा ज्यान गुमाउनु केबल एउटा तथ्यांक मात्र होइन, यो त एउटा परिवारको भरोसा, देशको दक्ष जनशक्ति र एउटा ऊर्जावान् सपनाको अवसान हो।
यी दुर्घटनामा ज्यान गुमाउनेहरूमध्ये ठूलो हिस्सा युवा पुस्ताको छ, जो भोलिको राष्ट्र निर्माता मात्र होइनन्, आजको घरको आर्थिक आधार स्तम्भ पनि हुन्। एउटा तन्नेरी सन्तानको अकाल मृत्युले परिवारलाई आर्थिक रूपमा मात्र होइन, भावनात्मक रूपमा कहिल्यै निको नहुने चोट पुर्याउँछ। तर यहाँ एउटा गम्भीर प्रश्न उठ्छ (के यी सबै दुर्घटनाका लागि सडकको अवस्था र राज्यको संयन्त्र मात्र दोषी छन्? कि हाम्रै घरभित्रबाट सुरू हुने लापरबाहीको संस्कार? यसको मुख्य कारण हो?)
हाम्रो नेपाली समाजमा एउटा गलत प्रवृत्तिले जरो गाडेको छ। त्यो हो (सन्तानको हरेक मागलाई 'माया' को नाममा बिना सोचविचार पूरा गरिदिनु। छोराछोरीले अलिकति जिद्दी गर्नेबित्तिकै वा साथीभाइको देखासिकीमा पर्नेबित्तिकै हामी उनीहरूको हातमा महँगा र शक्तिशाली सवारी साधन थमाइदिन्छौँ। विडम्बना त यो छ कि, कतिपय अवस्थामा उनीहरूसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) समेत हुँदैन। प्राय: अभिभावक आफैले सन्तानलाई 'बिस्तारै चलाऊ है' भन्ने सल्लाह दिन्छन्, तर लाइसेन्स नभइकनै सवारी चलाउन दिइरहेका हुन्छन्। यस्तो विरोधाभासले बालबालिकाको मानसपटलमा नियमको सम्मान कमजोर बनाइदिन्छ।
छोरा वा छोरीले चलाउन त जानिसक्यो, लाइसेन्स त पछि बनाउँदै गर्छु भन्ने अभिभावकको एउटा सानो छुटले उनीहरूलाई कानुन मिच्न र जोखिम मोल्न प्रोत्साहित गरिरहेको हुन्छ।
लाइसेन्स नहुनु भनेको केवल एउटा कानुनी कागजको अभाव हुनु मात्र होइन, बरू सडकमा हुनुपर्ने प्राविधिक ज्ञान, धैर्यता र आपतकालीन समयमा तत्काल लिनुपर्ने निर्णय क्षमताको अभाव हुनु हो।
बिना लाइसेन्स सवारी साधन किनिदिनु वास्तवमा माया होइन, आफ्नै सन्तानलाई दुर्घटनाको असुरक्षित बाटोमा धकेल्नु हो।
हामी आफ्ना सन्तानलाई अधिकारको प्रयोग गर्न त सचेत गराउँछौं, तर त्यही अधिकारसँगै आउने 'नागरिक दायित्व' र 'राज्यको कानुन' पालना गर्न सिकाउन भने अक्सर चुकिरहेका हुन्छौं। हामीले बिर्सनु हुँदैन कि, सडक सुरक्षा केवल ट्राफिक प्रहरीको जरिवाना वा कारबाहीबाट बच्ने उपाय मात्र होइन यो त एउटा सुसंस्कृत समाजको प्रतिबिम्ब र जीवनोपयोगी संस्कार हो।
एउटा जिम्मेवार अभिभावकका रूपमा हामीले हाम्रा सन्तानको मानसपटलमा यी तीन वैचारिक चिन्तनहरू भर्नु आजको अपरिहार्य आवश्यकता बनेको छ।
१. कानुनप्रति सम्मान
हामीले हाम्रा छोराछोरीलाई यो बुझाउनु जरूरी छ कि ट्राफिक नियमहरू कसैलाई दुःख दिन वा सजाय दिनका लागि बनाइएका तगारो होइनन्। यी त सडकमा गुड्ने प्रत्येक व्यक्तिको अमूल्य जीवन रक्षाका लागि कोरिएका सुरक्षा घेरा हुन्। जब एउटा चालकले रातो बत्तीमा सवारी रोक्छ वा लेन अनुशासन पालना गर्छ, उसले केवल कानुन मानेको हुँदैन, बरू समाजका अन्य नागरिकको बाँच्न पाउने अधिकारको सम्मान गरिरहेको हुन्छ। कानुन प्रतिको यो सम्मान 'डर' बाट होइन, 'विवेक' बाट निर्देशित हुनुपर्छ।
२. अनुशासन र संयम
आजको युवा पुस्तामा सडकमा तीव्र गतिमा सवारी कुदाउनुलाई 'वीरता' वा 'साहस' को प्रतीक मान्ने एउटा घातक भ्रम छ। तर, वास्तविक वीरता त सडकको चाप र उत्तेजनाका बीच पनि आफ्नो गतिलाई नियन्त्रणमा राख्नु र नियमको परिधिभित्र रहेर चल्नुमा छ। सडक कुनै प्रतिस्पर्धा गर्ने मैदान होइन, यो त साझा गन्तव्यमा पुग्ने साझा थलो हो। त्यसैले, 'छिटो पुग्नु भन्दा सुरक्षित पुग्नु नै असल चालकको पहिचान हो' भन्ने संस्कार हामीले घरमै सिकाउनुपर्छ।
३. सवारीको जिम्मेवार प्रयोग
धेरैका लागि मोटरसाइकल वा गाडी एउटा विलासिताको साधन वा सामाजिक प्रतिष्ठाको विषय मात्र हुन सक्छ। तर, जब कसैले सवारीको 'स्टेरिङ' वा 'ह्यान्डलु समात्छ, उसले आफ्नो मात्र होइन, सडकमा हिँड्ने अपरिचित यात्रुको जीवनको जिम्मेवारी पनि सँगै बोकेको हुन्छ। सवारी साधन एक प्राविधिक औजार मात्र नभई एक गम्भीर मानवीय जिम्मेवारी समेत हो। यसको सानो दुरूपयोगले एउटा परिवारको खुसी सधैंका लागि सखाप पार्न सक्छ भन्ने गाम्भीर्यता हाम्रा सन्तानले बुझ्नुपर्छ।
अर्को बिर्सनै नहुने कुरा, अभिभावक नै सन्तानका लागि पहिलो 'रोल मोडल' हुन्। हामी आफै चाहिँ ट्राफिक नियम मिच्ने तर सन्तानलाई चाहिँ नियम पालना गर भनेर अर्ति दिइरहेका त छैनौँ? यदि अभिभावकले नै हेल्मेट नलगाउने, सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्ने वा मदिरा सेवन गरेर सवारी चलाउने हो भने हाम्रा सन्तानले त्यही लापरबाहीलाई 'संस्कार' का रूपमा सिक्छन्। त्यसैले, उनीहरूलाई नियम सिकाउनु अघि हामी आफैले नियमको पालना गरेर एउटा जीवित उदाहरण प्रस्तुत गर्नु जरूरी छ।
कुनै पनि व्यक्तिको आचरण र व्यवहारको जग उसको घरबाटै सुरू हुन्छ। यदि हामीले घरमै सडक सुरक्षा संस्कारहरूको विकास गर्ने हो भने यसले समाजमा सकारात्मक प्रभाव पार्न सक्छ। एउटा सानो बानीले ठूलो परिवर्तन ल्याउन सक्छ। जब घरबाट कोही सदस्य सवारी साधन लिएर निस्कन्छ, तब परिवारका अन्य सदस्यले 'बिस्तारै चलाउनु', र 'मोबाइल फोन प्रयोग नगर्नु' जस्ता कुराहरू सम्झाउने बानी बसाल्नुपर्छ।
यो सुन्दा सामान्य लाग्न सक्छ, तर यसले चालकको मनोविज्ञानमा गहिरो प्रभाव पार्छ। उसलाई घरमा आफ्नो प्रतीक्षा गरिरहेका बुवाआमा, जीवनसाथी वा छोराछोरीको सम्झना आउँछ, जसले गर्दा उसले सडकमा संयमता अपनाउँछ।
सडक दुर्घटनाले देशको उत्पादक जनशक्तिलाई प्रत्यक्ष असर गरिरहेको छ। १८ देखि ४० वर्ष उमेर समूहका युवाहरू दुर्घटनाको उच्च जोखिममा छन्। जब घरको आर्थिक मेरूदण्ड मानिने युवाको मृत्यु हुन्छ वा ऊ गम्भीर घाइते भई दीर्घकालीन अशक्त बन्छ, तब सिंगो परिवार गरिबीको चपेटामा पर्छ। उपचारमा हुने लाखौँको खर्च र कमाउने व्यक्तिको अभावले परिवार तहसनहस हुन्छ। त्यसैले, सडक सुरक्षालाई केवल प्राविधिक विषय मात्र नभई आर्थिक र सामाजिक सुरक्षाको पाटोबाट पनि हेर्नु आवश्यक छ।
सडकलाई सुरक्षित बनाउन राज्यको लगानी र ट्राफिक प्रहरीको सक्रियता मात्र पर्याप्त हुँदैन। यसको वास्तविक सुरूआत हरेक घरबाट हुनुपर्छ। त्यसैले अब हामी सबैले एउटा संकल्प गरौँ।
'घरबाट सुरू गरौँ सडक सुरक्षा संस्कार।'
आफ्ना सन्तानलाई सवारी साधनको साँचो सुम्पनु अघि उनीहरूको हातमा चालक अनुमति पत्र (लाइसेन्स) र मस्तिष्कमा जिम्मेवारी दुवै छन् कि छैनन्? भन्ने कुरा सुनिश्चित गरौँ।
मायाको नाममा उनीहरूको गल्तीलाई प्रश्रय दिनु वास्तवमा उनीहरूलाई जोखिमतर्फ धकेल्नु हो। सडकमा केही मिनेट देखाइने तीव्र गति वा स्टन्टले क्षणिक रोमाञ्च त दिन सक्छ, तर त्यसले जीवनभरको पश्चाताप निम्त्याउन सक्छ।
यदि हरेक अभिभावकले आफ्ना सन्तानलाई सडकमा अनुशासित र जिम्मेवार नागरिकका रूपमा उभ्याउने जिम्मेवारी लिने हो भने मात्र दैनिक ८ नेपालीले ज्यान गुमाउनुपर्ने यो कहालीलाग्दो यथार्थ घटाउन सम्भव हुन्छ। सडक सुरक्षा कुनै औपचारिक नियम मात्र होइन, यो जीवन जोगाउने संस्कार पनि हो।
त्यसैले यसलाई हाम्रो जीवनको अभिन्न अङ्ग बनाऔँ, किनकि तपाईंको सुरक्षामै तपाईंको परिवारको खुसी र भविष्य सुरक्षित छ।
ट्राफिक नियम जानौं पनि, मानौं पनि।
(लेखक जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रमुख हुन्।)