एकजना शिक्षक कक्षा २ मा व्यक्तिगत सरसफाइ विषयमा शिक्षण गरिरहेका थिए। विद्यार्थीलाई व्यक्तिगत सरसफाइ बारे बताउँदै शिक्षकले भने, ‘हामीले व्यक्तिगत सरसफाइ गर्न दैनिक कपाल कोर्नुपर्छ, नङ काट्नुपर्छ, ब्रस गर्नुपर्छ, साबुन पानीले हातमुख धुनुपर्छ। बुझ्यौ?’
विद्यार्थीले एकैसाथ लय मिलाएर भने ‘बुझ्यौ सर।’ कक्षा सकियो। तर विद्यार्थीका औँलाका नङहरू फोहोर र लामा लामा थिए। कपाल नकोरिएको धेरै दिन भएको थियो। हात मयल र सिँगानले पटपटी फुटेका थिए। दाँत पहेँलो देखिन्थ्यो।
यस्तो खाले विद्यार्थीको बुझाइको के अर्थ रह्यो त?
अर्को एक विद्यालयको प्रसंग थपौँ। साना विद्यार्थीलाई गणित शिक्षक पढाउँदै थिए। कक्षाकोठामा डाइस, कार्ड, गोटी, क्वाइन, ब्लक लगायत थुप्रै सामग्रीहरू गणितीय सिप सिकाउन राखिएको थियो। तर सामग्री बिना शिक्षकले सेतोपाटीमा २ जोड ३, पाँच हुन्छ भनेर बुझाउँदै थिए। यस्तो कठिन अमूर्त कुरा विद्यार्थीले ग्रहण गरिरहन सकेको थिएन। ती सामग्री प्रयोग गरेर सजिलै विद्यार्थीलाई जोड घटाउको व्यावहारिक ज्ञान दिन शिक्षक किन चुकेको होला?
नेपाली विषयका शिक्षकले सानो बालबालिकालाई ‘आकाश’ शब्दको अर्थ बताउँदै थिए। शिक्षकले बताउँछन्, ‘आकाश भनेको हामी माथिको निलो र खुला देखिने भाग।’ विद्यार्थीहरू सबैजना माथितिर हेर्छन्। संयोगवश उनीहरूको कक्षाकोठाको छानो पनि निलो नै थियो। अब उनीहरूमा कस्तो अवधारणा बस्ला? अर्कातिर अर्थपूर्ण बुझाई नहुँदा छिट्टै बिर्सने समस्या त छँदै छ। ‘तुइन’ शब्दलाई खोला वारपार गर्ने एक साधन हो भनी बताउँदा त्यसको अर्थ कसरी विद्यार्थीले बोध गर्ला? अर्का एक विज्ञान शिक्षक सजीव र निर्जीव वस्तुहरूको विशेषता विद्यार्थीलाई घोकाउँदै थिए। जबकि विद्यालय वरपर नै ती वस्तुहरू अवलोकन गरेर तिनीहरूको विशेषता सजिलै बुझाउन सकिन्थ्यो।
यी त केही प्रतिनिधिमूलक किस्साहरू मात्रै हुन्। शिक्षा भनेकै व्यवहार निर्माण हो भनेर भनिरहँदा विद्यालयमा हुने यस प्रकारको सैद्धान्तिक ज्ञानले मात्रै विद्यार्थीलाई कसरी जीवनोपयोगी होला? विद्यार्थीलाई स‑साना क्रियाकलाप र प्रयोग गराएर अवधारणा दिन सकिने विषयवस्तुलाई किन घोकाउन तिर लाग्यौ?
आखिर किन जीवनसँग जोडिएन सिकाइ?
एकजना कलेज पढाउने मित्रले भन्नुहुन्थ्यो, ‘मैले त कलेज पढाउँदा परियोजना कार्यलाई पनि लेक्चर विधिबाटै पढाएँ।’ यहाँबाट प्रस्ट हुन्छ कि हामीले विश्वविद्यालयमा अध्ययन गरेको शिक्षण सिकाइका धेरै सिद्धान्तहरू घोकेर परीक्षामा लेख्यौँ र बिर्सियौँ। त्यही भएर कक्षाकोठामा कार्यान्वयनमा आउन सकेन। सायद ती सिकाइ सिद्धान्तहरूको व्यावहारिक अभ्यास गर्न पाएको भए, आज कक्षाकोठामा विद्यार्थीलाई सिकाउँदा प्रयोग हुने थियो।
अर्कातिर, नेपालीमा एउटा भनाई खुब चलेको छ- ‘घोकन्ती विद्या‑धावन्ती खेती।’ शिक्षा भनेको घोक्नु पर्छ, कण्ठ गर्नुपर्छ र याद गर्नुपर्छ भन्ने मान्यता अझै हाबी नै छ। त्यही भएर विद्यार्थीलाई घोक्न लगायौँ, कण्ठ गर्न लगायौँ। परीक्षामा लेख्न लगायौँ। क्याबात, त्यसपछि सकियो। अनि जीवनगत व्यवहारसँग त्यो सिकाइको तादात्म्य हुनै सकेन। त्यसैले केही सिकाइ सिद्धान्तलाई कक्षा शिक्षणसँग जोडेर हेरौँ जसले हामीलाई उही विषयवस्तुलाई विद्यार्थीले अनुभवसहित बुझ्ने अवसर प्रदान गर्छ।
अनुभवात्मक सिद्धान्त: यो डेभिड क्लबले विकास गरेको सिकाइ सिद्धान्त हो। यसलाई ‘गरेर सिक्ने’ पनि भनिन्छ। विद्यार्थीलाई काम गर्न अवसर दिई सो अनुभवलाई सिकाइसँग जोडिन्छ। जस्तै २ जोड ३ पाँच हुन्छ भनेर सेतोपाटीमा बताउनुको सट्टा बालबालिकालाई मसिना ढुंगा, डाइस, वा गोटीलाई अलग गर्ने जम्मा पारी कति वटा भयो भनेर सोध्ने। नङ काट्नुपर्छ भनेर बताउनुको साटो नङ काट्न नै लगाउने। अब उनीहरूले नङ काट्ने वा कपाल कोर्ने कुरालाई जीवनमा प्रयोग गर्न सुरु गर्नेछन् र सिकाइ अर्थपूर्ण हुन्छ।
सामाजिक सिकाइ सिद्धान्त: बान्दुराको यो सिकाइ सिद्धान्तले बालबालिकाले अरूले गरेको कुरा अवलोकन गरी आफूले पनि त्यस्तै नक्कल गरेर सिक्छन् भन्ने हो। जस्तै शिक्षक आफैले कपाल कोरेर देखाउने, नङ काटेर देखाउने, दाँत माझेर देखाउने अनि उनीहरूलाई पनि त्यस्तै गर्न लगाउने। यस्तो क्रियाकलापले उनीहरूमा सिकाइ व्यवहारमा परिणत हुन्छ र अर्थहीन व्याख्याको अन्त हुन्छ। सामाजिक व्यवहार र आचरणका कुरा अरूबाट नक्कल गरेर सिकाउन रोल मोडलहरूका भिडियोहरू उपयुक्त हुन्छ।
निर्माणवादी सिद्धान्त
जीन पियाजे, भिगोत्सीले विकास गरेको यस सिद्धान्तमा बालबालिकाहरू सक्रिय सहभागी भएमा सिकाइ प्रभावकारी हुन्छ भन्ने हो। शिक्षकले दिने एकोहोरो व्याख्या भन्दा बालबालिकालाई सामग्री छुन दिने, खेल्न दिने, अभ्यास र अन्तरक्रिया गर्न लगाउने भन्ने हो। जस्तै ब्रस दिएर दाँत माझ्न लगाउने, काइँयो दिएर कपाल कोर्न लगाउने, डाइस दिएर जोड्न र घटाउने लगाउने। के के गरियो भनेर एकापसमा अन्तरक्रिया गर्न लगाउने। उनीहरूले सिक्न पर्ने कुरा सिकिसक्छन्। व्याख्या जरुरी छैन। यो सिद्धान्तमा विद्यार्थी ‘निष्क्रिय श्रोता’ नभई, सिकाइमा ‘सक्रिय सहभागी’ हुन्।
प्रयोगवादी सिद्धान्त
जोन डिवेले विकास गरेको यो सिद्धान्तमा शिक्षा जीवनबाट अलग नभई जीवन कै अभ्यास भनेका छन्। यसको मतलब विद्यार्थीहरू अभ्यास गरेर, अवलोकन गरेर, छोएर अनि समस्या समाधान गरेर सिक्छन्। अनुभवलाई नयाँ ज्ञानको आधारसँग जोड्छन्। जस्तै ‘आकाश’ शब्दलाई कक्षा बाहिर लगेर देखाउने। क्वाइन, गोटी उपलब्ध गराउने र गणितीय समस्या हल गर्न लगाउने। विद्यालय वा घरमा भएको सामग्रीबाट परियोजना गर्न दिएर सिकाइलाई जोड्ने। विज्ञानका अधिकांश विषयवस्तु अवलोकन र प्रयोगात्मक कार्य गरेर सजिलै बोध गराउन सकिन्छ। जस्तै बिरुवालाई किन प्रकाश चाहिन्छ भन्ने कुरा अँध्यारो र उज्यालोमा दुई बिरुवा हुर्काउने र अवलोकन गर्न लगाउने। पानीमा डुब्ने र उत्रने वस्तुको ज्ञान दिन एउटा भाँडोमा पानी राख्ने र विभिन्न सामानहरू दिएर प्रत्यक्ष अवलोकन र छलफल गर्न दिने।
संयोजनवाद सिकाइ सिद्धान्त
जर्ज साइमन र स्टेफन डाउनले विकास गरेको यो सिद्धान्तमा प्रविधिलाई सिकाइमा जोड्नुपर्छ भन्ने हो। नेटवर्कको माध्यमबाट विद्यार्थीले सजिलै ज्ञान प्राप्त गर्ने अवसर अब जरुरी छ। हाम्रो जस्तो मुलुकमा विद्यार्थीको पहुँचमा सिधै प्रविधि पुग्न नसके पनि हरेक विद्यालयमा इन्टरनेटको सुविधा उपलब्ध भएकोले शिक्षकले आफ्नो मोबाइल वा ल्यापटप प्रयोग विद्यार्थीलाई सहज ढंगले विषयवस्तुको अवधारणा दिन सकिन्छ। जस्तै ‘तुइन’को अवधारणा दिन युट्युबको सहायताले एउटा भिडियो देखाउने र छलफल गर्ने। फेसबुक, ट्विटर, टिकटक, युट्युब, भ्लग, वेबसाइट, एआई, पोडकास्ट, विकिपिडिया अनलाइन जर्नल आदिका मार्फत विद्यार्थीलाई विषयवस्तुको ठोस अवधारणा दिन थालौँ। सकिन्छ भने विद्यार्थीहरूलाई नै प्रविधि उपलब्ध गराइ विषयवस्तु सिक्ने अवसर दिऔँ, नसके फोटो, भिडियो वा डकुमेन्ट्री मार्फत सिकाइलाई मूर्त र ठोस बनाऔँ।
गर्न सकिने के हो?
राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले विद्यालय तहको पाठ्यक्रमलाई सक्षमतामा आधारित बनाई विद्यार्थीलाई सैद्धान्तिक, व्यावहारिक ज्ञान, सिप र धारणाको विकास गर्ने ध्येय राखेको छ। सबै विषयवस्तुलाई घोटेर पिलाउने, कण्ठ गर्न लगाउने शिक्षण शैली छोडेर सिकाइलाई अनुभव र प्रयोगसँग जोड्न सके, सिकारुले सिकाइ र वास्तविक जीवनबिच सम्बन्ध स्थापित गर्न, सिद्धान्त र व्यवहारको समन्वय गर्न सक्षम हुन्छन्। त्यो सिकाइलाई जीवनसँग सिकारुले जोड्न थाल्छन्। यसका लागि माथि उल्लेखित सिकाइ सिद्धान्तहरू सान्दर्भिक छन्।
(लेखक शिक्षा क्षेत्रमा कार्यरत छन्।)