मेरो जन्म गाउँ सानो भए पनि वनसम्पदा र प्राकृतिक सौन्दर्यले भरिपूर्ण खैरिफाटा गाउँ हो। सधैंझैँ आज पनि बिहानै उठेँ।
'आज जंगलसम्म पुग्नुपर्छ' भन्ने सोचेर घरबाट हिँडेँ। अहिले गाउँमा बिहान–बिहान हिँड्ने चलन बढ्दै गएको छ, किनकि स्वास्थ्यप्रति सचेत मानिसहरू बिहानै हिँड्न निस्कन्छन्।
म आफ्नो चौहरा हुँदै पूर्वतिर लागेँ। बाटो कच्ची थियो। दिनभरि ठूला टिपरहरू हिँड्ने भएकाले बाटो निकै बिग्रिएको थियो। केही मिनेट हिँडेपछि मामा भेट्नुभयो। मैले ढोग गरेँ।
मामाले भन्नुभयो, 'भाग्यमानी!'
'आज बिहान कहाँसम्म?'
मैले भनेँ, 'पर घाटसम्म।'
उहाँले फेरि भन्नुभयो, 'एक्लै नजानु, बाघ आउँछ रे!'
मैले हाँस्दै भनेँ, 'हुन्छ।'
यसरी मेरा पाइला अगाडि बढ्दै गए। बाटोमा भेटिनेहरूले 'हेलो' भन्दै अभिवादन गर्थे। केही दूरी हिँडेपछि बाटो नजिकै रावतको पसल आयो। त्यहाँ मानिसहरू कम थिए। एक–दुई जना उभिएका थिए, कसैले चुरोट तान्दै गफ गरिरहेका थिए।
म पनि त्यहीँ पुगेँ। त्यहीँ मैले आफ्नो पुरानो साथी, मसँगै पढ्ने र निकै राम्रो विद्यार्थी जोशीसँग लामो समयपछि भेटेँ।
'ओहो थापा जी! के छ? कस्तो छौ?'
मैले हाँस्दै भनेँ, 'म त बाँचेकै छु यार!'
मैले सोध्यो, 'के गर्दैछौ? कहाँ छौ? के हुँदैछ?'
जोशी , 'कहाँ हुनु यार, उही मालापानीमै छु।'
केहीबेर गफ गरेपछि मैले भनेँ, 'जाऊँ न यार, आज जंगलतिर हावा खान जाऊँ।'
'हुन्छ भने, जाऊँ,' हामी सँगै लाग्यौँ।
केही समय गाउँ–बस्तीहरू पार गर्दै जाँदा जंगलको किनारामा आइपुग्यौँ। गाउँ र जंगलको बीचमा कटासे हाइड्रोपावर आयोजना अन्तर्गत रानी–जमरा कुलो बगिरहेको थियो। त्यही खोला किनारमा हामी पनि पुग्यौँ।
मैले भनेँ, 'पहिला र अहिले कति परिवर्तन भएछ है, बडाउ!'
जोशी , 'हो नि यार!'
अचानक जोशी उत्साहित हुँदै भन्यो, 'ओहो थापा जी, हेर त ! माछा जालमा परेका रहेछन् !'
'कहाँ? हेरौँ त !' भन्दै म पनि हतार–हतार हेर्न गएँ।
त्यहाँ निलो र सफा पानी बगिरहेको थियो। पानीको बहावसँगै किनार–किनारमा साना–साना जाल राखिएका थिए। ती जालहरू सुत्ने झुललाई च्यातेर वारि–पारि काठमा सियर झाल बनाइएका थिए, जसमा साना माछाहरू फसेका थिए।
मैले भनेँ, 'कति विकास भएछ है, बडाउ!'
जोशी, 'हो नि यार! सिँचाइ आयोजनाले गाउँ–गाउँमा कुलो, पुल, कल्भर्ट र साना–साना सिँचाइ प्रणाली बनाएर खेतीबारीमा पानी ल्याउन र निकास दिन धेरै सुविधा दिएको छ।'
त्यसपछि हामी फेरि अगाडि बढ्यौँ। हिँड्दै गर्दा एकातिर कालिका र अर्कोतिर कैलाश्वर सामुदायिक वन देखिन्थ्यो। ती दुई वनको बीचमा करिब बिसदेखि तीस फिट चौडा बाटो थियो, जहाँ गाई–भैँसी र गाडीहरू हिँड्ने गर्थे।
हामी बिस्तारै अगाडि बढ्दै वरिपरिको दृश्य हेर्दै गइरहेका थियौँ।
जोशी, 'ओ थापा जी, तमलाई थाहा छ क्या ?'
'के?' मैले सोधेँ।
जोशी, 'यहीँ ठूलो हल्दुको रूखकै बाटोमा बस हट्टा थ्या रे? (पहिला कसासे र राजापुर जानको लागि जंगल बीच बाटो थियो।)
मैले भनेँ, 'बस त हिँडेको देखिनँ, तर म बाख्रा, गाई–भैँसी चराउन र वनमा घाँस काट्न आउँदा यो बाटो भने देखेको छु यार। मलाई सानो हुँदा देखेको त्यो बाटो अहिले पनि सम्झना छ।'
हाम्रो भन्दा अगाडिका पुस्ताका मानिसहरू अछाम, चिसापानी र कटासे हुँदै राजापुर जान्थे रे। कटासे बजार त्यतिबेला सुदूर र मध्यपश्चिमका पहाडी जिल्लाका बासिन्दाका लागि प्रमुख व्यापारिक केन्द्र थियो, जहाँ नुनदेखि सुनसम्म पाइन्थ्यो। मैले पनि कटासे बजारको हराइसकेको अवशेष देखेको छु यार।
फिल्म हलपछि सम्म अवशेष थियो यार। पाकाहरू स्मरण गरिरहन्छन् 'कटासेको त्यो भीड, सर्कसको राम, अछामी ठेट संस्कृति सम्झन्छन्—'हटँ बाई, जाऊँ कटासे बजार देउडा हेर्न।'
कैलालीका गाउँ–गाउँबाट देउडाको रमाइलो हेर्न मानिसहरू टाढा–टाढाबाट आउने गर्थे। त्यही बाटो भएर नुन, घ्यू, जडीबुटी र भेडाको बथान लिएर पहाडबाट मानिसहरू कटासे आउँथे। त्यहाँ ती सामान बेच्थे र नुन, तेल, लुगा, चिनी किनेर घर फर्कन्थे। त्यतिबेला अछाम, बाजुरा, डोटी, कर्णाली, कालीकोट, हुम्ला, जुम्ला, सुर्खेत र दैलेखका मानिसहरूका लागि कटासे बजार प्रमुख हाटको रूपमा विकसित भइसकेको थियो। त्यो बाटो कर्णाली - कटासे करिडर हुँदै राजापुर जान्थे।
'मैले सुनेको र थाहा पाएको कुरा हो, बडाउ यार!' मैले भनेँ।
'देख्यौ नि, बडाउ यार! हामी गाई–बस्तु चराउन आउँदा यही हल्दुको रूख वरिपरि चौर र खुला ठाउँ हुन्थ्यो। त्यहीँ हामी मज्जाले गुच्चा, खोपी, डन्डीबियो खेल्थ्यौँ यार—त्यो चाहिँ अझै पनि याद छ।'
कहिलेकाहीँ खेल्दै गर्दा बस्तुभाउ हराउँथे। गाईवस्तु बालीतिर पसेर खान्थे, अनि घर पुग्दा आमाले राम्रैसँग गाली , कुट्नु र खान दिनु हुन थिएन।
जोशीले हाँस्दै भन्यो, 'हो नि! कठै, ती दिनहरू पनि कस्ता रमाइला थिए!'
मैले थपेँ, 'त्यो बेला कस्तो निश्चिन्त जीवन थियो है! न कसैको डर, न भविष्यको चिन्ता। घरले रोके पनि साथीहरूको लैलैमा लागेर भाग्ने त्यो उमेरको रमाइलो शब्दमा उतार्नै गाह्रो छ।'
साथीहरूको हाँसो, रमाइलो, दौडधूप… कहिले झगडा गर्ने, फेरि केहीबेरमै मिल्ने। खरबाट साना–साना माली बनाएर खेल्ने—यिनै थिए जीवनका सबैभन्दा अमूल्य क्षणहरू। त्यो बेला थोरैमा पनि सन्तुष्टि थियो, सानो कुरामा पनि अपार खुसी भेटिन्थ्यो।
जोशीले गहिरो सास फेर्दै भन्यो, 'हो नि थापा जी यार…!'
'आज ती दिनहरू छैनन्, ती साथीहरू पनि छैनन्। कोही सहरतिर हराइसके, कोही परदेशमा बिलाइसके। कोहीसँग कुरा हुँदैन, फोनमा भेटिँदैन। कतिपय फेसबुकमा भए पनि बोलचाल छैन। केही साथीहरू त यो संसारमै रहेनन्।' सबै आ–आफ्नो भविष्य खोज्दै आ–आफ्नै बाटो लागेका छन्। जीवनले हरेकलाई फरक दिशातर्फ डोर्याएको छ, तर सम्झनाले भने सबैलाई एउटै ठाउँमा बाँधेर राखेको छ।
मैले मनमनै सोचेँ—
आज यस ठाउँमा उभिँदा, यही माटोमा उभिँदा, सबै साथीहरूको सम्झना ताजा भएको छ। कसैलाई बिर्सेको छैन। सम्झँदा मन भिज्छ। 'हामीसँग त्यतिबेला धेरै केही थिएन,' मैले भनेँ, 'तर अपार आत्मीयता थियो। एउटै थालमा बाँडेर खाने मिठास, एउटै बाटोमा हिँडेर थकाइ बिर्सने रमाइलो, एउटै छानामुनि बसेर गफिँदा आउने आनन्द—यिनै नै जीवनका साँचो सम्पत्ति थिए।' ती सरल दिनहरू… निस्वार्थ माया…
आज पनि मनको गहिराइमा जस्ताको तस्तै जिउँदै छन्।
'हो नि थापा जी यार! कठै ती दिनहरू… देख्या ! अब फेरि आउन्न क्या?' जोशीले भावुक हुँदै भन्नु भयो ।
हामी जंगलको दृश्य हेर्दै एक–अर्कासँग गफ गर्दै हिँडिरहेका थियौँ। वरिपरि बाक्लो वन थियो। ठूला–ठूला सालका रूखहरूले जंगल भरिएको थियो। बीचमा हल्दुका पुराना रूखहरू अहिले पनि छ। एउटा पुरानो हल्दुको रूख देख्दा बाल्यकालको सम्झना झन् ताजा भयो। त्यहीँ वरिपरि हामी सानैमा खेल्ने गर्थ्यौँ। गाउँमा कोही बित्दा केही समय त्यही रुखनजिक उभिने चलन पनि थियो , त्यो सम्झना अझै मनमा ताजै छ ।
'थापा जी!'
'हजुर?' म फर्कें!
'हेर त! यो रूख उस्तैको उस्तै छ है?'
किन हामी बुडा भए सकिऔ क्या त ?
जोशी हाँस्दै , 'सायद यो सालको रूख भएको भए त उहिल्यै चोरी भएर सकिन्थ्यो होला! यो त काम नलाग्ने हल्दु भएर बाँचेर बसेको छ यार, दोस्त!'
मैले थपी 'है' हो नि'
हामी पुराना तिता–मिठा बाल्यकालका कुरा गर्दै अगाडि बढ्दै थियौँ। त्यत्तिकैमा अचानक बन कुखुरा उडेर आयो।
'ए बडाउ, हेर त! यहाँ त बन कुखुरा रहेछन्!' मैले उत्साहित हुँदै भनेँ।
जोशीले हाँस्दै भन्यो, 'हो नि यार, जिक्कै छन्!'
केही क्षणपछि उसले अलि गम्भीर हुँदै भन्यो, 'यहाँ त बाघ पनि हुन्छ नि यार…'
थापा जी ; म त तम्रा कुरा काट्न नसकेर मात्र आएको हुँ यार!'
मैले हाँस्दै भन्या , 'के डर मान्छौ यार! हामी दुई जना छौँ। बाघ आए पनि के गर्न सक्छ र?'
ऊ अझ हाँस्दै थप्न थाल्यो, 'थापा जी, तमी त अलि मोटा छौ, बाघ आए पनि भाग्न सक्ने छैन ? म पातलो छु यार म त झन् सजिलै जोगिन्छु!'
मैले पनि हाँस्दै भनेँ, 'हस गुरु यार! जाऊँ, अघि बढौँ।'
तर केही हप्ता अघि भएको घटना सम्झिँदा मन अलि डरायो। हाम्रो गाउँकै आमा, भाउजू र बुहारीहरू कालिका सामुदायिक वनमा बाख्राका लागि घाँस काट्दै गर्दा बाघले लखेटेको थियो। उनीहरू हतार–हतार भागेर हँसिया र घाँस त्यहीँ छोडेर फर्किनु परेको थियो। त्यो घटना मेरो मनमा अझै ताजै थियो।
त्यो सम्झँदा मलाई डर लाग्न थाल्यो। मैले लामो सास फेरें र भनेँ, 'गुरू, अब पाइला छिटो बढाऔँ यार।'
जोशीले , 'किन थापा जी? के भयो?'
मैले भनेँ, 'केही होइन यार, यसो कुन्तेको घाट छिट्टै पुगौँ भन्ने मात्र।'
उसले भन्यो, 'हुन्छ थापा जी, जाऊँ।'
केही समयपछि 'थापा जी, हाम्रो पालोका नाम- निसाना खोला, जंगल केही छैन। सबै परिवर्तन शिल रहेछन यार।
मैले, 'किन र?'
जोशी, 'सबै बर्खा र पानीले स्वरूप नै परिवर्तन गरिसकेको रहेछ।'
है !!
हामी अन्ततः कुन्तेको घाटमा पुग्यौँ।
'ओहो यार, तमले भनेजस्तै रहेछ,' मैले भनेँ।
कर्णालीबाट बगिरहेको त्यो निलो पानी हेर्दा मनै लोभिन्थ्यो। बिहानको चिसो हावा, वरिपरिको हरियाली र प्रकृतिको त्यो अनुपम सौन्दर्य सबै मिलेर वातावरण अत्यन्तै रमाइलो बनाएको थियो। किनारतिर सिँचाइ आयोजनाले ठूला डुंगा र तारजालीले सुरक्षित बनाएको संरचना देखिन्थ्यो। त्यहाँ फोटो खिच्दा, पानीसँग खेल्दा र त्यो दृश्य हेर्दा शब्दले बयान गर्नै नसकिने आनन्द मिल्थ्यो। किनकि प्रकृतिले दिने प्रेम बेग्लै हुन्छ। शान्त, सरल र गहिरो। प्रकृति सधैं स्नेहले भरिएको, अत्यन्त सुन्दर र हरेक पटक हेर्दा नयाँजस्तै लाग्ने हुन्छ। जुनसुकै दृष्टिकोणबाट हेरे पनि यसले सधैं ताजगी र नयाँपन दिन्छ।
गाउँको बिहान हावा मिठो लाग्छ,
कर्णालीको पानी निलो लाग्छ।
जंगलबीच हिँड्दा मनै रमाउँछ,
पुराना सम्झना फेरि मिठो लाग्छ।
सूर्यसँगै उठ्छ नयाँ बिहान,
प्रकृतिको काख साँचो लाग्छ।
हरियालीमा जीवन झल्किन्छ यहाँ,
माटोको माया गहिरो लाग्छ।
कति सुन्दर र हामी कति भाग्यमानी छौ है बडाउ।
जोशीले भने, 'हो त यार, कुरा त ठीकै हो, तर नेता भने गतिला परेनन्।'
उसले वरिपरि हेर्दै थप्यो, 'डुंगा, गिट्टी–बालुवा सबै उठाइरहेका छन्। कतै देख्छौ र? गाई–बस्तु चराउने वा उभिने ठाउँसमेत बाँकी राखेका छैनन्। यिनीहरूले त सबै ठाउँ नै कब्जा गरेर पालिसके।' यी चोपराई फाल्नाले ।
है! सही भने बडाउ यार! यसको पछि भविष्यमा कस्तो असर पर्ला? केही वर्ष त भोगे सकिका छौ तर क्या गर्नु यार। हाम्रो बसको छैन बडाउ!
याद छ? पहिला भैंसी हराएपछि छतिवन घाट र ठूला-ठूला नदी तरेर भैंसी खोज्न जानुपर्थ्यो। मैले त बर्दिया, राजापुर, शान्तिबजार लगायत धेरै गाउँबस्ती भैंसी खोज्दै हिँडेको छु यार। कति परिवर्तन शिल समय बडाउ देख्या। अहिले गाई -भैंसी पाल्न छोडेसकी छन्।
त्यही थापा जी! पुराना दिन सम्झँदा अझै मन भारी हुन्छ। अहिले के गर्नु र? सबै कुरा बदलिएको छ। समयले सबैलाई आफ्नै बाटोमा लगिसकेको। बच्चाहरू ठूला भइसके, जीवन अगाडि बढिसकेको छ।
देख्या !!
एक पटक सन् २०६० सालको असार महिना हो, दिनभरि भैंसी खोज्दै हिँडेका थियौँ, तर भेटिएन। कुन्ते घाटसम्म पुग्दा झमक्क रात परिसकेको थियो। हामी तीन जना थियौँ। थकाइले शरीर गलिसकेको थियो। त्यो रात कपडा फुकालेर टाउकोमा बाँध्यौँ र पानीमा पौडी खेल्न थाल्यौँ। त्यो बेला नदी उर्लिरहेको थियो, पानी धमिलो थियो, रूखका टुक्रा बगेर आउँथे। हामीलाई घर फर्किनै पर्ने बाध्यता थियो। म बीचतिर पुग्दा पौडी खेल्न सकिनँ।
हातले साथ दिइरहेका थिएनन्। नदीको बहाव निकै बलियो थियो। केही क्षण त म पानीमै हराउन लागेझैँ लाग्यो। तर हार मानिनँ। पौडी छोडेर जसोतसो पानीसँग संघर्ष गर्दै बीचको एउटा टापुमा उभिएँ। त्यहाँ बगिरहेको रूखको सहाराले केही समय टिकेँ। त्यसपछि साथीहरू पुन: मलाई लिन त्यही टापूमा आउनु भयो। मलाई बीच राखेर वरिपरि गरेर, बिस्तारै हामी सबै मान्छे पोल्ने ठाउँमा जसो तसो नदीको किनार पुग्यो। मेरा सबै कपडाहरू बगाएका थिए। राति भइसकेको थियो। यसरी म घर गएको हुँ यार बडाउ। त्यो दृश्य आज पनि आँखामा ताजै छ।
हा हा ! तम्रो त रमाइलो घटना रहेछ त।
हो ने यार। यही त रहेछ जीवन दोस्त यार।
त्यस दिनपछि मैले जीवनमा कहिल्यै अनावश्यक जोखिम नलिने शिक्षा पाएँ।
पुराना साथीहरू ,कुसुम, जाविना र तेबेना खानको सम्झना गर्दै मन भारी हुँदै थियो। त्यत्तिकैमा सूर्यको किरणले आकाश उज्यालो पार्दै थियो।
'ओहो गुरु यार, बिहान भएछ त!'
निलो पानीमाथि उदाउँदो सूर्यको प्रतिविम्ब देख्दा प्रकृति झन् सुन्दर देखियो। त्यो दृश्यले मनलाई पूर्ण रूपमा शान्त र सन्तुष्ट बनायो।
हो नि अब घर बाईजाउ हाई क्या।
हस् !!
गाउँको प्रकृति, जंगल, नदी र बाल्यकालका सम्झनाहरू जीवनका सबैभन्दा अमूल्य सम्पत्ति हुन्। समयसँगै गाउँ, समाज र मानिसहरू परिवर्तन भए पनि ती पुराना स्मृतिहरू मनमा सधैं ताजै रहन्छन्। प्रकृतिले दिने शान्ति, सुन्दरता र आत्मीयता शब्दमा बयान गर्न कठिन हुन्छ। त्यही प्रकृतिबीच बिताएको बाल्यकाल, साथीहरूसँगका रमाइला पल, र जोखिमपूर्ण अनुभवहरूले जीवनलाई बुझ्ने शक्ति दिन्छन्। जीवन केवल यात्रा होइन। यो जीवनको यात्रा हो, जहाँ सम्झना, परिवर्तन, माया र प्रकृतिको गहिरो सम्बन्ध एकसाथ जोडिएका छन्।