‘सर यहाँ मोटो श हो’ भन्दै एक मुरी डर, केही पाथी उत्सुकता र केही मानो कौतुहलताले भरिएको मनले मैले कम्प्युटर अपरेटर सरलाई मेरो जीवनको पहिलो नियुक्ति पत्रमा प्रिन्टरले छापेको मेरो नाम देखाएँ।
मेरो पहिलो जागिरमा नियुक्ति गर्ने चटारोमा अनायासै सम्झौतै सम्झौताले भरिएको दुई नेपाली कागजले आफ्नो ज्यान गुमाए, अर्थात् मेरा लागि सहिद भए। पछि प्रिन्टेड दुई वटा पाना बोकेर हाकिम सर ‘प्रमुख प्रशासकीय अधिकृत’ को कार्यालय कक्षमा पसे। हाकिम सरसँग मेरो पहिलो भेट अन्तर्वार्तामा भएको थियो भने दोस्रो भेट २०८२ साल पुस १६ गते ११ बजेर ३७ मिनेटमा मेरो नयाँ विश्वविद्यालयको एडमिसन पेपर (नियुक्ति पत्र) मा हस्ताक्षर गराउन भयो।
कक्षा १० सम्म बोर्डिङमा, प्लस टु निजी कलेजमा र स्नातक पनि प्राइभेट कलेजमै पढेको मेरो यसअघि कुनै पनि सरकारी निकायसँग सम्बन्ध गाँसिएको थिएन। अझ भनौँ नेपाल सरकारसँग अस्थायी नै भए पनि निकट सम्बन्ध गाँसिदिएको महाशिला गाउँपालिका, भरखरै त्रिभुवन विश्वविद्यालयबाट उत्तीर्ण भएको मेरो लागि अर्को विश्वविद्यालय साबित भएको थियो। यस्तो विद्यालय जसले मलाई किताबी ज्ञान नभएर अनगिन्ती व्यावहारिक ज्ञान सिकाएको थियो। माहाशिला म विद्यार्थी भएर गएको थिएँ र त्यहाँका सम्पूर्ण व्यक्तित्व प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मेरा लागि विभिन्न विधाका प्राध्यापक हुनुहुन्थ्यो।
अफिसबाट धेरै तल झर्नु पर्ने भएर होला सायद त्यस ठाउँलाई ‘झरुवा’ भनिएको जहाँ हाम्रो क्वार्टर रूपी होस्टेल थियो। यस्तो होस्टेल जहाँ विभिन्न उमेर समूह, विभिन्न विचारधारा र परिपक्वताका विभिन्न तहका मानिसहरू बस्थ्यौँ। दिनभरि अफिसले बोकाएको भारी बिसाउने झरुवा ज्ञानको भण्डार थियो, ठट्टाको भकारी थियो र भावनाको खानी थियो। झरुवामा राजनीतिक विश्लेषण हुन्थ्यो, दार्शनिक विश्लेषण हुन्थ्यो, भावनात्मक विश्लेषण हुन्थ्यो, सामाजिक विश्लेषण हुन्थ्यो, समयसामयिक विश्लेषण हुन्थ्यो, परिवर्तन र विकासको विश्लेषण हुन्थ्यो र विभिन्न घटनाहरूको समीक्षा हुन्थ्यो। सरल भावमा भन्दा, यदि झरुवाको गफलाई अडियो/भिडियोमा कैद गरिएको भए नेपालकै उत्कृष्ट पोडकास्टको शृङ्खला बन्ने थियो।
झरुवामा हामीसँगै एकजना आधा केश फुलेका लगभग लगभग मेरो बाबासँग उमेर मेल खाने पशु विकास अधिकृत हुनुहुन्थ्यो। आफ्नो जीवनकालको अन्दाजी ३ दशक निजामती कर्मचारीका रूपमा बिताउनु भएको र अवकाशका सिँढी ओराली झरिरहनु भएको सरलाई हामी सबैले ‘काका’ भनेर सम्बोधन गर्थ्यौँ। काकाले मेरा महाशिला बसाइँमा साँच्चै नै बुबासरि भूमिका खेल्नु भएको थियो। आफ्नो जीवनयात्रामा ती विभिन्न ऐतिहासिक उथलपुथल क्षणहरूको प्रत्यक्ष अनुभवकर्ता र ती क्षणहरू साल, महिना र गते सहित वर्णन गरिदिनुहुने काका मेरो महाशिला विश्वविद्यालयको इतिहास विषयका प्राध्यापक हुनुहुन्थ्यो।
महाशिला बसुन्जेल मैले सधैँ पछ्याइरहने पाइला थियो नवीन केसी दाइको। हामी दुई जन्मिएको कोख एउटै नभए पनि हामीलाई स्नातक उत्तीर्ण गराएको कोख एउटै भएर होला नवीन दाइ मेरो आफ्नै दाइ जत्तिकै हुनुहुन्छ। विभिन्न क्षेत्रको अनेकौँ ज्ञान राख्ने उहाँ मलाई इनसाइक्लोपिडिया जत्तिकै लाग्नुहुन्थ्यो। ‘आफूले कमाएको बाट जहिले पनि १०% अरूलाई दान गर्नुपर्छ’ भन्ने नवीन दाइको यो उपदेश मेरो मस्तिष्कको शिलामा कुदिएको छ। इमानदारीता, काम प्रतिको लगन र हाम्रो क्षेत्र कृषिका कैयौँ कुरा सिकाउनु भएको, महाशिला गाउँपालिकाका कृषि अधिकृत, मेरो शाखा प्रमुख नवीन केसी यस विश्वविद्यालयमा मेरो सिनियर दाइ हुनुहुन्थ्यो।
‘बाबु व्यापार अपार हो’ यो धेरै पहिले सुनेको कुरा थियो तर यो भनाइ भनिरहने बुलेट सरले यसको साक्षात् उदाहरण नै देखाइदिएका थिए। आइटी अफिसर बुलेट सिग्देल सर मेरा अर्का आत्मीय दाइ थिए जसको महाशिलाको जागिर पार्ट टाइम जब थियो भने प्राथमिक जागिर उनको आफ्नै ट्राभल एजेन्सी थियो। बुलेट सर मेरा बिजनेस एजुकेशन विषयका प्राध्यापक हुनुहुन्थ्यो जसले मलाई बिजनेस म्यान हुन चाहिने गुण, व्यवहार, शैली र व्यापार किन अपार हो भन्ने कुरा उदाहरण सहित छर्लङ्ग पारिदिनु हुन्थ्यो।
कुनै पनि नयाँ ठाउँ जाँदा र बस्दै गर्दा अति आवश्यक भूमिका खेल्छ एउटा असल मित्रले जो महाशिला विश्वविद्यालयमा मेरा लागि थिए पासाङ। महाशिला- १ का स्थानीय बासिन्दा, पशु विकास प्राविधिक पासाङ गुरुङ मेरा आत्मीय मित्र थिए। छोटो समयमा धनिष्ठता बढेको पासाङ मेरा लागि महाशिलामा टुर गाइड थिए अझ भनौँ महाशिला बसाइँभरि नै हल गोरु जसरी हामीले सबै ठाउँमा चर्न भ्याइसकेका थियौँ। मेरो साथी नामको सानो थैलोमा एक वर्ष पनि नबित्दै पासाङ नाम अटाइसकेको थियो।
उमेरका सिँढीमा मसँग एक दुई खुड्किला मात्रै तल माथि भएता पनि, आफ्नी श्रीमती र छोरोसँगै लिएर सिँढी चढ्दै गरेका अर्का सर (मित्र) थिए याम नेपाली सर। महाशिला गापा. का अर्का पशु विकास प्राविधिक याम सर परिपक्वता र सकारात्मकताका अतुलनीय उदाहरण थिए। जिन्दगीको सहज/असहज जस्तोसुकै बखतमा पनि फोनको घण्टी उठेपछि आउने एउटा मिठो आवाज हुन्थ्यो याम सरको। त्यसैले होला दुःख पर्दा वा केही सहयोगको खाँचो पर्दा सबैभन्दा पहिला मस्तिष्कमा झुल्किने अनुहार याम सरकै हुन्थ्यो।
प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेय (चिनार), अर्थात् ‘हाकिम सर’, नजादिँदो रूपमा मेरा लागि नेपाली साहित्यका प्राध्यापकसरह हुनुहुन्थ्यो। यो लेख लेख्ने क्रममा पनि उहाँको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव अवश्य परेको छ। नेपाली साहित्यप्रति गहिरो रुचि राख्ने देवेन्द्र सर मेरा लागि एक कुशल साहित्यकार हुनुहुन्छ, र म उहाँको एक नियमित पाठक, शुभचिन्तक तथा प्रशंसक पनि हुँ।
महाशीलाको गफ गर्दै गर्दा छुटाउनै नसकिने नामहरूमध्ये एक हुन् ई. नवीन शर्मा— उहाँ र म सायद जीवनको एउटै कालखण्डतिर महाशिला पुगेका थियौँ। त्यस्तै, हेल्थ असिस्टेन्ट मनोज शर्मा सर मेरो महाशिला बसाइँको सुरुवाती समयका असल मित्र हुनुहुन्थ्यो; छोटो समय (करिब डेढ महिना)मै सहकर्मीबीच गहिरो आत्मीयता विकसित भएको थियो। र अन्तिममा सधैँ सम्झिरहने नाम भाउजू सिमरन गुरुङ जसलाई झरुवा झर्ने बित्तिकै अनायासै खोज्ने गरिन्थ्यो, जो लगभग महाशिला बसाइँभरि नै हाम्रो अन्नदाता हुनुहुन्थ्यो र व्यक्तिगत रूपमा मेरो ‘महाशिला विश्वविद्यालय’की गुरुङ भाषाकी गुरुआमा।
महाशीलामा जागिर गर्दै गर्दा मैले सरकारी जागिरको मोह बुझेँ। ‘जर्मिनेसन फेज’ मा रहेका राजनीतिज्ञ देखेँ, निजामती कार्यकर्ता देखेँ। जगदीश घिमिरेले आफ्नो किताब (अन्तर्मनको यात्रा) मा लेख्नुभएको हरफ– ‘साहित्य लेखिने राजनीति हो। राजनीति गरिने साहित्य हो।’ पढ्दै गर्दा लाग्छ महाशीलामा मैले साहित्य पनि देखेँ, राजनीति पनि देखेँ। महाशिलामा आदर्श पनि देखेँ, यथार्थ पनि देखेँ।
महाशिला भन्ने बित्तिकै मेरो मानसपटलमा सबैभन्दा पहिला आउने तस्बिर हो झरुवाको बार्दलीमा आफ्नो अन्तिम सास मात्रै बचाएर बसेको टुटेफुटेको सोफा जससँग मेरो बेग्लै आत्मीयता गाँसिएको थियो। सोफाको ह्यान्डरेस्टमा अडिएको आधा कप चिया, बार्दलीमा ओछ्याइएको गुन्द्रीमाथि नवीन दाइ, काका, बुलेट सर, वीरेन्द्र सर र एउटा हातमा तातो लोकल रक्सी र अर्को हातमा अटसमटस तासका पत्ताहरू लिएर बस्नु भएको कुवेर सर अनि त्यो मेरिजको भिडन्त।
डाँडापारि आधा मात्रै देखिने धौलागिरि हिमाल, अर्को भित्तामा देखिने एसियाकै विशाल ढुङ्गा माहाशिला (जसबाट गाउँपालिकाको नामकरण भएको थियो) र त्यसै विशाल शिला वरिपरि छरिएका पातला बस्ती हाम्रो आत्मीयताको सधैँ साक्षी बसिरहे।