म विश्वकपको रंगशालाभित्र थिएँ। फ्रान्स र मोरक्कोको क्वार्टरफाइनल। जीउमा भने नेपाली क्रिकेट टिमको जर्सी। सँगै मेरो भतिज अनिल पनि थियो, उसले पनि त्यही जर्सी लगाएको थियो। फुटबलको मैदानमा क्रिकेटको जर्सी लगाएर पुग्ने सायद हामी दुई मात्रै थियौँ।
सिटतिर जाँदै गर्दा एकजना मोरक्कन समर्थकले सोधे, 'कुन देशको जर्सी हो यो?'
मैले भनेँ, 'नेपाल।'
उनले मुसुक्क हाँसेर बुडिऔँला ठड्याइदिए। त्यो एक क्षणमा मलाई जति गर्व लाग्यो, त्यति नै भित्रभित्रै मन अमिलो पनि भयो। त्यो विशाल मैदानमा मेरो देश थिएन। मसँग थियो त केवल देशको जर्सी।
कुरा सन् १९९८ को हो। ब्राजिल र फ्रान्सको फाइनल परेको त्यो रात मलाई अझै सम्झना छ। घरमा निकै अनुनय गरेर मैले साथी राजीव श्रेष्ठको घरमा बास बस्ने अनुमति पाएको थिएँ। खेल मध्यरातपछि सुरु हुन्थ्यो। हामी दुई, निद्रासँग लड्दै, तातो चिया पिउँदै टिभीअगाडि बस्यौँ।
सबैको अनुमान रोनाल्डोको ब्राजिलले जित्छ भन्ने थियो। तर त्यो रात जिदानले दुई हेडर हाने, फ्रान्सले ३–० ले जित्यो। बिहान उज्यालो नहुँदासम्म हामी रोनाल्डोलाई के भएको होला भनेर बहस गरिरह्यौँ। त्यही रात मैले राजीवलाई भनेको थिएँ, 'कुनै दिन म यो खेल रंगशालामै बसेर हेर्छु।'
त्यो कुरा पूरा हुन ठ्याक्कै २८ वर्ष लाग्यो।
बिचमा जिन्दगीले मलाई धेरै ठाउँ पुर्यायो। पढ्न पाकिस्तान गएँ, त्यहाँ पनि मैदानमै पुगेर खेल हेरेँ। दक्षिण कोरियामा बस्दा पनि रंगशाला जान छाडिनँ। अनि अमेरिका आएको त झन्डै दस वर्ष भइसकेछ। यसपालि विश्वकप यतै आयो र म टिकट च्यापेर रंगशाला छिरेँ।
भित्र पस्ने बित्तिकै घाँटीमा केही अड्किएजस्तो भयो। राजीवलाई सम्झेँ। ऊ अहिले बेलायतमा छ। खेल सुरु हुनुअघि मैले उसलाई रंगशालाको फोटो पठाएँ। उताबाट तुरुन्तै जवाफ आयो, 'यार, त्यो रातको कुरा सम्झिस्?'
नसम्झिने कुरै थिएन। हामी दुवै आज संसारका दुई कुनामा छौँ। हामीजस्ता कति छन् कति! नेपाली खेलकुदलाई माया गर्ने, टाढा बसेर पनि हरेक खेलमा मुटु हल्लाउने मान्छे आज अमेरिकादेखि अस्ट्रेलियासम्म छरिएका छन्। धुर्मुस–सुन्तलीले चितवनमा क्रिकेट रंगशाला बनाउने अभियान चलाउँदा विदेशबाट पैसा पठाउने हामी नै थियौँ। मजस्तै लाखौँले पठाए। तर अन्त्यमा के भयो? राजनीति पस्यो। अभियान थला पर्यो र ती दुई कलाकार नै देश छाडेर हिँड्नुपर्यो। जनताको त्यो विश्वास, त्यो पैसा, त्यो सपना सबै अलपत्र।
मैदानको खेल भने साह्रै राम्रो थियो। पहिलो हाफमा एम्बाप्पेको पेनाल्टी मोरक्कन किपर यासिन बूनूले रोकिदिँदा रंगशाला नै उफ्रियो। तर एम्बाप्पे ६० औँ मिनेटमा आफैँले गोल गरे, ६६ औँ मिनेटमा डेम्बेलेलाई गोल गराइदिए। फ्रान्सले मोरक्कोलाई २–० ले हरायो र लगातार तेस्रो पटक सेमिफाइनल पुग्यो। यो विश्वकपमा आठ गोल पुर्याएर एम्बाप्पेले मेसीको बराबरी गरेका छन्। यस्तो खेल अगाडि चलिरहेको थियो, तैपनि मेरो मन दुई ठाउँमा बाँडिएको थियो। आधा मैदानमा, आधा नेपालमा।
मैले वरिपरि बसेका मान्छेलाई हेरेँ। यसपालिको विश्वकपमा केप भर्डे पनि खेल्यो। केप भर्डे! जम्मा पाँच लाख जति जनसंख्या भएको, समुद्रबिचका साना टापुहरू मिलेर बनेको देश। काठमाडौँ उपत्यकाको एउटा नगरपालिकाभन्दा पनि कम जनसंख्या। अनि मैले आफैँलाई सोधेँ- केप भर्डेले खेल्न सक्छ भने मेरो नेपालले किन सक्दैन?
पहिले यस्तो प्रश्न सोध्दा मान्छे हाँस्थे। ३२ टिम मात्रै खेल्ने विश्वकपमा नेपालको कुरा गर्नु दिवास्वप्न थियो। तर अब खेल फेरिएको छ। यसपालिदेखि ४८ टिम खेल्दै छन्। भोलि ६४ पुर्याउने कुरा पनि चलिरहेकै छ। ढोका पहिलेभन्दा फराकिलो भएको छ। छिर्ने तयारी चाहिँ हामी आफैँले गर्नुपर्ने हो।
तर ठिक यहीँनेर मन खिन्न हुन्छ। जुन बेला संसार विश्वकपको रौनकमा झुमिरहेको छ, ठिक त्यही बेला फिफाले एन्फालाई निलम्बन गरेको छ। हाम्रो इतिहासमै पहिलो पटक। कारण त्यही पुरानो रोग: सरकारी हस्तक्षेप, खेलको संस्थामा राजनीतिक भागबन्डा। अरू देशका खेलाडी मैदानमा इतिहास रच्दैछन्, हाम्रा राष्ट्रिय टिमका खेलाडी अन्तर्राष्ट्रिय खेल खेल्नै नपाउने अवस्थामा पुगेका छन्।
स्कुलका कार्यक्रममार्फत फुटबल खेल्दै सपना देख्दै गरेका हजारौँ बालबालिकाको बाटो पनि अन्योलमा परेको छ। विदेशी रंगशालामा बसेर अरूको खुसी हेर्दै गर्दा यो कुरा मनमा आयो भने कस्तो हुन्छ होला, तपाईं आफैँ अनुमान गर्नुस्।
कसैले भन्ला नेपालजस्तो देशका लागि खेलकुदमा लगानी विलासिता हो। तर म हिजोको दृश्य सम्झन्छु। एउटै खेल हेर्न हजारौँ मान्छे अर्को महादेशबाट उडेर आएका थिए। होटेल भरिभराउ। रेस्टुरेन्टबाहिर लामो लाइन। झन्डा बेच्नेदेखि पानी बेच्नेसम्म, सबैको चुलो त्यही एउटा खेलले बालिरहेको थियो।
अंकहरूले पनि त्यही भन्छन्। फिफाकै अध्ययनअनुसार यो विश्वकपले विश्व अर्थतन्त्रमा करिब ४१ अर्ब डलर थप्ने र संसारभर ८ लाखभन्दा बढी रोजगारी सिर्जना गर्ने अनुमान छ। हामी खेल हेर्न गएको बोस्टन सहरका बार र रेस्टुरेन्टको व्यापार त विश्वकप सुरु भएको दुई सातामै २८ प्रतिशतले बढ्यो, सबै आयोजक सहरमध्ये सबैभन्दा धेरै। एउटा पब सञ्चालकले त यसलाई 'हरेक दिन सेन्ट प्याट्रिक्स डे मनाएजस्तै' भनेछन्। एउटा खेलले सिङ्गो सहरलाई कतिसम्म चलायमान बनाउँदो रहेछ, मैले आफ्नै आँखाले देखेँ।
अब चिसो दिमागले सोचौँ। नेपाल क्रिकेटको विश्वकप खेल्ने देश भइसक्यो, हिजो मैले लगाएको जर्सी नै त्यसको जिउँदो प्रमाण हो। हाम्रा केटाहरू खेल्दा कीर्तिपुरमा कस्तो जनसागर उर्लिन्छ, हामीले देखेकै छौँ। भोलि हरेक प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको एउटा-एउटा रंगशाला बन्यो भने? त्यहाँ खेल मात्रै हुँदैन। रोजगारी हुन्छ, पर्यटक आउँछन्, वरिपरिको बजार चल्छ। सबैभन्दा ठुलो कुरा कुनै टोलको केटाकेटीले चौरमा पुराना जुत्ता लगाएर बल खेल्दै गर्दा अगाडि एउटा बाटो देख्छ। राजीवको कोठामा रातभरि जागेर मैले देखेजस्तै सपना ऊ पनि देख्छ। फरक यति होस् उसको सपना पूरा हुन २८ वर्ष कुर्नु नपरोस्।
पैसा मात्रै भएर नपुग्ने रहेछ भन्ने त धुर्मुस–सुन्तली प्रकरणले सिकाइसक्यो। जनताको माया थियो, पैसा उठेकै हो। नपुगेको त राजनीतिमुक्त संस्था थियो। जुन दिन एन्फा वा क्यानमा को बस्ने भन्ने कुरा दलको भागबन्डाले होइन, खेलकै योग्यताले तय हुन्छ, गन्ती त्यही दिनदेखि सुरु हुनेछ। मोरक्कोले पनि रातारात यो ठाउँ पाएको होइन। २० वर्ष लगाएर एकेडेमी बनायो, जगैदेखि केटाकेटी हुर्कायो। अनि मात्र आज संसारले उसको खेलमा ताली बजाइरहेको छ।
खेल सकियो। रंगशालाबाट फर्कँदै गर्दा गाडीमा मेरो मनमा जित–हारभन्दा ठुलो कुरा खेलिरह्यो। म भाग्यमानी रहेछु, बाल्यकालको सपना पूरा गर्न पाएँ। तर विदेशको रंगशालामा नेपाली जर्सी लगाएर अरूको झन्डा फरफराएको हेर्नु र आफ्नै देशको झन्डा त्यो मैदानमा फरफराएको देख्नु— यी दुई कुरा उस्तै होइनन् रहेछन्।
राजीव, अनिल र मजस्ता नेपाली खेलकुदप्रेमी आज संसारभर छौँ। देशप्रतिको माया कहीँ गएको छैन, पैसा पठाउने हात पनि तयार छन्। खाँचो छ त केवल विश्वासको। त्यो हराएको विश्वास फर्काउने जिम्मा कसको हो? म त यहाँ बसेर सोधिरहेको छु, तपाईं पनि आफ्नो ठाउँबाट सोध्नुस्।
-1784195585.jpeg)