हाम्रो छिमेकी देश भारतमा प्रख्यात केही ऐतिहासिक महत्वका पुरातात्विक सम्पदा छन् तीमध्ये एक नेपालबाट नजिकै रहेको लखनऊ हो।
म जागिरको दौरान पश्चिम नेपालमा कार्यरत भएकोले ४ वर्षअघि नै लखनऊ घुम्न पुगेको थिएँ।
तर त्यतिबेला लखनऊका सम्पदालाई धित मरुन्जेल नियाल्ने रहर पूरा भएको थिएन।
गत हप्ता बाँकेको नरैनापुर गाउँपालिकाका स्वास्थ्यका कर्मचारी साथीहरू स्वास्थ्य शाखा प्रमुख नगेन्द्र साह, शाखाकै कम्प्युटर अपरेटर भाइ अतहर खाँ, कटकुईयाँ स्वास्थ्य चौकी प्रमुख करम चौधरी र मटेहिया स्वास्थ्य चौकी प्रमुख प्रेम बुढाले लखनऊ जाने योजना बनाएको र मलाई पनि त्यो समूहमा मिसिन निमन्त्रणा भएकोले लखनऊलाई दोहोर्याएर हेर्ने मौका मिल्यो।
![](https://staging.setopati.com/uploads/editor/2021-12-18/081414335264044504_10223718570145511_3292053183454430706_n.jpg)
उपचारको लागि, सरसामान किन्न भारतका विभिन्न ठाउँ जाने रेल र बस र जहाज चढ्न र घुमघाम गर्न नेपालीहरू गैरहने हुँदा उनीहरूलाई सजिलो होस् भन्ने हेतुले मेरा दुई पटकको भ्रमणमा देखेका र भोगेका अनुभवहरूको संक्षिप्त विवरण यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु।
मंसिर १० गते शुक्रबार कार्यालय समय सकिएपछि नेपाल भारत सीमानाको रुपेडिया गएर साथीहरूले दुई दिनको लागि १३ हजार नेपाली रुपैयाँमा भाडामा लिएको भारतीय स्कर्पियो गाडीमा चढियो।
सायद ‘यसले यात्रापछि नियात्रा लेख्छ र त्यसको लागि फोटो खिच्छ’ भन्ठानेर होला, मलाई अगाडिको सिटमा बस्न दिए साथीहरूले। रुपेडियाबाट अगाडि नानपाराको बाइपास, बहराइचको बाइपास पार गरेर घागरा (हाम्रो कर्णाली र भारतमा शारदा भनिने महाकाली तथा सरयु नदी मिसिएपछि बन्ने नदी ) को लामो पुल तरेर हाम्रो गाडी अगाडि बढ्यो।
![](https://staging.setopati.com/uploads/editor/2021-12-18/081425151263962044_10223718559185237_6669110850310408363_n.jpg)
रुपेडियाबाट १८८ किमी परको लखनऊ पुग्न ४ देखि ८ लेनसम्म फराकिलो सडक र आकाशे सडक ( फ्लाइओभर ) पार गर्दै हामी रातको १० बजे लखनऊ महानगरको छेउ र ११ बजे मध्यभागमा पुग्यौं। झिलिमिलीले दुलहीझैं सिंगारिएको थियो लखनऊ तर होटल भने महँगो। त्यसैले अमिनावाद पुगेर त्यहाँको छेदिलाल धर्मशाला पुग्यौं। म पहिला पनि त्यहीँ बसेको थिएँ। सस्तो पर्ने भएकोले त्यहीँ बस्ने निर्णय गरियो।
सस्तो भइकन पनि सफा र व्यवस्थित थियो त्यो धर्मशाला।
त्यति बेला धर्मशालाको तल्लो तलाको हलमा बिहे कार्यक्रम चल्दै थियो।
प्रेम बुढाजी र मैले त्यो भारतीय बिहेको रमिता हेर्यौ। अचम्मको कुरा, त्यो बिहे पार्टीमा मदिरा र मासुका परिकार भने देखिएन। भारतमा मदिरा त मरूभूमिमा पानी खोजेझैं लाग्यो। कहीँ कहीँ मात्र ‘देशी शराबका दुकान’ भनेर साइन बोर्ड राखिएका दारू पसल देखिने।
बिहान ७ बजे उठेर ठेलाको चियासँगै हाम्रो सहर यात्रा सुरू भयो।
लखनऊको भित्री सहर ४ वर्ष पहिलेजस्तै कच्याककुचुक थियो, बरू फोहोर र अव्यवस्था थपिएजस्तो देखिन्थ्यो।
चिया पिएर अटोमा २०\२० रुपैयाँ तिरेर भुलभुलैया हेर्न गइयो। भारतको मात्रै होइन, युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेका लखनऊका ७ सम्पदामध्ये सबभन्दा महत्वपूर्ण क्षेत्रमा हाम्रो बसन्तपुरजस्तै विशाल पटांगिनी भित्र पर्ने नबाबहरूको शाषण केन्द्रमा इमामबाडा यानिकी पुरानो नबाबको दरबारभित्र भुलभुलैया पर्दछ।
![](https://staging.setopati.com/uploads/editor/2021-12-18/081432457263803334_10223718567145436_437929109466479323_n.jpg)
गोमती नामको नदीको किनारमा बसेको यो इमामबाडाको छेउमा बेलायतको बिगबेनकै आकारमा बेलायतीहरूको पालामा बनेको ‘हुसैनाबाद घन्टाघर’ छ। त्यसको छेउमा नबाबहरूकै पालामा पटांगिनी छेउमा बनेको विशाल ‘रुमी दरवाजा’ नामको १८ मिटर अग्लो द्वारभित्र बडा इमामबाडा र छोटा इमामबाडा नामका विशाल दरबार छन्। पटांगिनीको छेउमा एउटा रानी पोखरीजस्तै तर अलि सानो पोखरी छ र त्यसको वरिपरि मान्छे बसेर सुस्ताउन मिल्ने प्यारापिट छन्।
त्यसको वल्तिर भने सन् १९०५ मा अंग्रेजले बेलायतका सम्राट जर्ज पाँचौंको नाममा स्थापना गरेको ‘ किंग जर्ज मेडिकल युनिभर्सिटी तथा अस्पताल’ रहेछ।
वास्तवमा भन्ने हो भने लखनऊ एउटा मेडिकल सहर पनि रहेछ जहाँ अनेकौं ठूला ठूला अस्पताल छन्।
हामी रोमी दरवाजाको छेउमा पुगेका मात्र के थियौं, एउटा अटो रिक्सावाला आयो र ‘हरेक व्यक्तिको दश-दश रुपियाँ देऊ, म यहाँको सबै कुरा देखाइदिन्छु’ भन्यो।
हामी उसको अटोमा बसेपछि उसले घन्टाघरको छेउमा लगेर त्यसको बारेमा बतायो। त्यसपछि त्यसले त्यही पोखरी जस्तो ठाउँ अनि घन्टाघरको बारेमा बतायो। त्यसपछि उसले हामीलाई नजिकै रहेको नबाबहरूको चित्र संग्रहालयमा लग्यो। ‘थ्रि डी’ पेन्टिङमा बनेका उ बेलाका नबाबहरूको तेल रंगका चित्रहरू हेर्दा ती नबाबहरूको चित्रका हरेक अंग चलिरहेजस्तो लाग्दो रहेछ।
![](https://staging.setopati.com/uploads/editor/2021-12-18/081442678263802327_10223718565825403_9153355612014936219_n.jpg)
‘ वाह, कस्तो कला!’ भनेर सर्हाउँदै त्यहाँभित्र हामीलाई देखाउने पुरूषलाई ५० रुपैयाँ दिएर हामी निस्कियौं।
त्यही छेउमा पुरानो अग्लो कुतुबमिनार शैलीको घर थियो जुन लखनऊका अन्तिम नबाब वाजिद अलि शाहले आफ्नी छोरीलाई ईद, बकरीद जस्तो बेला पूर्ण चन्द्रमा हेर्न बनाएको भनिँदो रहेछ।
त्यसपछि हामी बडा ईमामबाडा भित्र छिर्यौं।
यो ठाउँ जीवनमा एकपटक पुग्नैपर्ने जस्तो लाग्यो। हरेक व्यक्तिको ५० रुपैयाँको दरले टिकट काटी झोला टिकट घरमै छोडेर ढोकाभित्र पस्दा फेरि अर्को विशाल पटांगिनी र भित्र अर्को ढोका थियो।
दुई तहको पटांगिनी पार गरेपछि सिँढी आयो र बल्ल बडा ईमामबाडा पुगियो। त्यहाँको पथप्रदर्शक अर्थात् गाइडलाई १२५ का दरले तिरेर एकछेउमा चप्पल जुत्ता राखेपछि उसले हामीलाई ईमामबाडाको एक कुनामा पर्ने भुलभुलैयाभित्र लग्यो।
त्यो गाइडले फरर टेप रेकर्डर झैं बोलेको देख्दा अतहर भाइले ‘ ‘प्रोफेसनलिज्म’ भनेको के हो यहाँ सिक्न आउनु पर्छ’ भन्यो।
तर त्यहाँका गाइड पनि घरिघरि हावा गफ दिँदा रहेछन्। किनभने सन् १७८४ मा बनेको भुलभुलैयालाई उ ‘सय बर्ष’ पुरानो भनेर बयान गर्दै थियो।
भुलभुलैयाभित्र तल झर्ने सिँढी थिए। तल गहिरोमा एउटा पानीको पोखरी जस्तो थियो, त्यहाँ सिँढीबाट पानी बग्दै आउँथ्यो रे। त्यो भवनभित्र ‘को पस्दैछ’ त्यसको छाया त्यो पानीमा पर्दो रहेछ अनि भित्री कोठाबाट त्यो छाया देखिँदो रहेछ।
त्यतिबेला नबाबहरूले दरबार प्रवेश गर्दै गरेका दुश्मनहरूको छाया देखेर भित्रैबाट लड्ने वा भाग्ने निर्णय गर्दा रहेछन्।
![](https://staging.setopati.com/uploads/editor/2021-12-18/081450617263733405_10223718568345466_2029635243402945152_n.jpg)
अझ त्यो गाइडले ‘त्यतिबेला ऊ ती ती कोठामा रानी बस्थे, नबाबले ऊ त्यो कोठाबाट रानीहरु के गर्दैछन् भनेर हेर्थ्यो, रानीहरूले चालै पाउन्नथे’ भनेर गफ पनि लगायो।
त्यहाँ भित्र छिर्ने १०२४ वटा तर बाहिर दुईवटा मात्रै बाटा छन् रे। त्यहाँ भित्रको एउटा गुप्त दुलो देखाउँदै गाइडले ‘यहाँबाट यौटा सुरूङ दिल्ली, अर्को आगरा र अर्को फैजावाद पुग्छ’ भन्थ्यो, हो कि होइन, त्यही जानोस्।
त्यहाँभित्र एउटा गहिरो ठूलो इनार रहेछ जहाँ सिधै गोमती नदीबाट पानी आउँथ्यो भनिँदो रहेछ।
त्यो इनारवाला भवनबाट हामी बगलकै बडा ईमामबाडाको मूल दरबारमा छिर्यौं। त्यहाँ बिना बिम र बिना पिलरका चिनियाँ र इन्डियन नामका विशाल हल छन्।
चिनियाँ शैलीमा बनेको ५० मिटर लामो र १६ मिटर उचाइको चिनियाँ हललाई विश्वकै सबभन्दा ठूलो गुम्बजाकार हल भनिँदो रहेछ।
त्यहाँभित्र ताजियाका ( शिया मुश्लिमले मोहर्रमको बेला सजाउने धार्मिक वस्तु) सामान सजाइएका छन् र त्यहाँ इराकको कारवालाको प्रतिमूर्ति ( रेप्लिका) पनि छ।
![](https://staging.setopati.com/uploads/editor/2021-12-18/081456688263733405_10223718568345466_2029635243402945152_n.jpg)
त्यही भएर खासमा यो स्थानलाई शिया मुस्लिमहरूको धर्मिक केन्द्र मानिँदो रहेछ।
यसकै बगलमा एउटा महत्वपूर्ण मस्जिद पनि रहेछ।
यस हलको बीचमा नबाब आसफ उद्दौलाको चिहान र नक्कली भनिने उनको श्रीपेच रहेछ ( सक्कली लंडनमा छ रे )।
हामी यसपछि भर्यांगबाट माथि तलामा छिरियो। गाइडले भित्र छिर्ने बेलामा भित्तामा कोरेको ७८६ नम्बरको अंक देखायो र ‘यही दुलोबाट हो बाहिर निस्किने, याद गर’ भन्यो।
भित्र साँघुरो र अँध्यारो करिडोर हुँदै अघि बढियो। त्यहाँ छिन-छिनमा चौबाटो आउँदो रहेछ, जहाँबाट एउटामात्र सही र अरू तीन वटा भूल बाटो जाँदा रहेछन् र हामीजस्ता मान्छे बिना गाइडभित्र छिर्यो भने दिनभर हराउँदो रहेछ।
सन् १८५७ मा भारत भर अंग्रेजको शासनविरूद्ध भारतका राजा महाराजाले चलाएको सिपाही विद्रोह दबाउन गएका जंगबहादुरका सेनाले लखनऊमा धेरै सुनचाँदी र हिरा जवाहरातहरू लुटे भनिन्छ र अहिले पनि ठूला लुटलाई ‘ लखनऊ लुट’ भनिन्छ।
![](https://staging.setopati.com/uploads/editor/2021-12-18/081506816263466355_10223718563745351_1306665293987152197_n.jpg)
तर उनीहरू पनि यही भुलभुलैया बेतोडसित हराए होलान् भन्ने अनुमान गर्न सकिन्छ।
यहाँ भित्ताको एक छेउमा केही बोल्यो भने त्यसको प्रतिध्वनि पल्लो भित्तामा सुनिँदो रहेछ।
यस्तै एउटा अँध्यारो कुनोबाट तीन वटै द्वारको सिधा अगाडि देखिने प्वाल बनाएको रहेछ।
त्यहाँको वास्तुकला देख्दा त्यतिबेला यो कसरी बन्यो होला भनेर पत्याउनै मुश्किल पर्छ।
त्यो बेला ईराकको इन्जिनियर आएर यो बनाएको रे। तर त्यो बेला त्यो इन्जिनियरलाई कसरी खबर गरियो होला, कुन बाटो केमा चढेर त्यो आयो होला, त्यसले के भाषामा बोल्यो होला र कामदारलाई कसरी काम गरायो होला, यसको बजेट कति लाग्यो होला अनि बन्दा बित्तिकै यो दरबार कस्तो भब्य देखिन्थ्यो होला भनेर सबैजना अचम्ममा परियो।
हामी त्यहाँबाट निस्कँदा गेटमा बिहानकै अटोवाला पर्खिरहेको थियो। त्यसले ‘लखनऊका चार विशेषता छन्, पहिलो हेर्नमा भुलभुलैया र दोस्रो यहाँको चिकेन मार्केट, तेस्रो खानमा तुन्डे कबाब र चौथो ‘उसैले बोले जस्तो’ काइदाको बोली’ रे।
त्यही भएर उसले चिकेन मार्केट लग्यो। चिकेन भन्या कुखुरो होला भन्या त सारी आदि स्थानीय हस्तकलाद्वारा उत्पादित सामान रहेछ।
![](https://staging.setopati.com/uploads/editor/2021-12-18/081402376264088549_10223718563545346_2333825700310867747_n.jpg)
एउटा साँघुरो चिकेन सारीको पसलमा लगेर ‘ यो किन कि किन’ भनेर फकाउन थाल्यो।
वास्तवमा थोरै पैसा लिएर पर्यटकलाई यहाँ ल्याउने र फकाई फकाई चिकेनको सारी भिडाएर कमिशन खाने उसको पेशा रहेछ।
उसको पर्वाह नगरी चिकेन नकिनिकन हामीहरू फर्कियौं र अमिनावाद पुगेर नगेन्द्र भाइको बिहेका लागि केही सामान किन्यौं।
यसपछि त्यहाँको सहरको भब्यता नियाल्दै हामी फर्किंयौं। बाटोमा लोहिया पार्क, ग्लोब पार्क, कारगिल पार्क , अम्बेडकर पार्कजस्ता अनेकौं विशाल र आकर्षक पार्क थिए।
यत्रो सहरमा कसरी यति धेरै खुला सार्वजनिक ठाउँ छोडेको र पार्क बनाउन सकेको होला भन्दै र लखनऊको मेट्रो ट्रेन चढ्न नपाएकोमा पछुतो मान्दै हाम्रो टोली रातको १० बजे नेपाल भारतको सीमामा आइपुग्यो।