जीवनको यात्रा पनि कस्तो अनौठो। कहिलकाहीँ अल्लारे बनेर एक्लै हिँड्छु भन्दा पनि बाटोमा कोही न कोही भेटिहाल्ने। अनि अन्तिममा गन्तव्यसम्मका लागि सहयात्री बन्दिने! त्यही भएर होला हाम्रो जीवन यतिधेरै उल्लासमय र रंगीन बनेको।
फूलपातीको दिन, झिसमिसे उज्यालो नै थियो। सबै जना दसैंको लागि काठमाडौंबाट घर जाँदै थिए। म भने दसैंमा घर छाडेर ट्रेकिङको लागि गाडी लिएर माछापोखरी जाँदै थिएँ।
गत वर्ष फूलपातीको दिनदेखि डेंगीले लखतरान बनाएको थियो। त्यो दसैंको बिदा ओछ्यानमै बित्यो। बिरामले लखतरान भएर ओछ्यानमा सुतेको त्यो मेरो पहिलो अनुभव थियो। त्यसैले यो वर्ष जसरी भए पनि दसैंमा कतै घुम्न जाने अठोटमा थिएँ। त्यसैले एक्लै ट्रेकका लागि निस्केकी थिएँ।
बसमा ट्रेकिङ जाने मान्छे देखेर छक्क परेँ। मैले कल्पना गरेकोभन्दा धेरै मानिस दसैंको समयमा ट्रेकिङका लागि निस्किएका थिए।
बिहान ६ बजेको गाडी साढे सात बजेतिर कलंकी-गल्छी-धुन्चे हुँदै स्याब्रुबेँसीतर्फ लाग्यो। करिब साढे तीन बजेतिर स्याब्रुबेँसी पुग्यौं। मसँगैको सिटमा बसेको साथी (मनिष) पनि ट्रेकिङ जाँदै रहेछ। ऊ भने अन्य दुई जना साथीसँग (विशाल र गंगा) ट्रेकिङ आएको रहेछ।
काठमाडौंबाट सोलो ट्रेकका लागि हिँडेकी म स्याब्रुबेँसीबाट तीन जनाको ट्रेकिङ ग्रुपमा मिसिएर चार जना बनेका थियौं। म र मनिष एकै सिटमा हुँदा ऊसँग केही कुराहरू भएको थियो। जसले गर्दा यात्रा सहज हुने अनुमान गरेँ।
गन्तव्य लाङटाङ भएता पनि आज ब्याम्बु (१९७० मिटर) बस्ने योजना भयो। अनि त्योसँगै हाम्रो हिँड्ने क्रम पनि सुरू।
बाटोमा २० मेगावाट क्षमताको लाङटाङ हाइड्रोपावर बनिरहेको रहेछ। देब्रे हातमा लाङटाङ नदीलाई साँची राखी नदीको सुमधुर आवाज सुन्दै हामी अघि बढ्यौं। त्यो कलकल बगेको खोला, चराचुरूंगीका चिरबिर आवाज र भीर मौरीका चाका हेर्दै हामी प्रकृतिको स्पर्श लिँदै थियौं। अर्कोतर्फ बाटोमा सम्झनाका लागि पलहरू मोबाइलमा कैद गर्दै थियौं।
हिँडेको केही घण्टामै रात पर्यो। आधा घण्टा अँध्यारो बाटोमै हिँड्यौं। झण्डै तीन घण्टाको हिँडाइपछि ब्याम्बु पुग्यौं।
होटलका लागि काठमाडौंबाट नै बुकिङ गरिसकेको थिएँ। बाटोमा साथी भेटेका कारण पुनः होटलमा फोन गरी जानकारी गराएको थिएँ जसले गर्दा सहज भएको थियो।
बेलुकी चिसो-चिसो भएकाले खाना खाइवरी आगो ताप्न थाल्यौं। नयाँ मानिसहरूसँग केहीबेर गफिएर भोलिपल्टको प्लान बनाइ सुत्यौं।
यात्राको दोस्रो दिन।
बिहानको नास्ता खाइवरी हामी गन्तव्यतिर लाग्यौं। आजको प्लान क्यान्जिङ गुम्बा (३८६५ मिटर) पुग्ने थियो।
ब्याम्बुबाट चार जनाको समूह बनाएर हिँडेता पनि लामा होटल पुग्ने बेलासम्म सात जनाको समूह भइसकेका थियौं। फर्किंदा त्यहाँ बस्ने हेतुले त्यहाँका सुविधा र खर्चबारे बुझ्यौं। अनि केही खानेकुरा खाए फेरि यात्रा सुरू गर्यौं।
![mandira ghimire setopati at langtang (14).jpg](https://www.setopati.com/uploads/editor/navadurga/mandira/mandira ghimire setopati at langtang/mandira ghimire setopati at langtang (14).jpg)
त्यो बीचमा हामी प्रकृतिको भरपूर सुख-अनुभूतिको आनन्द लिइरहेका थियौं। ब्याम्बु र लामा होटलको बीचमा पर्ने लामो झोलुंगे पुल, कतै काठले बनाइएका चिटिक्क पुल, त कतै हरिया पहाडका बीचमा झरेका झरना देख्दा त सधैंभरिका लागि त्यही बसेर यी नयनलाई कतै हलचल नगरी राखूँझैं लाग्थ्यो। तर के गर्नु आफ्ना इच्छा, आकांक्षालाई त्यही बिट मार्न बाध्य हुन्थेँ अनि पाइला अघि बढाउँथेँ।
जीवनका उकाली ओरालीझैं यो यात्रामा पनि थुप्रै उकाली र ओराली थिए। कतै देखिएका तेर्सा बाटाले हिँड्नलाई ढाडस दिन्थे भने कतै खुट्टा उचाल्नै मुश्किल पर्ने खुड्किलाले संयम भएर हिँड्न प्रेरित गर्थ्यो। यात्राको सबल पक्ष पनि यही हो। यदि सहज हुन्थ्यो त यात्राका यादहरू पनि हुन्थेनन् होला। यदि हिमाल सहजै नजिकबाट देखिन्थ्यो भने त त्यसको महत्त्व के हुन्थ्यो होला र सायद!
हामी सहज तरिकाले बाटो कटाउने गरी प्रकृतिका कुरा गर्थ्यौं त कहिले आफ्ना अनुभूतिहरू साटासाट गर्थ्यौं। कहिले साथीभाइलाई जिस्काउँदै उट्पट्याङ कुरा गर्थ्यौं। यस्तो हुँदा यात्रामा आएका अन्य साथीहरूलाई अझ नजिकबाट चिन्ने मौका पाइरहेको थियौं।
दुई घना जंगलको बीचमा बग्ने नदीले कुनै बेला हामीलाई छोडेन। सुरूदेखि अन्तिमसम्म साथ रहिरह्यो। यदि नदीको आवाजले झिंझो लाग्छ भने यो यात्रा तपाईंलाई उपयुक्त नहुन पनि सक्छ।
लामा होटलबाट हिँडेको केही घण्टामै रिभर साइड पुग्यौं। एकाएक दुई घना जंगलको भीरमुनि समथर जमिन देख्दा मन नै दंग थियो। देब्रेतिर बेजोडले बगिरहेको नदी शान्त बनेर बग्दै गरेको नदी छेउमा आराम गर्दै बसेका बटुवा र दाहिनेतर्फ घोडा चरिरहेको दृश्य। अनि पृष्ठभूमिमा दुई-चार घरमाथि सुकाइएका बन्दाका पात अनि छेउमै करेसाबारी, ओहो!
![mandira ghimire setopati at langtang (7).jpg](https://www.setopati.com/uploads/editor/navadurga/mandira/mandira ghimire setopati at langtang/mandira ghimire setopati at langtang (7).jpg)
त्यहाँ पनि केही खानेकुरा खाई उकालो लाग्यौं। उकालो हिँडेर खुट्टा दुख्दा मनमनै आफैंलाई प्रश्न गर्थें- दसैंको बेला खुरूक्क मासुभात खाएर नबसी गाह्रो हुन्छ भनी थाहा पाइपाइ किन आएको?
तर ती त क्षणिक मनोभाव थिए, गन्तव्यमा पुगेर त्यहाँको अनुपम सुन्दरता अनुभूति लिनुको मज्जा त बटुलेकै थिइनँ।
त्यहाँबाट पहिरोको बाटो हुँदै हामी घोडा तबेला हुँदै लाङटाङ भिलेजतर्फ लाग्यौं।
घोडा तबेलासम्म कतिबेला पुग्छौं भनेर लाङटाङ हिमालले हामीलाई नयाँ दुलहीलाई झैं चियाएर हेरेजस्तै लाग्थ्यो। दुई उजाड भीरको चेपुवाबाट देखिएको लाङटाङ हेर्दै हिँड्न पाएपछि हामी दंग थियौं।
![mandira ghimire setopati at langtang (9).jpg](https://www.setopati.com/uploads/editor/navadurga/mandira/mandira ghimire setopati at langtang/mandira ghimire setopati at langtang (9).jpg)
लाङटाङ राष्ट्रिय निकुञ्ज छिर्न धुन्चेमा काटेको टिकट घोडा तबेलामा देखाउन पर्ने रहेछ। उक्त टिकट देखाएपछि हामी पहिरोको बाटो लाग्यौं।
घोडा तबेलामा (३०३० मिटर उचाइ) पुगेपछि अग्ला रूखहरू हराउँदै थिए। त्यसैले खुला दृश्य देख्न पाइरहेका थियौं।
पहिरोमा हिँड्न पनि अप्ठ्यारो हुने ढुंगे बाटो थियो। २०७२ सालमा गएको भुइँचालोले त्यहाँ पहिरो गएको रहेछ। जसले गर्दा पूरा गाउँ नै ध्वस्त बनाएको थियो।
बिहान साढे आठ बजे ब्याम्बुबाट हिँडेका हामी बेलुकी सात बजेतिर लाङटाङ पुगेका थियौं। बिहानदेखि नै क्यान्जिङ गुम्बा गन्तव्य बनाएता पनि सोचेअनुरूप भएन। त्यसैले हामी त्यहीँ रहेको शेर्पा होटलमा बास बस्यौं।
![mandira ghimire setopati at langtang (16).jpg](https://www.setopati.com/uploads/editor/navadurga/mandira/mandira ghimire setopati at langtang/mandira ghimire setopati at langtang (16).jpg)
३४३० मिटर उचाइमा पुगेकाले चिसो बढेको थियो। आगो ताप्न हलतिर गयौं। होटलमा हामीबाहेक अर्को एक जना विदेशीसहितको टोली समेत रहेछ। त्यहाँ ती विदेशीसँग कुराकानी गर्यौं। उनी अमेरिकाको एक युनिभर्सिटीको रिटायर्ड फिजिक्स लेक्चरर रहेछन्, जो रिटायर्ड लाइफ इन्जोइ गर्दै थिए।
उनी नेपाली साथीको बिहेमा नेपाल आएका रहेछन्। उनले आफू पहिलोपटक झन्डै ५० वर्षअघि आएको बताए। उनको जीवनका केही रोचक कुराहरू ध्यान दिएर सुन्दै थिएँ। सँगै भएका गाइड दाइहरूले पनि आफ्नो अनुभवहरू सुनाउनुभयो। उहाँहरूबाट धेरै नयाँ कुरा सिक्ने मौका पाउँदा खुसी लागेको थियो। अझ उमेरले ७० नागिसकेका ती विदेशी हिमाल चढी हेलम्बु निस्केर जाने योजना सुन्दा म चकित बनेकी थिएँ। केहीबेर कुराकानीपश्चात खाना खाएर फेरि भोलिपल्टको लागि योजना बनाएर सुत्यौं।
यात्राको तेस्रो दिन।
लाङटाङ भिलेजबाट क्यान्जिङ गुम्बा जान जम्मा तीन घण्टा लाग्थ्यो। त्यही भएर नहतारिएर जाने निर्णय गर्रौं। बिहान साढे आठ बजे त्यहाँबाट निस्कियौं।
बाटोमा भेट हुने विदेशी पर्यटकलाई नमस्ते र नेपालीलाई यात्राको बारेमा सोध्दै हिँड्थ्यौं। सोही क्रममा बाटोमा एक हुल मलेसियनहरू यात्राको वर्णन गर्दै हिँडिरहेका थिए। उनीहरूसँग पनि केहीबेर बाटोमा सँगै गफ गर्दै लाङटाङको आकर्षण केन्द्र हार्ड रक क्याफे अवलोकन गर्दै हिँड्यौं।
![mandira ghimire setopati at langtang (8).jpg](https://www.setopati.com/uploads/editor/navadurga/mandira/mandira ghimire setopati at langtang/mandira ghimire setopati at langtang (8).jpg)
क्यान्जिङ गुम्बा पुग्न लागेको परबाट नै थाहा पाइन्थ्यो। किनकि गुम्बा र मानेहरूको दृश्य सहजै देखिन्थ्यो। नजिक पुग्दा ती मानेहरू पानीको सहायताले घुमिरहेको समेत देखियो।
त्यही नजिकै हिमतालबाट बनेको नेपालको पहिलो जलविद्युत आयोजना क्याङजेन लाङटाङ माइक्रो हाइड्रो रहेछ।
एक सय किलोवाट क्षमताको हाइड्रोबाट निकालिएको बिजुली क्यान्जिङ गुम्बा, लाङटाङ भिलेज र घोडा तबेला लगायतका ठाउँहरूमा खपत गर्ने गरिएको रहेछ। अन्य ठाउँ जस्तै लामा होटल र ब्याम्बुमा भने सौर्यशक्तिको प्रयोग गरिएको थियो।
लाङटाङ भिलेजबाट क्यान्जिङ गुम्बाको पदयात्रा मनमोहक थियो। अघिल्लो दिन राति नहिँड्ने निर्णय लिएकोमा एकदमै खुसी लाग्यो।
'धन्न हिजो राति हिँडिएन,' मनमनै भनेँ, 'हिँडेको भए त यस्तो अनुपम दृश्यको सुख अनुभूति गर्नै पाइन्नथ्यो।'
बाटोमा शेर्पा होटलको बहिनी भेटिएको हुँदा बाटोमै सोही होटलमा बस्ने निधो भइसकेको थियो। त्यहाँ खाना खाएर वरिपरि घुम्न निस्किने योजना बनायौं। त्यहीबेला आमाले लगाएको वेशभूषा लगाउन मन लागेर होटलकी आमालाई भनेँ।
'यो लुगा त फोहोर छ। नयाँ लुगा झिकेर दिन्छु है,' आमाले पनि दंग हुँदै नयाँ लुगा झिक्नुभयो। अनि उक्त लुगा म र साथी गंगालाई लगाइदिनुभयो, साथै गहना पनि।
![mandira ghimire setopati at langtang (12).jpg](https://www.setopati.com/uploads/editor/navadurga/mandira/mandira ghimire setopati at langtang/mandira ghimire setopati at langtang (12).jpg)
आमाको कान्छी छोरी पनि काठमाडौंबाट फर्किएकी रहिछन्। अन्य बालबच्चा भने विदेशमा रहेछन्।
आफ्नै छोरी उमेरका हामीलाई देखेपछि झनै आमा र बाले 'मेरो छोरीहरू जस्तै त हौं नि' भन्दै माया गरिरहनुभएको थियो। अनि तिब्बतियन लुगामा देख्दा 'कति राम्री देखिएको' भन्दा हामी फुरूङ्ग नहुने त कुरै भएन।
लुगा लगाएर चौरमा फोटो खिच्यौं। त्यही वरपर घुम्यौं। दसैं भएकाले चिज फ्याक्ट्री भने बन्द थियो। हिमालको काखमा बस्न पाउँदा मन गद्गद भइरहेको थियो। बेलुकी चिसो भएपछि आगो ताप्दै खाना खायौं। भोलिपल्ट ४ बजे निस्कने योजना बनाएर सुत्यौं।
![mandira ghimire setopati at langtang (20).jpg](https://www.setopati.com/uploads/editor/navadurga/mandira/mandira ghimire setopati at langtang/mandira ghimire setopati at langtang (20).jpg)
यात्राको चौथो दिन थियो।
होटलमा अघिल्लो दिन नै लसुनको सुप बनाइदिन भनेका थियौं। त्यो खायौं र अन्धमुष्टि अँध्यारोमा फोनको बत्ती बालेर सिरिगुरी पिक चढ्न लम्कियौं। हामीभन्दा अगाडि बत्ती बाल्दै हिँडेको केही झल्को देखिएको थिएन।
हिँड्दै गर्दा बीचमा त गलत बाटो हिँड्यौं कि भनेर दोधारमा पुग्यौं। किनकि लाङटाङ पदमार्गमा सूचना दिने बोर्डहरू एकदमै न्यून राखिएका थिए। जुन अन्य पदमार्ग जाँदा मैले अत्यधिक देखेको थिएँ।
लाङटाङ पदमार्गमा मानिसहरू हराउने गरेको समाचार त धेरैपटक पढेको थिएँ। त्यहाँ पुगेपछि बल्ल थाहा भयो; सूचनाका बोर्डहरू एकदमै न्यून हुँदा मानिसहरू अलमलिएर हराउने गर्दा रहेछन्।
केही अप्ठ्यारा ठाउँका ट्रेल झन् व्यवस्थित बनाएर व्यवस्थित बनाउनुपर्ने लगायत अन्य केही कुरामा स्थानीय सरकारको ध्यान नपुगेको पाएँ। पदयात्रालाई थप व्यवस्थित बनाउन यस्ता स-सना कुरामा सम्बन्धित निकायले जोड दिनुपर्ने मैले यात्राको दौरान देखेँ।
सिरिगुरी पिक जाने बाटो अलमलमा परेपछि त्यहीँको एकजना दाइलाई फोन गर्यौं। उहाँले बाटो बताइदिनुभयो। तर पनि फेरी खोलामा पुगेपछि अलमलियौं।
अब भने अन्य कोही आएपछि मात्रै उनीहरूसँग हिँड्ने निधो गर्यौं। नभन्दै केही समयमै लस्करै लाइट बालेर हिँड्दै गरेको दृश्य देखियो। नजिक आइपुगेपछि थाहा पाइयो, उनीहरू ८-१० जनाको समूह रहेछन्। उनीहरू पनि हामीझैं गलत बाटो हिँडियो कि भनी शंका गर्दै हिँडेका रहेछन्। धेरैजना भएपछि सहज महसुस भयो। हामीमध्ये कसैलाई थाहा नभएको हुँदा बाटो ठम्याउन गाह्रो भयो। तर पनि हिँड्यौं तर निष्टार अँध्यारोमा खोला तर्ने बाटो नै भेटिएन। आफैंले बाटो बनाएर खोला तर्दा ढुंगामा चिप्लिएर मसहित तीन जना बजारियौं।
खोलामा ज्याकेट, प्याइन्ट जुत्तामोजा पूरै भिज्यो। ठिहिर्याएका हातले भिजेका मोजा र पन्जा निचोरेर लगाएँ। अनि हिँड्यौं पुनः गलत बाटो अर्थात् ताना शर्माले घनघस्याको उकालोमा भनेजस्तै टोपी खस्ने उकालो।
![mandira ghimire setopati at langtang (18).jpg](https://www.setopati.com/uploads/editor/navadurga/mandira/mandira ghimire setopati at langtang/mandira ghimire setopati at langtang (18).jpg)
उज्यालो हुँदै गएपछि थाहा पायौं त्यो त गलत बाटो नै रहेछ भनी विश्वस्त भयौं। अनि सही बाटो हिँड्न अर्को डाँडातर्फ लाग्यौं।
जति माथि जाँदै थिएँ, भिजेको लुगा आइस बनेको थियो। लठ्ठीमा छिरेको पानी आइस बनेर जाम भयो। आइस बनेर जुत्ताका तुना बान्न मिलिरहेको थिएन। अर्कातर्फ ढुंगामा नराम्रोसँग बजारिँदा हिँड्न गाह्रो भइरहेको पीडा त यथावत् नै थियो।
जसोतसो गरी सिरिगुरी पिक जाने आधा बाटोभन्दा माथिसम्म पुगेँ। तर चरम दुखाइले हिँड्न कठिन भयो। लेकमा जोडबल गर्दा अर्को समस्या आउँला भनेर त्यहीँ हिमालको काखमा बस्दै वरिपरि देखिएको हिमाल हेरेँ। मनै प्रफुल्लित भयो, स्वर्ग भनेको यहीँ त होला। तर मन त्यतिमै के मान्थ्यो र! अर्कातिर मन खल्लो भइरहेको थियो, यति माथि आएर पनि पिक चढ्न सकिँन। मनमा त्यहीँबेला कुरा खेल्न थाल्यो- लेक लागेको भए अर्कै कुरा तर म चाहेर पनि हिँड्न सकिनँ। त्यहाँबाट देखिने सुन्दरता मैले छुटाएँ। अहिले पनि यो सोच्दा मन अमिलिन्छ, निराश हुन्छ।
![mandira ghimire setopati at langtang (6).jpg](https://www.setopati.com/uploads/editor/navadurga/mandira/mandira ghimire setopati at langtang/mandira ghimire setopati at langtang (6).jpg)
त्यहीँ चौरमा हिमालको न्यानो घाम तापेर केहीबेर आराम गरेँ। त्यहाँ मसहित तीन जना (दिपेश, गंगा) बसेका थियौं। दिपेशलाई भने सिरिगुरी चढ्दा चिनेका थियौं। लेक लागेर ऊ फर्किएको थियो। भोक लागिरहेको थियो। हाम्रो खाजाको झोला अगाडि हिँड्ने साथीसँग थियो। दिपेशले बोकेको केही खाजा खाएर होटल झर्यौं। तल झर्दा हामीले क्याङ्जिग्री पारि हिमपहिरो गएको दृश्य समेत देख्यौं। दिपेशको साथी कबिन र हाम्रो दुई साथीहरू भने माथि पिकसम्म नै पुगे।
होटलमा आराम गरेको केही घण्टामा दुवै साथी फर्किए। त्यस दिन अन्य दिनभन्दा थाकेका थियौं।
बेलुकी त्यहाँसम्म पुगेर कुनै पिकसम्म नपुगी फर्किंदा पछि रिग्रेट हुन्छ भन्ने मनोभाव साथीहरूलाई सुनाइरहेको थिएँ। घरिघरि एकै ठाउँमा आइन्न भन्ने लाग्यो र जसरी भए पनि क्यान्जिङ्ग्री पिक चढेरै तल झर्छु भन्दा विशालले भने उठाइरहेको थियो। तर जाने भए म पनि जाउँला भनेर अन्तिममा ढाडस दियो।
![mandira ghimire setopati at langtang (4).jpg](https://www.setopati.com/uploads/editor/navadurga/mandira/mandira ghimire setopati at langtang/mandira ghimire setopati at langtang (4).jpg)
यात्राको पाँचौं दिन।
म र विशाल क्यान्जिङ्ग्री पिक चढ्ने भयौं। मनिष, गंगा र अनिल भने तल झर्ने भए। पिक चढ्दा भेटिएको अनिल र हामी संयोगबस् एकै होटलमा रहेछौं।
बिहानै हिँडेर क्यान्जिङ्ग्री पिक चढ्यौं। मन एकदमै खुसी भयो। कमसेकम एउटा पिकसम्म त पुगेँ भन्ने अनुभूति भयो। अघिल्लो दिन सिरिगुरी पिक चढ्दा देखिएको दृश्य र त्यहाँबाट देखिएको दृश्यमा केही मात्र फरक थियो। प्रकृति नजिक हिमालको काखमा पुगेर पाएको अनुभूति शब्दमा त उतार्न कदापी सकिन्न। अनुभूति लिन त्यहाँ पुग्नै पर्छ, तस्बिर र भिडिओ हेरेर हुँदैन।
![mandira ghimire setopati at langtang (5).jpg](https://www.setopati.com/uploads/editor/navadurga/mandira/mandira ghimire setopati at langtang/mandira ghimire setopati at langtang (5).jpg)
बाटोमा ८० वर्षीय अमरिकन भेट्यौं। बढ्दो उमेरले श्वास फुल्दा पनि उनी आँट लिएर हिँडिरहेका थिए। उनी बेला बेला हामीलाई नेपालको सुन्दरताको बारेमा बताउँदै थिए त घरी उनले भेटेका नेपालीका व्यवहार। उनमा नेपाल घुम्ने जोश र आकांक्षा चरम थियो। उनीसँग हिँडेका गाइडसँग कुरा गर्दै हामी १२ बजेतिर तल झर्यौं।
ब्याक प्याक गरेर क्यान्जिङ गुम्बाको बाटो हुँदै लामा होटलतिर झर्यौं। बाटोमा विदेशीहरूले सानासाना दुई वर्षे बच्चाहरू ल्याएको देख्दा त झन् आङै सिरिङ्ग हुन्थ्यो।
![mandira ghimire setopati at langtang (2).jpg](https://www.setopati.com/uploads/editor/navadurga/mandira/mandira ghimire setopati at langtang/mandira ghimire setopati at langtang (2).jpg)
हामी टीकाको भोलिपल्ट तल झर्दै गर्दा माथि आउने पर्यटकको संख्या उल्लेख्यनीय थियो। त्यसमा नेपालीहरू अत्यधिक थिए। सायद सबै दसैंमा टीका लगाएर ट्रेकिङ आएका थिए।
यो यात्राको क्रममा ट्रेकिङ गाइड दाइहरूसँग कुरा गर्दा धेरै कुरा थाहा पाएको थिएँ। दाइहरूले पछिल्लो पाँच वर्षमा ट्रेकिङ जाने युवा पुस्ताको जमात एकदमै बढेको बताउनुभयो। कोरोनापछि आन्तरिक पर्यटन प्रवर्द्धन नभएको भए होटल व्यवसायीहरू बन्द हुने समेत बताउनुभयो। तर पनि अझै होटल व्यवसायीहरूले आन्तरिक पर्यटक र विदेशी पर्यटकलाई गर्ने सत्कार र व्यवहार फरक भएको तीतो यथार्थ बताउनुभयो। तर समग्रमा हेर्ने हो भने विदेशी पर्यटकले भन्दा आन्तरिक पर्यटकले धेरै खर्च गर्ने उहाँहरूले आकलन थियो।
बाटोमा सिरिगुरी पिक चढ्दाका साथी (दिपेश र कविन) लाई भेट्यौं र सँगै हिँड्यौं। लामा होटल पुग्दा साँझ परिसकेको थियो। ट्रेकिङ आउनेको संख्या बढेर होटलहरू सबै भरिभराउ थिए। बल्लबल्ल एक होटलमा एउटा टेन्ट भए पनि पायौं। अनि त्यही बस्यौं। बिहानै माथिबाट झेरका साथीहरू भने स्याब्रुबेँसी नै गएर बसे।
यात्राको छैटौं दिन।
बिहानै नास्ता गर्यौं। १० बजेपछि काठमाडौं जाने गाडी पाइँदैन भन्ने सुनेका थियौं। त्यसैले हतार हतार गर्दै गाडी भ्याउन चारै जना त्यहाँबाट निस्कियौं।
![mandira ghimire setopati at langtang (15).jpg](https://www.setopati.com/uploads/editor/navadurga/mandira/mandira ghimire setopati at langtang/mandira ghimire setopati at langtang (15).jpg)
लामा होटल कटेर टि-हाउस पुग्ने बाटोमा पहिरो गएको बाटो थियो। साथी विशाल अघि हिँड्दै थियो भने अर्को दुई जना पछिपछि आउँदै थिए। त्यही बेला थकाइ मार्न लौरोमा अढेस लाएर पहिरो हेर्दै थिएँ, मभन्दा केही अगाडि बिशाल थकाइ मारिरहेको थियो। माथिबाट ठूलो ढुंगा खस्दै गरेको देखिहालेँ। आङै सिरिङ्ग भयो।
चिच्चाएँ- 'माथिबाट ढुंगा खस्दै छ। विशाल हिँड।'
ऊ पर गइहाल्यो। धन्नले केही भएन भन्दै हामी खुसी भयौं। यदि नदेखेको भए त ऊमाथि नै ढुंगा बजारिन्थ्यो। बाटोमा सबैलाई पहिरोमा ढुंगा खसिरहेको हुँदा होश पुर्याएर हिँड्न सुझाव दियौं।
पहिरो पुगेपछि म र विशाल भने छुट्टियौं। ऊ गोसाइँकुण्ड गयो। म स्याब्रुबेँसीतिर लागेँ। अर्को दुई जना साथीहरू पछिपछि आउँदै थिए। सवा दश बजे स्याब्रुबेँसीबाट काठमाडौंको बस समाएँ। त्यसको केही समयपछि दुई जना साथी बसमै भेटियो अनि सँगै काठमाडौं आयौं।
![mandira ghimire setopati at langtang (3).jpg](https://www.setopati.com/uploads/editor/navadurga/mandira/mandira ghimire setopati at langtang/mandira ghimire setopati at langtang (3).jpg)
![mandira ghimire setopati at langtang (17).jpg](https://www.setopati.com/uploads/editor/navadurga/mandira/mandira ghimire setopati at langtang/mandira ghimire setopati at langtang (17).jpg)
![mandira ghimire setopati at langtang (10).jpg](https://www.setopati.com/uploads/editor/navadurga/mandira/mandira ghimire setopati at langtang/mandira ghimire setopati at langtang (10).jpg)
![mandira ghimire setopati at langtang (13).jpg](https://www.setopati.com/uploads/editor/navadurga/mandira/mandira ghimire setopati at langtang/mandira ghimire setopati at langtang (13).jpg)
![mandira ghimire setopati at langtang (11).jpg](https://www.setopati.com/uploads/editor/navadurga/mandira/mandira ghimire setopati at langtang/mandira ghimire setopati at langtang (11).jpg)
![mandira ghimire setopati at langtang (18).jpg](https://www.setopati.com/uploads/editor/navadurga/mandira/mandira ghimire setopati at langtang/mandira ghimire setopati at langtang (18).jpg)
![mandira ghimire setopati at langtang (15).jpg](https://www.setopati.com/uploads/editor/navadurga/mandira/mandira ghimire setopati at langtang/mandira ghimire setopati at langtang (15).jpg)
![mandira ghimire setopati at langtang (1).jpg](https://www.setopati.com/uploads/editor/navadurga/mandira/mandira ghimire setopati at langtang/mandira ghimire setopati at langtang (1).jpg)