बलम्बुदेखि हेलम्बुसम्म- भाग ५
देखिन्छ मेलम्ची खानेपानी आयोजनाको ढ्याम। निकट देखिएको पहाड रहस्यमयी लाग्छ। बत्ती जस्तो जिनिस जडित छ पहाडको भित्ताभित्तामा। लाग्छ सिसिटिभी क्यामेराले हामीलाई नियाल्दैछ। आँखा ठोकिन्छ दोबाटोमा। जकडिएको छ बाढीको भीषण प्रकोपमा एउटा भग्न घर।
लाग्छ माटोमा खाँदिएर बस्न बाध्य घर गुहार माग्दैछ हामीसँग। गेगर, ढुंगा र माटोले पुरिएको संरचनाले बाढीको कहर बताउँछ।
स्थानीय स्रष्टा पनि छन् साथै, भन्छन्, 'यो देखिएको त तेस्रो तलाको भाग हो। माटोमुनि अरू दुई तल्ला पुरिएको छ। अहिले हिँडेको बाटोभन्दा निकै तल थियो खोला।’
पुरिएको घरको झ्यालमा जान्छ आँखा। झ्यालमा देखिएको छ खाँदाखाँद भएर बसेको बाढीको अवशेष। आतंकित हुन्छ मन। उर्लिन्छ लेदो पानी। बग्दै आउँछ पहरा। बाढीमा दौडिरहेको ढुङ्गाहरूको आवाज चर्को सुनिन्छ। भत्किन्छ ढ्याम। ओइरिन्छ बाढी। काम गर्दै गरेका कामदारहरूको आतङ्कित हृदयको डरलाग्दो स्पन्दन सुन्छु। इन्जिनियरहरूको विवशता देख्छु। प्रकृतिको विरूपता देखेर अतालिएको अवस्था आँखामा उदाउँछ। भग्नावशेष भएको घरको झ्यालबाट हेर्न सक्दिनँ बाढीको त्यो कंकाल।
तर जीवन यात्रालाई धान्नै पर्छ। संघर्षको छाती लिएर पुनः काम गर्दैछन् युवाहरू। न त आँधीले छेक्छ न त बाढीले नै। मानवको बाँच्ने जीजिवीषाका कारण विनाशका अनेक अवशेषहरू छोपिँदैछन्। अतीतको दुःख पुरेर उक्लिन्छौँ जीवन प्रदायिनी जलधारातिर। फोटो सेसन चल्दै रहेछ। इन्जिनियहरू सुनाउँदैछन् मेलम्चीको कथा। पहिले निर्माण भएको ड्याम त पूरै पुरिएको रहेछ। यहाँनेर थियो भनेर देखाउन पनि हम्मेहम्मे पर्ने गरी। मूल सुरूङलाई अन्य छोटा सुरूङले जोडेको हुँदोरहेछ। एउटामा समस्या आयो भने अर्कोबाट सुरूङमा पानी पठाउन सकिने गरी। मेलम्ची खानेपानी आयोजना मुटुको भल्भ जसरी नै पो चल्दो रहेछ। पानी पठाउने अनेक जलनलीहरू।
पानीको अस्थायी बाँध नजिकै गएर स्पर्श गर्छु कञ्चन पानी। चिसो छ। अञ्जुलीमा लिएर मुख धुन्छु। पिउँछु। तृप्ती मिल्छ। पहराको भित्तोको भित्रबाट दगुरेको छ काठमाडौंको प्यास मेटाउन मेलम्चीको पानी। राति पानी परेको थियो। आकाशको पानीले थोरै बाँध भत्काएछ। केहीबेर हराउँछौं पानीको आवाजमा। रूपमा । शक्तिमा। सम्भावनामा। गतिशील पानी बडो सुन्दर लाग्छ। बग्नु कति मूल्यवान रहेछ। स्थिरताले नवीनता कहाँ ल्याउँछ र! जडताले कहाँ ऊर्जा दिन्थ्यो होला र! पानी नबग्दो हो त सायद हामी आज यहाँ यसरी नआउन पनि त सक्थ्यौँ! मेलम्ची बगेर नै परिचित भयो हामी माझ।
मेलम्चीदेखि काठमाडौंसम्म बगेको पानीको पहिचानले नै हामीलाई डोर्याएर यहाँसम्म ल्याएको छ। आँखाभरि मेलम्चीको ड्याम राखेर हामी पुनः फर्किएका छौं आफ्नो गन्तव्यतिर। आउँदा सँगै आउने साथीहरू छुट्टिए, को कता को कता भयौँ।
ज्याकेटको खल्तीमा ट्वाङ घण्टी बज्यो। हिजै लिएको थिएँ नेपाल टेलिकमको नेट, चौबिस घण्टे प्याकेज। नेटवर्क आएछ। हतार हतार सुभाष सरलाई फोन गरेँ। छोटकरीमा बताएँ 'मोबाइल अब बन्द हुन्छ। हामी सुरक्षित छौँ। राति पानी परेकोले बत्ती थिएन। नेटवर्क पनि बन्द थियो।’ बिना नेमकुल पनि मैले जसरी नै छोटकरीमा घरमा सन्देश पुर्याउनुहुन्छ।
कुरा गर्दै हिँडेका छौँ मेलम्चीको खोँचबाट। मनभरी प्रकृतिको चित्र कोरेर उँधोतिर लम्किएका छौँ। निकै तल आएपछि अप्सरा म्यामसँग जम्काभेट हुन्छ। मलाई देख्ने बित्तिकै भन्नुहुन्छ, 'बुनु मैले त ज्याकेट छोडेँ नि! ठाउँ पनि बिर्सिएँ जस्तो छ।’
त्यत्रो बाटो छिचोलेर आएको अब पुनः फर्किनु पर्ने भयो ढ्यामतिर। अप्सरा म्यामसँग फर्किन लागेकी छु। तलतिरबाट एउटा गाडी टुप्लुक्क आइपुग्यो। ड्यामतिर नै हिँड्नुभएका इन्जिनियरहरू चढेको गाडी रहेछ। सहयोग माग्यौँ। कम्तीमा जाँदा त छिट्टो पुगिने भयो। स्वागतमा गाडीको ढोका खुल्यो। गाडीमा चढेर मास्तिर लाग्यौँ। परिचयले काम आरम्भ हुँदै गयो। हामी यहाँ आउनुको कारण पनि बतायौँ। सरर उकालियौँ। ठूलो झरना नजिकै देखियो, त्यो जादूगरी ढुङ्गा, जहाँ अप्सरा म्यामले सामान छोड्नुभएको थियो। देखियो गाडीबाटै लुगा पनि। महोत्तरीकै रहेछन् प्रमुख इन्जिनियर। इन्जिनियरहरूसँग बिदा माग्दै धन्यवादमा शिरनत गरेर बिदा भयौँ। सामान टिपेर पुनः ओरालियौँ।
गफको लहरो तान्दैछौँ। सुनसान छ वरिपरिको वातावरण। अलि तल आएपछि रूख काट्दै गरेका स्थानीयहरू देखिन्छन्। छेउमा मोटरसाइकल रोकेर अत्याधुनिक मेसिनले रूख काट्दै गरेका। मोटा मोटा रूख निमेषभरमा टुक्रा टुक्रा भएका छन्। मन अत्तालिन्छ कतै यो मेसिन हामो घाँटीमा आएर नाच्यो भनेँ!’
डरको पाइला चाल्दै ओठ उज्यालो पारेर ती कामदारहरूलाई पछाडि पार्दै हिँडेका छौँ। तल आएपछि चेकपोष्टमा उभिएका सई इन्द्रेशकुमार सिंहसँग पुनः बाटोमै भेट भयो। निकै सहयोगी मान्छे। बिहानै पनि सहयोग गरेका। माथि ड्याम नजिकै बस्ने स्टाफहरूलाई फोन गरेर हामीलाई सहयोग गर्न आएका थिए। हामी पुग्नेबत्तिकै हामीलाई सहयोग गर्न ड्याम छेउमा आएका थिए इन्जिनियरहरू भाइहरू। पुनः भेट हुँदा धन्यवाद दिन कन्जुस्याइँ गरेनौँ। उहाँको बोली मलाई जनकपुरतिरकै जस्तो लागेर भनेँ, 'सरको घर जनकपुर हो?’
चौकीको पेटीमा हिँड्दै भन्नुभयो, 'अहिले त हेटौँडा हो?’
मैले पनि बोल्नुको तात्पर्य उजागर गरेँ , 'म त जनकपुरको मान्छे हजुरको बोली ठ्याक्कै जनकपुरतिरको जस्तो लागेर सोधेकी।’
मेरो कुरा सुनेर इन्द्रेस कुमार सिंह सर त बडो खुसी हुँदै भन्नुहुन्छ, 'बिहान भन्नु पर्दैन आफ्नै चेली पो आउनुभएको रहेछ। मेरो पुरानो घर त जनकपुर नै हो नि! त्यहीँ हुर्किएको। त्यहीँ पढेको, बढेको। आउनूस् चिया खाएर जानू होला अझ खाना नै यतै खानुपर्छ। आफ्ना चेलीबेटीलाई कहाँ पठाउनु खाली मुख।’
आत्मीयता प्रकट गरेको देखेर गद्गद् भएँ। भ्रातृत्वको अनुभव समेटेर खुसी व्यक्त गर्दै जनकपुरी दाइसँग बिदा मागेर हिँड्यौँ। दोबाटोमा छौँ। भएन त फसाद कुन बाटो जाने हो त! अलमल भयो। कोही छैनन् स्रष्टा पदयात्रीहरू। आउँदा दुई वटा बाटो भएर आएका थियौँ सायद खोलापारिबाट पनि पुगिएला भनेर हामी त खोलातिर पो लाग्यौँ।
अझ तल आएपछि पुनः देखियो दुई वटा बाटो। एउटा जङ्गलतिर अर्को खोलातिर। जङ्गल घना देखियो। अब भने हामीले खोलाको बाटो समात्यौं। हिँडेका छौँ बङ कि बङ। तर देखिँदैन घरहरू। देखिँदैन चैत्य र लुङ्दरहरू। मन हतासिन्छ कतै बाटो त भुलेनौँ! सोही बेला एउटा सुमो माथिबाट आउँदै रहेछ, हात दिन्छौँ। गाडी रोकिन्छ र अनुरोध गर्छौं, 'हामीलाई तल बजारसम्म लगिदिनू न! हामी त समूहबाट हरायौँ जस्तो छ। साथीहरू कुन बाटो जानुभयो थाहै भएन।’
तल कि माथि कता हो हाम्रो गन्तव्य थाहै छैन। तर पनि हाम्रो अनुरोधलाई स्वीकार्छन् ती सुमो चालक। सुमो ओरालोतिर हिँड्दै छ।
बाहिरको भूगोलले टोक्न थाल्यो। निकै तल पुगिसक्दा पनि देखिँदैन बिहान आफैले हिँडेको बजार। डरले मुटु काम्न थाल्यो। ला अब के गर्ने यति टाढा त थिएन बिहान आउँदा अनि भन्छौँ, 'भाइ हामी त हरायौँ जस्तो छ। यति तल त थिएन हामी बसेको ठाउँ। यो बाटो त हैन जस्तो छ।'
गाडीको झ्यालबाट देखिएको छ पहाडको काखमा फिँजारिएको मेलम्ची खोला। अग्लो पहाड छ, घना जङ्गल। गाउँबस्ती कतै छैन। हाम्रो अवस्था देखेर चालक भाइ भन्छन्, 'कुन गाउँमा बस्नु भएको थियो?’ अब त झन् हाम्रो कुबुद्धिको पर्दा उठ्यो हामीले त हेक्कै गरेनौँ हामी बसेको ठाउँको नाम पनि यसरी आवश्यक हुन्छ भनेर।’
मुटुमा डरको सर्पहरू मडारिन थाले।
'लौन थाहै छैन भाइ। हामी त आमायाङ्ग्री हिँडेका जङ्गलमा गाडी बिग्रेर नजिकैको गाउँमा बास बसेका थियौँ।’
अप्सरा म्याम हतारिँदै भन्नुहुन्छ, 'म त सरकारी वकिल हुँ।’
गोजीबाट फोन झिक्छु। ९ % चार्ज। मुटु फुटेर मुखबाट बाहिर निस्किन लागेको आभास हुन्छ।
चालक भन्छन्, 'तपाईंहरूलाई अपहरण पो गर्नुपर्छ कि क्या हो?’
मजाक गर्दा पनि मन आतङ्कित हुन्छ।
अनि हतारिँदै शीतल गिरी दाइलाई फोन गर्छु धन्न फोन त लाग्यो। आशको जून उदाउँछ र हतारिँदै भन्छु, 'शीतल दाइ हामी हरायौँ। हामी बसेको ठाउँको नाम के हो?’
शीतल दाइ सजिलै भन्नुहुन्छ, 'मलाई पनि थाहा छैन।’
डरको बाढी मेलम्चीको कहर बनेर उठ्दै छ। ओठ मुख प्याक प्याक सुक्दैछ।
चालक भाइ भन्छन्, 'नजिकै बसेका स्थानीयलाई सोध्नु भन्नु न! पुनः फोन लगाउँछु। शीतल दाइले फोन उठाउनुहुन्छ म सम्बोधन बिना नै भन्छु, 'दाइ स्थानीयलाई सोध्नु न हामी साँच्चै हराएका छौँ। मोबाइलमा ब्याट्री पनि जम्मा ७ % छ। अब मोबाइल पनि बन्द हुन्छ।’
शीतल दाइको बोली पनि बुझ्न नसक्ने अवस्था सिर्जना भएको छ। तेम्बु तेम्बु भनेको सुनेर चालक भाइको कानमा फोन टाँसिदिन्छु। चालक भाइ हाँस्दै भन्छन्, 'तिम्बु बसेको मान्छे किन यता आएको, यो बाटो त अब मेलम्ची बजारतिर जान्छ कि हिँड्नु मेलम्ची बजारतिरै। तपाईंहरूको गाडी पनि त यतै आउँछ।’
चालक भाइको कुरा सुनेर सात्तो जान्छ र अतालिँदै भन्छौँ- 'हैन भाइ हाम्रो सामानहरू उतै छ। गाडी रोकिदिनू। हामी झर्छौँ।’
चालक भन्छन्- तिम्बु त निकै टाढा छ त! हिँडेर जान सक्नुहुन्न बरू तल बजारमा गएपछि कुनै गाडी तिम्बुतिर जाला त्यसैमा फर्किनु होला।'
चालक भाइको कुरामा हामी विश्वास गर्न विवश छौँ। उत्तिनैबेला एउटा लोकल बस विपरीत दिशाबाट आउँदै रहेछ।
चालक भाइ भन्छन्, 'लु दिदीहरू भाग्यमानी हुनहुँदो रहेछ त्यो गाडी तिम्बु जान्छ।' हामी गाडीबाट झर्दै धन्यवादमा शिर झुकाएर लोकल गाडीमा उक्लिन्छौँ तर पनि डरको कमिलाले चिल्न छोडेको छैन। गाडी उकालियो मास्तिर।
हेर्छु अग्ला अग्ला पहाड। प्रकृतिको मोहनी रूपमा मन अडिएको छैन। बिहान जुन खुसी र आनन्द महसुस गरेकी थिएँ मलाई अहिले ती सबै कुरा निरर्थक लाग्दैछ। सबै कुरा उस्तै छ। प्रकृति उही हो, म उही हुँ तर मन आन्दोलित छ। अशान्त छ। म ठान्न पुग्छु सुन्दरता त शान्ति रहेछ। न प्रकृति, न प्रेम। शान्ति बिनाको प्रेम पनि पीडा नै हुनेरहेछ। प्रकृति पनि मनको शान्त तलाउमा मात्र सुन्दर प्रतिबिम्बित हुनेरहेछ। मन हल्लिएको बेला सुन्दर वस्तु कतै हराउँछ। चिन्ता र दुःख नै छचल्किँदो रहेछ। सुन्दर त शान्त मनको अवस्था मात्र रहेछ। हामी हरायौँ भने के गर्ने?, 'अप्सरा म्याम भन्नुहुन्छ- धन्दा नमान नानी! जसरी पनि म काठमाडौँ पुर्याउँछु। पैसा बोकेर हिँडेकी छु। झोला साथीहरूले ल्याइदिहाल्छन्। चिन्ता नगर।'
गाडीका मान्छेहरू पनि 'तिम्बु नै जान्छ यो गाडी’ भनेर हामीलाई सान्त्वना दिन्छन्। अप्सरा म्यामले सानो ब्याग धन्न बोकेर आउनुभएको रहेछ। मैले त एक पैसा पनि बोकेकी छैन। पर्स, झोला र पैसा तिम्बुमै छ। अप्सरा म्यामले ल्याएको काजु, बदाम, ओखर छ आहारा बनेको। गाडी जङ्गलतिर मोडियो।
अप्सरा म्यामलाई भन्छु 'मलाई त अझ डर लाग्दै छ यो गाडी पनि जान्छ कि जाँदैन। कुन दिशामा छ तिम्बु अनुमान गर्न पनि सकेकी छैन।' सिटको छेउमा बसेको मान्छे बोल्छन्, 'जान्छ जान्छ तिम्बु भएरै आमायाङ्ग्री जाने हो।'
गाडीबाट देखिन्छ बिहान घुमेको चैत्य। गाउँ। सडक। ट्राउट माछा हिँड्दै गरेको बगेको पानी। अचानक खुसी फर्किन्छ। ओठ हाँस्छ। हामी बसेको होटल अगाडि गाडी रोकिन्छ। हामी हराएको समाचार स्रष्टाहरूलाई ज्ञात भइसके छ। नीलो ओठ लिएर ब्याग झिकेर ल्याउँछौँ। सबैले चिया खाएर हामीलाई नै पर्खिएर बस्नुभएको रहेछ। डर पनि लाग्यो। गाली खाइन्छ कि भनेर तर कसैले पनि कराएनन् तर आफ्नै मनले सुझायो अबदेखि उपरान्त समूह छोडेर नहिँड्ने। हिँड्दा हिँड्दै बाटोमा आफ्नो सामान राखेर पनि नहिँड्ने। साथै आफू बसेको ठाउँको नाम, होटलको नामदेखि होटलवालाको नम्बर पनि डायरीमा टिपिहाल्ने। यात्रा सिकाइ पनि त रहेछ। कठिन गृहकार्य लाभदायक नै लाग्यो।
मन अमिलियो। यात्राको रूट परिवर्तन भए छ। राजेश्वरी गुफातिर जाने सपना पुनः स्थगित नै रह्यो। आमायाङ्ग्री जान नपाउने भयौँ गाडी फर्कियो किउलतिरै। अहिले बोल्न हाँस्न मन छैन। डरको भूतले लघारेको हृदय शिथिल भएको छ। केहीबेर आँखा बन्द गरेर स्वासको गतिलाई समात्ने कोसिस गर्छु।
घुम्ती, ओरालो भिरालो हुँदै हामी पीताम्बर भण्डारीको गाउँतिर लाग्यौँ।
अर्धकदको शालिक भएर पीताम्बर भण्डारी आफ्नो साहित्यिक समृद्धिमा मुस्कुराइरहेको भेट्छु। छोरा, छोरी, दाजुभाइ र श्रीमतीको मुहारमा गौरवशाली हाँसो देख्छु। भण्डारी मामालाई नजिकै गएर नमन गर्छु। हामी नेपालीहरूको थरमा पनि बडो अचम्मको चुम्बक हुनेरहेछ। भण्डारी मेरो मावलीको थर त्यसैले भण्डारी थरप्रति म आकर्षित भई त हालेँ। किउलका भण्डारीहरू मेरा मामा, माइजू जस्ता लाग्न थाले।
कवि पीताम्बर भण्डारीलाई साक्षी राखेर साहित्यिक भेटघाट र रचना वाचनको कार्यक्रम सम्पन्न गरेर हामी अगाडि बढ्दै छौँ। साहित्यप्रतिको अनुराग र साधनालाई समयको सीमामा बाँधेर कहाँ राख्न सकिन्छ र! कवि पीताम्बर भण्डारी किउलको वरपर संगीत बनेर आज पनि गुञ्जिएका रहेछन् भन्ने आभासले म भरिएँ। साहित्यको मूल्य बोध हुँदैगयो। धन सम्पत्ति त कति होलान् यहाँका स्थानीयबासीहरूसँग तर साहित्यको मूल्य र महक नै चिरस्थायी हुने रहेछ भन्ने ज्ञानले म मुस्कुराउँदै गएँ। साहित्य त अमर बीज रहेछ। साहित्यको बीज त समयले पुनः पुनः छर्दो रहेछ। हुर्काउँदो रहेछ।
हिजो खाना खाएको होटलतिर पैदल नै हिँडेर ओरालियौँ। खाना पाक्दै रहेछ। सिमसिम पानी परिरहेको छ। स्रष्टाहरू गफगाफमा खण्डित छन्। केहीबेरपछि कविता वाचनको कार्यक्रम आरम्भ भयो। मेरो मोबाइल बन्द भएको छ। रट्न नसके बानी। आफ्नो एउटा कविता पनि मुखाग्र छैन। गङ्गा सरलाई भन्छु, 'सर म कविता वाचन नगर्ने भएँ। मोबाइलमा छ कविता।'
अरूको रचना सुन्दा आनन्द आउँदै छ। विनोद मञ्जन सरको विचार सुनेर दंगिएको छु। कविताको उचाइ कस्तो हुन्छ। कालजयी कविताको जन्म र महत्त्व सुन्दैछु। प्रभावपूर्ण शैलीमा मञ्जन सरले कविता कस्तो लेखिनुपर्छ भन्दै अहिलेका धेरै कवितालाई म कवितै मान्दिनँ पनि भन्नुभयो।
पल्लो कुनामा बसेर बालकृष्ण सर मोबाइलमा केही लेख्दै हुनुहुन्छ। झट्ट सम्झिएँ निकै अगाडि सरलाई म्यासेन्जरमा एउटा कविता पठाएकी थिएँ 'विराटताभित्रको म’ लोभ पनि लाग्यो, बौद्धिक मान्छेको अगाडि आफ्नो पालोमा के चुपचाप लागेर बस्नु भनेर बालकृष्ण सरलाई सोध्छु, 'सर हजुरलाई मैले 'विराटताभित्रको म’ भन्ने कविता पठाएकी थिएँ। हजुरको म्यासेन्जरमा होला त?’ सरले पनि सम्झिनु भयो र हेर्नुभयो नभन्दै कविता रहेछ। अनि त्यही कविता वाचन गर्ने जानकारी गराएँ।
कविता वाचन र कविताले पुनः ताली खायो। खाना खाएर हामी लाग्यौँ अर्को गन्तव्यतिर। खाना निकै स्वादिलो रहेछ। थपी थपी खायौँ। दिउँसो फट्केश्वर महादेवस्थान मेलम्ची १२ मा अन्तिम चरणको कविता वाचन, देवी प्रसाद नेपाल सर र राम प्रसाद ज्ञवाली सरको सम्बोधनसँगै हाम्रो हेलम्बु यात्रा पूरा भयो। काठमाडौं फर्किने क्रममा गाडीमा विभिन्न गतिविधि गर्दै हाँस्दै गीत गाउँदै काठमाडौँ फिर्ती भयौँ ...
(अनिता कोइरालाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)