चैतको अन्तिम हप्ताको काठमाडौंको मौसम कहिले घाम, कहिले पानी त कहिले धुम्म भएर फेरबदल भैरहेको थियो। मौसम फेरबदलले केही हप्ता अघिदेखिको मुक्तिनाथ, कागबेनी हुँदै माथिल्लो मुस्ताङसम्मको यात्रा तालिकालाई नै अवरोध गर्ने हो कि भन्ने चिन्ताले मन पनि मौसम जस्तै फेरबदल–फेरबदल भैरहेको थियो।
चैत २३ गतेदेखि घरपरिवार र आफन्त सहितको ३१ जनाको टोली सात दिनको यात्रामा सहभागी हुने तयारीसँगै २२ गते बेलुकादेखि नै म सात दिनका लागि पुग्ने पोकापन्तरा मिलाउन व्यस्त बनेँ।
काठमाडौंबाट बिहानै यात्रा तय गर्ने भनेपछि त्यो रात कतै मस्त सुतिने पो हो कि! बिहानै निद्रा खुलेन भने! भन्ने जस्ता कूतुहल मनमा खेलेर पनि होला राम्रोसँग निन्द्रा परेन।
सायद यात्राको उत्सुकताले होला! २३ गते बिहान अरू दिनभन्दा निद्राले पनि छिट्टै छाड्यो। उठेर नित्यकर्म सकेपछि यात्राका क्रममा आवश्यक पर्ने कोही सामान छुट्ने पो हुन् कि भनेर एक पटक फेरि सबै जाँच गरेँ।
त्यतिबेलासम्म पूर्वतिरका डाँडा छिचोलेर घाम केही माथि आइसकेको थियो भने आकाश पनि सफा देखिएको थियो। बाहिर निस्किए खुलेको आकाश हेर्दा खुसीले मुहार घाम जस्तै उज्यालो बन्यो। सात दिनको यात्रा अझ त्यसमा पनि आफन्त र परिवासहित अप्पर मुस्ताङसम्म पुग्ने भनेपछि म त्यसैत्यसै उत्साहित बनेकी थिएँ। छोरा–बुहारीसँगसँगै यात्रा गर्ने भनेपछि ममी पनि फुरूङ्ग हुनुहुन्थ्यो।
हामी उठ्नु भन्दा पहिल्यै ममी यात्राका लागि तम्तयार भैसक्नु भएको थियो। यसो घडी हेरेको बिहानको ६ बजिसकेको रहेछ। हतार हतार गाडी चढ्ने ठाउँमा पुग्यौं।
ओहो! गाडीमा त मामा, माइजु, हजुरबुबा, हजुरआमा, सानुबुबा, सानुआमा, दिदी सबै आफन्त मात्रै। उहाँहरू सबैलाई गाडीमा देखेपछि म झन फुरूङ्ग भएँ।
३१ जना तीर्थयात्री सहित ३३ जनाको टोली कालीमाटी कलंकी, नागढुंगाको ओरालो हुँदै अघि बढ्यौँ।
सञ्चालनको पर्खाइमा बसेको र नेपालको आधुनिक विकासको कोशेढुंगा बनेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग छिचोल्दै हामी चढेको बस धादिङको गल्छी महेश दोभानमा अवस्थित अम्लेश्वर महादेव मन्दिर परिसर भित्र छिर्यो।
सबै जनालाई ओरालेर गाडी साहु (मंगल दाइ) डिक्कीबाट भाँडाकुँडा, ग्याँस–चुल्हो, चामलका बोरा र साग–सब्जी झिक्न थाल्नुभयो। एकछिन त म अलमलमा परेँ। पछि थाहा भयो। त्यही मन्दिर परिसरमा बिहानको खाना पकाउने र खाने तयारी रहेछ।
यात्रामा सहभागी कोही साग–सब्जी केलाउन थाले, कोही ग्याँस बालेर चिया पकाउन थाले, कोही चामल चौलिन थाले। यस्तो यात्रामा पहिलो पटक सहभागी म केहीबेर त छक्क परेँ। श्रीमानजी धेरै यात्रामा सहभागी भए पनि पहिलो पटकको यस्तो यात्राले फुरुङ्ग हुनुहुन्थ्यो। करिब एक घण्टामा खाना तयार भयो। सबै जनाले सामूहिक खाना खादाको रमाइलो वर्णन गरी साध्य भएन।
-1780752499.jpg)
मलाई त्यहाँको सामूहिक खाना खाने भन्दा पनि आफूले खाना खाएका थाल आफै बोकेर माझेको दृष्यले बढी तान्यो।
‘खाना खाएपछि त्यहीँ थालमा हात चुठेर हिँड्ने बानी परेकाहरू समेत थाल बोकेर धारासम्म पुगेको त्यो दृष्यले समानताको गतिलो सन्देश दिएको अनुभूति भयो’ भन्दै सानो मामाले पनि ठट्यौली गर्नुभयो।
अम्लेश्वर महादेव मन्दिर परिसरमा खाना खाएर मुग्लिनसम्म पुग्दा नयाँ बन्दै गरेको बाटो र खाल्डाखुल्डीका कारण उफारेर भोक लाग्ने अवस्था बन्यो।
करिब तीन वर्षअघि श्रीमानसँग स्कुटरमा पोखरा यात्रा गर्दा मुग्लिनदेखि पोखरा पुग्दा खाल्टाखुल्डी र धुलोले मनग्य हैरानी खेपेको घटनाले मेरो मानसपटलमा यो पटक पनि काठमाडौंसँग जोड्ने पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकको यात्रामा यस्तै हैरानी खेप्नु पर्ने हो कि भन्ने डर लागिरहेको थियो।
तर, जब हामी मुग्लिन कटेर पोखरातिरको यात्रामा लाग्यौँ। करिब ८८ किलोमिटर दूरीको यो सडक खण्ड आबुखैरेनी, डुम्रेहुँदै पोखरा पुग्न दुई घण्टा पनि लागेन। बसन्तको आगमनसँगै वरिपरिका हरियाली पाखा र फाँटहरूको बीचमा लमतन्न सुतेको पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकको यात्रा साँच्चिकै आनन्दमयी बन्यो।
हामी पोखरा पुग्दा घाम पश्चिम दिशातर्फ विलिन हुने तरखरमा थियो। पोखरा हुँदै यात्रा नेपालको चेरापुञ्जी भनेर चिनिने लुम्ले पुग्दा चैतको अन्तिम हप्तामा पनि हामीलाई चिसो हावा र वर्षातले राम्रैसँग स्वागत गर्यो। लुम्लेको माटो टेक्दै गर्दा सबै जना ‘मुटु छुने लुम्लेको हावाले,मनै छुने लजालु मायाले, पुनहिलैमा फूल जस्ती सोल्टिनी बस्यौ दिलैमा’ भन्ने लोकप्रिय गीतका गायक तिलक बम मल्लको गीत गुनगुनाउँदै नाच्न थाले।
लुम्लेको चिसो हावाले बेगसँग हानिरहेको थियो। पार्वती माइजुले झोलाबाट भुटेका मकै, भटमास, वदाम र गहुँ पसरीले झिकेर बाँड्न थाल्नुभयो। मकै, भटमास चपाउँदै नाच्दै गर्दा जाडो त्यसैत्यसै कम भएको अनुभूति भयो।
लुम्लेको चिसो छल्दै पर्वत र बागुलङको सीमा मालढुंगाहुँदै म्याग्दी यात्राका लागि हामी अघि बढ्यौँ। मलाई पर्वत हुँदै म्याग्दी जाने क्रममा जलजला गाउँपालिकाको माटो टेक्दै गर्दा कम्युनिष्ट नेता मोहनविक्रम सिंहको विशाल उपन्यास ‘जलजला’को याद आयो।
जब पर्वतको माटो छाडेर कालीगण्डकी नदी पार गर्दै म्याग्दीको माटो टेकियो त्यतिबेला मलाई प्राचीनकालमा चौबीसे राज्य पर्वतको राजधानी रहेका बखत भारत–भोट व्यापारको केन्द्रको रूपमा रहेको अनि कालीगण्डकी र म्याग्दी नदीको दोभानमा पर्ने त्रिकोणाकार बेनी बजारले म्याग्दीका कलाकार दम्पती मन छन्त्याल र टीकाबहादुर श्रेष्ठले सिर्जना गरेको ‘बेनीको बजार जता माया उतै छ नजर किरेमिरे जाले रूमाल’ गीत मानसपटलमा ताजा बन्यो।
-1780752499.jpg)
हामी म्याग्दी पुग्दा रातको करिब ९ बजेको थियो। म्याग्दीको डल्फिन होटल परिसरको खाली ठाउँमा खाना पकाएर खाएपछि हामी पहिलो रात त्यहिँ बस्यौँ।
भोलिपल्टको हाम्रो यात्रा तालिका अनुसार मुस्ताङको कागबेनी पुग्नुपर्ने थियो। हामी मुस्ताङ यात्राका लागि अघि बढ्यौँ।
बेनीबाट गलेश्वर, पोखरे बजार हुँदै स्वास्थ्य पर्यटनका रूपमा विकास भएको तातोपानी कुण्ड पुगिने रहेछ। तातोपानी कुण्डमा डुबुल्की मार्दै गर्दा शरीरमा स्फूर्तिको अनुभूति भयो।
तातोपानी कुण्डमा डुबुल्की मारेपछि हाम्रो यात्रा तितरगाउँ, नारच्याङ हुँदै बेनीबाट ३३ किलोमिटर टाढाको म्याग्दी रूप्से झरना पुग्यो। निलो आकाशमा देखिने थोप्लाथोप्ला बादलसँगै जोडिएको अग्लो पहाडबाट बेगले झरेको कञ्चन झरनामा टिकटक बनाउने, सेल्फी खिच्ने र रमाउनेहरूको भीड थियो। हामी त्यही भीडमा मिसियौँ र तस्बिर खिच्यौँ, टिकटक बनायौँ।
रूप्से झरनाको रमाइलोपछि हामी काभ्रे, घाँसा बजार, क्हैकु, मिङसि, ताङछार, लेते बजार, धुम्पु, छाक्ताङ, ताङछार, कोखेठाँटीहुँदै सुन्दर हिमाल निलगिरी र धौलागिरीको काख अनि काली गण्डकीको किनारामा अवस्थित शक्तिशाली कवि भूपि शेरचनको जन्मभूमि टुकुचे पुगियो।
मलाई त्यहाँ पुग्दा भूपिले लेखेका ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ लगायतका राष्ट्रियता अनि देशप्रेमले ओतप्रोत शक्तिशाली कविताका केही हरफको याद आयो– मैले ‘हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए’ भन्ने उनकै कविता गुनगुनाएर भूपिलाई सम्झिएँ।
त्यसपछि हामी टुकुचे हुँदै मुस्ताङको घरपझोङ गाउँपालिकामा अवस्थित ऐतिहासिक तथा सांस्कृतिक गाउँ मार्फा पुग्यौँ।
स्याउको राजधानीको परिचय बनाएको मार्फा पुग्दा वरिपरि देखिने कतै फुस्रा पहाड त कतै हिउँले डम्म ढाकिएका सेता पहाडले घेरिएको फाँटमा गुजुमुजु परेका घरहरू अनि पर्यटकको चहलपलले गुलजार बनेको थियो।
अलिक तल फाँटमा बसन्तको आगमनसँगै स्याउ र अन्य बोटबिरूवामा पलाएका पल्लवले मार्फालाई पल्लवी बनाएको थियो। त्यही गुलजार फाँटका स्याउका रूखमुनि आलु लगायतका खेतीहरूले हरियाली थपेको थियो भने अलिक तल कालीगण्डकी नदी शान्त स्वभावमा आफ्नै गतिमा बगिरहेकी थिइन्।
सेतो र रातो माटोले लिपेका घर अनि माटोकै छाना र छानामाथि राखिएको दाउराको थुप्रो लगाइएका एकनासका घरहरूले पनि मार्फाको आफ्नै परिचय दिएको अनुभूति भयो।
-1780752499.jpg)
मर्फाका गल्लीहरूमा शेर्पा पुरूष समुदाय र शेर्पा महिला समुदायले लगाउने वेशभूषामा सजिएर तस्बिर, भिडिओ खिच्ने र घुम्ने आन्तरिक र बाह्य पर्यटकको घुइँचो थियो। ‘जेरी’ गल्ली मार्फाको प्रख्यात गल्ली रहेछ। यो गल्ली जेरी चलचित्र छायाङ्कनपछि चर्चामा आएको रहेछ। त्यहाँका हरेक गल्लीको नामाकरण गरिएको रहेछ । हामीले रमणीय मार्फाको पदमार्ग र गल्लीमा करिब २ घण्टा बितायौँ।
यात्राको दोस्रो दिन मार्फा छाडेर जोमसोमको माटो टेक्दै गर्दा घाम अग्ला पहाडलाई माथि पारेर विलिन हुने तरखरमा थियो। रसिक शैलीका गुरुजी सुजन श्रेष्ठले नेपथ्यको आज भन्दा झण्डै ३२ वर्ष अघि नै चर्चामा आएको ‘जोमसोमै बजारमा, १२ बजे हावा सरर, ए हजुर घर हाम्रो पोखरा... ।’ बोलको गीत घन्काइदिए। हामी त्यहि गीतलाई रिमिक्स गर्दै ‘जोमसोमै बजारमा गोधूलिको हावा सरर, ए हजुर घर हाम्रो मुलपानी...’ भन्दै मगनमस्त भएर नाच्न थाल्यौँ। त्यो रात जोमसोमको चिसो हावा खाँदै त्यहाँबाट पनि १० किलोमिटर टाढाको कागवेनी पुगेर बास बस्यौँ।
भारतीय नाकाबन्दी अघिसम्म गुमनाम बनेको र त्यसपछि चर्चामा आएको उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको सडक आयोजना (बेनी–जोमसोम–कोरला सडक) मध्ये बेनी सोमसोम हुँदै कागबेनीसम्मको करिब ९० किलोमिटर सडक कालोपत्रे भए पनि कागबेनीबाट बाँकी झण्डै १ सय किलोमिटर भने ग्राभेल सडकबाट यात्रा गर्दै हामी तेस्रो दिन यात्रा ४६६० मिटरको उचाइमा रहेको कोरला नाकासम्मका लागि अघि बढ्यौँ।
कागबेनीबाट रेगिस्तान अर्थात मरूभूमि जस्तो पठार र फुस्रे डाँडाहरू छिचोल्दै छुसाङ, समर हुँदै उकालो लाग्दै गर्दा मरूभूमिको झल्को दिने अग्ला फुस्रा पहाड, बालुवा, माटो र चट्टानतिर देखाउँदै माइजु पार्वताले ‘नेताहरूलाई जेल होइन यो मरूभूमिमा ल्याएर खेती गर्न लगाउनुपर्ने’ भन्दै व्यङ्ग्य गर्नुभयो भने कान्छा मामा विनोद लामिछानेले पनि ‘नेतासँगै सुकुम्बासीहरूलाई पनि यहाँ ल्याएर यहाँको मौसम अनुसारको खेतीपाती गर्न लगाउने हो भने देश बन्ने थियो’ भन्दै ठट्यौली गर्नुभयो।
समर छाड्दै हाम्रो यात्रा घमीडाँडा, चराङ हुँदै ३८ सय मिटर उचाइमा अवस्थित अन्नपूर्ण र धौलागिरी हिमशृंखलाको बीचमा अवस्थित विशालकाय पठार लोमाङथाङ पुग्यो।
१३ औँ शताब्दीमा लो राज्यको स्थापनासँगै त्यसैको राजधानीको परिचय बनाएको लोमान्थाङ पुग्दा विस्तारै हिउँ फुसफुसाउँदै थियो भने अन्नपूर्ण र धौलागिरी हिमशृंखला नजिकैका सुख्खा पहाडहरू सेता हिमाल, निलो आकाश र केही थोप्ला वादलको काखमा सुन्दर दृष्य बनेर उभिरहेका थिए। हामी कोरला नाका पुगेर फर्किँदा १५ औँ शताब्दीतिर निर्माण भएका मोन्खर दरवार, थुप्तेन गुम्बा, छयोदेन गुम्वा, झयाम्पाल गुम्बाहरु अवलोकन गर्ने भन्दै लोमाङथाङबाट अघि बढ्यौँ।
हामी लोमाङथाङबाट जतिजति उकालो लाग्दै गयौँ। त्यतित्यति हिमपात पनि बढ्दै जान थाल्यो। नेचुङमा केही चेकजाँचपछि हामी अघि बढ्यौँ। नेपाल र चीनको सीमानाका कोरला पुग्नु भन्दा करिब १० किलोमिटर तलदेखि नै हिउँले सडक छोपिसकेको थियो। तर, जसरी पनि कोरला नाकासम्म पुग्ने हाम्रो रहरलाई युवा गुरूजी सुजनले अदम्य आँटसहित हिउँ छिचोल्दै गाडीलाई उकालो चढाउँदै लगे।
-1780752499.jpg)
हिउँ नै हिउँको बाटो हुँदै हिमाली मरूभूमिको समथर फाँटमा रहेको कोरला नाका पुगियो। २०२९ सालमा गाडिएको ‘नेपाल’ लेखिएको २४ नम्बरको पिलर नेपालतर्फको प्रतिष्ठा बनेर ठिङ्ग उभिएको थियो। एकातिर हेलिकप्टर अवतरण गर्ने बेलामा त्यसका पखेँटाले मिल्काएको भन्दा शक्तिशाली हावाले हामीलाई त्यही समथर फाँटमा ढाल्दा जस्तो भैरहेको थियो भने अर्कोतर्फ भारी हिमपातका कारण सबैको शरीरका कपडा सेताम्य भएका थिए।
गाडीबाट ओर्लिने बित्तिकै थामिनसक्नुको सिरेटोले स्वासप्रस्वासमा केही कठिन भैरहेको थियो। तर, हिउँले कठ्याङग्रिएको मेरो शरीरमा भरिएको त्यो ऊर्जाका सामू अरू सबै कुरा फितला भए। नेपाल लेखिएको २४ नम्बर पिलरलाई समीपमा राखेर तस्बिर खिच्दा मलाई सगरमाथाको थाप्लोमा पुगेर नेपाली झण्डा फहराएको जस्तो खुसीको अनुभूति भयो।
७० को वय कट्नु भएकी सामुममी (आमा) मात्रै होइन सानुममी (मिना ढकाल), सानोबुबा (प्रदीप ढकाल) मामाहरू र दिदीसहित केहीबेर पालैपालो त्यही पिलरमा तस्बिर खिच्दै मस्त रमाइलो गर्यौं। अरूलाई खासै केही नभए पनि हजुरबुबा (अभिमन्यू लामिछाने) र पार्वता माइजूलाई लेक लागेर निकै कठिन भयो।
श्रीमानजीले पनि पिलरबाट चीनको सिमानातिर बनेका दर्जनौं भव्य प्रशासनिक भवन र भौतिक संरचनाहरूको भिडिओ र तस्बिर खिच्नुभयो। पिलर पारिका भीमकाय संरचना अनि पिलर वारि ठेला र त्रिपालमुनि बसेर व्यापार व्यवसाय चलाउन बाध्य स्थानीयको अवस्था देख्दा मलाई नेपालले गर्न अझै धेरै बाँकी रहेछ भन्ने लाग्यो।
हामी करिब २० मिनेट जति त्यहाँ बस्दा समेत खाजानास्ता खाने, शौचालय जाने लगायतका समस्या भएको सहज अनुमान लगाउन सकिन्थ्यो। छिमेकमा सुविधाजनक पूर्वाधार थिए। तर, नेपालतिरको भूमिमा भने शौचालय पनि हिउँ परेका बेला हिउँका थुप्रामा छेलिएर बस्नु पर्ने बाध्यता देख्दा मन खल्लो भयो।
श्रीमानजीले सुरक्षाकर्मीहरूलाई शौचालयका लागि सोध्दा ‘यो नेपालको भूमि हो हजुरहरूले अलिक पर हिउँले छेलिएर शौचालय जानुहोला’ भनी दिएको जबाफले कोरला नाकाको नेपालतर्फको दयनीय अवस्थालाई झल्काउँथ्यो।
करिब २० मिनेटको बसाइँपछि कोरला नाकाबाट लोमाङथाङ जति ओलालो झर्दै गयौँ। त्यति नै केही घण्टाअघि मात्रै कोरला नाकातिर उक्लिँदा देखिएका फुस्रा पहाडहरू हिउँ पहाडमा परिणत हुँदै गएका थिए। किमलिङ, छोसेर, नम्डोक हुँदै ओलारो झर्दा बाक्लो हिमपातले वरिपरिका डाँडा मात्रै होइन कच्ची सडक पनि सेताम्य भएको थियो। त्यही सेताम्य सडकमा च्याङग्राका बथान उकालो लागिरहेको रोमाञ्चक दृष्यले मलाई बेस्सरी तान्यो। गुरूजीलाई एकछिन गाडी रोक्न लगाएर म र श्रीमान केहीबेर हिउँमय बाटोमा ती च्याङ्ग्राका बथानको तस्बिर र भिडिओ खिच्यौँ।
हिउँसँगैको वर्षा झन्झन् बढ्दो क्रममा थियो। फर्किँदा लोमाङथाङका गुम्बा र दरबारहरू अवलोकन गर्ने भने पनि हिउँ र वर्षाले त्यो अवसर गुमाइदियो। जतिसक्दो छिटो कागबेनी पुग्नुपर्ने र ढिला गरियो भने हिउँमै बास हुने डर मंगल दाइले देखाएपछि हामी पनि लोमाङथाङमा नअलमलिने निधोमा पुग्यौँ। लो–घेकर दामोदर कुण्ड गाउँपालिकाको चराङ आइपुग्दा दिउँसोको करिब चार बजेको थियो होला। त्यहाँ आइपुग्दा हिउँ केही रोकिएको थियो भने थोरै घाम त्यहाँ आएपछि मात्रै देखियो। चराङमा चाउचाउ उमाल्न लगाएर चाउचाउको झोल पिएपछि चिसोले कापेको मुटु पनि ठिक ठाउँमा आए जस्तो भयो।
-1780752498.jpg)
चराङपछिको यात्रा भने हाम्रा लागि निकै कठिन र अत्यासलाग्दो भयो। हामी कोरला जाँदा देखिने फुस्रा डाँडाहरू फर्केर घमीडाँडा आइपुग्दा बाक्लो हिँउले डम्म ढाकिएका थिए। घमीडाँडासम्म आउँदा पनि हामी हिउँ खेल्न पाएर रमाइरहेका थियौँ। तर, जब दिन ढल्किँदै र गोधूलि हुर्किँदै थियो। हामी चढेको गाडी सहितको लावालस्कर हिउँमा फसेपछि भने मनमा केही चिन्ता बढ्न थाल्यो।
गुरूजी सुजन पनि केहीबेर त गाडीबाट ओर्लिए हिउँ खेल्दै रमाउँदै थिए। एउटै यात्रामा बिहान मरूभूमि र दिउँसो हिउँ यात्राको दुई फरक अनुभव लिने भाग्यमानी भएको भन्दै हामीलाई हौस्याइरहेका थिए। तर, गाडी लामो समय घमीडाँडाको हिउँमा फसेपछि मंगल दाइ पनि समयमा कागबेनी नपुगिने हो कि भनेर अतालिन थाल्नुभयो। करिब डेढ घण्टा जति घमीडाँडामा फसेपछि डोजरले हिउँ पन्छाएपछि हामीले केही राहतको अनुभूति गर्यौं। घमीदेखि करिब १७ किलोमिटरको हिउँमय यात्रामा पुगिने समरसम्म ठाउँठाउँमा फस्ने निश्चित जस्तै थियो।
त्यसैले हाम्रा लागि सहारा भनेकै स्थानीय टासी धुन्दुक गुरूङ दाइको डोजर बन्यो। हामी घमीको डाँडा कटेर ओरालो झर्दै गर्दा त्यही हिउँमा फसेका ठूला गाडी मात्रै होइन स्कुटर र मोटरसाइकलमा यात्रा गरिरहेका यात्रुहरूको कन्तविजोग वर्णन गरी साध्य थिएन।
टासी दाइको डोजर अघिअघि हामीपछि थियौँ। स्याङबोचेन पुगेपछि टासी दाइ र डोजरका ड्राइभरले हिउँले पुरिएको एउटा छाप्रोमा लगेर डोजर रोक्नुभयो। त्यहाँबाट समर पुग्न अझै निकै बाँकी थियो। एकातिर छिप्पिँदोरात, अर्कोतिर गाडीमा वृद्धवृद्धा अनि बाहिर निस्किँदा मुटु नै बरफ बन्ने चिसो। यी सबै हतासले गाडीभित्रै सन्नाटा छाउन थाल्यो। कोरला नाका पुग्दासम्म फूर्ति देखिने मेरो छेउमा बस्नु भएकी सासूआमा स्याङबोचेन कटेपछि भने चिसोले बिरामी बन्न थाल्नुभयो। पछाडि सिटमा बस्नु भएका ७० कट्नु भएका हजुरबुवा हजुरआमाहरू पनि बिरामी पर्न थाल्नुभयो।
स्याङ्बोचेनको छाप्रोमा छिरेको डोजर अनाउने हो कि भन्ने चिन्ताले मन थप बेचैन बनिरहेको थियो। मंगल दाइले कागबेनीको होटल सिग्माकी साहुनी (बुहारी) माया गुरूङ ठकुरीलाई फोन गरेर डोजरको अवस्थाबारे बुझ्न लगाउनुभयो। मायाले एकैछिनमा फोन गरेर टासी दाइ र ड्राइभरहरू स्याङबोचेनमा चाउचाउको सुप पिएर करिब २० मिनेटपछि आउने जानकारी दिनुभयो। त्यसपछि मन केही आनन्दित भयो। नभन्दै करिब २० मिनेटमै हामीलाई उछिन्दै डोजर अघि बढेपछि अँध्यारो सुरूङमा फसेका बेला देखिएको उज्यालो जस्तो लाग्यो। त्यतिबेलासम्म रातको करिब १०–११ बजिसकेको थियो। हाम्रा लागि टासी दाइको डोजर र डोजर ड्राइभर भगवान जस्तो लाग्यो।
-1780752498.jpg)
एउटा स्थानीयले देखाएको त्यो मानवीय सेवा हाम्रा लागि अतुलनीय सेवा बनिदियो। घमी डाँडादेखि समरसम्मको त्यो यात्रामा टासी दाइ भगवान बनेर नआउनु भएको भए र उहाँले मानवताको हिसाबले सहयोग नगरेको भए हामीले भोलिपल्ट बिहानसम्म के–के भुक्तमान खेप्नु पर्ने थियो होला भन्ने कल्पना गर्दा अहिले पनि मन चिसो बनेर आउँछ। एउटा किसानको छोराले गरेको त्यो तहको मानवीय सेवा त्यो दिन अप्पर मुस्ताङबाट फर्किने सयौंका लागि स्तुत्य थियो।
त्यो कहालीलाग्दो यात्रा पार गर्दै कागबेनी आइपुग्दा बिहानको ३ बजेको थियो। बिहान ३ बजेसम्म पर्खिएर कागबेनीको सिग्मा होटल आइपुग्दा माया गुरूङ ठकुरीले मिठो खाना तयार गर्नुभएको रहेछ। अत्यासलाग्दो यात्रा पार गरेर कागबेनी आइपुगेका हामीलाई शान्त स्वभावमा उहाँले हामीलाई पर्खिएर खाना खुवाउँदा गज्जबको आतिथ्यको अनुभूति भयो।
यात्रा र तनावले थाकेको शरीर त्यो रात टाउकोले सिरानी छुने बित्तिकै निदाइएछ। भोलिपल्ट बिहानै कालीगण्डकी नदीको किनारमा दिवङ्गत पितृहरूको श्राद्ध गरेर ११ किलोमिटर माथि रहेको मुक्तिनाथ दर्शनका लागि अघि बढ्यौँ।
पहिलो पटक मुक्तिनाथको दर्शन गर्ने रहरले मन पुलकित भएको थियो। यात्राकै क्रममा घाइते हुनुभएकी अप्सरा सापकोटा (माइजु) बाध्यताले डोली चढेर मुक्तिनाथ पुग्नुभयो भने हामी अरू सबै हिँडेरै पुगियो। १ सय ८ धारमा नुहाउने, कुण्डमा डुबुल्की मार्ने र मुक्तिनाथको दर्शन गर्न पाउँदा मन थप आनन्दित भयो। मुक्तिनाथ पुग्दा लेक लागेर सानुममी बिरामी परेपछि केही समय अक्सिजन दिनुपर्ने भयो। मलाई पनि केही मुस्किल होला जस्तो भएपछि हामी छिटोछिटो लत झर्यौं।
हामी मुक्तिनाथको दर्शन गरेर फर्किँदा मंगल दाइले खाना तयार गर्नुभएको रहेछ। सिग्मा होटलकी साहुनी कर्मा छेटु ठकुरी (आमा) को होटलमा हामीले दुई रात बितायौँ। उहाँहरूले गरेको आतिथ्यबाट प्रभावित भएका हामीले आमा कर्मा र बुहारी मायालाई धन्यवाद दिँदै कागबेनीमै खाना खाएर जोमसोम हुँदै त्यहाँबाट २६ किलोमिटर टाढा रहेको मुस्ताङकै लेतेमा यात्राको चौथो रात बितायौँ।
भोलिपल्ट गलेश्वर धाम, बागलुङ कालिका, बागलुङकै पञ्चनारायण मन्दिरको दर्शन गर्दै पर्वत पुगेर पाँचौं रात बितायौँ।
भोलिपल्ट पर्वत र बागलुङ जोड्ने १५६ मिटर अग्लो र ३४७ मिटर लामो झोलुङ्गे पुलमा तस्बिर, भिडिओ खिचेर पोखरातिरको यात्रामा लाग्यौँ।
यात्रामा सँगै रहनु भएका मामाहरूकै छिमेकी मामाहरू कृष्ण खतिवडा, राजाराम थापा लगायतको परिवार सहित हामीले छैटौं दिन पोखराको ताल बाराही मन्दिर, पुम्दीकोट लगायतका धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन भ्रमण गरियो र छैँटो रात पोखरामै बिताइयो। सातौँ दिन भने हामी तनहुँको छाब्दी बाराही मन्दिरको दर्शन गर्दै रोमाञ्चक र अद्भूत तीर्थाटनको अनुभवसहित काठमाडौँ फर्कियौँ।
-1780752498.jpg)
-1780752498.jpg)
-1780752498.jpg)