भ्यानकुभरको हामी चार जनाको यो छोटो यात्रा सकिँदै थियो। राम, राज, राजुले उनीहरूलाई कोठामा छोडेर हिँडेको दिदी खोज्न सहयोगको लागि गरेको आग्रहका वाक्यहरू, अनि उनीहरू तीन जनाको भाग्यले डोराएको जीवन यात्राले भने मलाई घरिघरि पिरलिरहन्थ्यो।
तर फेरि जब उनीहरूको त्यो खुसी, त्यो अट्टाहास पूर्ण हाँसो मेरो मानसपटलमा परेड खेल्थ्यो तब आनन्दको महसुस हुन्थ्यो।
जीवन न हो, न सोचे जस्तो, न खोजे जस्तो, न रोजे जस्तो। समय र भाग्यले डोराएको बाटोमा जीवनलाई अघि बढाउनु र त्यसमै रमाउन सक्नु नै जीवनको सार्थकता हुनुपर्छ।
म उनीहरूको भित्री अन्तस्करणमा छिर्न सक्ने र महसुस गर्न सक्ने क्षमता भएको मानिस त होइन तर उनीहरूसँगको २ घन्टाको त्यो बसाइँमा मैले जे महसुस गरेँ त्यो थियो उनीहरू साँच्चै नै रमाइरहेका थिए, खुसी थिए। भाग्यले डोर्याएको जीवनको मज्जा लिइरहेको देखेँ।
-1766823757.jpeg)
भोलि बिहान ७ बजे भ्यानकुभरमा अध्ययन गरिरहेकी अनितालाई भेट्ने कार्यक्रम थियो।
रसुवा जिल्लाकी अनितालाई मैले काठमाडौंमा राखेर १ कक्षादेखि पढाएको थिएँ।
हामी आएको थाहा पाएर अनिताले फेसबुकमार्फत जसरी नि भेट्छु ड्याडी भनेर म्यासेस पठाएकी थिइन्।
अनिताको जन्मदिने ड्याडी त म होइन तर अनिता मलाई ड्याडी र मेरी श्रीमतीलाई मम्मी नै भनेर सम्बोधन गर्छिन्। अनिता भ्यानकुभरमा उच्च शिक्षाको लागि आएको झण्डै १ वर्ष भएको थियो।
हामी ५ बजे बिहान ब्युँझिसकेका थियौं। अनिता ठिक समयमै हाम्रो होटलको रूम ढक्ढकाउन पुगिन्। मैले ढोका खोलेँ बिचरी अनिता पहिलाभन्दा दुब्लाएकी, उसै त सानो ज्यान एकमुठीको शरीर लिएर उनी हाम्रो होटलको रूपमा छिरिन्।
अंगालो हालेँ अनि पाखुरीमा समातेर ‘अनिता तिमी त दुब्लाएछौ?’ यो मेरो पहिलो प्रश्न थियो।
‘यस्तै छ ड्याडी, काम गर्नुपर्यो, पढ्नु न छ, खानाको नि ठेगान छैन।’ हाँसी रहने अनिताले मुसुक्क हाँसेको यी पंक्ती लेख्दा पनि मलाई एहसास भैरहेछ।
‘एकछिन बस्दै गर। हामी लगेज रेडी गर्छौं।’
‘हस् ड्याडी।’
अनिताले पनि हाम्रो लगेज बाहिर निकाल्न सहयोग गर्न थालिन्। हामी सबै लगेज सहित होटलबाट चेक आउट गर्यौं। होटलको लगेज स्टोर रूपमा लगेज राखिदिन अनुरोध गर्यौं र बिहानको खाजाको लागि बाहिर निस्कियौं।
‘अनिता के खान मन छ भन त आज तिम्रो रोजाइको खाने हो हामी सबै’
मेरो प्रश्न नसकिँदै मुसुक्क हाँस्दै, ‘जे भए नि हुन्छ।’ अनिताको उत्तर थियो।
‘तै पनि, पिज्जा खाने’ मन छ र तिमीलाई?
मुसुक्क हाँस्दै अनिताले जबाफ फकाईन् ‘हुन्छ ड्याडी।’
पहिला काठमाडौंमा हुँदा उनीहरूको रोजाइ हुन्थ्यो पिज्जा, मम। मम त पाइँदैन थियो हामी बसेको एरियामा, त्यही भएर मैले पिज्जा भनेर सम्झाएको थिएँ।
हामी नजिकैको रेष्टरेण्टमा पिज्जा अर्डर गर्यौं। हामी सबैले पिज्जासँगै लियौं र फोटोहरू खिच्यौं।
अनिताले हातमा बोकेको सानो झोला दिँदै ‘ड्याडी पैसा छैन। केही दिन सकिनँ। यो चकलेट भने भाइबहिनीहरूलाई दिनुस् है। अनि अर्को चोटि आउँदा भने म खुवाउँछु तपाईंहरूलाई पिज्जा है। सरी ड्याडी।’
अनिताको प्रत्येक शब्दले मलाई गिज्जाइरहेको थियो। मलाई होच्याइरहेको थियो। के गर्ने आफ्नो भविष्य खोज्दै, कर्म खोज्दै यसरी बिरानो ठाउँमा आफ्नो जीवन समर्पित गर्नुपर्ने हामी नेपालीहरूको नियति सम्झिएर।
-1766823757.jpeg)
‘केही छैन अनिता, भेटियो नि त्यही राम्रो भयो। अनि खाजा खुवाउने पहिलो अधिकार त ड्याडीको हो नि, होइन र? अर्को भेटमा नि म खुवाउँछु।’
अनिताको त्यो हाँसोले 'हुन्छ' भनेको महसुस गरेँ। हामीले अनितालाई बिदा गर्यौं।
‘ल अनिता विस्तारै जाऊ। पैसा छ नि बस भाडा तिर्ने?’
‘छ ड्याडी। ल बाई।’
रसुवाको गरिब परिवारमा हुर्केको अनिताको परिवारले पढाउने अवस्था नहुँदा मैले काठमाडौंमा राखेर पढाएको थिएँ। नासा कलेजको संस्थापक अध्यक्ष रोटरियन प्रकाश थापाले उनको कलेजमा धेरै सहुलियतमा टेन प्लस टुको अध्ययनमा सहयोग गरेका थिए।
विदेश जाने, पढ्ने अनि परिवारलाई सहयोग गर्ने उनको चाहना थियो। हामी सबैको सहयोगले अन्तत: विकट रसुवाको उनी क्यानडा जस्तो देशमा पुगिन् र संघर्ष गरिरहेकी छन्। जब उनले अर्को भेटमा पिज्जा खुवाउने बाचा गरिन् मेरो लागि यो आफैमा गौरव थियो। जीवनको सार्थकता बाँच्नुसँगै आफ्नो सहयोगले कसैको अनुहारमा बग्ने हाँसो देख्नु हो। अनितासँगको एक घन्टाको बसाइँमा उनको प्रत्येक क्षणको हाँसो मैले हाँसेभन्दा बढी थियो मेरा लागि।
आज हाम्रो भ्यानकुभरबाट टोरन्टोको हवाई जहाजको यात्रा थियो। ५ बजे साँझको उडानको लागि कम्तीमा २ घण्टा अगाडि विमानस्थल पुग्नु सहज हुन्छ। जिउ नथाकेको भने होइन तर मन कसरी थाक्थ्यो र? के थाहा फेरि अर्को यात्रा यसरी नै होला कि नहोला?
हामीसँग समय थियो दुई घन्टा जति त्यो समयको सदुपयोग गर्ने विचारले हामी नजिकै रहेको पर्यटक गन्तव्य साइन्स वर्ल्डतिर अगाडि बढ्यौं।
भ्यानकुभरको साइन्स वर्ल्ड क्यानडाको भ्यानकुभर सहरको फाल्स क्रिक ( False Creek) किनारमा अवस्थित विज्ञान–केन्द्रित शैक्षिक तथा मनोरञ्जन स्थल हो। यहाँ मुख्यतय: विद्यार्थीहरू र विज्ञानका जिज्ञासुहरू बढी आउने र विज्ञानका ज्ञानहरू लिने गर्दा रहेछन्। विशाल ज्योडेसिक गजुरले सजिएको भव्य यो भवनभित्र विज्ञान, प्रविधि, अन्तरिक्ष, मानव शरीर, ध्वनि, प्रकाश, ऊर्जा लगायतका विषयहरूमा इन्टर्याक्टिभ मोडेल र प्रयोगहरूको अवलोकन गर्न सकिन्छ।
नियमित रूपमा हुने वैज्ञानिक शो, थ्रिडी चलचित्र, विशेष प्रदर्शनी र कार्यशालाले यसलाई अझ आकर्षक बनाउँदो रहेछ। तपाईंहरू पनि भ्यानकुभर घुम्न जाँदै हुनुहुन्छ र विज्ञानमा चासो राख्नु हुन्छ भने यो स्थान राम्रो हुन सक्छ। तर समयको अभावले भने हामीले त्यहाँको थ्रिडी शो भने हेनै सकेनौं। थ्रिडी सो यहाँको अर्को अद्भुत आकर्षण हो।
साइन्स वर्ल्डको यो यात्रा संस्मरण लेखिरहँदा साइकलमा कुदिरहेको एक जना क्यानडियन युवाको यादले बेस्करी सतायो। हामीले अनितालाई बिदा गरेको ठाउँबाट झण्डै १५ मिनेट मात्र टाढा गुगलले देखाएको थियो साइन्स वर्ल्ड। हामी गुगलले देखाएको बाटो हिँडिरहेका थियौं।
यो बाटो भने फल्स क्रिकको किनारा किनारै थियो। साइन्स वर्ल्ड आफैमा फाल्स क्रिकको किनारामा अवस्थित। फाल्स क्रिक क्यानडाको भ्यानकुभर सहरको मुटुमा रहेको एक खाडी जसले भ्यानकुभरको मुख्य सहरी एरिया डाउन टाउन र अन्य भागलाई छुट्याउँछ। फाल्स क्रिक जो पहिले पुरानो औद्योगिक क्षेत्र आज सुन्दर रेस्टुरेण्ट, मारिना, वाटर–फ्रन्ट र हरिया क्षेत्रहरू सहित पुनर्निर्मित भएको छ।
-1766823756.jpeg)
सुन्दर ताल जस्तो देखिने फाल्स क्रिकको किनारामा साइकलको लागि र बटुवाको लागि छुट्टाछुट्टै बाटो बनाएको थियो। एकातिर शुद्ध पानीको ताल अर्कोतिर सुन्दर बगैंचा सहितको किनारा र त्यही किनारामा साइकलहरू कुदिरहेका र मानिसहरू कोही दौडिरहेका, कोही हिँडिरहेका कोही टहलिरहेका।
मलाई छोरीले समय समयमा सम्झाउँदै थिइन् जब म उत्साहित भएर बटुवाको बाटो छोडेर साइकलको बाटोतिर छिर्थें। एक्कासि साइकल आयो मैले बाटो त छाडे तर त्यो युवकले ‘ओ नो, स्टुपिड’ भन्दै साइकलबाट नै मलाई फर्की फर्की हेर्दै गयो। ऊ वास्तवमै मसँग रिसाएको थियो। सायद साइकल रोकेर मलाई कुट्नमात्र सकेन। सम्भवत यो मेरो अन्तिम हिँडाइ हुनेछ साइकल लेनमा।
मैले थाहा नपाएर साइकल लेनमा हिँडिरहेको थिइनँ। यो मेरो नागरिक सभ्यतासँग जोडिएको संस्कार परिवर्तन गर्न नसकेको परिणाम थियो। मेरो ज्ञान प्रतिको लापरबाही थियो भने अन्य नागरिकहरूको अधिकारमाथि मेरो हस्तक्षेप थियो। अझ भन्ने हो भने हामीले भन्ने गरेको नेपाली पारा थियो।
हामी आफ्नो अधिकारको कुरा गर्छौं तर अरूको अधिकारको रक्षा गर्दैनौं। प्रजातन्त्रको नाममा हामीले सिकेको कुरा नै यही थियो। जसले आज प्रजातन्त्रलाई भुत्ते बनाएको छ।
क्रमश:
-1766823756.jpeg)
-1766823756.jpeg)
-1766823756.jpeg)