भिक्टोरियामा भेटेका नानीहरूको मिठो सम्झना, भ्यानकुभरमा राम, राज, राजु र अनितासँगको भेटघाट मेरो लागि अद्धितिय उपलब्धि रह्यो यो यात्राको।
जन्म कसैले दिन्छ,
कसैले पाल्छ, कसैले उठाउँछ, कसैले हुर्काउँछ —
मानिसको हातमा धेरै हुँदैन,
धेरै कुरा नियतिले नै लेखिदिन्छ।
कसैको बाटो सधैं खुलेको,
कसैको जीवन निरन्तर परीक्षामा डुबेको।
कसैलाई अवसर आफै खोज्दै आउँछ,
कसैले त्यही अवसरका लागि बारम्बार ढोका ढक्ढक्याउनुपर्छ।
तर एक कुरा स्पष्ट छ—
भाग्य लेख्ने कलम नियतिसँग भए पनि,
सबै उसैको कर्मसँगै जोडिएको हुन्छ।
त्यसैले उठ्ने, टिक्ने,
र उज्यालोतिर बढ्ने आधार
आफ्नै प्रयास हो।
भ्यानकुभर अन्तर्राष्ट्रिय विमानस्थल (YVR) क्यानडाको अत्याधुनिक र व्यस्त विमानस्थलमध्ये पर्दछ। यो विमानस्थल अति सफा, सहज र यात्रु मैत्री संरचनाका कारण पनि विश्वकै उत्कृष्ट विमानस्थलको सूचीभित्र पर्दछ। आधुनिक टर्मिनल, छिटो कम्युटराइज इमिग्रेसन प्रणाली, कला–संस्कृति झल्काउने सजावट यो विमानस्थलको आकर्षण हो।

जब म यस्ता विमानस्थलमा पुग्छु, कम्युटरको अगाडि बसेर आफ्नो पासपोर्ट स्क्यान गर्दै उडानको चेकिङ गर्न पाउँछु अनि सम्झन्छु मेरो देश र मेरो विमानस्थल।
हामीले कम्युटरमै चेकिङ गर्यौं। आफ्नो लगेजमा आफैले प्रिन्ट गरेको लगेज ट्याग लगाएर लगेज ड्रप एरियामा लगेज ड्रप गर्यौं। कुनै दिन मेरो नेपालमा पनि सेक्युरिटी चेकिङको लाइनमा होस् अथवा लगेज ड्रप एरियामा होस सेल्फ हुनेछ।
सहजकताका साथ हामी अन बोर्ड भयौं। सामान्यतय चार घन्टा तीस मिनेटको यो उडानमा म निदाउन सकिनँ। हवाईजहाजको उडानमा म मज्जाले निदाउने भित्र पर्दछु तर यो उडानमा म निदाउन सकिनँ। यो उडानभरी मेरो मनमस्तिष्कमा ती छोराछोरीहरू नै नाचिरहेका थिए।
भ्यानकुभरको यात्राको यी सम्झनाहरू कोरिरहँदा अर्को रोचक प्रसंग याद आयो।
२०२५ सालमा मैले २ चोटि क्यानडाको यात्रा गरेँ। त्यसमा पनि झण्डै एक दुई वटा सहरबाहेक सबै एकै थियो। पहिलो चोटि श्रीमती छोरी ज्वाइँसँगको यात्रा थियो, दोस्रो भने क्यानडाको क्यालगरीमा भएको रोटरीको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिताको लागि रोटरियन साथीहरूसँग थियो।
हाम्रो क्बलबाट १२ जना साथीहरू २०२५ को क्यालगरीको सम्मेलनमा सहभागी भएका थियौं। सम्मेलनपश्चात भने हामी चार जना क्बलका पूर्वअध्यक्ष बसन्ती कुमारी शाही, पूर्वअध्यक्ष तुलबहादुर कँडेल र सदस्य रामचन्द्र श्रेष्ठ भ्यानकुभर हुँदै फर्कियौं भने अन्य साथीहरू अमेरिका हुँदै फर्कनको लागि छुट्टिएका थियौं।
हामीले भने क्यालगरीदेखि भ्यानकुभरको यात्रा कार भाँडामा लिएर सेल्फ ड्राइभिङ गर्ने योजना बनाएका थियौं। योजना अनुसार मैले कार अनलाइन बुकिङ गरेको थिएँ। कार भाँडामा दिने धेरै कम्पनीहरू थिए। हामीले बुक गरेको Hertz कम्पनीको थियो र मैले अनलाइनमा ६ दिनको लागि सबै कर, बीमा र रोडसाइड दुर्घटना समेत जोडेर सात सय क्यानडियन डलरमा बुक गरेका थिएँ। बुकिङमा क्यालगरी एयरपोर्टबाट कार पिकअप गर्ने र भ्यानकुभर एयरपोर्टमा कार ड्रप गर्ने थियो।

जब हामी भ्यानकुभरको विमानस्थलमा कार लिन गयौं। बुक गरेको कम्पनीभन्दा पहिला एभिएस कम्पनीको काउन्टरमा साथी तुलबहादुर र म पुग्यौं।
‘तुलजी यो कम्पनीमा पनि शुल्कको बारेमा बुझ्ने कि?’
‘राम्रो कुरो हो बुझौं के कति शुल्क रे छ।’
हामी दुबै काउन्टरतिर लाग्यौं। हामीले रोटरी सम्मेलनमा लगाउने परिचय पत्र झुन्डाएर हिँडेका थियौं। काउन्टरको व्यक्तिले हामीले झुण्डाएको रोटरीको कार्ड देखेर हुन सक्छ। हामीलाई रोटरीको सम्मलेनमा सहभागितालाई आएकोबारे प्रश्न गर्नुभयो। हामीले हो भने पछि रोटेरियनहरूलाई !) प्रतिशत छुट भएको जानकारी गराउनु भयो।
हामीले शुल्कको कुरा गर्यौं। अलि सस्तो लाग्यो। हामी साथीहरूसँग सल्लाह गरेर आउने भनेर निस्कियौं।
हामी फेरि अनलाइन बुक गरेको कम्पनीमा गएर डिस्काउन्ट भए नभएको सोध्यौं। त्यो कम्पनीले कन्भेन्सनको लागि स्पेसल डिस्काउन्ट दिएको रहेनछ। दुबै कम्पनीको शुल्क दाँजेर हेर्दा जम्माजम्मी १०० क्यानडियन डलर सस्तो देखियो। हामीले अनलाइन बुकलाई त्यही रद्द गर्यौं र एभिएस कम्पनीमा गयौं।
भटाभट बुक गर्यौं। बिल लियौं। २ मिनेटमा कारको साँचो आयो र हामीले कार बुझ्यौं। यो यात्राको ड्राइभर भने म थिएँ। हामीले लगेज कारमा लोड गर्यौं र क्यालगरीको केही पर्यटकीय क्षेत्रतिर लाग्यौं।
४ दिनको क्यालगरीदेखि भ्यानकुभरको यात्राको अन्तिम दिन हामी अलि छिट्टै नै एयरपोर्ट लाग्ने सोचाइ साथ तयारी भएका थियौं।

तुलजी एक दिन अगाडि नै फर्कनु भएको थियो। यो दिन भने हामी तीन जना मात्र थियौं। कारमा सबै लगेजहरू हालेर म ड्राइभिङ सिटमा बसेँ।
‘अभि -रामचन्द्र श्रेष्ठ_ जी कार ड्रप अपको लोकेसन गुगल म्यपमा हाल्नुहोस् न।’
‘ओके सर।’
एकछिन छक्क पर्दै ‘सर लोकेसन त क्यालगरी एयरपोर्ट पो भनेको छ त बुकिङ रिसिपमा।’
‘हँ, खै, मैले बुकिङ रिसिप हेरेँ।’
साँच्चि नै लोकेसन त क्यालगरी एयरपोर्ट थियो। हामी छौं भ्यानकुभर। यो त झण्डै १००० किलोमिटर टाढा थियो। हामीसँग बोर्डिङ समय थियो ३ घन्टा। मेरो शरीरबाट पसिना निस्कियो।
अलि बढी नै स्ट्रेस महसुस गरेँ। मेरो अनुहार देखेर होला बसन्ती शाहीले ‘न हड्बडाउनुस् जे पर्ला गरूँला।’ अभिजीले पनि त्यस्तै सान्त्वना दिनुभयो।
हाम्रो लोकेसन क्यालगरी भए पनि भ्यानकुभर विमानस्थलमा रहेको उक्त कार कम्पनीकोे ठेगाना खोजेर गुगल म्याप लगाएर विमानस्थलतिर लाग्यौं। हुन त सबै कम्पनीहरूको कार रेन्ट लिने दिने एरिया भने एकै एरियामा हुने रहेछ।
म बढी नै स्ट्रेसमा रहेछु। त्यही भएर होला विमानस्थलको बाटो गुगल म्यापमा हेर्दाहेर्दै पनि भुलेँ। अभिले मलाई समय समयमा बाटो मिस्टेक हुँदा गाइड गर्ने गर्नुहुन्थ्यो तर यो पालि उहाँले पनि भुल्नुभयो।
चार पाँच लेनको बाटाहरूमा १०० किमिको गतिमा कुद्दै सही लेनमा जान हामीजस्तो नेपालमा ड्राइभ गर्नेहरूलाई त्यति सहज भने हुने रहेनछ। पाँच दश सेकेन्ड भित्र सही लेनमा छिराउन सकिएन भने कम्तीमा अर्को चार पाँच किलोमिटर घुम्नुपर्ने समस्या सहज नहुने रहेछ।
हतारको काम लतार भने जस्तै जब हामी विमानस्थल त पुग्यौं तर कार ड्रप एरिया पुग्न नै स्ट्रेसको कारण होला ३ चोटि घुम्नु पर्यो। हुन त यो हाम्रो पहिलो अनुभवले पनि हुन सक्छ त्यसमा पनि पक्कै हामी स्ट्रेसमा थियौं।
कतै कार बुझेन भने भन्ने विषयले भने हामी सबैमा कुनै न कुनै रूपमा स्ट्रेस थियो नै। बल्लबल्ल ड्रप एरियामा पुगेर हाम्रो समस्या बतायौं। कम्पनीले कार जिम्मा लियो र भन्यो ‘नो ओरी, अल वील वी फाइन’ तर तपाईंलाई इमेल आउँछ। तपाईंको ड्रप क्यालगरी नभए पनि हामीले कार भने बुझ्छौं भने पछि साँच्चै धेरै रिलिफको महसुस भयो।
अभि ‘धन्न मनोज सर कार लियो है?’
खुसी हुँदै उनीहरूले दिएको कागज लिएर हामी निस्कियौं। हामीसँग जम्माजम्मी २ घन्टा मात्र समय थियो उडानको। हतार हतार एयरलाइन्सको चेकिङमा पुग्यौं र चेकिङको लागि मेसिनमा जब पासपोर्ट स्क्यानिङ गर्न रोटरियन बसन्ती शाही र रामचन्द्र जी सँगै उभिए र पासपोर्ट निकाल्न खोजे।

मेरो पासपोर्ट भने मसँग रहेनछ। मैले त पासपोर्ट कारमै छुटाएछु। सबै सामान बसन्ती शाहीजीलाई जिम्मा लगाएर अभिजी र म हतार हतारमा कार छोडेको ठाउँमा पुग्यौं र पासपोर्ट छुटेको कुरा बतायौं। कार सफा गर्ने ठाउँमा छोडिसकेको र उनीहरूले फाउन्ड एण्ड लस्टमा मेरो पासपोर्ट राखिएको जानकारी गराएँ।
त्यहाँ कार्यरत एक जना स्टाफलाई अनुरोध गरेपछि मेरो पासपोर्ट लिनको लागि जानुभयो। झण्डै चार पाँच किलोमिटर टाढा रहेको र पाँच मिनेटमा लिएर आउँछु भनेर गएका तिनी झण्डै ३० मिनेटपछि पासपोर्ट बोकेर आए र मलाई पासपोर्ट दिए। उहाँलाई धन्यवाद दिएर हामी हतार हतार चेकिङको लागि दगुरेर्यौं। हामीसँग समय अति कम नै भैसकेको थियो।

हतारहतार चेकिङमा पुग्यौं। सेल्फ चेकिङ गर्न लागेको हुन सकेन। हामी नेपालीहरूको मात्र होइन हामी जस्तो धेरै जसो थर्ड वल्र्ड देशहरूको यो समस्या हुने गर्दछ। हतारहतार हामी चेकिङको लागि लाइनमा बस्यौं।
अन्तमा सेल्फ चेकिङ हुन नसकेको र हाम्रो उडन समय थोरै भएको आग्रह पश्चात हामीलाई लाइन बिना नै चेकिङको व्यवस्था भयो। हतारहतारमै सेक्युरिटीतर्फ अगाडि बढ्यौं अन्तत हामी उडान समय भन्दा १० मिनेट अगाडि गेटमा पुग्न सफल भयौं।
जीवनको कयौं उडानहरूमा यति रिस्क र स्ट्रेस भएको सायद यो पहिलो थियो मेरो लागि पक्कै पनि बसन्ती जीको पनि यस्तो अनुभव रह्यो।
दु:ख त त्यसबेला लाग्यो तब कार बुझाएको ३ दिनपछि सात सय क्यानडिन डलरमा बुक गरेको कारको लोकेसन चेन्ज भएकै कारणले १२०० क्यानडियन डलरको बिल आयो।
हाँसो पनि उठ्यो। हतारमा पिकअप ड्रपको लोकेसन चेक नगरी सय डलर सस्तो सम्झेर जसरी हामीले कार लियौं। हाम्रो यो केटाकेटी पारा भएको महसुस भयो। अन्तमा पाँच सय डलर बढी यो यात्रामा तिर्नुपर्यो।
क्रमश: