घुम्ने लत लागेपछि मौसमले छेक्दैन। न झरीले, न हिउँले। त्यो दिन मौसम धुम्म थियो, बादलले आकाश थिचेजस्तो। तर हिमालको नियम फरक हुन्छ; तल धुम्म भए पनि माथि कतै न कतै घाम खुलिरहेकै हुन्छ भन्ने विश्वासले हामीलाई तानिरहेको थियो।
चरिकोटबाट हामी यात्रामा निस्कियौँ—जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमिल्सेना, भीमेश्वर नगरपालिका–७ का वडाअध्यक्ष विनोद तामाङ, व्यवसायी वासु थापा र कृष्ण गोले। तीन घण्टाको गाडीको यात्रा पार गर्दै लामाबगर पुग्दा साँझ ढल्किँदै थियो। भोलिपल्टको पैदलयात्रा सम्झेर बेलुकाको खाना सकेपछि चाँडै ओछ्यान लाग्यौँ।
बिहान सात बजेतिर अघि बढ्ने तयारी थियो। सानिमा हाइड्रो पावरको क्याम्पमा खाजाको व्यवस्था रहेछ। तातो कफी र खाजाले शरीर ततायो। त्यसपछि माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँधस्थल हुँदै अघि बढ्यौँ। करिब ११ सय मिटर लामो सुरूङमार्ग छिचोल्दा लाग्थ्यो, मानौं अँध्यारोलाई चिर्दै उज्यालोतिर जाँदैछौं। हुरहुरे, देउराली हुँदै फलाकतर्फ लाग्यौँ। देउरालीबाट फलाक र लाप्ची जाने बाटो छुटिन्छ। सीमासम्म पुग्ने रहरले हामीलाई केहीबेर त्यतै मोड्यो। करिब ३५–४० मिनेट पैदल हिँडेपछि नेपाल–तिब्बत सीमा ६१ नम्बरको पिलर स्थल फलाक पुग्यौँ। हिउँले छोपिन बाँकी डाँडाहरू चिसो हावासँग गफ गर्दै उभिएका थिए।
-1772197870.jpg)
-1772197870.jpg)
अहिले लामाबगरबाट करिब २४ किलोमिटर जत्ति मोटरबाटो लाप्चीतर्फ खुलेको छ। थाङसेमुसम्म गाडीमा पुग्यौँ। इलुकमा दुगड हाइड्रोपावरको क्याम्पमा खाना खायौँ—यस क्षेत्रमा होटलको सुविधा छैन, निर्माणाधीन आयोजनाका क्याम्प नै यात्रुका अस्थायी बास र भान्सा बनेका छन्। थाङसेमुबाट पैदल यात्रा सुरू भयो। चार–पाँच घण्टाको उकालो–ओरालो, तेस्रोपछि साँझपख लाप्ची पुग्दा शरीर थाकेको थियो, तर मन चञ्चल थियो। स्थानीय गाइड लक्ष्मण तामाङ अघिल्तिरै पुगेर चोराघेफिलिङ गुम्बामा खानाको व्यवस्था गरिसक्नुभएको रहेछ। तल्लो गुम्बामा रात बितायौँ।
यसपटक हाम्रो योजना फरक थियो—एक दिन पूरै लाप्ची घुम्ने। त्यसैले भोलिपल्ट लाप्ची गाउँ, लाप्ची तिब्बत सीमाक्षेत्र (५६ नम्बरको पिलर) र माथिल्लो गुम्बा (लप्ची रेछेन शेपा दोर्जे गुम्बा तथा ध्यान केन्द्र) सम्म पुग्यौँ। लाप्ची धार्मिक दृष्टिले मात्र होइन, आध्यात्मिक साधनाको केन्द्र पनि हो। शान्त पहाडबीच उभिएका गुम्बाहरूमा ध्यानस्थ लामाहरूको मौनता आफैँमा एउटा पाठजस्तै लाग्थ्यो—शब्दभन्दा शक्तिशाली मौन।
रातिदेखि हिउँ पर्न थाल्यो। मंसिर लागेपछि लाप्चीबासी तल्लो गाउँ लुम्नाङ सरेका रहेछन्। माथि दुई वटा गुम्बा र केही ध्यानमा बसेका लामा मात्र थिए। भोलिपल्ट बिहान आँखा खोल्दा संसार नै फेरिएको थियो—घर, बाटो, रुख, डाँडाकाँडा सबै सेताम्मे। हिउँले ढाकिएको लाप्ची स्वप्नजस्तै देखिन्थ्यो। हामीले आफूलाई भाग्यमानी ठान्यौँ। लाप्ची धेरै पटक पुगेको थिएँ, तर फागुनमै यसरी हिउँले सेताम्मे भएको दृश्य सम्भवतः पहिलो पटक देख्दै थिएँ। हिउँ परेपछि बाटो कठिन हुन्छ भन्छन्, तर त्यो दिन हिउँले थकान हरायो। न भोक लाग्यो, न थकाइ। क्यामेरा काँधमा बोकेर हामी सेताम्मे बाटोमा हिँडिरह्यौँ—हरेक पाइला पाइलामा एउटा फ्रेम, हरेक मोड एउटा कथा।
लाप्ची केवल गन्तव्य होइन, अनुभूति हो। यहाँ धर्मकर्मको गाम्भीर्य छ, ध्यानको मौनता छ, र प्रकृतिको निर्मल सुन्दरता छ। हिउँले ढाकिएको लाप्चीले मनलाई बाँधेर राख्यो—मानौँ सेतो चादरभित्र शान्ति लुकाएर बसेको कुनै पवित्र रहस्य हो। फर्किँदा पनि लागिरह्यो—लाप्चीले फेरि बोलाउनेछ। किनकि केही ठाउँहरू यात्रा गरेर सकिँदैनन्, तिनीहरू मनभित्र बस्छन्। लाप्ची पनि त्यस्तै ठाउँहरूमध्ये एक हो।
-1772197870.jpg)
-1772197869.jpg)
-1772197869.jpg)
-1772197868.jpg)
-1772197868.jpg)
-1772197869.jpg)
-1772197870.jpg)
-1772197869.jpg)
-1772197868.jpg)
-1772197867.jpg)
-1772197867.jpg)
-1772197867.jpg)
-1772197867.jpg)