नदीको गतिशील बहाबका कारण हिलो-लेदो पिँधमा थिग्रन्छ र सतहको पानी कञ्चन भएर सङ्लिन्छ। चलिरहने मेसिनको पुर्जामा खिया लाग्दैन। उफ्रने र दौडने अभ्यासले नै खेलाडीको शरीरलाई सुडौल तुल्याउँछ। भिरालो-साँघुरो डुँड हुँदै बगाइएको पानीले घट्टको मदानी फनफनी नचाउँछ। दृष्टान्तहरू यो बोलिरहेका छन्- गतिशीलताले नै ऊर्जा पैदा गर्छ।
गतिशीलताको अर्को नाम यात्रा हो। यात्राको समानार्थी शब्द सफर हो; भ्रमण हो; पर्यटन हो। आमाको गर्भमा आएदेखि नै चलमलाएर मान्छे यो सङ्केत गर्छ कि अब जीवन-यात्रा सुरू भएको छ। जन्मपश्चात कोक्रोमा हल्लिएर, बामे सरेर तथा तातेताते गरेर मान्छेले अल्प यात्रा तय गर्न थाल्छ। जब मान्छे आफ्नै खुट्टाको ताकतमा उभिएर यात्रा गर्न सक्षम हुन्छ, तब मान्छे यात्रासँग यतिबिघ्न रत्तिन्छ कि यात्रा प्रेमले वशीभूत भएर ऊ जीवनभर दिल खोलेर गीत गाइरहन्छ ; 'यात्रा रहेछ जिन्दगी...।
यात्राकै निरन्तरताको सिलसिलामा २०८२ साल कात्तिक २२ गतेका लागि वनभोज गन्तव्य तय भएको थियो नुवाकोटको उदीयमान धार्मिक, ऐतिहासिक तथा पर्यटकीय हब घ्याङ्स्वारा। हाम्रो गन्तव्यस्थल संघीय राजधानी काठमाडौंबाट करिब ४० किलोमिटर पश्चिम नुवाकोट जिल्लाको पञ्चकन्या गा.वि.स.-४ मा पर्ने रहेछ। करिब २,२०० मिटरको उचाइमा अवस्थित यो ठाउँ टोखा-छहरे सडक मार्ग हुँदै जाँदा छहरे बजार, नुवाकोटबाट करिब १८ कि.मी.अर्थात १ घण्टाको बसयात्रा तय गरेर पुग्न सकिन्छ।
छहरेदेखि घले भञ्ज्याङसम्मको सडक कालोपत्रे भए पनि ठाडो उकालो र अप्ठ्यारो घुम्ती हुँदै उक्लिएको रहेछ।
'नेपालका पहाडी सडकहरूको इन्जिनियरिङ डिजाइन इन्जिनियरले नगरेर अमूक कसैले गर्छन्' भन्ने आमधारणा यहाँ पनि लागू भएझैँ भान हुन्छ। घले भञ्ज्याङदेखि करिब ५ कि.मी.सडक चाहिँ कच्ची नै रहेछ। गन्तव्यमा पुग्न अक्सर कठिन यात्रा छिचोल्नु नै पर्छ। त्यस्तै अनुभूति भयो जब घले भञ्ज्याङ -घ्याङ्स्वारा सडक खण्डको यात्रा सुरू भयो।
घ्याङ्स्वारा पिकनिक स्थल खुला उपत्यका जस्तो देखिन्छ। यसको प्रवेश विन्दुमा प्रवेशद्वार निर्माण हुँदै रहेछ। करिब दुई सय रोपनीको क्षेत्रफलमा विस्तारित उक्त पर्यटकीय स्थल अगाडि ठूलो खुला चौर रहेछ। खुला चौरमा बहुउद्देश्यीय रङ्गशाला, कभर्ड हल, जितेन्द्र महत 'अभिलाषी' सुटिङ पार्क, जिप लाइन एवम् बालमैत्री चिप्लेटी र पिङ समेत बनाउने स्थानीय सरकारको लक्ष्य रहेको स्थानीय चन्द्रबहादुर तामाङले सुनाए। हाल सो प्राङ्गण परिसरमा एउटा रिसोर्ट, अलिक मुन्तिर होमस्टे र नजिकै एउटा आधारभूत विद्यालय सञ्चालनमा रहेको पाइयो।
त्यहाँ बत्ती, पानी, इन्टरनेट, शौचालय जस्ता पूर्वाधारहरूको विकास भइसकेको रहेछ। खेल मैदानमाथि हाल तीन वटा पिकनिक सेड हाउस समेत निर्माण भएकाले त्यहाँ धेरै आगन्तुकहरूको भिडभाड बढ्न थालेको रहेछ। फलस्वरूप मूला, काउली, मकै, कोदो, तोरी, मह जस्ता स्थानीय उत्पादनको प्रवर्द्धन भई आर्थिक गतिविधिमा बढोत्तरी हुँदै रहेछ।
घ्याङ्स्वाराको पारिपट्टि गणेश हिमाल मुस्कुराइ रहेको देख्न सकिन्छ। लाङटाङ हिमाल पनि सोही लहरमा अग्लो भई उभिएको छ तर हुस्सुले आंशिक छोपिएको कारण घुर्मैलो घुर्मैलो आकार मात्र देखिएको छ। पश्चिमी मोहडामा दुप्चेश्वर महादेव थान, शिखरबेसी, तामे, सतार, राउतबेसीको पहाडी जीवन चलायमान भएर बाँचेको देखिन्छ।

चामलको लागि प्रसिद्ध शिखरबेसी फाँटमा पहेँलपुर भएर धान पाकेको दृश्य निकै मनोहर देखियो त्यहाँबाट। खुलेको पारिलो परिवेशमा हिमालको शिरबाट नीलो आकाशतर्फ चरा आकृतिको कुहिरो बन्दै बिलाउँदै गरेको दृश्य साँच्चै अभूतपूर्व देखियो। यस्तो लाग्थ्यो- आदिमकालदेखि नै हिमाल र कुहिरो निश्चित दूरी कायम राखेर स्पर्शरहित प्रेम गरिरहेका छन्।
उक्त पर्यटकीय स्थलमा तल फेदीको खेल मैदानदेखि माथिल्लो थलीमा रहेको निर्माणाधीन भूमेस्थान गणेश मन्दिरसम्म पुग्न रेलिङबार सहित सिँढी निर्माण हुँदै रहेछ। पदमार्गसँगै 'सेल्फी प्वाइन्ट'हरू बनेका रहेछन्। पदमार्गको दायाँबायाँ चिया बगान हुर्कँदै रहेछ। चिया बगानको हरियालीको माझमा देखिने काफल, ऐँसेलु र चुत्रोले वानस्पतिक विविधता व्यस्थापन तर्फको स्थानीय सजगतालाई पुष्टि गरिरहेको महसुस भयो। सशस्त्र 'जनयुद्ध' मा सहादत प्राप्त गरेका पञ्चकन्या गाउँपालिकाका सहिदहरूको सम्झनामा त्यहाँ अर्धकदको सालिक सहितको 'सहिद स्मारक पार्क' निर्माण भएको रहेछ। डाँडामा रहेको मन्दिर परिसरमा सानो भ्युटावर जस्तै संरचना उभ्याइएको रहेछ। त्यहाँबाट सूर्योदय र सूर्यास्तको सुनौलो छटाको अवलोकन गर्दा अलौकिक आनन्दको अनुभूति हुँदो रहेछ।
सूर्य उदाएदेखि नअस्ताएसम्म एकटकले घाम लाग्दो रहेछ घ्याङ्स्वारामा। घामको न्यानो अँगालोमा लपेटिएको घ्याङ्स्वारा हिउँदमा सिरक ओडेर घाम ताप्नुपर्ने खालको ठाउँ रहेछ। अलिक ठन्डी बढ्न थालेपछि घाम लाग्दालाग्दै चिसो सिरेटोको सामना गर्नुपर्ने रहेछ त्यहाँ। जाडो मौसममा हिउँसँग रमाउन मन हुनेहरूले यो ठाउँलाई रोजाइमा पार्न सक्ने रहेछन् ।
फोक्सोभरि स्वच्छ हिमाली हावा भर्न पाइने, हावासित फहराउने ध्वजापताका र लुङ्दरको नृत्यसँगै रम्न पाइने तथा हिन्दू र बौद्ध धर्मावलम्बीहरूले आआफ्नो आस्था अनुसार धार्मिक आस्था प्रकट गर्न पाउने यस्तो सुरम्य धरोहरसम्म पुग्दा तन र मन दुवै पुलकित भएको महसुस भइरहेको थियो। भव्य नभए पनि मौलिक,समृद्ध नभए पनि सरल एउटा प्राकृतिक उद्यानमा कात्तिक महिनामा अमलाको बोटमुनि बसेर वनभोज खान पाउँदा शरीरमा बेग्लै खाले स्फूर्ति सवार भएको अनुभव गर्दैछु।
सरकारी र निजी दुवै क्षेत्रको लगानी सहकार्य, श्रममा आधरित जनसहभागिता तथा स्थानीय पर्यटन व्यवसायी, होटल व्यवसायी र स्थानीय जनता बीचको समन्वयबाट एउटा गौरवपूर्ण गन्तव्यका रूपमा घ्याङ्स्वाराको विकास हुँदैछ। यस क्षेत्रको सर्वाङ्गीण विकासका लागि सम्बन्धित गाउँपालिकाले 'घ्याङ्स्वारा सहिद स्मारक पर्यटकीय पार्क तथा खेलमैदान संचालन सम्बन्धी कार्यविधि' नै तर्जुमा गरी कार्यान्वयन गरिरहेको छ।
स्थानीय जन प्रतिनिधि र समाजसेवीहरूले सङ्घीय सरकारलाई समेत यसको विकासका लागि झकझक्याइ रहेकाले निकट भविष्यमै हाल निर्जन जस्तो देखिने घ्याङ्स्वारामा आन्तरिक र बाह्य पर्यटकको आवागमनमा वृद्धि भई यस क्षेत्रले 'नुवाकोटको इलाम'का रूपमा प्रसिद्धि पाउने सम्भावना देखिन्छ।