मनोरम प्रकृति, अनुपम एवं उत्कृष्ट संस्कृति, भौगोलिक विविधता, आतिथ्यपूर्ण संस्कार र व्यवहार, विशिष्ट रहनसहन, भेषभूषा र खानपान, सहिष्णुता र सद्भाव, ऐतिहासिक वैभव, सामाजिक तथा सांस्कृतिक विविधताबिचको एकता लगायतका मौलिक पहिचानका कारण नेपाल विश्वका सबै रुचि र उमेर समूहका पर्यटकका लागि बाह्रै महिना अद्वितीय गन्तव्यको रूपमा स्थापित छ।
संविधानले ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्त्विक र प्राकृतिक सम्पदाहरूको पहिचान, संरक्षण, प्रवर्धन एवं प्रचार-प्रसारमार्फत राष्ट्रिय अर्थतन्त्रको महत्त्वपूर्ण आधारको रूपमा पर्यटनलाई अँगालेको छ।
नेपालको भौगोलिक, प्राकृतिक, सामाजिक तथा सांस्कृतिक विविधतालाई उपयोग गर्दै उदीयमान एवं विद्यमान पर्यटकीय वस्तु तथा गन्तव्यको पहिचान, विकास, विस्तार र विविधीकरण गरिने पर्यटन नीति, २०८२ कार्यान्वयनमा छ।
प्रकृतिलाई भगवान् मान्ने हाम्रो दर्शन र भगवानलाई प्रकृतिको रूपमा पूजा गर्ने संस्कारलाई हाम्रो भौगोलिक विविधताले थप बढवा दिइरहेको छ।
नेपालको पूर्वी हिमाली जिल्ला सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट १३ किलोमिटर दक्षिण वा अरुण उपत्यकास्थित तुम्लिङ्टार विमानस्थलबाट ३ किलोमिटर पश्चिम उत्तरमा अरुण नदीको किनारमा अवस्थित छ प्रख्यात मनकामना देवीको मुख्य उत्पत्ति स्थल।
गायक खेमराज गुरुङको ‘वारि जमुना पारि जमुना, जमुनाको फेदैमा मनकामना’ गीतबाट थप चर्चित भएको पूर्वको प्रसिद्ध धार्मिक स्थल मनकामना देवीको दर्शन गर्दा आफूले मागेको कुरा पुग्ने जनविश्वास परापूर्व कालदेखि नै रहँदै आएको छ।
पौराणिक कथनअनुसार सतीदेवीको मस्तिष्क पतन भएको स्थान मनकामना देवी उत्पत्ति भएको जहाँ ३३ कोटी देवता एउटै शिलामा रहेका, प्राणीको समष्टि रूप भएको शिलालाई धार्मिक रूपले विशेष महत्त्वका साथ लिइने गरिन्छ।
किंवदन्तीअनुसार प्राचीन कालमा तुम्लिङ्टारमा बसोबास गरेका कुमाले जातिका मानिसले पालेकी सिरीगाई एक दिन हराइन्। धेरै दिन खोजी गरे तर भेटाएनन्। आफ्नो प्यारो गाईको रक्षा गर्न नसकेर गौहत्याको पाप लाग्ने डरले चिन्तित भएर सुतेको बेला बुढा मुखिया कुमालले एक रात सपना देखे।
सपनामा एउटा कन्या केटी आएर कुमाल बुढालाई भनिछन्- ‘बाजे तिमी आफ्नो कैली सिरीगाई हराइन् भनेर चिन्ता नगर। ती गाई त मेरो साथमा सुरक्षित छिन् र भर्खर बिहाएकी छिन्। ती गाईले मलाइ दिनहुँ दूध चढाउँछिन्। म धेरै खुसी छु।’
त्यस्तो सपना देखेपछि गाई भेटेँ मेरो मनको इच्छा पूरा भयो भनेर सपनामै कराउन थालेछन्। त्यसपछि ती कन्याले भनिछन्- ‘बाजे, तिम्रो मनोकामना पूरा गर्ने म मनकामना देवी हुँ। अहिले म अरुण नदीको किनारमा रहेको अलौकिक पत्थर भित्र छु। तिमी मकहाँ आऊ। म शिलामा परिणत हुनेछु। मलाई मनकामना भगवती सम्झी पूजाआजा गर्नू। आफ्नो गाई लैजान सक्छौ, सेतो बहर नजोत्नू, ठुलो भएपछि मनकामनेश्वर महादेवकोमा छोडिदिनु।’ यति भनेर ती कन्या अन्तर्ध्यान भइन्, कुमाल बुढा पनि निद्राबाट बिउँझिए।
भोलिपल्ट कुमाल जातिका सबै मानिस अरुण नदीको किनारमा गाई खोज्न आइपुगे। खोज्दै जाँदा हालको मनकामनाको पत्थर भएको ठाउँमा गाई र बाच्छा दुवै फेला पारे। भगवती उत्पत्ति स्थान पहिचान गरी मन्दिर बनाइ पूजा गर्न थाले।
अर्को किंवदन्तीअनुसार गोरखाली सेनाले मनकामना देवीको प्रार्थना गरेर मात्र अरुण नदी पार गरेको र लिम्बुवान क्षेत्रमा युद्ध जितेका हुन्। राजधानीबाट दर्शन गर्न आउन टाढा भएकाले यतैको मनकामना देवीको शिला लिएर गोरखामा मनकामना देवीको मन्दिर स्थापना गरेको हुन्। त्यसैले मनकामना देवी उत्पत्ति भएको मुख्य स्थल यहाँलाई नै मानिने रहेछ।
जनआस्थाको प्रमुख धार्मिक स्थल यस मनकामना क्षेत्रको थप व्यवस्थापन, खाँदबारी नगरपालिका, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय, सङ्खुवासभाको आधिकारिक वेबसाइटमा समेत उल्लेख गरी व्यापक प्रचार प्रसार गरिनु आवश्यक छ। स्थानीय सरकार, प्रदेश सरकार लगायत सम्पूर्ण स्थानीय जनता र सरोकारवालाबिच समन्वय र सहकार्य आवश्यक देखिन्छ।
यसरी बहुआयामिक महत्त्व बोकेका उपलब्ध पर्यटकीय स्थलहरूको विकास गरी पर्यटन विकासका विविध सम्भावनालाई उपयोग गर्दै नेपाललाई विश्व समुदायमा एक आकर्षक पर्यटकीय स्थलको रूपमा स्थापित गर्दै पर्यटन क्षेत्रलाई नेपालको आर्थिक वृद्धि र विकासको आधार स्तम्भको रूपमा विकास र विस्तार गर्नु आजको प्राथमिकता रहेको छ।

