दोस्रो भाग
थुम्केरानीको काखमा श्री अमरकल्याण माविको फराकिलो सभाहलमा चलिरहेको भव्य कार्यक्रमका बीच ससाना भाइबहिनीहरू कविताका हरफ बोकेर उभिएका छन्।
रेखा म्याम र सुभाष सरको बीचमा म बसेकी छु। लगातार कविता वाचन, नृत्य, मन्तव्यका कार्य चलेकै छन्। प्रतियोगी कविताले मेरो ध्यान खिचेर एउटा अग्लो थुम्कोमा उभ्याइदियो। यताउता हेरेँ, त्यही थुम्कोमा रेखा म्याम र सर पनि हुनुहुन्छ। सुभाष सर पुलुक्क मलाई हेर्नुहुन्छ।
म आफूलाई रोक्न सक्दिनँ र भन्छु, 'सर, कविता त भयङ्कर आए त! काठमाडौँमा गरिएका प्रतियोगिता पनि यति भव्य हुन्न होला। बालबालिका त निकै सचेत रहेछन्।'
सरले सानो आवाजमा सहमति जनाउनुभयो। यता रेखा म्यामलाई हेर्छु। बडो सकस छ नम्बर चढाउन। खुसुक्क कानेखुसी चल्छ म्यामको र मेरो। मोरङको बेलबारीबाट हाम्रो बसको सहयात्रा सुरू भएको थियो। पहिलो पटक रेखा म्यामश्रीमतीसँग जोरकलश पुग्दा बोलेकी थिएँ। सँगै चिया खाने, हात पक्डेर फोटो खिच्ने अनि वर्षौँको परिचित साथीजस्तै हामीले एकअर्कालाई सहजै स्वीकार गरेका थियौँ। भनिन्छ नि, सकारात्मक ऊर्जा बोकेका मानिससँग पहिलो भेट ऊर्जाशील हुन्छ। भयो त्यस्तै। हामीमा नयाँ अनुहारको कुनै सङ्केत देखिएन। सविता बहिनी पनि उत्तिकै मिलनसार। पहिलो भेटमा नै सदियौँका परिचित मनझैँ हामी एकअर्कालाई बुझिरहेका थियौँ। सविता बहिनीसँगै छन् रजिस बाबु। सबैभन्दा साना सहभागी रजिस आफ्ना एउटा झरिलो उत्सुकता बोकेर मामाघर हिँडेका थिए। हामी उनकै मामाघर नयाँबजारको आँगनमा भइरहेको थुम्के काव्य उत्सवमा छौँ। चलिरहेको छ कविता प्रतियोगिता।
मलाई लागिरहेथ्यो, यी सबैलाई विजयी बनाऔँ। सम्भव थिएन। थोरै नम्बरले तलमाथि पार्दै चार जनालाई उत्कृष्ट बनाउनुथियो। हामी तीनै जनाले अमरकल्याण मा.वि.की प्रश्ना कार्कीको प्रशंसा गर्यौँ। अरू पनि हाम्रा लागि उस्तै-उस्तै रहे। एक घण्टाको गोप्य बसाइँले धेरै कुरा सिकायो। गोप्य बैठकअघि सुभाष सर र रेखा म्यामले बेजोड कविता स्टेजमा सुनाइसक्नुभएको थियो। उहाँहरूको कविताको नशामा मञ्च लठ्ठ थियो। सुभाष सरको बौद्धिक मन्तव्य र रेखा म्यामको अभिनय सहितको कविता ज्यादै आकर्षक थियो। हेम सरको विद्वत् प्रवचन र अनिताको प्रमुख अतिथिको मन्तव्यले मञ्च निकै तरङ्गित भएको थियो। मैले अतिथि कविको मन्तव्यसहित निर्णायकको संयोजन गर्दै प्रतियोगिताको परिणाम निकै कठिनाइपूर्वक सुनाउने आँट गरेँ। एकसे एक छन् कविता। कसलाई दोस्रो भन्ने!
मलाई असाध्यै दुःख लाग्छ, ती कलिला मस्तिष्कलाई प्रतियोगितामा सामेल गराएर प्रथम, द्वितीय, तृतीय र सान्त्वना भन्न। त्यसैले 'कलमका साथी' द्वारा लेखिएका बाल चित्रकथाका नौवटा पुस्तक ती उत्कृष्ट कविमा नपरेका भाइबहिनीका लागि काठमाडौंदेखि लिएर गएकी थिएँ। मेरो सोचाइमा दुरूस्त मिल्यो नारायण चँदारा सरको विचार। उहाँ आयोजक टिममा हुनुभएकाले बाँकी सहभागी ती चिचिला कविहरूका लागि पुस्तकलगायत नगदको व्यवस्था भयो। म खुसीले गद्गद भएँ। कुनै भाइबहिनी खाली हात घर फर्केनन्। यो प्रोत्साहनले ती कलिला मुनामा पक्कै नयाँ ऊर्जा थपिनेछ। आयोजकको सुन्दर निर्णयप्रति म नतमस्तक भएँ। भव्य कार्यक्रमको समापनपछि आयोजक टिमको दौडादौडी चल्यो। उहाँहरूले दोस्रो कार्यक्रमको आयोजना माथि थुम्केरानीमा गर्नुभएको रहेछ।
झमक्क साँझ परेको छ। एउटा टाटा सुमो गाडीमा हामी अटाइनअटाइ बसेका छौँ। अगाडि दुई लहर बस्नुहुनेहरू गीतमा मस्त हुनुहुन्छ। पछाडि दुई लहरमा शनि मृत्युञ्जय वाचन चलेको छ। मनमुटु रोकिएको छैन चलिरहेको छ, कतै जीवित महसुस गर्न त कतै त्रासलाई छोप्न।
हामी एउटा सानो गाडीभित्र त विविध परिवेशमा बाँच्दा रहेछौँ। झन् यति ठूलो संसारमा हामीले बाँच्ने परिवेश कति फरक हुन्छ होला! मानिस-मानिस बीच एउटै सोच-विचार आउनुपर्छ भन्ने होइन रहेछ। हामी हिँडिरहेको रेड पाण्डाको क्षेत्र रहेछ। बाघ पनि लाग्ने रहेछ। पहाडको बाटो ठाउँ-ठाउँमा पहिरोले बिगारेको छ। झपक्क निशा पोखिएको छ पहाडभरि। तल नयाँबजारबाट देखिएको माथि थुम्केमा पुग्नु छ हामीलाई। त्यही थुम्केरानीले मुस्कुराएर हिजैदेखि आमन्त्रण गरिरहेकी थिइन्। आयोजकद्वारा 'समकालीन काव्यप्रवाहमा प्रकृति, संस्कृति र समाज' शीर्षकको विमर्श कार्यक्रम राखिएको रहेछ। मलगायत अनिता कोइराला र रेखा सुवेदी म्याम छौँ, वक्ताका रूपमा। सहजकर्ता हुनुहुन्छ, पाटन क्याम्पसका उपप्राध्यापक वरिष्ठ कवि, निबन्धकार तथा समालोचक डा. हेम भण्डारी तथा स्रोताका रूपमा सहभागी हुनुहुन्छ, निकै वरिष्ठ व्यक्तित्वहरू। विद्वत् वर्गका माझमा बसेर आफ्नो विचार राख्नुपर्ने साझा चुनौती छ हामीमाझ। कस्ता प्रश्न आऊलान्! कार्यक्रमको माहोल कस्तो बन्ला! मनमा एक किसिमले तरङ्ग सिर्जना गरिरहेको थियो। हेम सरका सशक्त प्रश्नहरूसँग सँगै कुद्नु पनि हामीलाई चुनौती नै थियो। चारै जनाको सफल प्रयासले अन्ततः कार्यक्रम निष्कर्षपूर्ण र सशक्त बन्यो।
सल्लाको खेती छ। चियाको खेती छ। आँखाले भ्याएसम्म मेरी दिदीको जग्गा भनेर देखाउनुहुन्छ हेम सर, सेरोफेरो छ। क्यामेरा तेर्साएर तस्बिरमा कैद गर्न खोज्छु, कुहिरोको धुवाँ उडेर झपक्कै छोप्छ सल्लो र चियालाई। एकैछिनमा हुर्हुरी चल्ने हावाका झोकाले सबै कुहिरोको धुवाँलाई लखेटेर लैजान्छ। टुप्लुक्क घाम आउँछ। सौन्दर्यको आभा आँखाभरि, पाखाभरि पोखेर हिँड्छ। कुहिरो र थुम्केरानीको मौसमी लुकामारीले मलाई मोहित बनाइदिन्छ। हराउँछु स्वर्गीय आनन्दमा। कल्पन्छु, कति प्रेमिल सम्बन्ध थुम्के र कुहिरोको। लाग्छ, थुम्केले मलाई सौगात दिइरहेको छ। मलाई सिकाइरहेछ प्रेमको परिभाषा। यहाँ आएर यति सुन्दर दृश्यलाई आँखामा अटाउन सकिएन भने यात्राको सार्थकता कसरी होला? धन्य प्रकृति, तिमी छौ र त हामी मुस्कुराउँछौँ।
हिमा दिदीले हामीलाई बाटैबाट यता घुमाउनुभएको थियो। 'एक छाक खाना नखाई कहाँ जान पाइन्छ?' दिदीको त्यो हार्दिकताले हामीलाई खुरूखुरू डोर्याएर पुर्यायो माई जोगमाईकै अर्को प्रिय र रमणीय बस्ती खोल्मे, जहाँ हेम सरकी माहिली दिदी प्यारी हिमा दिदीको निवास रहेछ। इलामेलीका मनमा रहेको अतिथिप्रतिको सद्भावको वर्णन त गर्नै नसकिने। केशर भिनाजुका मिहिनेती हातहरू खेतीको काममा व्यस्त थिए। हामी पुग्नासाथ उहाँ हामीलाई स्वागत गर्न तयार हुनुहुन्थ्यो। भर्खर शिक्षण पेसाबाट निवृत्त भएर बस्नुभएको केशर भिनाजुको कर्मशील हातहरूको कलाकारिता उहाँको करेसाबारीभरि देखिएको छ।
गोठभरि गाई छन्। टाट्ना र खोरभरि बाख्रा छन्। छेउमा मौरी भुनभुनाएको छ। गाउँमा पुग्दा मग्मगाएको परिश्रमको बास्नाले मनलाई हरर्र बनाउँछ। 'मौरीको छेउछाउ नजानू ल। मह भरिएजस्तो छ, टोक्न सक्छ।' केशर भिनाजु हामीलाई सतर्क गराउनुहुन्छ। साँच्चै मह भरिएपछि मौरीले महको सुरक्षाका लागि टोक्ने रहेछ। सायद मान्छेले मौरीबाटै सिक्यो होला खानेकुरा सुरक्षित गर्न। हामी पनि जनावर, मानिस, कीरा-फट्याङ्ग्राबाट परिश्रमले कमाएका कुरा र सम्पत्तिलाई जोगाउन कति प्रयत्न गर्छौँ। त्यो त प्राकृतिक नियम रहेछ। बाघको बासस्थान, हाब्रेको बासस्थान वरिपरि आफ्नै सल्लो र चियाको बगान जङ्गलजस्तो छ। तैपनि बसाइमा कुनै त्रास छैन। आनन्ददायी जीवन, स्वच्छ हावा, सफा वातावरण। घडीघडी कुहिरोले दृश्यहरूलाई धमिल्याउँछन् तर त्यो दृश्यको धमिलोपनामा थुम्केको सौन्दर्य भरिपूर्ण छ। त्यही मधुर दृश्यमा हराउँछु। साँच्चै प्रकृति कति सुन्दर छिन्! छिमेकी घरहरू परपर छन्। किनमेल, हटिया, बजार टाढा छन्। जे उत्पादन हुन्छ सबै उपभोग्य वस्तुहरू छन्। यस्तै रमणीय दृश्य हेर्न हामी झरेका थियौँ थुम्केको कार्यक्रम सकेर खोल्मेसम्म।
साँझ ३ घण्टाको कार्यक्रम सकेर खाना खाने तर्खरमा लाग्दै गर्दा अघिदेखि नियालिरहेका दुई अनुहारमा गएर मेरा आँखा टक्क अडिए। कतै परिचितजस्तो लाग्ने ती अनुहारलाई चिन्ने उत्सुकता बढ्यो। नजिकै गएर कुराकानी अघि बढाएँ, 'म यतै तल झापाबाट गएकी हुँ नि काठमाडौँतिर।'
'झापा कुन ठाउँ?' उहाँहरूले एकै पटक प्रश्न गर्नुभयो।
'झापा शान्तिनगर।' मैले मुस्कुराउँदै जवाफ दिएँ।
'ए ए, भर्खरै नारायण सरको फोन आएको थियो, तपाईंका विषयमा कुरा गर्दै हुनुहुन्थ्यो।' उहाँहरूको त्यो एक वाक्य मेरा लागि गुरू आशीर्वाद बनिहाल्यो।
'हामी पनि धुलाबारी, झापाबाट।' उहाँहरूले त्यसो भनिरहँदा म मामाघर पुगिसकेकी रहेछु। सम्झिएँ, मेरा ठूला मामा कमल खतिवडा, माइला मामा चिन्तामणि खतिवडा अनि भानु र लीला मामा।
'हामी त हजुरको मामाघरको छिमेकी हौँ नि!'
अब मलाई के चाहियो र! शिरोज नेपाल र चुडामणि भट्टराई मेरो साख्खे मामा, म उहाँहरूको प्रिय भान्जी। त्यसमा माथिबाट गुरुको आशीर्वाद।
ओहो! यो थुम्केरानी मेरा लागि थुम्केरानी मात्र थिएन। यसले मलाई प्राकृतिक सौन्दर्य मात्र कहाँ दियो र! आफ्नोपन, अपनत्व, ममता, सम्मान, प्रेम, स्नेह, आशीर्वाद सबै-सबै मेरो भागमा पर्यो। मामाघर पुग्दा हजुरआमाले सुत्ने बेलामा नातिनीलाई एक गिलास दुध दिएजस्तै गरी दिइएको दुध अनिता र मैले मामाको हातबाट स्नेहपूर्वक ग्रहण गर्यौँ। त्यो दुध मात्र दुध थिएन, त्यो मेरा लागि मामाघरमा मामामाइजूले दिनुभएको स्नेह, प्रेम र ममता थियो। यस्तो लाग्यो म मामाघरमा नै थिएँ।
बेलुका कार्यक्रम सकेर अबेर नाचगान गरेपछि हामी १० जना दिदीबहिनीको टोली एउटा ठूलो कोठामा पस्यौँ। दाजुभाइ जति अर्को कोठामा। गाउँघरमा बिहे, व्रतबन्ध हुँदा आफन्त सबै भेला भएर एउटै कोठामा बिस्तारा बनाएर सुतेझैँ हामी एउटै ठूलो खाटमा १० जना अटायौँ। दाजुभाइ सुतेको कोठाबाट कविता वाचनको मधुरो आवाज पसिरहेको थियो। थकाइले होला भुसुक्क निद्राले छोप्यो। कोठामा दिदीबहिनीको भव्य गफ चलिरहेकै थियो। मलाई अघि मात्र सिएम मामाले भन्नुभएको कविताको हरफले छोइरहेको थियो।
२५०० मिटर उचाइमा रहेको थुम्केरानी एग्रो टुरिजमद्वारा सञ्चालित रमितेको थुम्के रिसोर्ट हरियाली र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। दार्जिलिङका घरजस्ता देखिने रिसोर्टका घरहरू निकै आकर्षक छन्। झुल्केघाम हेर्न पाउने आशाले बिहान चाँडै निद्राबाट भागेर बाहिर हेर्दा हामीसँग रिसाएर हुस्सुको बाक्लो बर्कोले जाडोबाट जोगाइरहेथ्यो थुम्केरानीलाई।
'घाम लागेन भान्जी, घाम लागेको भए कञ्चनजङ्घाको थुम्को देखिन्थ्यो।' सिएम मामाले तातो पानी पिउँदै भन्नुभयो।
वरिपरि पाखामा फल्ने प्राकृतिक फल भुइँऐँसेलु, त्यस्तै अरू पनि विविध जातका बोटबिरुवा रहेछन्। घुमीघुमी सबै बोटबिरुवा हेरेँ। आनन्द लाग्यो। मलाई ती बोटबिरूवा देखाउँदै मामा अघिअघि हुनुहुन्थ्यो, म पछिपछि पुगिरहेथेँ सम्झनामा पुरानो इरौँटार गाविस छेउको मावलघर। अम्बिका निरौलासँग मल्लिँडो टिप्दै खरबारी डुलेको। गाविसको आँगनमा खेलेको। दुवैपट्टि अग्ला ढिस्काले छोप्न लागेको साँगुरो बाटो हुँदै तल कान्छा हजुरबाकोमा झर्दा मगमग आएको पहाडको बास्नाको स्मृतिले मेरो मन अतीतमा रमाइरहेथ्यो। बिस्तारै घामको अनुहार देखिएझैँ पनि हुँदै थियो। फेरि झप्प थियो। इन्द्रेणी मौसमको सौन्दर्यले मलाई मुग्ध पारिरहेथ्यो। विशेष गरी चिया, आलु खेती, गाई पालन, अम्लिसो, अलैँची, मुला, हरियो मटर, सिजनमा इस्कुस र त्यसको जरा प्रमुख खेतीका रूपमा रहेका थुम्केरानीको पर्यटकीय गन्तव्य भने साँच्चिकै रमणीय रहेछ।
बेलुका कार्यक्रम गर्न हलभित्र बसेका बेला बत्तीमा पुतलीहरू झुम्मिरहेका थिए। हलको ढोकाबाट भित्र पस्दा र बाहिर निस्कँदा निकै सचेततापूर्वक ढोकालाई पूरा ढप्क्याउनुपरिरहेको थियो। म चकित थिएँ। धुलाबारी मामाघर जाँदा बत्तीमा छिचिमिरा आएको याद छ। पहाडमा त त्यस्तो नहोला भन्ने लागेको थियो। बिहान उठेर बाहिर नियाल्दै थिएँ। भित्ताभरि सुन्दर ढङ्गका चित्रहरू, त्यो पनि पुतलीका आकारका, कुनै साना कुनै ठुला चित्रले रिसोर्टको भित्तो छपक्कै ढाकेको थियो। मामालाई सोधिहालेँ, 'यो पेन्टिङ किन गर्नुभएको मामा?'
मामाले हाँस्दै बुझाउनुभयो, 'यो कुनै कृत्रिम पेन्टिङ होइन भान्जी। यो त प्रकृतिको सुन्दर कलाकारिता हो।'
म आश्चर्यमा परेँ, 'मामा, मैले बुझिनँ, के भन्न खोज्नुभएको?'
'भान्जी, यी हिजो बेलुका बत्तीमा झुम्मिएर भित्र जान खोज्ने पुतलीहरू हुन्।' मामाले अझै बुझाइदिनुभयो।
'ओहो मामा! यति धेरै सुन्दर जातका पुतली एकै ठाउँमा?' मेरो जिज्ञासा बढिरह्यो।
'हो नि भान्जी, यहाँ सयौँ जातका पुतली पाइन्छन्।' मैले झट्ट सम्झिएँ, मेरो वसन्त (वसु) भाइलाई। सिक्किममा बसेर वन्यजन्तु अनुसन्धानकर्ताका रूपमा काम गरिरहँदा उसका लागि यस्ता पुतलीहरूको अध्ययन-अनुसन्धान कति महत्त्वपूर्ण हुन्छ होला! कि ऊ यहाँ आइसकेको छ! सिक्किम त थुम्केरानीको पारिपट्टि त हो नि। सायद संसारकै सबैभन्दा बढी पुतली पाइने स्थान नै यही पो हो कि? उसको अनुसन्धानको मुख्य क्षेत्र यही हो? संयोगले मेरो भेट वसुसँग हुने पो हो कि! अचानक उसको सम्झना आएछ।
मेरो मनभित्र भावनाको ज्वारभाटा चलिरहेको थियो। सोचेँ, हामी एउटै संसारमा कति जातका मानिस अटाएका छौँ। हाम्रो पहिचान फरक-फरक छ। त्यसरी नै पुतली पनि अनेक जातका रहेछन्। हामी पुतली जस्तै एउटै संसारमा अटाउने कोसिस गर्दा रहेछौँ। कुनै शक्तिशाली चित्रकारले बनाएको रङ्गीन चित्रभन्दा कम थिएन, त्यो चित्र प्रकृति आफैँले कुची घुमाएर गरेको कलाकारिता थियो। चिसोबाट जोगिन तिनीहरू रातभर घरको भित्तामा टाँसिएर बस्दा रहेछन्। हामीलाई भने त्यति धेरै जाडो महसुस भएको थिएन। हामी न्यानो कोठामा सिरक ओढेर सुतेका थियौँ तर पुतलीहरू बाहिर चिसोमा। बिहान हुस्सुका कारण बाक्लो लुगामा हामी सबैजना चिया खाएर पुनः नयाँबजारतिर ओर्लियौँ। पुतलीहरू घाम पर्खिरहेका थिए।
मामाघरबाट बिदा लिएर अलि पर पुग्दा आयोजक टिमले हामीलाई थुम्केरानीको थुम्कोमा पुर्याउनुभयो। वरपर हुस्सुले छोपेको थियो, उहाँहरू भन्दै हुनुहुन्थ्यो, 'यी सबै परपरका ठाउँहरू हेर्न घाम झुल्केको हुनुपर्छ।'
एकैछिनमा आकाशमा घाम टिलिलि टल्कियो। मलाई लाग्यो, 'घाम होइन, हामी मानिस झुल्किरहेछौँ थुम्केको सौन्दर्यसँगै।' अलिक आकाशले हिस्सी परेको अनुहार देखायो। हामीले 'थुम्केरानी काव्यप्रभात' लाई निरन्तरता दिँदै कविता वाचन गर्यौँ। जहाँ पुगे पनि तनसँगै मन पुगेको छ। कवि हुनुको अनमोल सौन्दर्य, जहाँ पनि कविता वाचन गर्न तयारै भइन्छ। साथै इलामको आतिथ्यको प्रशंसा कसरी गरौँ? थुम्केको थुम्कोबाट तल झर्दाझर्दै बाटैको घरमा दुध तताएर हामीलाई पर्खिरहनुभएको रहेछ जीतबहादुर सर। हामी थुम्केबाट बिहानीको शीतलमा थपी-थपी दुधसँगै इलामको प्रेम पिएर हिँड्यौँ।
(क्रमशः तेस्रो भाग....)