यात्रा केवल एक स्थानबाट अर्को स्थानमा पुग्ने माध्यम होइन, यो नयाँ भूगोल, संस्कृति, मानिस र आफ्नै सोचसँग भेट हुने प्रक्रिया पनि हो।
२०८३ असार १६ देखि १९ गतेसम्म महिला पर्यटन व्यवसायी सञ्जाल र नेपाल पर्यटन बोर्डको सहकार्यमा सम्पन्न पूर्वी नेपालको अध्ययन तथा अवलोकन भ्रमणले यही अनुभूति गरायो।
काठमाडौंबाट बिहानै सुरू भएको हाम्रो यात्रा बीपी राजमार्ग हुँदै पूर्वतर्फ अघि बढ्यो। वर्षायामका कारण राजमार्गका धेरै खण्ड जीर्ण थिए। कतिपय स्थानमा रोशी नदीको किनारै हुँदै यात्रा गर्नुपर्यो। कमजोर सडकले यात्रा कठिन बनाएको भए पनि वरिपरिको हरियाली, पहाडी बस्ती, नदी र बदलिँदो भूगोलले त्यो असहजतालाई धेरै हदसम्म भुलाइदियो।
सिन्धुलीको भद्रकाली नजिकको सेल्फी डाँडाबाट देखिने दृश्य, पृथ्वीनारायण शाहको एकीकरण अभियान सम्झाउने भित्तेचित्र, नागबेली सडक र बदलिँदो मौसमले यात्रालाई थप रोचक बनायो। पूर्वतर्फ बढ्दै जाँदा विशाल कोशी नदीको फराकिलो फैलावटले सबैलाई मन्त्रमुग्ध बनायो। क्षितिजसम्म फैलिएको जलराशिले नेपालमा नदी पर्यटनको सम्भावना कति विशाल छ भन्ने संकेत गरिरहेको थियो।
पहिलो दिनको विश्राम इटहरीस्थित होटल नेपालीरिकामा भयो। होटलको आतिथ्य उत्कृष्ट थियो। तर हाम्रो समूहको छलफलको मुख्य विषय भने एउटै थियो, नेपालको पर्यटन विकासको पहिलो पूर्वाधार सुरक्षित र गुणस्तरीय सडक नै हो।
दोस्रो दिनको गन्तव्य थियो इलामको श्रीअन्तु। कन्यामका अनन्त चियाबगानबीच यात्रा गर्दा प्रकृतिले आफैं चित्र कोरेजस्तो अनुभूति भयो। गाडीभित्र चियाबगानका गीत बजिरहेका थिए भने झ्यालबाहिर हरियो लहरमाथि बादल खेलिरहेका थिए। साँघुरा पहाडी सडक हुँदै श्रीअन्तु पुग्दा त्यहाँको शान्त वातावरण, ताल वरिपरिको प्राकृतिक सौन्दर्य र साँझको दृश्यले यात्राको थकान क्षणभरमै हरायो।
श्रीअन्तुको हिल टावर होटलमा महिला पर्यटन व्यवसायी सञ्जाल र स्थानीय सरोकारवालाबीच पर्यटन प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया आयोजना गरिएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, होटल तथा होमस्टे सञ्चालक, पर्यटन व्यवसायी र समुदायका प्रतिनिधिहरूको सहभागिता थियो।
-1784379296.jpeg)
छलफलका क्रममा श्रीअन्तुको धार्मिक, प्राकृतिक र सांस्कृतिक महत्वबारे महत्वपूर्ण जानकारी प्राप्त भयो। सूर्योदय अवलोकनका लागि प्रसिद्ध श्रीअन्तु, लेप्चा समुदायको सांस्कृतिक सम्पदा, सुहाउँदो मौसम र विकसित हुँदै गएको होमस्टे पर्यटन यस क्षेत्रका प्रमुख आकर्षण हुन्।
विशेषगरी लेप्चा समुदायबारे जान्ने अवसर निकै अर्थपूर्ण रह्यो। लोपोन्मुख सूचीमा रहेको यो समुदाय सांस्कृतिक रूपमा अत्यन्त समृद्ध भए पनि शैक्षिक र आर्थिक रूपमा अझै पछाडि रहेको जानकारी पाइयो। पर्यटनसँग जोडेर उनीहरूको भाषा, संस्कृति र जीवनशैलीलाई संरक्षण गर्दै आयआर्जनका अवसर सिर्जना गर्न सकिने सम्भावना स्पष्ट देखियो।
स्थानीयका अनुसार श्रीअन्तुमा २०५२ सालदेखि होमस्टे अवधारणाको विकास सुरु भएको रहेछ। सामान्य पाहुना सत्कारबाट सुरु भएको अभियान आज समुदायमा आधारित पर्यटनको सफल उदाहरण बनेको छ। यसले पर्यटनमा स्थानीय सहभागिता नै दिगोपनको आधार हो भन्ने सन्देश दिन्छ।
अन्तरक्रियामा 'केचनादेखि कञ्चनजंघा करिडोर' अवधारणाबारे पनि छलफल भयो। अर्जुनधारा, कन्याम, श्रीअन्तु, सन्दकपुर र रेडपाण्डा संरक्षण क्षेत्रलाई एउटै पर्यटन परिपथमा विकास गर्ने सोच पूर्वी नेपालको पर्यटन विस्तारका लागि निकै सम्भावनायुक्त लाग्यो। साथै 'भिजिट अन्तु' अभियानलाई कृत्रिम बौद्धिकता (एआई) को प्रयोगमार्फत अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न सकिने स्थानीय प्रस्ताव पनि समयानुकूल देखियो।
तेस्रो दिन बिहान श्रीअन्तुमा सूर्योदय अवलोकन गर्ने योजना थियो। खराब मौसमका कारण सूर्योदय स्पष्ट देख्न नपाए पनि प्रकृतिको शान्त वातावरणमा योग र ध्यान गर्ने अवसर प्राप्त भयो। त्यसपछि फिक्कल, पशुपतिनगर र कन्यामको भ्रमण गरियो।
फिक्कल बजारमा स्थानीय उत्पादनले पर्यटकलाई आकर्षित गरिरहेका थिए। पशुपतिनगर पुग्दा नेपाल–भारत सीमावर्ती क्षेत्रको सहज आवतजावत र दुई देशबीचको सामाजिक सम्बन्ध नजिकबाट देख्न पाइयो। कन्याममा फेरि एकपटक चियाबगानको अनुपम सौन्दर्यसँग साक्षात्कार गर्ने अवसर मिल्यो। बदलिँदो मौसम, कुहिरो र हरियालीले इलामलाई किन नेपालको प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ भन्ने प्रश्नको उत्तर आफैं दिइरहेका थिए।
भ्रमणको अन्तिम दिन हाम्रो यात्रा सुनसरीको बराहक्षेत्र पुग्यो। कोशी नदी र कोका खोलाको संगममा अवस्थित बराहक्षेत्र हिन्दू तथा किराँत समुदायको महत्वपूर्ण तीर्थस्थल हो। धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण भए पनि त्यहाँ पुग्ने सडकको अवस्था भने निराशाजनक थियो। यसले पर्यटन विकासमा प्राकृतिक र धार्मिक सम्पदा मात्र पर्याप्त नहुने, सहज पहुँच पनि उत्तिकै आवश्यक हुने तथ्य पुनः स्मरण गरायो।
-1784379296.jpeg)
बराहक्षेत्र दर्शनपछि स्थानीय आँप, कटहर र पूर्वेली खानाको स्वाद लिँदै हाम्रो टोली काठमाडौं फर्कियो। चार दिनको यो यात्राले इलाम र सुनसरीका पर्यटन सम्भावना मात्र देखाएन, पर्यटन विकासका चुनौती पनि स्पष्टसँग उजागर गर्यो।
पूर्वी नेपालमा प्रकृति, संस्कृति, कृषि, धार्मिक सम्पदा र समुदायमा आधारित पर्यटनका अथाह सम्भावना छन्। तर ती सम्भावनालाई वास्तविक आर्थिक शक्तिमा रूपान्तरण गर्न सडक, सुरक्षा, पूर्वाधार, गुणस्तरीय सेवा र प्रभावकारी प्रवर्द्धनमा अझै धेरै काम गर्न बाँकी छ।
यो यात्राले अर्को महत्वपूर्ण पाठ पनि सिकायो। पर्यटन भनेको गन्तव्य मात्र होइन, बाटो पनि हो। बाटो सहज भयो भने पर्यटक गन्तव्यसम्म पुग्छन्, स्थानीय अर्थतन्त्र चलायमान हुन्छ र समुदाय समृद्ध बन्छ। प्रकृतिले पूर्वी नेपाललाई उदार भएर दिएको सौन्दर्यलाई अब हामीले दूरदृष्टियुक्त योजना र जिम्मेवार पर्यटनमार्फत विश्वसामु चिनाउन सक्नुपर्छ।
चार दिनको यो यात्रा सकियो, तर मनमा एउटा अनुभूति भने अझै बाँकी छ, जीवन पनि यात्राजस्तै रहेछ। गन्तव्यभन्दा धेरै सुन्दर त त्यसले देखाउने बाटाहरू हुँदारहेछन्।
-1784379296.jpeg)
-1784379296.jpeg)
-1784379297.jpeg)
-1784379297.jpeg)
-1784379297.jpeg)
-1784379297.jpeg)
-1784379297.jpeg)