ग्लोबल नेपाली
हेटौंडाका राज पाण्डे बेलायत गएको १३ वर्ष भयो। उनी त्यहाँ 'केयर व्यवसाय' चलाउँछन्।
उनको कम्पनीले शारीरिक र मानसिक रूपमा अस्वस्थ व्यक्तिको हेरचाह गर्ने काम गर्छ। यस्तो सेवा प्रदायक कम्पनी चलाउन बेलायतको संघीय सरकारबाट लाइसेन्स लिएका छन्।
'बेलायतमा शारीरिक र मानसिक रूपमा अशक्त व्यक्तिलाई उनीहरूको हेरचाह र सुरक्षाका लागि यस्ता कम्पनीमा राख्ने चलन छ,' राजले भने, 'परिवारका सदस्य काममा जानुपर्ने, रेखदेख गर्न नभ्याउने अवस्थामा यस्ता कम्पनीले सेवा दिन्छन्।'
राजका अनुसार यस्ता व्यक्ति नगरपालिकामार्फत कम्पनीमा आउँछन्। उनीहरूको सबै खर्च नगरपालिकाले बेहोर्छ। व्यक्तिको शारीरिक र मानसिक अवस्था अनुसार शुल्क तोकिएको हुन्छ।
यस्तो सुविधा बेलायती नागरिकले मात्र पाउँछन्।
केयर सेन्टर चलाउनुबाहेक राज दौरा–सुरूवाल, ढाकाटोपी, चौबन्दी चोली लगायत नेपाली पहिरन पनि बेच्छन्। यो व्यवसायका लागि छुट्टै कम्पनी दर्ता गरेका छन्।
'बेलायतमा मेरा चार वटा कम्पनी छन्। कम्पनी अनुसार काम फरक फरक छ,' उनले भने।
आमाबुबा सरकारी कम्पनीमा जागिरे भएकाले राजको बाल्यकाल सुखमय थियो। बुबा हेटौंडा सिमेन्ट उद्योगमा काम गर्थे, आमा हेटौंडा कपडा उद्योगमा।
कालान्तरमा दुवै उद्योग बन्द भए। २०५७ सालमा आमाबुबा काठमाडौं पसे र किराना पसल चलाउन थाले। राज व्यवस्थापन विषय पढ्न सेन्ट जेभियर्स कलेजमा एघार कक्षामा भर्ना भए।
आमाबुबाले काठमाडौंमा तीन वटा किराना पसल खोले, हाँडीगाउँमा एउटा र लाजिम्पाटमा दुइटा। राज हाँडीगाउँको पसलमा सघाउँथे।
यसैगरी उनले शंकरदेव क्याम्पसबाट स्नातक तहको पढाइ पूरा गरे।
आफ्ना केही साथीहरू विदेश जान तयार भएपछि उनले पनि विद्यार्थी भिसामा जापान जाने तयारी गरे। भिसा पाए पनि उनको मन बदलियो, गएनन्।
सन् २००६ मा घुम्न भनेर सिंगापुर गए। त्यहाँ उनका केही साथी साझेदारीमा कन्सल्टेन्सी चलाउँथे। केही दिनको घुमफिरपछि उनी त्यही कन्सल्टेन्सीमा काम सघाउन थाले।
दिन बित्दै जाँदा व्यवसायी साथीहरूले राजलाई पनि साझेदारीको प्रस्ताव गरे। उनले सहजै स्वीकार गरे।
'म सिंगापुर गएको चार महिनामा साथीहरूको कन्सल्टेन्सीमा पार्टनर (साझेदार) भएँ,' राजले भने, 'त्यो बेला सिंगापुर जान सजिलो थियो। एसएलसीपछि पढाइका लागि पनि नेपालीहरू सिंगापुर जान्थे। हाम्रो कन्सल्टेन्सीले विद्यार्थीका लागि सहजीकरण गरिदिन्थ्यो। कन्सल्टेन्सी राम्रो फस्टाएको थियो।'
बिस्तारै सिंगापुर सरकारले भिसामा कडाइ गर्न थाल्यो। नेपालबाट जाने विद्यार्थीको संख्या घट्यो। अलिक पछि नेपाली विद्यार्थीका लागि भिसा नै बन्द गरिदियो। त्यसपछि कन्सल्टेन्सी पनि बन्द भयो।
राज तीन वर्ष सिंगापुर बसेर सन् २००९ मा नेपाल फर्के।
यता बुबाले किराना पसल छोडेर 'लुजा हर्बल' नामको कम्पनी सुरू गरेका थिए। कम्पनीले छाला र कपालको सुरक्षा तथा सौन्दर्य सम्बन्धी सामान उत्पादन गर्थ्यो। राजले बुबालाई बजारीकरणमा मद्दत गरे।
त्यही समय राजको बिहे भयो। उनकी श्रीमतीले स्नातकोत्तर तहको पढाइका लागि बेलायतको वेल्स विश्वविद्यालयमा आवेदन गरिन्।
सन् २०१२ मा राज श्रीमतीका साथ डिपेन्डेन्ट भिसामा बेलायत पुगे।
श्रीमती विद्यार्थी भिसामा भएकाले पढ्नमै समय दिनुपर्थ्यो। राजले साथीहरूको सहयोगमा किचन हेल्परका रूपमा रेस्टुरेन्टमा काम पाए।
'काम सुरू त गरेँ तर सिंगापुर र नेपालमा आफ्नो मर्जी अनुसार चलेको मलाई रेस्टुरेन्टको धमाधम र दबाबमा काम गर्न रूचि भएन। तर विकल्प पनि थिएन। आज, भोलि भन्दाभन्दै दुई वर्ष बित्यो,' उनले सुनाए, 'त्यसपछि श्रीमतीसँग सल्लाह गरेर रेस्टुरेन्टको काम छाडेँ।'
काम त गर्नु नै थियो। उनी शारीरिक र मानसिक रूपमा अशक्त व्यक्तिको हेरचाह गर्ने एउटा कम्पनीमा 'सपोर्ट वर्कर' भए। त्यहाँ उनको मुख्य जिम्मेवारी सरसफाइ सम्बन्धी थियो।
आफ्नो क्षमता बढाउने उद्देश्यका साथ उनी त्यहाँ काम गर्दै 'हेल्थ एन्ड सोसल केयर' विषयमा लेभल–२ पढ्न थाले। पढाइसँगै दुई वर्ष काम गरे। त्यसपछि त्यस्तै प्रकृतिको अर्को कम्पनीमा आवेदन गरे।
राज पाण्डे (बायाँबाट तेस्रो)
उनी सहायक प्रबन्धक पदमा छनोट भए। त्यो कम्पनी तुलनात्मक रूपमा निकै ठूलो थियो। कम्पनी मातहत २७ वटा घर (सेवालय) थिए। एउटा घरमा पाँच जनादेखि २५ जनासम्म राखिएका थिए। सेवाको गुणस्तर सुधार गर्नु राजको मुख्य जिम्मेवारी थियो।
कामसँगै उनले पढाइलाई निरन्तरता दिए। त्यो कम्पनीमा ६ महिना काम गरे। त्यतिन्जेलमा 'सोसल एन्ड हेल्थ केयर' विषयमा स्नातक तहको पढाइ पनि पूरा गरे।
'अनुभव र पढाइ दुवै भएपछि मलाई यस्तो कम्पनी आफै चलाउन सक्छु भन्ने आँट आयो,' उनले भने।
सन् २०१८ मा उनले माया सपोर्टेड लिभिङ लिमिटेड नामको कम्पनी दर्ता गरेर काम थाले। सुरूमा सेवालय बनाउन पाँच वटा कोठा भएको एउटा घर भाडामा लिए। सेवालयको एउटा कोठामा एक जना मात्रै सेवाग्राही राख्न पाइन्छ।
सेवाग्राहीको शारीरिक र मानसिक अवस्था अनुसार कोठामा अट्याच बाथरूम हुनुपर्छ। राजले त्यसै अनुसार सबै व्यवस्था मिलाए। दुई जना सहयोगी राखे।
आफ्नै व्यवसाय सुरू गरे पनि त्यसको मात्र आम्दानीले दुई जनाको खर्च चल्दैनथ्यो। सहयोगीलाई काम जिम्मा दिएर उनी जागिरमा जान्थे।
'मलाई एउटा घर (सेवालय) भर्न एक वर्ष लाग्यो। त्यतिन्जेल आम्दानी भएन। कार्यालय चलाउन मात्र ठिक्क हुन्थ्यो। घर खर्च चलाउन बाहिर पनि काम गरेँ,' उनले भने, 'विदेशमा काम गर्न सजिलो छैन नि। खर्च पुर्याउनै गाह्रो हुन्छ।'
दिन बित्दै जाँदा व्यवसायले गति लिन थाल्यो। त्यसपछि बाहिरको काम छाडेर आफ्नै कम्पनीमा दिन खटे। सन् २०२० मा एकै पटक पाँच–पाँच वटा बेडरूम भएका दुइटा घर भाडामा लिए। दुवै घर एकै महिनामा भरिए।
हाल उनले सात वटा सेवालय चलाएका छन् जसमा कुल ३२ जना सेवाग्राही छन्। तिनको हेरचाहका लागि ५४ जना कर्मचारी छन्।
'सेवाग्राहीलाई चाडपर्वका बेला परिवारजनले घर जान्छन्। कतिपयलाई घरबाट भेट्न आउँछन्। कोही निको भएर फर्किन्छन्,' राजले भने।
उनले मुख्य कार्यालय राख्न घर पनि किनेका छन्।
उनका अनुसार यस प्रकारको व्यवसाय बेलायतमा धेरै चल्तीमा छ। सेवाग्राहीको शारीरिक र मानसिक अवस्था अनुसार नगरपालिकाले उपयुक्त कम्पनी छनोट गर्छ।
'केयर कम्पनी मात्रै भनेर हुँदैन। सेवाग्राहीको अवस्था अनुसार सेवा दिन सक्छ कि सक्दैन भन्ने हेरिन्छ। कहिलेकाहीँ नगरपालिकासँग पैसामा पनि कुरा मिल्दैन,' उनले भने।
राज अब व्यवसाय विस्तार गर्दै अघि बढ्ने योजनामा छन्।
उनले 'माया इभेन्ट्स' र 'माया क्रिकेट क्लब' पनि चलाएका छन्। माया इभेन्ट्सले कमेडी शो, कन्सर्ट, अवार्ड शो आयोजना गर्छ। नेपाली पोसाक बिक्रीका लागि 'राष्ट्रिय पोशाक घर' खोलेका छन्।
'राष्ट्रिय पोसाक घर नेपालमा बहिनीले चलाएकी छन्। बेलायतमा हामीले शाखा खोलेका हौं। ग्राहकको माग अनुसारको लुगा नेपालमै तयार हुन्छ,' उनले भने।
राजले व्यवसायसँगै सामाजिक काम गर्न 'माया फाउन्डेसन' पनि चलाएका छन्।
'विदेशमा रहेका नेपालीले आफ्नो सीप भएको क्षेत्रमा मात्र लगानी गर्नुपर्छ,' राज भन्छन्।