जापानको योकोहामामा ९ वर्षदेखि नेपाली स्वाद बेच्दै आएका रामप्रसाद खरेल अहिले व्यवसाय टिकाउन संघर्ष गरिरहेका छन्।
भन्छन्, 'जापानमा अहिले व्यवसाय गर्न पहिलेझैं सहज छैन, नीति नियम कडा छ।'
योकोहामामा हाल राम प्रसादको तीन वटा इन्डियन रेस्टुरेन्ट छन्। रेस्टुरेन्टको नाम हो – एसियन डाइनिङ सिम्रन।
ती सबैमा उनको एकल लगानीमा छ।
रेस्टुरेन्टमा इन्डियनसँगै जापानी, भियतनामी, थाई, कोरियन तथा नेपाली परिकार पनि पाइन्छ।
उनका अनुसार परिकार मात्र होइन, रेस्टुरेन्टमा विवाह, ब्रतबन्ध, मिटिङ र सेमिनारजस्ता कार्यक्रम आयोजना गर्ने सुविधा पनि छ।
तीन वटा रेस्टुरेन्टको क्षमता फरक फरक छ।
दुइटा रेस्टुरेन्टमा एक पटकमा ३० देखि ५० जनासम्म अट्छन्। अर्को एउटामा एक सय जनासम्म अट्छन्।
रेस्टुरेन्टका मुख्य ग्राहक भने जापानी नागरिक नै हुन्।
'नेपाली समुदाय विशेषगरी शुभकार्य र पारिवारिक जमघटका लागि आउँछन्,' रामले भने।
तीनवटै रेस्टुरेन्टमा गरेर १२ जना कर्मचारी छन्।
अहिले जापानमा व्यवसाय गर्न कर्मचारी व्यवस्थापन चुनौतीपूर्ण बनेको उनी बताउँछन्।
'त्यसैले थोरै जनशक्तिबाट काम चलाइरहेका छौं,' उनले भने।

उनका अनुसार पहिले कर्मचारीका लागि मेडिकल इन्स्योरेन्सको नियममा धेरै कडाइ थिएन। अहिले नियम कडा हुँदै गएकाले भिसा थप्न पनि पहिलेभन्दा कठिन भएको छ।
'मेडिकल इन्स्योरेन्स कर्मचारीले गर्ने हो। पहिले नगरे पनि भिसा थपिदिन्थ्यो,' राम भने, 'अहिले बीमा नगरे भिसा दिँदैन।'
जापान सरकारले नियममा कडाइ गरेको करिब आठ महिना भयो। पहिले व्यवसाय सञ्चालनका लागि ५० लाख येन चालु पुँजी देखाए पुग्थ्यो। अहिले ३ करोड येन देखाउनुपर्ने व्यवस्था गरिएको छ।
'साना व्यवसायीलाई बढी दबाब परेको छ,' उनले भने।
जापानमा बसोबास गर्नेलाई महँगीको मार पनि उत्तिकै छ। पहिले १० किलो चामल किन्न २ हजारदेखि २५ सय येन खर्च हुन्थ्यो। अहिले त्यही चामलका लागि ६ देखि ७ हजार येन तिर्नुपरेको उनले बताए।
'भ्याट बढेर ८ प्रतिशतबाट १० प्रतिशत पुगेको छ,' रामले भने, 'दैनिक उपभोग्य सामानको मूल्य लगातार बढिरहेको छ। खर्च बढे पनि आम्दानी भने बढेको छैन।'
अर्कातिर अहिले जापानमा रेस्टुरेन्ट व्यवसाय गर्ने नेपालीको संख्या बढ्दो छ। प्रतिस्पर्धा धेरै भएकाले खानाको मूल्य बढाउन सकिने अवस्था पनि नभएको उनले बताए।
जापान रामको वैदेशिक यात्राको पहिलो गन्तव्य होइन। यसअघि उनी दक्षिण कोरिया गएका थिए।
चितवन स्थायी घर भएका उनले एसएलसी (एसइई) पछि बुटवलमा कक्षा १२ सम्म पढे। त्यसपछि बुटवलमै इलेक्ट्रिक सामान (घडी–रेडियो) बनाउने तालिम लिए।
यो तालिमले उनलाई स्वरोजगार बनायो। करिब दुई वर्षसम्म आफैले बिजुली सम्बन्धी पसल चलाए।
'त्यतिखेर युवा समूह विदेसिने लहड थियो। म पनि सन् २००५ मा इपिएस (रोजगार अनुमति) प्रणालीमार्फत दक्षिण कोरिया गएँ,' उनले भने।
कोरियामा उनको वेल्डिङको काम थियो। पानीजहाजका पाटपुर्जा जोड्नुपर्थ्यो।

उनले त्यहाँ करिब पाँच वर्ष काम गरे। नेपाल आएपछि केही समय होटल क्षेत्रमा काम सिक्न थाले।
उनका दाइ जापानमा रेस्टुरेन्ट चलाउँथे। दाइले काम गर्न आइज भनेकाले रामले होटलको काम सिके।
त्यसको केही समयपछि रामलाई दाइले कुक भिसामा जापान बोलाए। उनले केही महिना दाइकै रेस्टुरेन्टमा काम गरे। त्यसपछि एक जापानी रेस्टुरेन्टमा काम गर्न थाले।
'जापानमा बनाउने जापानी खाना र नेपालमा बनाउने जापानी खाना फरक हुने रहेछ,' रामले भने, 'यहाँ गुलियो स्वादको मन पराउँन्। पिरो, अमिलो रूचाउँदैनन्।'
रामले त्यो जापानी रेस्टुरेन्टमा पाँच वर्ष काम गरे। त्यसपछि आफ्नै रेस्टुरेन्ट खोलेका हुन्।
एकल तथा साझेदारीमा रेस्टुरेन्ट व्यवसाय विस्तार गर्दै अगाडि बढेका उनका कोरोना महामारी अगाडि पाँच वटा रेस्टुरेन्ट थिए। कोरोनापछि दुई वटा बन्द गर्नुपर्यो।
'व्यवसाय बिस्तारै उठ्ला भन्ने आस थियो। तर जापान सरकारको कडा नियमले आश मरेको छ,' रामले भने, 'कहिले त नेपाल फर्किऊँ झैं लाग्छ। व्यवसाय गर्न सहज नभए त फर्किन्छु।'