ललितपुरको थसिखेलमा श्रीमान–श्रीमती उमेश थापा र सुशीला उपाध्यायले 'ट्रेडिसनल बेकरी' खोलेका छन्। यहाँ पेस्ट्री, बेकरी, डिजर्ट परिकार उत्पादन हुन्छ।
पाउरोटी, बन, डोनट, पिज्जा बेस, कुकिज, केक, चिज केक, स्लाइस केक, मफिन, कप केक, ट्रफल यहाँका प्रमुख उत्पादन हुन्। यीमध्ये ग्राहकले सबभन्दा धेरै रूचाएको चिज केक हो।
'हामीसँग १५ भन्दा बढी प्रकारका चिज केक छन्। पाउरोटी पनि ७–८ प्रकारका छन्,' सुशीलाले भनिन्।
यी सबै परिकार अण्डा हालिएको र नहालिएको दुवैथरीमा पाइन्छ।
सुशीलाका अनुसार ग्राहकहरू कहिलेकाहीँ सुगर–फ्री (चिनीबिना) पाइँदैन भनेर पनि सोध्छन्। यस्ता परिकार बिना चिनी बनाउन गाह्रो हुन्छ। त्यस्तै कतिपय परिकार पिठोमै बटर हालेर बनाउनुपर्ने भएकाले चिल्लो पदार्थ पनि बढी हुन्छ।
पछिल्लो समय उनीहरूले सखर हालेर कुकिज बनाउन थालेका छन्। बेकरीजन्य परिकार खाँदा सबैभन्दा बढी ध्यान यसमा प्रयोग गरिएको क्रिममा दिनुपर्ने उनी बताउँछिन्।
'अहिले बजारमा किलोको १९० देखि ६०० रूपैयाँसम्मको क्रिम पाइन्छ। हामी भने महँगो क्रिम प्रयोग गर्छौं,' उनले भनिन्।
बेकरीजन्य पदार्थको मुख्य कच्चा पदार्थ पिठो (मैदा), अण्डा, चिनी र फ्याट (तेल/बटर) हो। सुजीबाट बनाउँदा स्वस्थकर हुने भए पनि महँगो पर्ने भएकाले मैदाबाटै बनाइन्छ। ग्राहकले माग गरेको अवस्थामा त्यही अनुसार मूल्य लिएर सुजीबाट पनि बनाइदिने सुशीलाले बताइन्।


उनीहरूले बटर, दूध, दही लगायत पनौतीस्थित महिला समूहले सञ्चालन गरेको डेरीबाट ल्याउँछन्।
ट्रेडिसनल बेकरीका मुख्य ग्राहक काठमाडौंका तारे होटल हुन्। बजार र प्रचारको जिम्मा उमेशले लिएका छन्।
उमेशले बेकरीको सीप दुबईमा सिकेका हुन्।
काठमाडौंका स्थानीय उमेश सानैदेखि आफ्ना लागि आफै कमाउनुपर्छ भन्ने सोच्थे। २०५२ सालमा एसएलसी (एसइई सरह) दिनेबित्तिकै उनी लाजिम्पाटमा रहेको सांग्रिला होटलमा तालिम लिन गए।
'त्यहाँ एक जना आफन्त काम गर्नुहुन्थ्यो। उहाँकै सम्पर्कबाट तालिम लिने मौका मिल्यो,' उमेशले भने, 'भाँडा, तरकारी सफा गर्ने काम हुन्थ्यो। पैसा पाइँदैन थियो। काम सिक्न पाइन्थ्यो।'
उनले त्यहाँ चार महिना काम सिके। त्यसपछि उनलाई रोयल सिंगे होटलबाट जागिरको प्रस्ताव आयो। मासिक तलब दुई हजार ९ सय रूपैयाँ पाउने भएपछि उनी केही नसोची गए।
यही क्षेत्रमा काम गर्ने भएपछि उनलाई आफ्नो ज्ञानको दायरा बढाउनुपर्छ भन्ने सोच आयो। त्यसै अनुसार राति होटलमा काम गरे, दिउँसो नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) मा तालिम लिन गए।
यसरी आठ महिना काम गरेपछि तलब–सुविधा बढाएर द्वारिकाज होटलले उनलाई जागिरको प्रस्ताव गर्यो।
'तलब राम्रो दिएपछि द्वारिकाज गएँ,' उनले भने, 'काम पेस्ट्री–बेकरी विभागमा थियो।'
काम गर्दै पढ्दै गरेर त्यहाँ उमेशले एक वर्ष बिताए। त्यसपछि उनलाई विदेश जाने प्रस्ताव आयो। उनका काका दुबईको एक होटलमा काम गर्थे। उनैले भिसाको सबै बन्दोबस्त मिलाइदिने भए।
-1768928001.jpg)
-1768928001.jpg)
उमेश कलेज बीचमै छाडेर दुबई गए। एक फ्रेन्च बेकरीमा काम गरे। त्यहाँ उनले फ्रेन्च सहित विभिन्न शैलीमा पेस्ट्री र बेकरी बनाउन सिके।
'नेपालमा त त्यो बेला केक, बेकरीका धेरै परिकार थिएनन्। भएका पनि प्रायः क्रिम र रङ मात्र हालेर बनाइन्थ्यो,' उमेशले भने, 'दुबईमा फल र फलको जुस हालेर बनाइन्थ्यो।'
उनले त्यहाँ पेस्ट्री–बेकरी बनाउने तरिका र रेसिपी राम्ररी बुझे। सम्झौता अनुसार साढे दुई वर्ष काम गरेपछि नेपाल फर्किए।
विदेशी सीप र अनुभव भएका उमेशलाई जागिर पाउन मुस्किल भएन। उनले र्याडिसन होटलमा काम पाए। दुबईमा सिकेको सीप प्रयोग गर्ने मौका पाए।
र्याडिसनमा तीन वर्ष बिताएपछि उनी सोल्टी होटलमा काम गर्न थाले। त्यहाँ थोरै समय काम गरेपछि फेरि द्वारिकाज होटलबाट प्रस्ताव आयो।
'तलब–सुविधा राम्रो थियो,' उनले भने, 'काम गर्ने वातावरण पनि राम्रो थियो।'
द्वारिकाजमा काम गरेकै समयमा उनले श्रीमती सुशीलालाई पनि पेस्ट्री–बेकरीको तालिम लिन लगाए।
उमेशले द्वारिकाजमा नौ वर्ष काम गरे। सुशीला पनि यो काममा सिपालु भइसकेकाले उनले आफै व्यवसाय गर्ने सोचे। अनि जागिर छोडिदिए।
जागिर छाडेर उनीहरूले घरमै पेस्ट्री–बेकरी उत्पादन गर्न थाले।
उमेशका प्रायः साथीहरू तारे होटलमा एक्जुकेटिभ सेफ भइसकेका थिए। उनले साथीहरूलाई आफ्नो व्यवसायबारे सुनाए।
'धेरैजसो चारतारे होटलले पेस्ट्री–बेकरी बनाउँदैनन्। पाँचतारेबाट किन्ने हुन्,' उनले सुनाए, 'त्यही गुणस्तरमा सस्तोमा सामान दिन्छु भनेपछि उनीहरू मेरो सामान लिन तयार भए।'

-1768928001.jpg)
यसरी उनले सुरूआती चरणमा चारतारे होटल, ठूला रेस्टुरेन्टहरूमा बेच्न पेस्ट्री–बेकरी थाले। व्यवसाय राम्रोसँग चल्न थाल्यो।
तीन वर्षपछि उनले पार्टी प्यालेसहरूमा पनि डेलिभरी गर्न सुरू गरे।
त्यो समयसम्म उनीहरूको आफ्नै पसल थिएन। बेकरी सुरू गरेको साढे तीन वर्षपछि उनीहरूले ललितपुर कानदेवताथान नजिक उद्योग राखेर पहिलो पसल खोले। थसिखेलमा साढे एक महिनाअघि दोस्रो पसल खोलेका हुन्।
'अहिले उद्योग पनि यतै सारेका छौं। कानदेवताथानमा पसल मात्र छ,' उमेशले भने।
ट्रेडिसनल बेकरीमा बीस जनाले रोजगारी पाएको उनले जानकारी दिए।
त्यस्तै यसमा उमेश र सुशीलाको मात्र लगानी छ।
अब उनीहरू फार्म सुरू गर्ने योजनामा छन्। त्यसमा भने लगानीकर्ता थप्ने उमेशले बताए।
'अहिले पेस्ट्री–बकेरी व्यवसाय धेरै राम्रो छ। लगानी खासै लाग्दैन। तर यसमा काम गर्ने जनशक्ति अभाव छ,' उमेश र सुशीला भन्छन्, 'हामी दुवै जनालाई बनाउन आउँदैन थियो भने व्यवसाय डुबिसक्थ्यो।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
-1768928000.jpg)
-1768928000.jpg)


-1768928001.jpg)