जनता समाजवादी पार्टी (जसपा) ले अहिले सरकारमा रहेका तीन जना मन्त्रीलाई फिर्ता बोलाएको छ।
जसपाले भौतिक पूर्वाधार, वन र कृषि मन्त्रीलाई फिर्ता बोलाएको हो।
भौतिक पूर्वाधार मन्त्री रेनु यादव, वनमन्त्री रामसहाय यादव र कृषि मन्त्री महिन्द्र राय यादवलाई जसपाले फिर्ता बोलाएको हो।
साथै यी ठाउँमा पार्टीबाट नयाँ मन्त्री सिफारिस भएका छन्।
जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार बेलुकी बालुवाटारमा भेटेर पार्टीबाट सिफारिस भएका नयाँ मन्त्रीको नाम बुझाएका छन्।
जसअनुसार जसपाबाट भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इस्तियाक राई, वन मन्त्रीमा प्रदीप यादव र कृषि मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादवलाई सिफारिस भएको छ।
जसपाले अहिले सरकारमा रहेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिएको छ।
‘जसपाले तीन मन्त्री फिर्ता बोलाई नयाँ मन्त्री सिफारिस गरेको छ। योसम्बन्धी पत्र अध्यक्ष यादवले प्रधानमन्त्रीलाई बुझाउनुभएको छ। सम्भवत आजै मन्त्री नियुक्ति भई सपथ हुन्छ,’ प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले भन्यो।
हालै नेकपा एकीकृत समाजवादीले पनि पुराना मन्त्री फिर्ता बोलाई नयाँ मन्त्री सिफारिस गरेपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका थिए।
जसपाभित्र छ महिनाका लागि मन्त्री पठाइएको भन्दै फिर्ता बोलाउन पहिलेदेखि नै माग भइरहेको थियो। अध्यक्ष यादवले मन्त्री फिर्ता बोलाउन नखोजेको भन्दै विरोध पनि भएको थियो।
जसपामा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव पक्षबीच बिबाद भएका बेला मन्त्री फिर्ता बोलाई नयाँ पठाउने निर्णय भएको छ। भट्टराई र यादवबीच सँगसँगै जान नसकिए सौहार्यपूर्ण वातावरणमा अलग हुने सहमति पनि भएको थियो।
भट्टराई पक्षमा लागेका नेताहरूलाई यादवले आफ्नो पक्षमा ल्याएर नयाँ मन्त्रीका लागि सिफारिस गरेको चर्चा पनि भइरहेको छ।