लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले भोट दिनेमात्रै नभई कहाँ के भएन भनेर झकझक्याउनु मतदाताको दायित्व भएको बताएका छन्।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ दुधेना कृष्णमन्दिर नजिकै नवनिर्मित तेक्वान्दोको प्रदेश कभर्डहल उद्घाटन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएका हुन्।
‘तपाईंहरूले मलाई भोट दिएरमात्रै हुँदैन,’ उनले भने, ‘तपाईंहरूले विकास निर्माणका सवालमा यहाँनेर यो भएन भनेर मलाई झकझक्याउनु पर्छ, गाली गर्नुपर्छ।’
विकास निर्माणको सवालमा कहाँ के चाहिएको छ ? भनेर मतदाताले खबरदारी गर्न जरूरी रहेको उनले बताए।
‘व्यक्तिगत कुरा नगर्नुहोला, तर विकास निर्माणका सवालमा तपाईंहरूले आफूले मतदान गरेको व्यक्तिलाई बेला-बेला झकझक्याउनै पर्छ,’ उनले भने, ‘त्यसले मलाई ऊर्जा मिल्छ र मैले अझै काम गर्न कति बाँकी रहेछ भनेर बोध गराउँछ।’
निर्वाचित जनप्रतिनिधि वा मन्त्रीलाई सबै कुरा थाहा नहुने हुँदा स्थानीय समुदाय र मतदाताले कहाँ के आवश्यक छ? भनेर झकझक्याउन आवश्यक रहेको उनको भनाइ थियो।
मन्त्री चौधरीले युवा लक्षित रोजगारी सृजना गर्नको लागि हरेक गाउँ-गाउँमा पुगेर नेटवर्क बनाइने बताए।
राजधानीलाई दाङमा स्थापित गर्न केही मद्दत पुगोस् भनेरै प्रदेश सरकारको ५० लाख रकमबाट तुलसीपुरको दुधेनामा प्रदेशस्तरीय तेक्वान्दो खेलको लागि कभर्डहल निर्माण गरिएको उनले जानकारी दिए।
मन्त्री चौधरीले कभर्डहल निर्माण कार्य पूरा भइ सकेपछि खेलाडीका लागि आवश्यक खेल सामग्री र अन्य सुविधा थप गर्नका लागि यो आर्थिक वर्षमा थप २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका थिए।
वादी समुदायको मादल निर्माणमा नयाँ आयाम थप्नका लागि डेढदेखि दुई करोड रुपैयाँ बजेट छुट्याएको उनले बताए।
त्यस्तै, परियार समुदाय, आइरन समुदायको आधुनिकीकरण गर्न, सारङ्गी बनाउने समुदाय उनीहरूले गाउने गीत संगीतलाई कसरी व्यावसायिक बनाउने लगायतका विषयमा मात्रै दाङ जिल्लामा दश करोड बजेट छुट्याइएको उनले जानकारी दिएका थिए।
कार्यक्रममा लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष विमल रिजालले प्रदेश सरकारको ५० लाख रुपैयाँ र संघको लागत सहभागितासहित छ लाख गरी ५६ लाख रुपैयाँ बढीमा नयाँ कभर्डहल निर्माण कार्य पूरा भएको जानकारी दिएका थिए।
संघका महासचिव विनिल केसीले राधा कृष्ण मन्दिर व्यवस्थापन समितिले ३ कठ्ठा जग्गा नि:शुल्क उपलब्ध गराएपछि त्यसैमा २३ मिटर लम्बाइ र १२ मिटर चौडाइमा तेक्वान्दो खेलाडीको लागि कभर्डहल निर्माण गरिएको बताएका थिए।