पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले निर्वाचन नलड्ने घोषणा आफ्नी छोरी मानुषी यमी भट्टराईको लागि नभएको स्पष्ट पारेका छन्।
सोमबार भट्टराईले सामाजिक सञ्जालमार्फत आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचन नलड्ने घोषणा गरेका थिए। त्यसपछि न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले मानुषी आफैं स्थापित रहेको हुँदा आफ्नो नामबाट चिनाउन जरूरी नभएको बताए।
‘नयाँ त भनिराखेको छ मान्छेले विचार सहितको नयाँ पुस्ता आइराखेको छैन। त्यसैले विचार सहितको नयाँ पुस्ता आओस् भन्ने त मेरो चाहाना छ। त्यो भनेको मेरो छोरी भन्ने मात्रै अर्थ लाग्दैन,’ उनले भने,‘हाम्री छोरी पनि जतिबेला उनी सचेत भइन् आफ्नै स्वेच्छाले आन्दोलनमा उनी लागिन्। उनी ३७ वर्ष भइन्। करिब २२ वर्ष त उनको आफ्नै राजनीतिक जीवन भइसकेको छ। र उनी आफै स्थापित छन्। हाम्रो छोरीको रुपमा उनलाई चिनाउनु पनि जरुरी छैन।’
मानुषी काठमाडौंबाट लड्न लागेको हुँदा उनको लागि आफूले छाड्नुपर्ने कारण पनि नभएको स्पष्ट पारे।
यस्तै उनले आफूहरू सत्ता गठबन्धनमै रहेको पनि बताए। यो गठबन्धन निर्वाचनसम्म कायम रहने पनि उनले बताए।